अभियानमा दृढता

लक्ष्मी भण्डारी थापा

असार २७, २०७५

साँचो समानता र सशक्तीकरणमा दृढ यस्ता महिला जो आफ्नो व्यक्तिगत जीवनका रुचि एवं चाहनालाई बेवास्ता गर्दै समाज परिवर्तनमा आफ्नो समय, सीप, श्रम र शक्ति लगानी गरिरहेका छन् । आफ्नो लक्ष्यमा लागिपरिरहेका यी महिला वास्तविक हिरोज लाग्छन् । रोल मोडल बन्न जमिन–आकाश नै जोड्नुपर्छ अर्थात् ठूलो काम नै गर्नुपर्छ भन्ने छैन । आफ्नो क्षेत्रमार्फत पृथक् र सिर्जनात्मक कामलाई निरन्तरता दिन सके परिवर्तन सम्भव छ भन्ने उदाहरण बनेका यी महिला वास्तवमै प्रेरणाका स्रोत हुन् ।

दक्षिण अमेरिकी मुलुक निकारागुवा, कोन्डेगाकी १६ वर्षीया मारिया फर्नान्डा पिनेडा कालेरोले टिनएजमै गर्भवती हुने युवतीहरूको सशक्तीकरण अभियानमा सफलता हासिल गरेकी छिन् । ११ वर्षको उमेरदेखि नै बर्न टु फ्लाई (नासी पारा भोलार) नामक अभियानको सुरुवात गरेकी मारियाको मुलुक निकारागुवामा २७ प्रतिशतभन्दा बढी युवती किशोरावस्थामै गर्भवती हुन्छन् । सुरुमा मारिया महिला अधिकार, सशक्तीकरण, महिला हकहितजस्ता कुराबाट अनभिज्ञ थिइन् । उनले क्रमश: आफ्नो संस्कृति माचिस्मो, स्कुलमा भोगेका दुव्र्यवहार साथै सौतेले बाबुबाट भोग्नुपरेको विभेदजस्ता कुरा उनलाई गम्भीर लाग्न थाले । यद्यपि उनकी आमाले समेत मारियालाई के लाउने, के खाने, कुन खेल खेल्ने वा नखेल्ने भन्ने कुरामा बन्देज लगाउँथिन् ।

नासी पारा भोलारमार्फत मारिया र उनका केही किशोरी साथीले यसअघि कसैले नगरेको यौनशिक्षा, लैङ्गिक मुद्दा तथा महिला अधिकारका मुद्दा अघि सारे । पहिले त्यही कुरा गर्दा मलाई लाज लाग्थ्यो, डर लाग्थ्यो, कसैले केही भनिदेला भन्ने चिन्ता हुन्थ्यो, तर अब म यति सशक्त भैसकेकी छु कि मलाई केही कुराले छुन सक्दैन–मारिया भन्छिन्–कुनै पनि कुरा म आफूमा हावी हुन दिन्न । सन् २०१५ सम्ममा नासी पारा भोलारमा ८४ जना किशोरी आबद्ध भैसकेका थिए । हाल यो संख्या बढेर अझ माथि पुगेको छ । उनीहरूको काम १३ देखि १६ वर्ष उमेर समूहका किशोरीलाई भर्गवती हुनबाट रोक्नु तथा यौनशिक्षाका साथै चेतना फैलाउनु हो । चुनौतीसँग लड्न मन पराउने स्वभावकै कारण सिभिल इन्जिनियरिङ अध्ययनरत मारिया भन्छिन्–यो अभियानमा नलागेकी भए थाहा छैन अहिलेसम्म म कतिवटा सन्तानकी आमा बनिसकेकी हुन्थें । मेरा कतिवटा सन्तान खान नपाएर वा शिक्षाको अभावमा मरिसक्थे ? मेरो मात्र के कुरा मेरो देशका थुप्रै किशोरीको यस्तै दुर्दशा हुन्थ्यो म कल्पना मात्र गर्न सक्छु ।

अंकारा, टर्कीकी २० वर्षीया गोज्डे डेमिरब्लेक त्यहाँका तेस्रो लिङ्गी (एलजीबीटीक्युएल) समुदायका लागि टर्किस संविधानमै अधिकार सुनिश्चित गराउने युवती हुन् । १५ वर्षको उमेरमा वुमन टु वुमन कार्यशालामा सहभागी भएपछि उनले मानव अधिकारका लागि संघर्ष गर्दै यो कदम चालेकी थिइन् । उक्त फोरममा गेहरूले आ–आफ्ना कथा सुनाएका थिए, गोज्डेले त्यहाँ स्पेसल अवार्ड प्राप्त गरेकी थिइन् । त्यहीँबाट उत्प्रेरित पत्रकारिताकी यी छात्रा सोसल साइटलगायत काओस एलजी वेबसाइटमा समेत लेखनमार्फत तेस्रो लिङ्गीहरूको अधिकारको वकालत गर्न थालिन् । टर्कीमा गेहरूलाई अत्यन्तै हेयभावले हेरिने र चरम दुव्र्यवहार गरिने कुरा गोज्डेले बुझ्दै गइन् । यी बायोसेक्सुअल युवती उक्त समुदायको अधिकारलाई टर्कीको संविधानमै सुनिश्चित गर्न सफल भइन् । गोज्डे भन्छिन्–अन्य बायोसेक्सुअल समुदाय जसले जस्तै इच्छा–आकांक्षा बोकेका हुन्छन्, तिनीहरू नै जसरी बाहिर आउनुपर्छ, मौनता तोड्नुपर्छ । हामी मानव हौं भन्ने तथ्यलाई पहिचान गरी आफ्नो अधिकारका पक्षमा लड्नुपर्छ ।

नन्दीहिल, केन्याकी १९ वर्षीया क्यान्थिया मुहोन्जा छोरी पढाऔं–छोरासरह अभियानकी अभियन्ता हुन् । ११ वर्षको उमेरमै एचआइभी एड्सका कारण आमा गुमाएकी यी युवती नन्दीहिलस्थित मामाघरमा पालिएकी हुन् । उनलाई स्कुल जान अत्यन्तै मन पर्ने तर पैसा र घरायसी कामको बोझका कारण अनुकूल वातावरण नमिलेपछि आफैले दु:ख गरी प्राप्त गरेको ग्लोबल फन्डको छात्रवृत्तिमा पढ्न थालिन् । ग्लोबल फन्ड वुमन ग्यारेन्टर अकिली दादामा संलग्न भएपछि उनी शैक्षिक अभियन्तामा दरिइन् । क्यान्थियाले राजधानी नैरोबीदेखि उनको गाउँ नन्दीहिलसम्मका हजारौं युवतीका लागि समान शिक्षाका थुप्रै कार्यक्रम चलाइन्, घरदैलो कार्यक्रम गरिन् ।

केन्याका २५ प्रतिशतभन्दा बढी युवती शिक्षाबाट वञ्चित रहेको तथ्य उल्लेख गर्दै क्यान्थिया भन्छिन्–शिक्षा नै एउटा यस्तो अस्त्र हो जसले तपाईंलाई मानव बनाउँछ र अरूप्रति पनि मानवीय व्यवहार गर्न सिकाउँछ । म त्यही मानव अधिकारका पक्षमा लडिरहेकी छु । डेमोक्राटिक रिपब्लिक अफ कंगोस्थित उभिराकी २६ वर्षीया अमिना मारी ग्रेस सफी महिलालाई मात्र होइन हरेक मानवका लागि मानव अधिकार आवश्यक छ भन्ने सिद्धान्तमा लड्दै आएकी योद्धा हुन् ।

ब्रह्माण्डको उत्तरी भेगका ८० प्रतिशतभन्दा बढी महिला द्वन्द्वबाट ग्रस्त छन् । यही भेगमा पर्ने कंगोमा महिला र मानव अधिकारका लागि लडिरहेकी अमिना पेसाले वकिल हुन् । म महिलाको मात्र नभएर सम्पूर्ण कंगोबासीको अत्मसम्मानका लागि लडिरहेकी छु–अमिना भन्छिन्–जब सबैले यो अधिकार पाउँछन् महिलाहरू आफै सशक्त हुन्छन् ।

सोफाद नामक संस्थाकी कार्यक्रम म्यानेजर अमिनाले यही संस्थामार्फत विधवा, किशोर–किशोरी, सीमान्तकृत महिला, बलात्कृत तथा घरेलु हिंसापीडितका लागि काम गरिरहेकी छिन् । पुरुषका अगाडि महिलाले बोल्नु हुँदैन भन्ने संस्कारविरुद्ध हजारौं पुरुषको भीडमा बुलन्द आवाज उठाउने अमिनालाई कंगोभर क्रान्तिकारीका रूपमा चिनिन्छ । खानाको मात्र नभएर अधिकारको भोकमरीबाट समेत ग्रस्त कंगोमा अमिनाले जसरी काम गर्नु सहज कुरा होइन । अमिना भन्छिन्–चुनौती चिर्ने बानी परेको छ । मानव अधिकार र आत्मसम्मान प्राप्त गरेको पल मेरा लागि सर्वाधिक सुखद् हुनेछ ।

मिलिका पेत्रोभिक सर्बियाकी २३ वर्षीया किशोरी हुन् । मिलिका महिलाहरूविरुद्ध हुने हिंसा तथा विभेदलाई चिर्न सफल भइन् । २ दशमलव ४ प्रतिशत रोमा समुदायका युवती स्कुल जाने र तीमध्ये कम संख्यामा मात्र कलेज भर्ना हुने ट्ेरन्ड बदल्न प्रयासरत यी युवतीको कामले सर्बियामा परिवर्तन ल्याइसकेको छ । मिलिका सर्बियाका ग्रामीण क्षेत्रमा नि:शुल्क शिक्षा, प्रौढ शिक्षालगायत नि:शुल्क कानुनी परामर्श दिने काममा दिनरात खटिन्छिन् ।

सर्बियामा संस्कार र जातीय कारणले रोमा समुदायका महिला तथा किशोरीहरू विभेद र हिंसा खेप्न बाध्य छन् । स्वास्थ्य, शिक्षा, जागिर–व्यवसाय, अधिकारलगायतका कुरामा विभेद बेहोरिरहेको रोमा समुदायमा मिलिकाको कामकै कारण ठूलो परिवर्तन आइसकेको छ । पिछडिएको तथा सीमान्तकृत रोमा समुदायका महिलाहरू सुसूचित हुनु जरुरी छ, अन्याय र हिंसा भएको खण्डमा कहाँ खबर गर्ने, कोसँग सहयोग माग्ने ? मिलिका भन्छिन्–उनीहरूमा चेतना जगाउनु प्रमुख कुरा हो । आफ्नो अधिकार पहिचान गराउनु तथा त्यसको उपभोग गर्नसक्ने बनाउनु मेरो गन्तव्य हो ।

आर्किया बेलोत मोरक्कोकी भूमिअधिकारकर्मी हुन् । संसारमा ७५ प्रतिशत जमिन पुरुषको स्वामित्वमा रहेको र अधिकांश महिला भूमिहीन तथा सम्पत्तिहीन भैरहेको अवस्थालाई नजिकबाट नियालिरहेकी आर्किया मोरोक्कोको भूमिनीति बदल्न थुप्रै दशकदेखि प्रयासरत छिन् ।

६९ वर्षीया बेलोत मोरोक्कोमा बाबुको नामबाट सीधै छोराको नाममा जग्गा पास गरिने र पैतृक सम्पत्तिमा छोरीको कुनै अधिकार नहुने नीतिका विरुद्ध संघर्षरत छिन् । उनले भूमिमा महिलाको अधिकारका लागि हालसम्म थुप्रै अभियान, धर्ना, जुलुस, तालिम, कार्यशाला चलाइसकेकी छिन् । आर्थिक रूपमा सबल भए मात्र महिलाहरू पूर्णरूपमा सशक्त हुन सक्छन्–आर्किया भन्छिन्–जबसम्म महिलाको नाममा सम्पत्ति हुँदैन तबसम्म हामी महिला न त पहिलो दर्जामा पुग्छौं न त हाम्रो कुनै निर्णय नै मान्य हुनेछ, तसर्थ सम्पत्तिमाथिको अधिकार महिला सशक्तीकरणको पहिलो खुड्किलो हो ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्