Teej banner

पिंकजबमा महिला नै किन ?

मेनुका बस्नेत

असार २७, २०७५

 

बिरामी भएर कुनै अस्पताल पुग्नुभयो भने त्यहाँ केयर गर्ने नर्स महिलाहरू नै हुन्छन् । प्लेनमा यात्रा गर्दै हुनुहुन्छ भने ढोकामा स्वागत गर्नेदेखि आवश्यक पर्ने सरसहयोग गर्ने एअर होस्टेस पनि महिला नै हुन्छन् । चाइल्ड केयरिङ तथा मन्टेश्वरीजस्ता क्षेत्रमा पनि महिलाहरूले प्रदान गर्ने सेवा नै बढी रुचाइन्छ ।

परम्परागत रूपमा महिलाले मात्र गर्ने भनेर तोकिएका कामलाई अहिले अमेरिकालगायत केही विकसित देशमा पिंक जब भनिन्छ । दिनानुदिन परिवर्तन हुँदै गएको समाजमा महिलाले गर्न नसक्ने भनेर तोकिएका कतिपय काम गरेर धेरै महिलाले त्यसलाई चुनौतीसमेत दिइरहेका छन् भने केही त्यस्ता काम अहिले पनि छन् जुन काम पुरुषबाट हुनै सक्दैन वा भए पनि प्रभावकारी मानिँदैन । विशेषगरी ग्राहकसँग प्रत्यक्ष वा नजिक भएर सेवा गरिने क्षेत्र जस्तै: नर्सिङ, एअर होस्टेस, मन्टेश्वरी शिक्षक, रिसेप्सनिस्ट आदि पेसामा सेवाग्राहीले महिलालाई नै रुचाउने हुनाले यस्ता क्षेत्रमा महिलाहरू नै सम्लग्न छन् ।

नेपाल नर्सिङ एसोसिएसनकी अध्यक्ष तारा पोखरेल भन्छिन्–‘जसरी बाबाको भन्दा आमाको स्याहार–सुसारलाई मानिसहरूले प्यारो मान्छन्, त्यसैगरी यो क्षेत्रमा पनि मेलको भन्दा फिमेलको सेवालाई बिरामीहरूले बढी रुचाउँछन् ।’ महिला, पुरुष, बालबालिका एवं वृद्धवृद्धा सबै उमेर समूहका बिरामीले फिमेल नर्सलाई बढी मनपराउने पोखरेलको अनुभव छ । यो क्षेत्रमा पुरुष नभएका होइनन् तर तिनको संख्या नगण्य छ । नेपाल नर्स काउन्सिलका अनुसार देशभर जम्मा १८ हजार २ सय २० नर्स कार्यरत छन् । जसमध्ये पुरुषको संख्या औंलामा गन्न सकिने मात्र छ । पोखरेल भन्छिन्–‘धरान, चितवन र काठमाडौंका एक–एक वटा अस्पतालमा मात्र केही पुरुष नर्स कार्यरत छन् ।’

प्लेनमा यात्रुहरूलाई आवश्यक परामर्श र खानेकुरा उपलब्ध गराउने एअर होस्टेस पनि महिला हुनुलाई सामान्य मानिन्छ । यो पेसामा कुनै पुरुष देखियो भने धेरैजना अचम्भित हुनसक्छन् । यो पेसामा पुरुषको आकर्षण न्यून छ । पुतली सडकको न्यू प्लाजास्थित फ्लाई टेक इन्टरनेसनल एअर होस्टेज एकेडेमीले कुनै समय इच्छुक पुरुषलाई पनि तालिममा भर्ना लिएको थियो । एकेडेमीका प्रमुख नाजिर हुसेन पुरुष ट्रेनी कम आउने र माग पनि खासै नभएकाले अहिले पुरुष ट्रेनी लिन बन्द गरिएको बताउँछन् । केही पुरुष त यसमा आउन चाहे पनि साथीभाइ तथा आफन्तले जिस्काउने डरले हिच्किचाउँछन् । हुसेनका अनुसार अहिले पनि केही इन्स्टिच्युटले यसप्रति रुचि भएका पुरुषलाई लिने गरेका छन्, तर उनीहरूको माग राष्ट्रियभन्दा अन्तर्राष्ट्रिय उडानमा हुन्छ ।

मन्टेश्वरी तथा चाइल्ड केयरिङको क्षेत्रमा कति महिला कार्यरत छन् भन्ने कुरा यकिन नभएपनि अधिकांश यस्ता विद्यालयमा महिला नै देखिन्छन् । त्यतिमात्र होइन, प्राथमिक तहमा अध्यापन गराउनेअधिकांश अध्यापक पनि महिला नै हुन्छन् । कतिपय विद्यालयमा समान शैक्षिक योग्यता भएका पुरुष शिक्षकले माथिल्लो तहमा र महिला शिक्षकले तल्लो तहमा अध्यापन गराउने गरेका छन् ।

सानादेखि ठूला कार्यालयका फ्रन्ट डेस्कमा पनि आकर्षक पहिरनमा महिलाहरू नै देखिन्छन् । महिलाहरू आकर्षक देखिने हुँदा पनि फ्रन्ट डेस्क तथा कस्टमरलाई प्रत्यक्ष सेवा प्रदान गरिने ठाउँमा उनीहरूलाई रुचाइने मान्यता छ ।

महिलाको सुन्दरताको प्रयोग पो हो कि?

सामान्यत: नर्सिङ तथा चाइल्ड केयरिङमा अरूको भावना बुझ्न सक्ने स्वभाव प्रमुख आवश्यकता भए पनि ती क्षेत्रमा काम गर्ने महिलामा आकर्षणसमेत खोजिन्छ । एअर होस्टेज पेसामा त प्रमुख विशेषता नै सुन्दरता हो । फ्लाई टेकका अध्यक्ष हुसेन भन्छन्–‘कुनै महिला जतिसुकै बुद्धिमान् भए पनि गुड लुक्स छैन भने एअर होस्टेजमा उनको स्कोप छैन ।’

यो क्षेत्रमा सफ्ट तथा पोलाइटनेस पनि आवश्यक हुने उनको बुझाइ छ । महिला अधिकारकर्मीहरू भने सेवा प्रदान गरिने क्षेत्रमा महिलालाई नै रुचाइनु परम्परागत सोच भएको टिप्पणी गर्छन् । लेखक सावित्री गौतम विशेषगरी सर्भ गर्ने, स्याहारसुसार गर्ने तथा अतिथिको सम्मान गर्नेकाम महिलाले गर्न सक्छन् भन्ने मान्यताले यस्ता क्षेत्र महिलालाई सुहाएको जस्तो लाग्ने बानी परेको बताउँछिन् । गौतम भन्छिन्–‘घरमा आएका पाहुनालाई चिया दिन छोरीहरूलाई नै अह्राइन्छ ।

केही वर्षअघिसम्म विवाह वा भोजमा टोलछीमेकका केटीहरूलाई सजाएर राखिन्थ्यो ।’ गौतमको बुझाइमा एयर होस्टेज, होटल तथा कार्यालयका रिसेप्सनिस्टका रूपमा सुन्दर महिलाका लागि कम जोखिमयुक्त काम भएकाले पनि अभिभावकले यस्ता काममा छोरीहरूलाई हौस्याएका हुन सक्छन् । अहिले यो मान्यतामा परिवर्तन हुँदै गएकाले जहाजका होस्ट, रिसेप्सनिस्ट वा नर्सका रूपमा थुप्रै पुरुषलाई देख्न पाइन्छ भने महिला डाक्टर वा पाइलटको संख्या पनि प्रशस्तै छ ।

पुरुषको पनि क्रेज छ

यी क्षेत्रमा धेरैजसो महिला नै देखिने भएकाले कतिपयले पुरुषले पनि यस्तो काम गर्न सक्छन् र ? भन्ने प्रश्नसमेत गर्दै आएका छन् । नेपालमा कुनै समय नर्सिङमा आबद्ध हुन चाहने पुरुषका लागि एउटा कलेजमा १० प्रतिशत कोटा छुट्याइएको थियो । नर्सिङ सोसिएसनकी अध्यक्ष पोखरेलका अनुसार वि.सं. २०४० को दशकमा त्यस्तो व्यवस्था थियो । त्यतिबेला पुरुषहरू अध्ययन गर्न पनि आउँथे तर बिरामी तथा अस्पताल प्रशासनले नै पुरुषको काम रुचाएनन् र उक्त व्यवस्था नै हटाइयो । यो व्यवस्था भएका बेला पुरुषको राम्रै क्रेज रहेको र उनीहरू रुचिका साथ नर्सिङ अध्ययन गर्न आउने गरेको पोखरेल बताउँछिन् ।

यस्तै एअर होस्टेजको तालिम लिन आउनेमा पनि १० प्रतिशत पुरुष हुने तथ्यांकलाई मध्यनजर गर्ने हो भने यो क्षेत्रमा पुरुषको रुचि छ भन्ने तथ्यलाई नकार्न सकिँदैन । गर्भावस्था वा महिनावारीमा महिलाहरूलाई आरामको आवश्यकता हुने भएकाले यी क्षेत्रमा पुरुषको पनि आवश्यकता महसुस गर्छिन् नर्सिङ एसोसिएसनकी अध्यक्ष पोखरेल । उनी करिब दुई दशकअघि भएको यो व्यवस्थालाई फेरि ब्युँताउने प्रयासमा छिन् । नर्सिङ पेसामा आउन चाहने पुरुषलाई आवश्यक तालिम दिएर यो पेसामा सहभागी गराउन सकिने कुरा बताउँदै उनले नर्सिङ एसोसिएसनले पुरुष सहभागिताको माग गर्दै आएको कुरासमेत उल्लेख गरिन् ।

मनोविद् गोपाल ढकालका अनुसार आमरूपमा बुझ्दा महिला र पुरुषको स्वभाव आ–आफ्नै भए पनि केही महिला वा पुरुषमा हुने विशिष्ट स्वभावका कारण महिलाले गर्ने काममा पुरुषले र पुरुषले गर्ने काममा महिलाले रुचि देखाउँछन् । त्यसैले महिलाकै लागि भनेर तोकिएका काममा केही पुरुषले समेत रुचि देखाउँदै आएका छन् ।

आकर्षण मुख्य कारण भने होइन

धेरैजसो सेवामूलक जबमा पुरुषको तुलनामा महिलालाई अवसर दिइने चलन नेपालमा मात्र होइन विश्वभर छ । पुरुषको तुलनामा महिलाहरू अरुको भावना बुझ्न सक्ने स्वभावका हुन्छन् । महिलाको दायाँ दिमाग चल्ने भएकाले उनीहरूमा अरूको विचार र सेन्टिमेन्टस्बुझ्न सक्ने विशेष क्षमता हुन्छ । दायाँ दिमाग, भावना र इमोसनसँग सम्बन्धित हुन्छ ।

 त्यसैलेपनि जति सेवामूलक काम छन्, तिनमा महिलाहरूलाई बढी रुचाइन्छ । नर्सको सन्दर्भमा उनीहरूले बिरामीको भावना तथा पीडा महसुस गर्न सक्नुपर्छ र यो काम महिलाले नै गर्न सक्छन् । एअर होस्टेजको सन्दर्भमा पनि महिलाहरूले यात्रुको मर्का बुझ्न सक्ने भएकाले यो पेसामा पनि महिलालाई नै प्राथमिकता दिइन्छ । यस्तै चाइल्ड केयरिङमा पनि महिलालाई राखिनुको कारण, बालबालिकातथा महिला दुवैको दायाँ दिमाग बढी सक्रिय हुने हुँदा बालबालिका तथा महिलाको भावना, स्वभाव एवं रुचि मिल्छ । यसैकारण हामी घरका बालबालिकाहरू बुवासँग भन्दा आमासँग बढी झुम्मिएको देख्छौं ।

आकर्षणका कारण महिलालाई यी क्षेत्रमा रुचाइएको हुनसक्ने कुरालाई साइकोलोजीले प्रमुख कारण मान्दैन । मुख्य कुरा सेवाग्राहीको भावनालाई बुझेर उनीहरूलाई प्रभावकारी सेवा दिन सक्ने काम महिलाबाट हुन्छ । यसमा आकर्षणको कुरा गौण हुन्छ किनभने जसरी पुरुषका लागि महिला आकर्षक हुन्छन्, त्यसैगरी महिलाका लागि पुरुष आकर्षक हुन्छन् । बिरामी भएर अस्पताल जाने, प्लेनमा यात्रा गर्ने मानिस पुरुष मात्र हुँदैनन् । आकर्षणकै मात्र कुरा हो भने महिला सेवाग्राहीका लागि सेवा प्रदान गर्ने व्यक्ति पुरुष नै हुनुपर्ने हो ।

कुनै वस्तुको बजारीकरणका लागि गरिने विज्ञापनमा महिलालाई राख्नुको कारण उनीहरूले भनेको कुरालाई विश्वास गर्ने मनस्थिति हामीसँग हुनु पनि हो ।

                                                                                                   - गोपाल ढकाल, मनोविद्

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्