Teej banner

बिर्सन नसकिने ती तीन पुरुष

रूपा शर्मा नेहा

असार १९, २०७५

 

जीवनका तीन पुरुष, जसलाई म चाहेर पनि बिर्सन सक्दिन । बिर्सन चाहन्न पनि । एउटी सामान्य महिलालाई चारतारे होटलसम्म पहुँच बनाइदिने ती पुरुष मेरो जीवनका त्यस्ता विषालु काँडा हुन् जसका सम्झनाहरू अझै पनि खिल बनेर घोचिरहन्छन् ।

म एक मध्यमवर्गीय परिवारमा जन्मिएकी शिक्षित बाबुआमाकी छोरी । हामी ३ जना छोरी छांै । छोरा नपाएको आरोपमा बुवाले कान्छी ल्याएर मेरी आमालाई हेला गर्न थाले । सधैजसो रक्सीले मातेर आउने बुवाले वर्षौं आमालाई कुटपिट गरेपछि उहाँ माइतीको आश्रयमा जान बाध्य हुनुभयो । म ३ वर्षकी हुँदा बुवा र आमा छुट्टिनुभयो ।

मेरी आमाले सानोतिनो जागिर गरेर हामी ३ दिदी–बहिनीलाई हुर्काउनुभयो । आमा हामी ३ जना छोरीलाई सँगै लिएर सुत्नुहुन्थ्यो तर मध्यरातमा उहाँको चित्कारले हामी बिउँझन्थ्यौं । भक्कानो छोड्दै आमा रुँदा हामी उहाँको अनुहार हेरेर आँसु बगाउने सिवाय केही गर्न सक्दैनथ्यौं । पीडा र रोदनबीच मेरो बाल्यकाल बित्दै गयो । मलाई बुवाको अभाव सधै खड्किन्थ्यो ।

म कक्षा ८ मा अध्ययनरत थिएँ । गाउँकै एक धनाढ्य परिवारको छोरो राजनसँग मेरो मित्रता बढ्न थाल्यो । ऊ र म एउटै कक्षामा पढ्थ्यौं । सँगै पढ्ने, सँगै खेल्ने अनि सँगै बसेर आफ्नो बाल्यकालदेखिको पीडा बिसाउने । ऊ मलाई तिमी सानै भए पनि बूढाबूढीका जस्ता कुरा गछर््यौ भन्थ्यो । हामी उमेरमा सानै भए पनि भविष्यका ठूल्ठूला सपनाका कुरा गथ्र्यौं । हामीले आफ्नो खुट्टामा उभिएर विवाह गर्ने योजनासमेत बनाएका थियौं ।

सानैदेखि बुवाको सामीप्यबाट टाढिएकी मलाई उसको मायाले नजिक बनाउँदै लग्यो । हामी एसएलसी उत्तीर्ण भयौं अनि आफ्नो सपना साकार बनाउन काठमाडौं आयांै । म मेरी फुपूकी छोरीसँग बस्थें, ऊ आफ्नो अंकलको छोरासँग । हामी गाउँका मान्छे, यद्यपि मलाई काठमाडौंको झिलिमिलीले भन्दा पनि राजनले बढी प्रभाव पार्दै गएको थियो ।

ऊ, म अनि मेरी फुपूकी छोरी सँगै घुम्न तथा फिल्म हेर्न जान्थ्यौं । एकदिन म साथीको घरमा बस्न गएकी थिएँ । एक्कासि घरबाट ट्युसन हिँडेकी बहिनी फर्केर आइनन् भन्ने खबर आयो । खोज्दै जाँदा राजनले नीतालाई भगाएको थाहा भयो । जीवनमा जसले मलाई सानै उमेरमा सँगै बाँच्ने र मर्ने कसम ख्वाएको थियो उसले आफ्नै बहिनी भगाएको कुराले म दुई दिन त बेहोसजस्तै भएँ ।

समय बित्दै गयो । लाग्थ्यो अब सधै अविवाहित नै बसूँ तर मैले आफ्नी आमाको खुसीका लागि विवाह गर्नैपर्‍यो । मैले विवाह गरें । आमाको रोजाइमै मेरो विवाह भयो । नेपाली समाजमा लोग्ने भनेका भगवान् हुन् । मेरा श्रीमान् मैले पुज्ने सबैभन्दा ठूला भगवान् थिए । म सधै उनलाई पुज्थें । मात्र एउटा स्वार्थ थियो मेरो–उनको माया । हामीबीच एकदमै राम्रो सम्बन्ध थियो । म सोच्थें एकपटक प्रेममा धोका खाँदैमा जीवन सकिने रहेनछ ।

श्रीमान्को माया पाएपछि मैले संसार जित्न थालेकी थिएँ । म पढाइ सकेर जागिर खान थालें । राम्रै तलब थियो । हरेक महिनाको तलब पाएको दिन म सरप्राइज गिफ्ट बोकेर घर जान्थें अनि आँखा चिम्लिन लगाएर निधारमा एक चुम्बन गरी गिफ्ट उनको हातमा राखिदिन्थें । हाम्रो सम्बन्ध देख्दा साथीहरू ईष्र्या गर्दै भन्थे–के हो, तँ त बूढाबिना एकपाइला हिँड्न पनि सक्दिनस् जस्तो छ ।

हाम्री छोरी जन्मिई । छोरी हुर्काउने क्रममा म छोरीसँग अलि बढी व्यस्त हुन थालें तर मैले उनलाई गर्ने प्रेम र सद्भाव अनि समर्पणमा कुनै कमी आएन । एकदिन अचानक मलाई काम विशेषले बाहिर निस्कनुपर्‍यो । म बाहिर गएर साँझ घर फर्किएँ । झ्यालढोका पूरै बन्द, ओहो आज उहाँ कति छिटो घर फर्कनुभएछ भन्दै ढोका ढकढक्याएँ तर ढोका खुलेन । सायद निदाउनुभएछ । घरको पछाडिबाट टकटक गर्नुपर्‍यो भन्दै पछाडि गएर पर्दाबाट चिहाएँ । म एक्कासि भुइँमा ढलें । कतिबेला कुन सुरमा कसरी कोठामा पुगें सम्झना छैन । मेरा श्रीमान्लाई मैले अर्कै कुनै केटीसँग देखें । जीवनमा दोस्रो पटक म फेरि मायामा हारें । मेरो पवित्र मायालाई कमजोरी मान्नेहरूले ममाथि विजय प्राप्त गर्दै गए । हो म विद्रोह गर्न सक्थें तर त्यतिबेला काखमा सानी छोरी थिइन् । छोरीमाथि पर्न सक्ने असरले गर्दा म सम्झौता गर्न विवश भएँ । मैले आफ्ना श्रीमान्लाई एकपटक मौका दिएँ किनभने मेराअगाडि सन्तानका लागि सम्मmौता गर्नुको विकल्प पनि थिएन । हरेक रात जब उनी मसँग शारीरिक सम्बन्ध राख्न खोज्थे । खुट्टाको पाइतलादेखि शरीरले छाड्दै गएको अनुभव गर्थें म । म मर्थें त्यो पलमा तर विद्रोह गर्दिनथें । छोरी हुर्कदै थिइन् । मेरा श्रीमान् छोरी ३ वर्षकी हुँदा विदेश जान तम्सिए मैले उनलाई रोक्न चाहिन किनभने उनीप्रतिको मेरो माया, त्याग अनि समर्पण शून्यमा झरिसकेको थियो । छोरीका लागि बाबु अनि आमा दुवै म थिएँ । बिदेसिएका श्रीमान्ले पनि हामीलाई कहिल्यै फर्केर हेरेनन् ।

मानिस दुई–चार छाक नखाएर बाँच्न सक्ला तर प्रेम–सद्भाव अनि एक्लोपनमा बाँच्न गाह्रो हुँदोरहेछ । यद्यपि यस्तो ठम्याइ मायामा हार्नेहरूको मात्र पनि हुनसक्छ । म मायाबिना एकदम अधूरो र अपूरो महसुस गर्थें । छोरी १० वर्षकी भई । अब म सोच्न थालें आखिर यसरी मेरो जीवन कहिलेसम्म चल्छ ? के मलाई मेरो जीवन आफ्नो तरिकाले बाँच्ने अधिकार छैन ? जसरी म आफ्ना बुवा, प्रेमी अनि श्रीमान्को मायाबाट वञ्चित भएँ के यो सहरमा कुनै त्यस्ता पुरुष छैनन् जो प्रेमिका वा श्रीमतीबाट पीडित हुन् ।

हो मैले त्यस्तै पुरुष फेला पारें । सामाजिक संजालमा फेला परेका ती पुरुषले पहिलो भेटमै आफ्नो पीडा साट्दा मैले जीवनमा आफूले खोजेजस्तै मान्छे भेटेको अनुभव गरें । हामी दिनहुँजसो सँगै कफी पिउँथ्यौं, सुख–दु:ख साटासाट गथ्र्यांै । ऊ सधै श्रीमतीले उसलाई होच्याउने–दबाउने दुुखेसो पोख्थ्यो । ऊ भन्थ्यो–म गाउँको केटा ऊ सहरमा हुर्के–बढेकी । सहरी मानसिकता र गाउँले जीवन कहिल्यै मेल खाएन सम्भवत: त्यसैले समयले मलाई तिमीसम्म पुर्‍यायो । ऊ थोरै बोल्थ्यो तर उसको बोलीमा व्यक्त हुने पीडा म आत्मसात् गर्न सक्थें । म कहिलेकाहीँ डराउँथे, तर्सन्थें, मेरो जीवनमा पूर्णविराम लागिसकेका दुई पुरुषजस्तै कतै तिमीले पनि मलाई प्रयोग मात्र त गरिरहेका छैनौ ? कतै श्रीमतीका नकारात्मक कुरा गरेर तिमीले मलाई फसाउने चारो फ्याँक्ने काम त गरेका होइनौ ? आँखाभरि आँसु पारेर बोल्दा ऊ मेरो आँसु पुछ्दै भन्थ्यो–तिम्रो कसम, मैले तिमीलाई कुनै कुरामा झूटो बोलेको छैन । ऊ भन्थ्यो–‘मेरी श्रीमतीसँग मेरो कहिल्यै दोहोरो संवाद हुँदैन । घर पस्दा यस्तो लाग्छ मानौं कुनै अपरिचित घरमा पस्दैछु । मेरो सारा सम्पत्ति उसको नाममा छ तर उसको मनमा मेरो नाम छैन ।’ त्यसो भन्दा मेरो मन भक्कानिन्थ्यो । लाग्थ्यो उसलाई सधैका लागि कतै टाढा लिएर जाऊँ जहाँ हामी दुईबीचको प्रेमलाई जीवन्त पार्न सकियोस् ।

 म उसलाई असाध्यै माया गर्थें । ऊसँग बसुन्जेल म उसकै बयान गरेर समय बिताउँथे । म केवल मायाको कुरा गर्न रुचाउँथें । म हाम्रो मायालाई कसरी यो समाजको अगाडि आधिकारिकता प्रदान गर्ने भन्ने कुरा झिक्थें ऊ मेरो कुरामा मौन बसिदिन्थ्यो । कम बोल्ने उसको बानीले गर्दा कहिलेकाहीँ मलाई उसप्रति शंकासमेत लाग्थ्यो । होइन तिमी मेरो कुराको किन जवाफ दिँदैनौ ? हामी यो सम्बन्धलाई यसैगरी कहिलेसम्म धकेल्न सक्छौं ? ऊ फेरि पनि मौन बसिदिन्थ्यो ।

 एकदिन एक्कासि उसको मोबाइलबाट मलाई फोन आयो मैले उठाएँ । उताबाट मेरो हेलोको जवाफ आएन । सायद फोन थिचिएछ । मैले उताको आवाज सुनें, फोन अन नै थियो । शनिबारको दिन बिहान ७ बजेको समय । सायद त्यो बेडमै गरिएको गफ थियो । ऊ अनि उसकी श्रीमती, माया–प्रेमका गफ साटासाट गरिरहेका थिए ।

 झन्डै १० मिनेट फोन थिचिइरह्यो मैले उनीहरूको प्रेमालाप सुनिरहें । जसले आफ्नी श्रीमतीसँग दोहोरो संवाद हुँदैन भन्थ्यो उसको तिनै श्रीमतीसँगको त्यो गफलाई म शब्दमा उतार्न सक्दिन । त्यसबाट मलाई उसको वास्तविकता बुझ्न कुनै कठिनाइ भएन ।

म एक्लै चिच्याएँ, कराएँ, फेरि पनि मलाई त्यस्तै पुरुषसँग संगत गराएकोमा भगवान्लाई सराप्दै रोएँ । यद्यपि मेरो रोदन सुन्ने कोही भएनन् । फेसबुक खोलेर उसकी श्रीमतीको प्रोफाइलमा गएँ । मलाई भेटेर श्रीमतीको कुरा काटेकै बिहान कुनै मन्दिरमा गएर अंगालो हालेर खिचेको फोटो देखें । हरेक शनिबारजसो श्रीमतीलाई घुमाउन नयाँ–नयाँ ठाउँ गएको प्रमाण पनि त्यही फेसबुकमै देखें ।

जीवनमा आफूभन्दा बढी विश्वास गरेका यी तीन पुरुषको संगतबाट मैले एउटा कुरा बुझें–‘पुरुषको प्रेम आत्मासँग होइन शरीरसँग हुँदो रहेछ ।’

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्