Teej banner

कर्णालीमा धेरै राम्रा कुरा छन् तर त्यसको चर्चा हुँदैन

पदम भण्डारी

असार ८, २०७५  

अहिले म काठमाडौंमा बस्छु । काठमाडौंमा बसेर कर्णालीको गाउँलाई सम्झन्छु भन्नु बकम्फुसे कुरा हुन् भन्ने कतिपयलाई लाग्न सक्छ भने कतिपयलाई बेतुकको कुरा लाग्न सक्छ । काठमाडौंमा बसेर कर्णालीको सम्झना † यहाँ किन कर्णालीको सम्झना ? के तुक छ यो सम्झनामा ? कर्णाली सम्झनाको के तारतम्य ? अचम्म लाग्नु अस्वाभाविक होइन ।

धेरै मानिसको दिमागमा भरिएको छ, कर्णाली भनेको दु:खको सागर हो । विकासविद् हौं भन्नेहरूले, राजनीतिज्ञ हौं भन्नेहरूले कर्णालीलाई चरम खाद्य संकट, गरिबी, अविकास र अभावैअभावको थलोका रूपमा चिनाए । विकासविद्हरू, जागिर खानेहरू, राजनीति गर्नेहरू, पत्रकारहरू यसैगरी आफ्नो दुनो सोझ्याइरहेछन् । म कर्णालीमा १२ वर्ष लगातार डेरा जमाएर बसेको छु । कर्णालीको अभावलाई, त्यहाँको अवसरलाई एउटा विकासे कार्यकर्ताको हैसियतले जान्न–बुझ्न पाएको छु ।

कर्णालीमा बस्दा मैले जे खाएँ, जस्तो दैनिकी बिताएँ त्यसैको नतिजा हो ५५ वर्ष लाग्दा पनि मलाई कुनै किसिमको रोगले छोएको छैन । काठमाडौंलगायतका सहरहरूमा आमजनताले नखाने उसिना चामल, फापर, जौ, कोदो, रासायनिक मल र विषादी प्रयोग नगरिएका खानेकुरा खाएँ । अरूले भन्ने नमीठा खानेकुरा खाएर म स्वस्थ भएको रहेछु । अझैसम्म प्राङ्गारिक खानेकुरा उब्जाउने यो थलो स्वास्थ्यका दृष्टिले पुण्यभूमि हो । जान्नेहरूले मात्र यसको विशेषता थाहा पाउँछन् ।धेरैले कर्णालीलाई खानेकुरा नपाइने ठाउँका रूपमा परिभाषित गर्छन् र दुई–चार दिनका लागि त्यहाँ पुग्दा खानेकुरा नपाएर कन्तबिजोक भएको मान्छन्, तर त्यहाँ मैले खाएका खानेकुरा गौरव गर्न लायक पो रहेछन्, किनभने मैले त्यहाँ हुँदा विशुद्ध प्राङ्गारिक खानेकुरा खाएको थिएँ । काठमाडौं बसेपछि थाहा भयो कर्णालीको खानेकुराको शक्ति । काठमाडौंको भान्साकोठामा म कर्णालीमा भन्दा धेरै परिकार पाउँछु तर त्यसलाई मैले जति गर्व गरेर खाइरहेछु त्यति नै आत्मग्लानि पनि गरिरहेछु । रातो मार्सीदेखि कागुनोसम्म, लट्टेदेखि सिमीसम्म, मकैदेखि कोदोसम्म र फापरदेखि जौसम्म, आलुदेखि पिँडालुसम्म, स्याउदेखि जडीबुटीसम्म के उत्पादन हुँदैन कर्णालीमा ? यस्तो विविधता संसारमा कतै छैन । धेरैलाई आश्चर्य लाग्न सक्छ, कर्णालीमा उत्पादन हुने धान संसारकै उच्च स्थानमा फल्ने धान हो । त्यस्ता बाली अरू पनि छन् । कर्णालीमा जे फल्छन् स्वादिष्ट र प्राङ्गारिक खानेकुरा नै फल्छन् ।

जैविक विविधताका दृष्टिकोणले कर्णाली निकै धनी छ । गर्मी हुनेदेखि बाह्रै महिना हिउँ रहने क्षेत्र कर्णालीमा पाइन्छ । हुम्ला कर्णाली र मुगु कर्णाली विद्युत् उत्पादनका हिसाबले सबैभन्दा उपयुक्त नदी मानिन्छन् । नेपालमा पाइने स्याउमध्ये बढी गुलियो स्याउ कर्णालीको जुम्लामा मात्र पाइन्छ । रातो मार्सी धान त जुम्लाको पहिचान नै भैहाल्यो ।

लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । मुगुबाट हुम्ला जाँदा बाटोमा पर्ने चंखेली क्षेत्रमा रातो गुराँसका साथै सेतो गुराँस पनि प्रशस्त मात्रामा पाइन्छ । कर्णालीमा लौंठ सल्लो प्रशस्त पाइन्छ जसलाई क्यान्सरको औषधि मानिन्छ । जडीबुटीहरूमा पाँचऔंले, जटामसी, कुड्की पनि यही क्षेत्रमा पाइन्छ । कर्णालीले थुप्रै जडीबुटी तिब्बत एवं भारत निकासी गर्छ । कर्णालीको क्षेत्र हिमचितुवा, कस्तूरी, मृग, घोरल तथा डाँफेको वासस्थान हो । नेपालमा पाइने ठूलो खालको जंगली मौरी कर्णालीमा मात्र पाइन्छ । साइबेरिया र मानसरोवरबाट हिउँदमा बसाइ सरेर जाडो छल्न आउने चराचुरुङ्गीको वासस्थान हो रारा र से–फोक्सुन्डो । रारा र से–फोक्सुन्डोजस्ता देशका सबैभन्दा ठूला र गहिरा ताल कर्णालीमै पर्छन् । यी तालको संरक्षणमा स्थानीय जनताले देखाएको सक्रियता नमुना नै मानिन्छ ।

कर्णाली नेपाली भाषा र संस्कृतिको उद्गमस्थल हो । कर्णालीको भूगोल एउटा बहुसांस्कृतिक पहिचान भएको क्षेत्र हो । देशको सबैभन्दा ठूलो भूगोल तर केबल तीन लाखजति मात्र जनसंख्या । विविध संस्कृति र संस्कार बोकेको कर्णाली प्राकृतिक रूपले सुन्दर छ । कर्णालीमा अति कमलो पहाड छ । भनिन्छ–यहाँ हावा चल्दा पनि पहिरो जान्छ । बुद्धधर्मभन्दा अघिको बोन धर्मको उत्पत्ति स्थल पनि हो कर्णाली । बोन धर्मको विशेषता कालो बोन र सेतो बोन धर्म कर्णालीको डोल्पो क्षेत्रमा विद्यमान छ । त्यसैले कर्णालीलाई देशको जीवित संग्रहालय मानिन्छ । कर्णाली बहुपतिप्रथा भएको थलोका रूपमा समेत चिनिन्छ । कर्णाली योगी नरहरिनाथजस्ता दार्शनिकको जन्मथलो हो ।

मुलुकको सबैभन्दा पुरानो मानवबस्ती भएको स्थान कर्णालीमै छ । उपल्लो डोल्पो पर्यटकहरूका लागि पवित्र क्षेत्र हो । हिन्दूहरूको आस्थाको केन्द्र कैलाश मानसरोवर जाने बाटो हुम्लाको सिमकोट हो । नेपालको सबैभन्दा उच्चस्थानमा रहेको जिल्ला सदरमुकाम पनि हुम्लाको सिमकोट नै हो । सिमकोट झन्डै १० हजार फिटको उचाइमा अवस्थित छ । विश्वकै उच्च स्थानमा रहेको उच्च हिमाली पद मार्ग अर्थात् ग्रेट हिमालय ट्रेल कर्णालीमै पर्छ । विश्वको सबैभन्दा अग्लो ‘पचाल’ झरना कालिकोटको राम्नाकोटमा छ, यद्यपि यो कुरा प्रमाणित भैसकेको छैन ।

हुम्लाको लिमी गाउँ अद्वितीय एवं आश्चर्यचकित तुल्याउने स्थान हो । हुम्लाको खगाल गाउँस्थित तातोपानीको खोला सम्भवत: नेपालकै सबैभन्दा ठूलो खोला हो । हुम्लाको लिमी गाउँमा रहेको हल्जी गुम्बा नेपालको सबैभन्दा पुरानो गुम्बा मानिन्छ । लिमी नेपालकै उच्च भागमा रहेको बस्ती हो ।

कर्णाली विकासका लागि अवसरप्राप्त क्षेत्र हो । सरकारले विकासका लागि यो क्षेत्रलाई प्राथमिकतामा राखेको छ । सुर्खेतबाट जुम्ला, छिञ्चुबाट जाजरकोट हुँदै डोल्पा, कालिकोटको हुल्मबाट र तिब्बतको सीमा हिल्साबाट हुम्लाको सदरमुकाम सिमकोट, कालिकोट र जुम्लाको सीमा नाग्माबाट मुगु जोड्ने सडक खण्डहरूको निर्माणमा पनि सरकार जुटेको छ ।

६० को दशकतिर कर्णालीका विद्यार्थीहरू विदेश पढ्न जान पाउनु भनेको ठूलो कुरा मानिन्थ्यो, तीमध्ये धेरै विद्यार्थीले विदेशबाट पिएचडी गरेका छन् भने कतिपय अध्ययन पूरा गरेर उतै काम गरेर बसेका छन् । ६० कै दशकतिर कर्णालीका मानिसहरू डाक्टर, इन्जिनियर, पाइलट, कृषि विशेषज्ञ आदि हुनु भनेको ठूलो उपलब्धि मानिन्थ्यो तर अहिले धेरै जिल्लावासी ती पेसामा आबद्ध छन् ।

धेरै लामो समय भएको छैन । कर्णालीमा रेडियो नेपालको प्रसारण राम्रो सुनिँदैनथ्यो, तर अहिले प्रत्येक जिल्लामा एकभन्दा बढी एफ.एम. रेडियो स्टेशन छन् । पहिले शाही नेपाल वायुसेवा निगममात्र हुँदा कर्णालीमा हवाई टिकट हात पारेर यात्रा गर्नु भनेको ठूलै लडाइँ जित्नु जत्तिकै हुन्थ्यो तर अहिले धेरै निजी हवाई कम्पनीले सहुलियत दरमा हवाई टिकट उपलब्ध गराउँछन् । बैंकको नाममा सदरमुकाममा नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक मात्र थिए तर अहिले एटिएमसहितका निजी बैंकहरू गाउँ–गाउँमा छन् । अहिले विभिन्न सामुदायिक संगठन तथा सहकारीहरू ऋण परिचालन कार्यक्रममा संलग्न छन् ।

कर्णालीमा हरियो सागसब्जी पाइँदैनथ्यो तर अहिले एक घर एक करेसाबारी अभियान चलेको छ । प्लास्टिकका टनेलहरू बनाएर व्यावसायिक रूपमा बेमौसमी तरकारी खेती गर्नेहरू बढेका छन् । कर्णालीमा गाईभैंसीको दूध पाइँदैनथ्यो, तर अहिले त्यहाँ डेरी व्यवसाय गर्ने सहकारीहरू सक्रिय छन् । कर्णालीका जनतालाई फोहोरीको उपमा दिइन्थ्यो तर अब त्यस्तो छैन । गाउँलाई सफा राख्न धेरै गाउँ खुला दिसामुक्त क्षेत्र घोषणा भएका छन् । कर्णालीका धनी र गरिबबीच त्यति ठूलो असमानता छैन । कर्णाली गरिब छ, यहाँका मानिस गरिब छन् भन्ने कुरा त्यति ठूलो सत्य होइन । कर्णाली गरिब छ भनेर हल्ला फिँजाइएको मात्र हो । त्यहाँको प्राकृतिक स्रोत र साधनको दिगो उपयोग नभएर त्यहाँका जनता गरिबीमा बाँच्न बाध्य बनाइएका मात्र हुन्, कर्णाली आफैमा गरिब होइन ।

कर्णाली आधुनिक घट्ट संघ, खानेपानी तथा सरसफाइ संघ, बचत तथा ऋण सहकारी संघजस्ता थुप्रै संघसंस्था स्वत:स्फूर्त रूपमा खुलेका छन् । महिलाहरू समूहमा संगठित हुन थालेका छन् । संगठित भएर आफ्ना साझा समस्या समाधानका लागि जिम्मेवारी लिन थालेका छन् । कतिपय महिलाले समूहको जिम्मेवार पद सम्हालेका छन् । गर्भवती महिलाहरूले आफ्नो स्वास्थ्य परीक्षण गराउनुपर्छ भनेर बुझेका छन् ।

माथिका भनाइहरूलाई कसैले तथ्याङ्कद्वारा पुष्टि गर्नुपर्छ भन्लान् कसैले प्रमाण खोज्लान् । यद्यपि त्यो सम्भव छैन यो त नितान्त निजी अनुभूति हो । म पनि यी भनाइहरू शत प्रतिशत ठीक छन् भनेर दाबीका साथ भन्न चाहन्नँ ।

कर्णालीका बासिन्दालाई दु:ख गर्न सक्ने एवं तत्कालै प्रतिक्रिया दिन सक्ने हिम्मतिला मानिसका रूपमा चिनिन्छ । कर्णालीका मानिसहरूले मागेर खाँदैनन् । कर्णालीका मानिस कर्मशील छन् । कर्णालीका मानिस चोर र डाँका छैनन्, आत्महत्या गरेर मर्नेहरू छैनन्, भए पनि नगन्य छन् । उपलब्ध साधनहरू थोरै भएकाले विकल्पहरूका बारेमा सोंच्ने क्षमता राख्छन् । कर्णालीका मानिसहरूसँग बाँच्ने थुप्रै तरिका छन् । जीवन जिउनका लागि हरेक पल सोच्छन् र नयाँ विकल्पहरू अगाडि ल्याउँछन् । कर्णालीका मानिसहरू व्यावसायिक छन् ।

कर्णालीमा धेरै राम्रा कुरा छन् तर त्यसको चर्चा हुँदैन । कर्णालीमा यस्ता धेरै चीज छन् जसको खोजी भएकै छैन । यति धेरै सम्भावना बोकेको कर्णालीका नाममा किन यति धेरै नकारात्मक टीकाटिप्पणीहरू हुन्छन्, मैले बुझ्न सकेको छैन । कर्णालीवासीले किन यसरी हेपिनुपर्छ मेरो समझभन्दा बाहिर छ ।

(भण्डारी विभिन्न गैरसरकारी संघसंस्थामा आबद्ध भै विगत १५ वर्षदेखि कर्णालीमा कार्यरत छन् । हाल उनी नेपाल कृषि बजार विकास कार्यक्रममा वरिष्ठ बजार विज्ञ पदमा कार्यरत छन् ।)

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्