योङ अचिभर श्री नेहा

नारी संवाददाता

जेष्ठ २२, २०७५

श्री नेहा पोखरेल

सामाजिक अभियन्ता तथा अध्यक्ष नेपाल स्नेही काख

बालबालिकाले असाध्यै मासु खाने रहर गरे पनि आफूसँग मासु किन्न सक्ने क्षमता थिएन, विवाह पार्टीमा गएका बेला ब्यागभित्र भएका सबै सामान बाहिर निकालें, अनि नेपकिनमा बेरेर पटक–पटक गर्दै मासु ब्यागमा हालें अनि घरमा ल्याएर उनीहरूलाई ख्वाएँ–कुराकानीको सुरुवातमै २४ वर्षीया युवती श्री नेहा भावुक देखिइन् । सुरुवाती दिनमा मात्र होइन आज पनि यस्तै कठिनाइसँग जुटिरहेकी छिन् उनी ।

अहिले पनि उनको संस्था स्नेही काखमा रहेका ३३ जना मनोरोगी तथा तिनका कोखबाट जन्मिएका सन्तानको लालनपालन एवं शिक्षाका लागि श्री नेहा कहिले सडक नाटक, कहिले थिएटर नाटक त कहिले सडकमा म:म बेच्ने काम गर्छिन् । सडकमा बलात्कार हुनेहरूमा मनोरोगीको संख्या उच्च रहेको उनको अनुभव छ । पोखरेलले गर्भवती, भर्खरै सुत्केरी भएका तथा सडक वा अस्पतालमा जन्मिएका नवजात शिशु ल्याएर आफैंले न्वारन, पास्नी आदि गरी लालनपालन एवं शिक्षा प्रदान गर्दै आएकी छिन् । अहिले उनीसँग ४ जना दुधे बालबालिका छन् ।

थिएटर आर्टिस्ट तथा मोडल श्री नेहालाई यसरी समाजसेवामा लाग्छु भन्ने थिएन । एकदिन बाटोमा हिँड्ने क्रममा उनले खाल्डोमा फोहोर पानी खाइरहेको मानिस देखेपछि उनले पानी किनेर दिँदै सोधिन्– के खान मन छ ? उनले भने–भात । त्यसको भोलिपल्ट उनी टिफिनमा भात बोकेर उनीकहाँ पुगिन् । जाडो महिना भएकाले थर्मसमा बोकेर लगेको तातो पानीले हात धोइदिँदा ती व्यक्तिको आँखाबाट आंँसु झरे जुन श्री नेहाका लागि जीवनको टर्निङ प्वाइन्ट बन्यो र लागिन यस्ता थुप्रैको जीवनरक्षा र रेखदेखमा । सुरुमा उनी आफैंलाई म के गर्दैछु भन्ने थाहा थिएन क्रमश: उनमा त्यस्ता बालबच्चा देख्दा ममता भरिंदै गयो । अहिले उनी आफूलाई बालबालिकाको मात्र नभएर आफूकहाँ भएका सबै मनोरोगीको आमा महसुस गर्छिन् ।

उनको कलिलो र सुन्दर अनुहारमा तिनले कोरिदिएका डाम र दाग देखिन्छ उनी यसलाई मायाको चिनोका रूपमा लिन्छिन् । उनको संस्थाका ७ जना सदस्य कुनै न कुनै जागिरमा अल्झिएका छन् । उनीहरू आफूले कमाएको पैसा त्यही खर्चिन्छन् । श्री नेहा भने चौबीसै घण्टा नेपाल स्नेही काखमा खट्छिन् । पोखरेल भन्छिन्– यिनको स्याहारमा जति खट्छु म आफूलाई उति नै बलियो महसुस गर्छु ।  म आफूमा गर्व गर्दिन कि मैले फोहोरको थुप्रोबाट कुनै बच्चा वा मानसिक रोगी गर्भवती अथवा सुत्केरी उठाएर ल्याएँ त्यसमा मलाई दु:ख लाग्छ । दु:ख किन भने मेरोजस्तो संस्था निर्मूल हुने कुनै छाँटकाँट छैन ।

नेपाल कसरी असहाय मुक्त होला ?

मैले यसरी आँखाका नानी जसरी राखेका सन्तान खरिद गर्न राम्रै डलर दिनेहरू आउँछन् तर हामी एकछाक खान्छौं तर नैतिकताविरुद्धको यस्तो काम गर्दैनौं । म त चाहन्छु नेपालबाट हाम्रा जस्ता संस्था निर्मूल हुन् । कसैलाई पनि फोहोरको थुप्रोबाट उठाउनु नपरोस् । मलाई विश्वमै मेरो देशको सम्मान बढेको हेर्ने मन छ । यसका लागि सबै नेपालीको मन अनि हृदय ठूलो हुनु जरुरी छ । युवाहरूमा सेवाभाव जागृत हुनु जरुरी छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्