आफ्ना लागि आफैंले प्याड बनाउँछन् छात्राहरू

अर्जुन राजवंशी

जेष्ठ २०, २०७५

मोरङको उर्लाबारी नगरपालिका–१ स्थित नुनसरी आधारभूत विद्यालयका छात्राहरू आफ्ना लागि आवश्यक सेनेटरी प्याड विद्यालयमा आफैं बनाउँछन् । विद्यालयका महिनावारी हुने ८० जना छात्राले करिब एक वर्षयता सेनेटरी प्याड किनेका छैनन् । उनीहरूले घरमा आमा, दिदीबहिनीहरूलाई पनि बजारबाट प्याड किन्न रोक लगाएका छन्, किनभने महिनावारी भएका बेला पूर्ण सरसफाइका साथ उनीहरू आफैंले तयार पारेको प्याड प्रयोग गर्छन् । विद्यालयका कक्षा ६, ७ र ८ मा अध्ययनरत छात्राहरू महिनावारी भएका बेला अपनाउनुपर्ने सावधानी, गर्नुपर्ने सरसफाइ तथा अन्धविश्वासप्रति उनीहरू पूर्ण जानकार छन् ।

अझै पनि मुलुकको पश्चिमी भेकमा महिनावारी भएका बेला छाउगोठमा ज्यान गुमाउनुपरेका घटना समाचार बन्छन्, तर किशोरावस्थाका उनीहरू साथीसंगी, शिक्षक, बुबा–आमा, छरछिमेक सबैसँग महिनावारीका सम्बन्धमा खुलेर छलफल गर्न सक्छन् । उनीहरूले यसरी आपसमा कुरा गर्न तथा समाजमा चेतना फैलाउन किशोरी समूह नै गठन गरेका छन् ।

समूहको बैठक प्रत्येक महिनाको पहिलो शुक्रबार विद्यालयमै बस्छ । बैठकमा उनीहरू महिनावारीसम्बन्धी समस्या तथा त्यसको समाधानका उपायका सम्बन्धमा छलफल गर्छन् । त्यसपछि सबै मिलेर एक–डेढ घन्टाजति सेनेटरी प्याड बनाउँछन् । विद्यालयमै सेनेटरी प्याड तयार गर्न थालिएपछि महिनावारी भएका बेला विद्यालय नआउने छात्राको संख्या शतप्रतिशत घटेको प्रधानाध्यापक उमेश मोक्तानले बताए । महिनावारी भएका बेला विद्यालय नआउने छात्राको संख्या जेठयता शून्य छ, मोक्तान भन्छन्–पहिले महिनावारी हुँदा धेरैजसो छात्रा विद्यालय आउँदैनथे । महिनावारी भएका बेला छात्रालाई दिनुपर्ने सबै खालका सुविधा विद्यालयमै उपलब्ध छन् । यस विषयमा शिक्षिका तथा छात्राहरू आफैं पनि जानकार र सचेत छन् ।

त्यसै पनि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या कम हुन्छ । अझ उक्त विद्यालय जनजाति र दलित समुदायको बाहुल्यता भएको क्षेत्रमा छ । विद्यालयमा कुल २ सय विद्यार्थी अध्ययनरत छन्, जसमध्ये आधा विद्यार्थी लिम्बू समुदायका छन् । ४० प्रतिशत विद्यार्थी दलित समुदायका छन् भने १० प्रतिशत विद्यार्थी अन्य समुदायका छन् । यो विद्यालय उर्लाबारी र मधुमल्लाको बीचमा छ ।

कपडालाई साइजअनुसार काटेर सियो–धागोले सिलाएर खिप प्रयोग गरिन्छ । फलाटिनको कपडाभित्र एउटा नरम कपडा पनि प्रयोग गरिन्छ । एक मिटर कपडाबाट चारवटा प्याड बन्ने समूहकी अध्यक्ष नुमा लिम्बूले बताइन । प्याड २१ इन्च लामो तथा १४ इन्च चौडा हुन्छ । उक्त प्याड विद्यार्थीलाई २५ रुपैयाँ गोटा उपलब्ध गराइन्छ । उक्त रकमले पुन: कपडा किनेर नयाँ प्याड तयार पारिन्छ । यस्तो प्याड प्रयोग गरिसकेपछि सफा गरी धोएर पुन: प्रयोग गर्न सकिन्छ । पुन: प्रयोग गर्न मिल्ने र प्रयोग गर्न पनि सहज हुने भएकाले अहिले घरमा आमा–दिदीहरूले पनि यही प्याड प्रयोग गर्नुहुन्छ–कक्षा ८ मा अध्ययनरत अमिशा लिम्बूले बताइन् । कपडा ल्याएर घरका सबैका लागि आफैंले प्याड बनाउने गरेको अमिशाले बताइन् ।

महिनावारी भएका बेला स्कुल आउन मन लाग्दैनथ्यो । रगत देखिन्छ कि, साथीहरूले जिस्क्याउँछन् कि भन्ने डर लाग्थ्यो,’ कक्षा ७ मा अध्ययनरत अञ्जली निरौला भन्छिन्–यो विषयमा तालिम लिइसकेपछि भने कुनै डर लाग्दैन । पढ्दापढ्दै महिनावारी भयो अथवा कुनै अप्ठ्यारो भयो भने स्कुलमै रेस्ट रुम छ । यसले हामीलाई धेरै सहज भएको छ । महिनावारी भए तत्काल अपनाउनुपर्ने सावधानी आदि विषयमा पनि विद्यार्थीहरूलाई तालिम दिएको शिक्षक भोलानाथ निरौला बताउँछन् । किशोरी समूहले महिनावारीका विषयमा सडक नाटक पनि देखाउने गरेको छ ।

उनीहरूले विद्यालय तथा आसपासका गाउँमा महिनावारी भएका बेला छुन नहुने, भान्सामा छिर्न नहुने, छाउगोठमा बस्नुपर्नेजस्ता अन्धविश्वासविरुद्ध ‘परिवर्तन’ शीर्षकको सडक नाटक देखाउने गरेका छन् । नाटक हेरेपछि विद्यालयमा अध्ययनरत छात्रहरूले पनि महिनावारीका सम्बन्धमा ज्ञान प्राप्त गरेको विद्यार्थी दीपक कोइरालाले बताए । कोइराला भन्छन्–पहिले महिनावारीका सम्बन्धमा कुरा गरेको सुन्दा लाज लाग्थ्यो । महिनावारी हुनु नराम्रो जस्तो लाथ्यो, तर अहिले कुरा बुझेपछि, हामीले पनि घरमा आमा तथा दिदीबहिनीहरूलाई सुसूचित गर्न थालेका छौं ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्