योङ अचिभर रेखा

नारी संवाददाता

जेष्ठ १३, २०७५

युवाहरू परिवर्तनका संवाहक हुन् । युवा मुलुकका कर्णधार हुन् । युवाहरू राष्ट्रनिर्माणका खम्बा हुन् । युवाहरूमा अतुलनीय तथा अद्वितीय क्षमता हुन्छ जसको आँकलन गर्न हम्मे–हम्मे पर्छ । युवाशक्तिका अघि ब्रह्माण्डमा विद्यमान अन्य ठूला शक्तिले समेत पराजय भोग्नुपरेका उदाहरण थुप्रै छन् । आफूभित्रको क्षमता प्रस्फुटन गरी त्यसलाई प्रस्तुत गर्ने युवाहरू स्वयं चाहिँ के चाहन्छन् ?

यो जवाफ खोज्नुपर्ने प्रश्न भएको छ । यसमा युवाहरू स्वयंसमेत द्विविधामा छन् । बर्सेनि ठूलो संख्यामा युवाहरू अध्ययन एवं रोजगारीका लागि बिदेसिने गरेका छन्, जसले युवा क्षमता, सीप र शक्तिको कित्ताकाट गरिदिएको छ । जुन कुराले मुलुक सिञ्चित गर्नुपर्ने हो ती चीज बाहिरिएका छन् । यद्यपि कतिपय युवा यस्ता पनि छन् जो विदेशमा पढाइ, सीप एवं दक्षता हासिल गरी स्वदेश फर्किएर आफूजस्ता अन्य युवाका लागि प्रेरणा बनिरहेका छन् ,कम उमेरमै ठूलो उडान भर्न सफल छन् ।

विख्यात विद्वान् जोन उडेन भन्छन्– युवाहरू उपयुक्त ढाँचा चाहन्छन्, आलोचना होइन । यसले के प्रस्ट्याउँछ भने युवाहरू अघि बढ्न उत्प्रेरणा चाहन्छन्, रिवार्ड चाहन्छन् । पाउलो पिकासोले युवासँग उमेर हुँदैन भने झैं यिनीहरू हरेक कुरामा आँटिला हुन्छन् आफूलाई न त प्रौढ मानेर निस्क्रिय बस्न चाहन्छन् न शिशु मानेर बढी सक्रिय हुन्छन् । युवाहरू ती हुन् जसले जीवन सुन्दर देख्ने चाहना राख्छन्, जो आफूमा यस्तै सुन्दरता देख्ने खुबी राख्छन् उनीहरू कहिल्यै बूढा हँुदैनन्–फ्रान्ज काफ्काको यो भनाइ निकै मर्मस्पर्शी छ ।

नेपाली समाजमा पनि कम उमेरमै उदाहरणीय बनेका यस्ता महिलाहरू छन् जसले पृथक् क्षेत्रमार्फत आफूलाई स्थापित गर्ने मात्र नभएर थुप्रैलाई रोजगारसमेत प्रदान गरी मुलुकको समृद्धिको सुरुवात गरिसकेका छन् ।  

रेखा महर्जन

टेरेस गार्डेनर तथा पुष्पविज्ञ

ग्रिनसिटी निर्माणका लागि

हाम्रो सहरमा हरियाली ल्याउन त्यति ठूलो कुरा सोचिरहनै पर्दैन, हरेकको सानो पहलले हामी स्वच्छ र हरियाली सहरमा बस्न पाउँछौं । सरकारले ग्रिनरी बेल्ट अनि चोक–चोकमा मिनी गार्डेन बनाउने नीति ल्याउने हो र फुर्सदिला गृहिणीलगायत युवाहरूलाई राम्रोसँग परिचालन गर्ने हो भने यो टाढाको कुरा होइन ।

५ वर्षकी हुँदा उनी मनी प्लान्टको बिरुवामुनि लसुन रोप्थिन् जुन कला उनले आफ्नी हजुरआमाबाट प्राप्त गरेकी थिइन् । बोटबिरुवा, फूल एवं हरियालीले उनलाई यतिसम्म मोहित तुल्याएका थिए कि उतिबेला डल्लु आवासका खेतमा धान झुलेको हेर्दै उनी साँझै पार्थिन् अनि आँखाले देख्न छाडेपछि घर फर्कन्थिन् । टेरेस गार्डेनर रेखा महर्जन चन्दा र माइला महर्जनकी साहिँली छोरी हुन् । प्रकृतिले जोकसैलाई आकर्षित गर्नु अचम्मको कुरा भएन तर उनलाई पिपल्स क्याम्पस पढ्दा–पढ्दै यसले अध्ययन नै छोडेर यतैतिर लाग्ने बनायो ।

यूएन ह्याबिट्याटको रुफटप गार्डेनिङ शिक्षा तथा नर्सरी म्यानेजमेन्टमा विशेषज्ञता हासिल गरेपछि उनले नर्सरी खोलिन् । भूकम्पपछि नर्सरी तहसनहस भएपछि अहिले आफ्नै घरको रुफटपमा नर्सरी चलाइरहेकी महर्जनसँग सयभन्दा बढी प्लान्टको कलेक्सन छ । रेखा अहिले टेकुस्थित अम्बे कम्प्लेक्समा पोली ब्यागमा परमानेन्ट ग्रिनरी फैलाउने योजनामा व्यस्त छिन् । उनले दर्जनौं घरका छतमा खुर्सानी, धनियाँ, रोजमेरी, गोलभेडा आदि तरकारीजन्य बिरुवा तथा हब्र्स उत्पादनमा आफ्नो सीप बाँडिसकेकी छिन् ।

काठमाडौंका हरेक मानिस व्यस्त हुने भएकाले परमानेन्ट प्लान्टमै जानुपर्ने उनको सुझाव छ । रेखाका अनुसार युरोप–अमेरिकालाई हेरिरहनुपर्दैन हामै्र छिमेकका भारतीय महिलाहरू प्लान्टेसनमा निक्कै अगाडि छन् । उनीहरू फुर्सदको सदुपयोग गर्दै थोरै जमिनमा पनि करेसाबारी बनाउँछन् । उनीहरू जाँगरिला त छन् नै उनीहरूमा यससम्बन्धी प्रशस्त ज्ञानसमेत छ तर हामी नेपालीहरू अल्छी गर्छौं भन्ने रेखाको तर्क छ ।

महर्जन भन्छिन्– प्लान्टेसनले जनजीवन स्वस्थ राख्ने मात्र होइन मुलुकलाई नै समृद्धितर्फ डोर्‍याउँछ । टेरेस गार्डेनका माध्यमबाट घर–घरमा स्वस्थ तरकारी फलाउन सकिन्छ, आम्दानी गर्न सकिन्छ । अर्को कुरा रुखबिरुवाले स्वच्छ र स्वस्थ सहर निर्माणमा मद्दत पुर्‍याउँछ र पर्यटकसमेत बढ्छन् ।

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्