योङ अचिभर

नारी संवाददाता

जेष्ठ ९, २०७५

युवाहरू परिवर्तनका संवाहक हुन् । युवा मुलुकका कर्णधार हुन् । युवाहरू राष्ट्रनिर्माणका खम्बा हुन् । युवाहरूमा अतुलनीय तथा अद्वितीय क्षमता हुन्छ जसको आँकलन गर्न हम्मे–हम्मे पर्छ । युवाशक्तिका अघि ब्रह्माण्डमा विद्यमान अन्य ठूला शक्तिले समेत पराजय भोग्नुपरेका उदाहरण थुप्रै छन् । आफूभित्रको क्षमता प्रस्फुटन गरी त्यसलाई प्रस्तुत गर्ने युवाहरू स्वयं चाहिँ के चाहन्छन् ? यो जवाफ खोज्नुपर्ने प्रश्न भएको छ । यसमा युवाहरू स्वयंसमेत द्विविधामा छन् । बर्सेनि ठूलो संख्यामा युवाहरू अध्ययन एवं रोजगारीका लागि बिदेसिने गरेका छन्, जसले युवा क्षमता, सीप र शक्तिको कित्ताकाट गरिदिएको छ । जुन कुराले मुलुक सिञ्चित गर्नुपर्ने हो ती चीज बाहिरिएका छन् । यद्यपि कतिपय युवा यस्ता पनि छन् जो विदेशमा पढाइ, सीप एवं दक्षता हासिल गरी स्वदेश फर्किएर आफूजस्ता अन्य युवाका लागि प्रेरणा बनिरहेका छन् ,कम उमेरमै ठूलो उडान भर्न सफल छन् । विख्यात विद्वान् जोन उडेन भन्छन्– युवाहरू उपयुक्त ढाँचा चाहन्छन्, आलोचना होइन । यसले के प्रस्ट्याउँछ भने युवाहरू अघि बढ्न उत्प्रेरणा चाहन्छन्, रिवार्ड चाहन्छन् ।

पाउलो पिकासोले युवासँग उमेर हुँदैन भने झैं यिनीहरू हरेक कुरामा आँटिला हुन्छन् आफूलाई न त प्रौढ मानेर निस्क्रिय बस्न चाहन्छन् न शिशु मानेर बढी सक्रिय हुन्छन् । युवाहरू ती हुन् जसले जीवन सुन्दर देख्ने चाहना राख्छन्, जो आफूमा यस्तै सुन्दरता देख्ने खुबी राख्छन् उनीहरू कहिल्यै बूढा हुँदैनन्–फ्रान्ज काफ्काको यो भनाइ निकै मर्मस्पर्शी छ । नेपाली समाजमा पनि कम उमेरमै उदाहरणीय बनेका यस्ता महिलाहरू छन् जसले पृथक् क्षेत्रमार्फत आफूलाई स्थापित गर्ने मात्र नभएर थुप्रैलाई रोजगारसमेत प्रदान गरी मुलुकको समृद्धिको सुरुवात गरिसकेका छन् ।

सन् २०११ को जनगणनाका आधारमा सन् २०१४ मा सार्वजनिक युवा तथा खेलकुद मन्त्रालयको शोधले नेपालमा १४ देखि ४० वर्ष उमेर समूह (जसलाई युवा मानिन्छ) समग्र जनसंख्याको ४० दशमलव ३३ प्रतिशत छ । त्यतिबेलाको समग्र जनसंख्या २६,४९४,५०४ मध्ये १०,६८९,८४२ युवा जनसंख्या देखिन्छ । उक्त संख्यामध्ये पनि ५४ दशमलव ५ प्रतिशत महिला तथा ४५ दशमलव ८ प्रतिशत पुरुष युवा देखिन्छन् । समग्र युवा जनसंख्यामा ७४८,००० पुरुष तथा ६४४,००० महिला युवा एसएलसी उत्तीर्ण देखिन्छन् । १,४७५,६९२ अर्थात् १४ प्रतिशत युवाहरू अध्ययन तथा रोजगारीका लागि बिदेसिएका छन् ।

फरक क्षमता भएका युवाको संख्या १६२,५४८ अर्थात् १ दशमलव ५–२ प्रतिशत छ जसमा ५५ प्रतिशत पुरुष तथा ४५ प्रतिशत महिला छन् । युवतीहरूको ठूलो संख्या रोजगारी नभएर पढाइ र गृहस्थी जीवनमा अल्झिएको पनि उक्त अध्ययनले देखाएको छ । ती महिलाहरूमध्ये १६ देखि २५ वर्ष उमेर समूहका ३७ दशमलव ५–३ प्रतिशत पढाइ र २६ देखि ४० वर्ष उमेर समूहका ३९ दशमलव २ प्रतिशत गृहिणीका रूपमा व्यस्त छन् । युवामा आर्थिक वृद्धिको कुरा गर्दा ९४ प्रतिशत पुरुष तथा ६६ प्रतिशत महिला आर्थिक रूपमा सक्रिय पाइन्छन् । तीमध्ये शैक्षिक कारणले आर्थिक रूपमा पछाडि परेका महिलाको संख्या ६० दशमलव ६–७ प्रतिशत छ भने ९३ दशमलव ५–६ प्रतिशत पुरुष छन् । २६ देखि ४० वर्ष उमेर समूहका ९१ दशमलव ७–३ प्रतिशत महिला गृह व्यवस्थापनमै अल्झिएका पाइन्छन् ।

डा. ओजस्वी आचार्य

एकीकरण तथा नीति प्रमुख वाटर एड

के चाहन्छन् युवाहरू ?

विगत आधा दशकदेखि एक थरी युवामा देशभक्ति प्रबल भएर आएको छ । त्यस अघि शतप्रतिशत युवा बिदेसिने र उतै जम्ने चाहना राख्थे । अहिलेका युवा मुलुक बनाउन चाहन्छन् । नीतिमा भएका कुरा लागू हून् भन्ने इच्छा राख्छन् । अब युवाहरूले नै युवाहरूलाई उत्प्रेरित गर्नुपर्छ । राष्ट्रले पनि परिवर्तनका लागि युवालाई प्रयोग मात्र गर्ने परिणाम पछि बेवास्ता गर्ने काम गर्नुहुँदैन । अहिले युवाहरूको भिजनले निर्णायक तहमा स्थान नपाइरहेको अवस्था छ । अधिकारको विकेन्द्रीकरण हुनु सकारात्मक कुरा हो तर अधिकार पाएकाहरूको क्षमता अभिवृद्धि गर्नु अबको चुनौती हो । पछिल्लो समय नेपालमा देखिएको युवा उद्यमशीलता सलाम गर्न लायक छ ।

कूटनीतिक नियोगमा जागिर खानु खासै नौलो कुरा होइन तर यही क्षेत्रमार्फत सामाजिक परिवर्तन र संरक्षणका काममा आफ्नो पृथक् परिकल्पना दिनसक्नु र त्यसलाई कार्यान्वयन गरी परिवर्तन ल्याउनु भने चानचुने कुरा होइन । कलिलै उमेरमा राष्ट्रिय–अन्तर्राष्ट्रिय दायरामा आफ्नो वर्चस्व फैलाउन सफल ओजस्वी आचार्यले मेडिकल डाक्टर पढेकी थिइन् । नेपालबाट एमबीबीएस सिध्याएर लन्डन पुगेकी आचार्यले त्यहाँको ग्रिनबीच युनिभर्सिटीबाट पब्लिक हेल्थ न्युट्ेरसनमा स्नातकोत्तर गरिन् । त्यहीँको ह्युमेनिटरियन संस्था एक्सन अगेन्स्ट हंगरमा प्रशिक्षार्थीका रूपमा पुग्दा उनी ओभर क्वालिफाइड देखिइन् ।

इन्टर्नसीपमा छिरेकी ओजस्वीको पृथक् अवधारणा, कडा परिश्रम र लगनका कारण उनी नीतिगत तहमा पुगिन् । मलाई आफ्नै देश फर्किएर केही गर्ने इच्छा थियो–ओजस्वी भन्छिन्– त्यसैले उताको स्थायी बसोबास प्रमाणपत्र (पीआर) छाडेर नेपाल फर्किएँ । यहाँ पनि सोही संस्थाको कन्ट्री डेपुटी डाइरेक्टरका रूपमा काम गरें । सोही क्रममा म्यानमार र बंगलादेशमा रोहिंगाहरूको जीवनरक्षा र पोषणमा काम गर्ने मौका पाएँ । आचार्य भन्छिन्–उक्त काम अत्यन्तै चुनौतीपूर्ण थियो र पनि मलाई उक्त कामले भित्रैदेखि आत्मसन्तुष्टि प्रदान गर्छ । ओजस्वीलाई लाग्छ मेडिकल डाक्टर मात्र भएको भए बिरामीको सेवामा जीवन बित्थ्यो तर मानवीय क्षेत्रमा काम गर्दा उनको सेवा एकै पटक विशाल जन समूहसम्म पुग्छ जुन उनका लागि सुखद् र सन्तुष्टिको कुरा हो ।

बरिष्ठ पत्रकार हरिहर विरही तथा ज्ञानु आचार्यकी छोरी ओजस्वी बाल्यकालदेखि नै रचनात्मक स्वभाव र कुशाग्र बुद्धिकी थिइन् । फरक र सिर्जनशील काम गर्न रुचाउने ओजस्वीले १० कक्षामा बनाएको पेन्टिङले नेल्सन मण्डेला तथा मदर टेरेसा फाउन्डेसन आदि स्थानमा पुगेर प्रेरणामूलक प्रतिक्रिया प्राप्त गरेको थियो । हाल वाटर एड नेपालमा कार्यरत ओजस्वीको मुख्य काम स्वस्थ जनजीवनका लागि नीति निर्माण तहमा वकालत गर्नु हो ।

अहिले त घरभित्रै शौचालय हुने हुँदा हामी थप जोखिममा छौं, जुन ठूलो चुनौती हो र यस्ता कुराको त्यति वास्ता पनि नहुने उनको बुझाइ छ तसर्थ अब यस्ता कुरामा हामी सबै सजग हुनुपर्ने बेला आएझैं लाग्छ उनलाई । अहिले उनी विद्यालयमा कति संख्याका लागि कति धारा, शौचालय हुनुपर्छ, महिनावारीका बेला युवतीलाई सफा र सुरक्षित छुट्टै शौचालयको व्यवस्था कसरी गर्ने, बालबालिकाका लागि पोषणमा कुन ढंगले अघि बढ्ने भन्ने नीति निर्माण एवं त्यसको कार्यान्वयनमा व्यस्त छिन् । आर्किटेक्ट इन्जिनियर तथा युवा व्यवसायी सुभाष अधिकारीसँग सन् २००८ मा विवाह गरेकी ओजस्वीकी एक छोरी छिन्–अंशु ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्