महिलामा ग्लास सिलिङको असर

लक्ष्मी भण्डारी थापा

जेष्ठ ८, २०७५

ग्लास सिलिङको शाब्दिक अर्थ : कार्यस्थलमा महिलालाई निर्णायक तहसम्म पुग्न रोक्ने अदृश्य बाधा (इनभिजिबल बेरियर्स) हो । यो शब्द सन् १९९० पछि विकसित मुलुकमा व्यापक चर्चामा आयो । एउटा ठोस तर अदृश्य बार जुन महिलाको व्यावसायिक जीवनमा काँडेतारसरह हुन्छ । महिलाको व्यावसायिक उन्नति–प्रगतिमा यसले नकारात्मक असर पुर्‍याउँछ । यसले महिला सशक्तीकरण तोड्ने र महिला विकासलाई पछि पार्ने तथ्यसमेत सार्वजनिक भैसकेको छ । महिलाहरू व्यावसायिक रफ्तारमा अघि बढिरहेको अवस्थामा यसका नकारात्मक असर पनि उत्तिकै छन् । संसारभर महिलाहरू उच्च स्थानमा पुग्ने दौडमा रहेका बेला यो अहिले ठूलो बाधाका रूपमा अगाडि आइरहेको विज्ञहरूले पनि स्वीकार गरिसकेका छन् ।

रञ्जना प्रधान, प्रधानाध्यापक

बाहिरबाट हेर्दा एकैपटक यो उच्चतहमा सहजै पुगेजस्तो देखिन सक्छ तर त्यसका पछाडि कति अदृश्य बार भत्काएर यहाँसम्म आइपुगिएको छ त्यो स्वयंलाई मात्र थाहा हुन्छ । कार्यस्थलमा, करियर विकासका क्रममा यस्ता नदेखिने कतिपय पर्खाल हुन्छन् जसलाई तोड्न त्यति सजिलो छैन । पहिलो कुरा त स्वतन्त्रताको छ । मैले कुरा गरिरहेको सकारात्मक स्वतन्त्रताको हो । आफ्नै क्षेत्रमा अब्बल ठहरिन आफूभित्र भएको क्षमता प्रस्तुत गर्नैपर्छ । यद्यपि त्यसका थुप्रै रणनीति र विधि नहुने होइनन् । पुरुषहरू आफ्नो करियर र वृत्ति विकासका लागि डिनर–मिटिङ, गेटटुगेदर आदिमा जम्छन् तर त्यही काम हामी महिलाका लागि सहज छैन ।

उनीहरू यस्ता क्रियाकलापमार्फत ममा यतिसम्म खुबी छ है भनेर सहजै प्रस्तुत गर्न सक्छन् । हामी महिलाले त्यही काम गर्न १० पटक सोच्नुपर्ने हुन्छ । सामाजिक सोच, पारिवारिक जिम्मेवारी आदि कुराले हामीलाई सधैं थिचिरहेको हुन्छ । परिवार व्यवस्थापन, बालबच्चा पाउनेदेखि लिएर हुर्काउनेसम्मका जिम्मेवारीका साथै दोहोरो–तेहेरो बोझले प्राय: महिला करियर नै छोड्न बाध्य हुन्छन् । नेपालमा पनि महिलाहरू व्यावसायिक जीवनमा अघि बढिरहेका बेला ग्लास सिलिङको इस्यु उठाइनु अत्यन्त सान्दर्भिक छ । यो बलियो र नदेखिने पर्खाल तोड्न महिलाहरूस्वयं जागरुक हुनुपर्छ । यसका लागिठोस सरकारी नीतिको पनि आवश्यकतादेख्छु म ।

मन्टेश्वरी राजभण्डारी, निर्देशक, कम्युनिकेसन कर्नर–उज्ज्यालो नेटवर्क

यो एउटा अन्तर्राष्ट्रिय मुद्दा र समस्या हो । एक तहपछि महिलालाई पत्याइँदैन । जहाँ सहायक स्तरका काम हुन्छन् त्यहाँ महिला इमान्दार हुन्छन् भन्दै उनीहरूमाथि विश्वास गरिन्छ तर नीति निर्माण तहमा जान महिलाहरूलाई त्यति सजिलो छैन । महिलाहरू हेल्पिङ हेन्ड भएरै रहनुपर्छ भन्ने मनस्थिति छ । संविधानले नै महिला आरक्षण सुनिश्चित गरिदिएपछि कतिपय पुरुषलाई रिस उठेको छ जसले पोलोराइजेसन क्रिएट गरिरहेको छ ।

आफ्नै क्षमतामा अघि बढ्न सक्नेहरूले पनि आरक्षणको सहारा लिनुपर्ने बाध्यता छ । ग्लास सिलिङको असरलाई कम गर्न संस्थागत नीति महिलामैत्री हुनुपर्छ । कार्यस्थल महिलाका लागि सुविधाजनक हुनुपर्छ । स्वास्थ्यलगायत अन्य कुरामा पनि महिलामैत्री वातावरण हुनुपर्छ । ग्लास सिलिङभन्दा माथि उठ्न सरकारी नीति पनि उत्तिकै जरुरी हुन्छ । हुर्काइदेखि लिएर शैक्षिकस्थललगायत काम गर्ने स्थानसम्ममै महिलालाई फरक ढंगले लिइन्छ र सोहीअनुरूप व्यवहार गरिन्छ । परिणामत: महिलाको दृष्टिकोण फरक हुन्छ, पुरुषको फरक । पुरुषहरूमा यही फरक दृष्टिकोणलाई स्वीकार गर्ने प्रवृत्ति छैन ।

सिर्जना श्रेष्ठ, अध्यक्ष, आयुष अस्पताल

विशेषत: हिलारी क्लिन्टनको सक्रियतामा पश्चिमा मुलुकमा व्यापक चर्चामा रहेको ग्लास सिलिङ मुद्दा अब नेपालमा पनि उठाउनुपर्ने समय भैसकेको छ । अहिले नेपाली महिलाहरू पनि नीति निर्माण तहसम्म पुग्न प्रयास गरिरहेका छन् । महिलाहरू ग्लास सिलिङभन्दा माथि उठ्न नसक्नुका विविध कारण छन् । हाम्रा पुरातन मूल्य–मान्यता, महिलाप्रतिको सोच, छोरीको हुर्काइ–बढाइ, वरिपरिको वातावरण, काम गर्ने स्थानमा महिलाहरूप्रति गरिने व्यवहार, महिलाको फरक शारीरिक तथा मानसिक अवस्थाआदि थुप्रै कारण छन् जसले नेपाली महिलालाई ग्लास सिलिङ ब्रेक गर्न कठिन भैरहेको छ । कार्यस्थलमा महिलालाई हेर्ने तथा उनका बारेमा राखिने दृष्टिकोण नै अलग हुन्छ । महिला हाकिम भएको धेरैलाई पच्दैन । कतिपयलाई त उनले अर्‍हाएको काम पनि स्वीकार्य हुँदैन । ग्लास सिलिङको असर कम गर्न छोरीको लालन–पोषणदेखि शिक्षा–दीक्षा दिने वातावरणसम्म परिवर्तन ल्याउनुपर्छ ।

रेश्मा खातुन, एचआर एन्ड अपरेसन एसोसिएट, सानो पाइला

ग्लास सिलिङ ब्रेक गर्न सर्वप्रथम त महिला स्वयं सजग, सचेत एवं आत्मविश्वासी हुनु जरुरी छ । यसका लागि मौनता तोड्दै आफ्नो आवाज बुलन्द बनाउनुपर्छ । हामीले जुनसुकै काम गरौं सहकर्मीले त्यसलाई एप्रिसिएट गर्नुपर्छ, उत्प्रेरणा दिनुपर्छ, आफूले जानेका कुरा सिक्ने–सिकाउने ट्ेरन्ड हुनुपर्छ कार्यस्थलमा । आफूभित्रको कमजोरी होइन शक्तिलाई चिनेर त्यसलाई उजागर गर्नुपर्छ महिला आफैंले । आत्मविश्वासको तह आफैंले बढाउने हो ।

हाम्रा घरायसीलगायत सामाजिक समस्याबाट उत्पन्न फ्रस्ट्ेरसनले करियरमा समेत बाधा पुर्‍याइरहेको हुन्छ । यो पनि महिलाहरू निर्णायक तहसम्म पुग्न नसक्नुको एउटा कारण हो । हरेक संघसंस्था एवं कार्यालयकोनिर्णायक तहमा महिला हुनुपर्छ भन्ने सरकारी नीति–कानुन आउन जरुरी छ । महिलाको क्षमता विकासका लागि विभिन्न तालिम सञ्चालन गरिनुपर्छ तब मात्र महिलाहरू सक्षम हुन्छन् अनि यस्ता अदृश्य पर्खाल भत्काउन सक्छन् र नीति निर्माण तहसम्म पुग्न सक्छन् ।

नीता अर्याल, सहसचिव, सामान्य प्रशासन मन्त्रालय

सरकारी मात्र होइन निजी संघसंस्थाका उच्चतहमासमेत कमै महिला पुगेका छन् । महिलामा ग्लास सिलिङको प्रभाव विश्वभरि यसरी नै परिरहेको छ । नेपाल त्यसबाट अछूतो हुने कुरै भएन । मुख्यत: महिलाहरूमा नेतृत्व लिने आत्मविश्वासको पूर्ण विकास भैसकेको छैन भने अर्कातर्फ महिलाको नेतृत्वलाई सहज रूपमा स्वीकार गर्ने वातावरण पनि बनिसकेको छैन । कार्यस्थलभित्र यतिसम्म अदृश्य क्रियाकलाप हुन्छन् कि त्यसलाई जोकोहीले आँकलन गर्न सक्दैनन्। व्यक्तिगत, शारीरिक, मानसिकजस्ता थुप्रै फ्याक्टरले महिलाको करियरमा असर पारिरहेको हुन्छ । भन्न नसकिने तर भित्रभित्रै विक्षिप्त पार्ने घटना–दुर्घटना कार्यस्थलभित्र हुने कुरा सुनिँदै एवं पढिँदै आइएको पनि छ । यस्तो अवस्थामा महिलाले सम्झौता गर्न सकिनन् भने कसरी पुग्छिन् उनी निर्णायक तहसम्म ? जटिल प्रश्न यहीँ नै छ । यसलाई कम गर्न सरकारी नीति त चाहिन्छ नै संस्थागत नीति–नियम पनि महिलामैत्री हुनुपर्छ र स्वयं महिला साहसी हुनु आवश्यक छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्