मातृत्वको शक्ति : एकल सफल आमाहरू

  • आमा विशेष

सिर्जना दुवाल श्रेष्ठ

वैशाख २४, २०७५  

भनाइ नै छ–आमा धरती हुन् । किनभने आमाले धरतीझैं सहनशील भएर बालबालिकाको पालन–पोषणका साथ सुरक्षा प्रदान गर्छिन् । आमाले जसरी बिना कुनै स्वार्थ स्नेह प्रदान गर्ने अरू कोही हुँदैनन् । आमाको महिमा अपार छ । आमाको त्याग, तपस्या एवं समर्पणकै कारण हामी सफल हुन्छौं  । आमाको मायालाई कसैसँग तुलना गर्न सकिँदैन र कुनै पनि आमा आफ्ना सन्तानका लागि कहिल्यै खराब हुँदैनन् । आमाप्रति मायाका साथ सम्मान दर्शाउनु सन्तानको पहिलो कर्तव्य हो । यही कर्तव्य पूरा गर्न नेपाली समाजमा हरेक वर्ष मातृऔंसीका दिन आमाको मुख हेर्ने चलन छ ।

महिला–पुरुष एक–अर्काबिना अधूरो हुने अथवा कुनै एकको अभावमा जीवन सार्थक नहुने वा कठिन हुने भनाइ हाम्रो समाजमा प्रचलित छ । जीवनको कुनै मोडमा जस्तै : श्रीमतीको मृत्यु भए वा सम्बन्धविच्छेद भएर पुरुष एक्लिए भने उनले तत्कालै कसैको साथ खोजिहाल्छन् । श्रीमतीको अभावमा छोराछोरीको बिजोग भयो, घर लथालिङ्ग भयो भनेर विवाह गरिहाल्न हतारिने पुरुषको कुनै कमी छैन हाम्रो समाजमा । यद्यपि यसरी एक्लिएका अनेकौं महिलाले पुरुषको साथबिना आफ्ना सन्तानलाई हुर्काएर, असलव्यक्ति बनाएका उदाहरण धेरै छन् । उनीहरूको एक्लो संघर्ष र परिश्रम त एकातिर छँदैछ त्यसैलाई लिएर धेरै थरिका शंका, लाञ्छना लगाउनेहरू पनि कम हुँदैनन् ।

एकल आमाको छहारीमा हुर्किएका सन्तानहरूसँग आफूलाई आमाले कहिल्यै बाबुको कमी हुन नदिएको अनुभव छ । श्रीमानको मृत्यु भएर छोरालाई आमाबुवा दुवैको माया, सहारा र साथ दिएर हुर्काइरहेकी फेसन डिजाइनर रमिला नेमकुलले छोरा गिर्वाणलाई थप अध्ययनका लागि फिनल्यान्ड पठाएकी छिन् । छोराले त्यहाँको आफ्नो होटल व्यवसाय पनि हेर्दै अध्ययनलाई अघि बढाइरहेकोमा उनी दङ्ग छिन् ।

यसलाई आफ्नो एकल संघर्षको फल मान्छिन् उनी । छोरा सानो भएकाले कसैको साथ चाहिन्छ भनेर त्यतिबेला रमिलालाई दोस्रो विवाहका लागि दबाब पनि आए तर छोराको भविष्यका लागि उनले सिंगल ममकै रूपमा छोराको जिम्मेवारी उठाइन् । ब्युटिसियन रिमा शाक्यको कथा पनि त्यस्तै छ । छोरा जन्मिएको दुई वर्षमै श्रीमान्को मृत्यु भयो तर उनले आफ्नो छोरालाई बुवाको अभाव महसुस हुन दिइनन् । उनलाई पनि घर, परिवारबाट दोस्रो विवाह गर्न कर गरियो तर रिमाले एकल आमाकै रूपमा रहने निधो गरिन् । अहिले उनका छोरा कलेज अध्ययनरत छन् ।

प्रसूति गृहकी नर्स बिन्दिया श्रेष्ठ पनि एकल आमा हुन् । दुई छोरी बिहानी र शिवानीलाई बुवाको अभाव अनुभव हुन नदिई हुर्काएकी बिन्दियालाई छोरीहरूले आमा–बुवा दुवै मान्छन् । अहिले बिहानी पाटन हस्पिटलमा नर्सका रूपमा कार्यरत छिन् भने शिवानीले बीबीए पूरा गरिसकेकी छिन् । बाल्यावस्थादेखि नै शिवानीलाई आमाको काखको न्यानो स्पर्शले सुरक्षित राखेको छ । थाहा पाउने भएदेखि नै उनले बुवाको मुख देखेकी छैनन् ।

एकल आमाले हुर्काएकी सन्तान भए पनि कुनै कुरामा कमी छैन । शिवानी भन्छिन्–मेरी आमाको धर्म, संस्कार र सत्य कुराका लागि कहिल्यै कसैसँग नझुक्ने र नदब्ने दृढ स्वभावका कारण मलाई उहाँकी छोरी हुनुमा गर्व छ ।

एकल महिलाको हित र अधिकारका लागि लडिरहेकी एकल आमा लिली थापाका तीन छोरा छन् । साहित्यकार मोमिला जोशी, सरस्वती प्रतीक्षा तथा संचारकर्मी प्रतिमा श्रेष्ठ सम्बन्धविच्छेदपछि एकल आमाको भूमिका निर्वाह गरिरहेका गर्व गर्न लायक आमा हुन् । प्रतिमा श्रेष्ठकी छोरी प्रशंसाले गायिकाका रूपमा एल्बमसमेत बजारमा ल्याइसकेकी छिन् भने छोरा दिवश राष्ट्रिय स्तरका कराँते खेलाडी हुन् । प्रतिमा आफ्ना सन्तानलाई योग्य बनाउन मरिहत्ते गर्छिन् । मानिसहरूले उनलाई जेसुकै भने पनि केही फरक पर्दैन, उनको उद्देश्य भनेकै एकल आमाका सन्तान भएका कारण आफ्ना सन्तान कुनै कुरामा पछि नपरून् भन्ने थियो । प्रतिमा सन्तानको नजरमा आइडियल मम हुन् ।

सिएनएन हिरो अनुराधा कोइराला, राष्ट्रपति विद्यादेवी भण्डारी पनि एक आमाका रूपमा आफ्ना सन्तानलाई अभिभावकत्व दिँदै हुर्काएका आमा हुन् । यसरी नियाल्ने हो भने समाजमा थुप्रै एकल आमा छन्, जो आफ्ना सन्तानको सुखद् भविष्यका लागि एक्लै संघर्षरत छन् । यही समाज हो जहाँ पुरुषहरू महिलाबिना केही दिन पनि एक्लै बस्न सक्दैनन् । हुन त हाम्रो शारीरिक तथा मानसिक विकास पनि सोहीअनुसार छ । पुरुषहरू फिजिकल्ली बलिया भए पनि मानसिक रूपमा महिलाहरू धेरै हदसम्म बलिया हुन्छन् । उनीहरू ३–४ किलोसम्मका शिशुलाई पेटमा राखेर हिँड्छन्, जन्माउँछन् । जुन पुरुषहरूबाट सम्भव छैन । त्यसैले पनि आमाहरू बलिया हुन्छन्, जस्तोसुकै अवस्था र परिस्थिति झेल्न सक्छन् । त्यही भएर त आमाजस्तो अरू कोही हुन सक्दैनन् ।

एकल आमा शर्मिला :अरू एकल आमाको पनि छाता

‘जीवन भाग होइन भोग हो, अनि भोगाइ एक कर्मको अर्को सिँढी’भन्न रुचाउने अधिकारकर्मी एवं समिदा महिला विकास मञ्चकी संस्थापक अध्यक्ष शर्मिला थापा एकल आमा हुन् ।आधा दशकदेखि एकल आमाको अधिकार प्राप्तिका लागि सक्रिय थापा गत मंसिरमा एनपिस अवार्डबाट सम्मानितसमेत भइन् । काठमाडौंको सामाखुसीमा जन्मिएर त्यहीँ हुर्कीएकी सम्मीका विवाहपछिका दिन संघर्षमै बिते । विवाहपछिको उनको खुसी लामो समय टिक्न सकेन । विवाहको पाँच वर्षपछि उनीहरू बीच मनमुटाव सुरु हुन थाल्यो । पछि शर्मिला सम्बन्धविच्छेद गर्न बाध्य भइन् ।

श्रीमान्सँग सम्बन्धविच्छेद गरेपछि शर्मिला छोरा लिएर भाडाको कोठामा बस्न थालिन् । एकल महिलालाई समाजले राम्रो नजरले नहेर्ने उनको अनुभव छ । थापा भन्छिन्–‘श्रीमान्ले छोडेकी महिलालाई अझै पनि समाजले बिग्रिएकी केटीको उपमा दिन्छ । एकल आमा हाँस्दा पनि शंका गरिन्छ, रूँदा पनि शंका गरिन्छ भन्ने कुरा मैले त्यतिबेलै थाहा पाएँ ।

शर्मिलाले स्थापना गरेको समिदा महिला विकास मञ्च लमजुङ, पोखरा, काठमाडौं आदि क्षेत्रका एकल आमाहरूका लागि काम गर्दै आएको छ ।उनको संस्थामा २५ जना फिल्ड स्टाफ छन् । संस्थाले २ सय ८६ एकल आमालाई रोजगारी दिएको छ । एकल आमाहरू पुतली बनाउने, अचार बनाउने, सिलाइ बुनाइ सिकाउने आदि प्रशिक्षण प्रदान गरिन्छ । त्यहाँ उत्पादित सामान विदेशमा समेत निर्यात हुन्छन् ।

संस्थाले सम्बन्धविच्छेद गरेका महिलाका बालबालिकालाई छात्रवृत्ति प्रदान गर्नुका साथै महिला अधिकारका बारेमा प्रशिक्षण एवं सीपमूलक तालिम पनि सञ्चालन गर्दै आएको छ । त्यस्तै एकल महिलाका अधिकारका लागि कानुनी सहयोग पनि उपलब्ध गराउँदै शर्मिलाले तीन वर्षदेखि धर्मपुत्रीका रूपमा एउटी बालिकालाई आश्रय दिएकी छिन् तर उनले ती बालिकालाई धर्मपुत्रीका रूपमा ग्रहण गर्न सकेकी छैन । ‘अहिले पनि यही विषयमा लडिरहेकी छु । सन्तान अपनाउन पेपर चाहिँदो रहेछ । सिंगल आमाले एडप्ट नै गर्न पाउँदैनन् भन्छन् । उसकी आमा त छिन् तर बाबुको पत्तो छैन । यही विषयमा झमेला भैरहेको छ’ उनले भनिन् । उनका १६ वर्षीय छोरा अहिले कक्षा ९ मापढ्छन् ।

सिंगल ममभन्दा गर्व : अनुराधा

छोराहरू ४–६ वर्षका हुँदा श्रीमानको निधन भएपछि अनुराधा निराश थिइन् तर मातृत्वले उनलाई ऊर्जा दियो । देवाशिव र शुभाशिवकी आमा र बुवा अब आफै हो भनेर अनुराधा कहिल्यै अल्मलिइनन् । हुन त उनलाई आमा मायम ठकुरी तथा बुवाको साथले आफू एकल भन्ने कुरा पटक्कै अनुभव गर्नु परेन । समाजले सधैं ए तिमी त एकल महिला है, विचरा भनेर सहानुभूति दिँदा भने आफू साँच्चै एक्लै हो कि भन्ने सोच कहिलेकाहीँ आउँथ्यो ।

आइए अध्ययनरत छँदै विवाह गरेकी अनुराधाले विवाहपछि नै आफ्नो पढाइलाई मास्टरसम्म पुर्‍याइन् । एक दशकभन्दा बढी एकल आमाका रूपमा छोराहरूलाई हुर्काएकी अनुराधालाई कहिलेकाहीँ श्रीमान् भएको भए कमाउने दुई जना भएर सजिलो हुन्थ्यो भन्ने लाग्थ्यो त छोराहरूले भने कहिल्यै उनीहरूका बुवा छैनन् भन्ने महसुस गरेनन् । घरमा आमाबुवा, आफन्त तथा छोराहरूले समेत विवाह गरे हुन्छ भन्ने आशय व्यक्त गरेको अनुराधा बताउँछिन् । यद्यपि उनले त्यसका बारेमा सोच्दै सोचिनन् । दुवै छोरा आफ्नी आमालाई परफेक्ट आमाको संज्ञा दिन्छन् ।

उनले छोराहरूलाई यो उमेरसम्म कुनैकुराको कमी हुन दिएकी छैनन् । सानैदेखि आमासँग सबै कुरा सेयर गर्ने बानी छ । हरेक टेक्नोलोजी तथा अहिलेको जेनरेसनको चाहना बुझ्ने आफ्नी आमा मोटिभेटिभ मम लाग्ने देवाशिव बताउँछन् । आमालाई अनु भन्ने यी दाजुभाइलाई आमाहरू यति धेरै बलिया कसरी हुन्छन् भन्ने लाग्छ । अनुराधा भन्छिन्–सिंगल छ भने छोराछोरीले आमालाई र आमाले छोराछोरीलाई विश्वास गर्नुपर्छ । शुभाशिव भन्छन्–बाबु नभएको छोरा भएकाले होला मलाई आमाको महत्व बढी महसुस हुन्छ । उहाँ मेरो सिङ्गो संसार हुनुहुन्छ । उहाँको चाहना पूरा गर्न सक्नुमै मैले आफ्नो सफलता मानेको छु ।

शास्त्रीय शिक्षा बाँड्दै वन्दना आमा

६ वर्षसम्म सहयात्रा गरेका श्रीमानको मृत्युको चोटलाई उनले सिर्जनात्मक बाटोबाट सहने साहस बटुलिन् । त्यसपछि उनकै सक्रियतामा सुरु भयो ‘अतुल स्मृति संगीत गुरुकुल’ । हाल दुई दर्जन विपन्न बालबालिकालाई आध्यात्मिक शिक्षाका साथै बोर्डिङ शिक्षाको समेत प्रबन्ध गरेकी वन्दनाले उक्त संगीत विद्यालयलाई नेपालकै नमुना शास्त्रीय संगीत विद्यालय बनाउने अठोट गरेकी छिन् । श्रीमान्को सान्निध्यले आध्यात्मिक चेतना ग्रहण गरेकी वन्दना यही क्षेत्रमा आफ्नो जीवन अर्पण गर्ने सोचका साथ दत्तचित्त भएर लागिपरेको बताउँछिन् ।

उनी अर्थात् वन्दना आमा ‘अतुल स्मृति संगीत गुरुकुल’ की संचालक । जसको साहसले शास्त्रीय संगीतकर्मी अतुल गौतमको नाममा स्थापित संगीत विद्यालय हाँकिएको छ । उक्त विद्यालयमा पूर्वीय संस्कारमा आधारित आध्यात्मिक ज्ञानसहितको संगीत सिकाइन्छ । दिनभरि बोर्डिङ स्कुल पढ्न जान्छन् उनीहरू । वन्दनाले आफ्ना सन्तानलाई आदर्श मार्गमा हिँडाउनुका साथै स्वर्गीय श्रीमान्को इच्छासमेत पूरा गरिरहेकी छिन् । श्रीमान् नभए पनि आध्यात्मिक चिन्तनका साथ मातृत्व बाँधिरहेकी वन्दना एक्लै पनि केही गर्न सकिन्छ भन्ने उदाहरण हुन् । वन्दना आमामा हुने शक्ति एवं सहनशीलताकी उदाहरण पनि हुन् ।

रक्षक आमाहरू

आमाबुवा नभएका, जेलमा परेका अभिभावकका सन्तान, कुनै कारणले सानैमा आमाबुवाको काखबाट वञ्चित, बाध्य भएर नानीहरूका साथै यौनदुव्र्यवहारमा परेका नानीहरूलाई आश्रय दिइरहेका  आमाहरू पनि छन् हाम्रो समाजमा । जसले त्यस्ता बालबालिकालाई आश्रय मात्र दिएनन् पढाइ तथा अतिरिक्त क्रियाकलापमा सक्रिय गराई पारिवारिक वातावरणसमेत उपलब्ध गराइरहेका छन् । उनीहरू अनाथ तथा बिचल्ली परेका बालबालिकाहरूका लागि बलियो पिल्लरका रूपमा खडा छन्–मेनुका थापा, इन्दिरा राना मगर, दिलशोभा श्रेष्ठ, राज्यलक्ष्मी बज्राचार्य आदि ।

देह व्यापारबाट जन्मिएकादेखि बलात्कारको सिकार भएका बालबालिकाहरूले मेनुका थापाको छत्रछाँया पाएर आफ्ना सबै पीडा भुलिसकेका छन् । त्यहाँका नानीहरू प्राय: यौनजन्य हिंसाबाट आएका हुनाले उनीहरू भविष्यमा फेरि त्यसको सिकार हुनु नपरोस् भनेर पढाइका साथै कम्प्युटर, डिजाइनिङ, कुकिङ, सेल्फ डिफेन्स, कराँते, बेली डान्स, योगआदि सिकाइन्छ । आमा मरेका, बच्चालाई छोडेर भागेका,जेलमा रहेका अभिभावकका बालबालिकालाई मातृत्व प्रदान गरिरहेकी आमा हुन्–इन्दिरा राना मगर । उनले आश्रय दिइरहेका बालबालिकाहरूको संख्या ५ सयको हाराहारीमा छ ।

इन्दिरा बालबालिकाहरूलाई पारिवारिक वातावरणका साथमा आपसमा मिलेर बस्ने, सेयरिङ गर्ने आदि कुराहरू सिकाएर असल मानिस बनाउने अभियानमा छिन् । बालबालिकाहरू आपराधिक पृष्ठभूमिबाट आए पनि भविष्यमा उनीहरूलाई अपराधबाट टाढै रहने वातावरण बनाइरहेकी छिन् । इन्दिराले आमा नभएका, आमा र बुवा छुट्टिएर दुवैले अर्काे विवाह गरेपछि बिचल्लीमा परेका असहाय बालबालिकाहरूलाई समेत आफ्नो शीतल छहारीमा राखेकी छिन् ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्