Teej banner

नर्स

  • साहित्य

रमेश दियाली

वैशाख २०, २०७५  

रहर एउटा सम्झनामा परिणत भयो । मान्छेले सबैभन्दा धेरै बोक्ने भनेकै सम्झना रहेछ, जुन कहिल्यै भारी र बढी हुँदैन अनि मुस्कुराउने आधार पनि त्यही बन्दो रहेछ । दु:ख त त्यतिबेला लाग्दो रहेछ, जब आफ्नै कोखमा नौ महिना राखेर जन्म दिएको सन्तान बिस्तारै पराई बन्दै गएर अरू कसैको काखमा खेलेको देख्दा ।

‘ल दबाई खाने समय भयो ? उठ्नुहोस् ।’

मेरो आवाज सुनिनन् कि क्या हो ! आँखा खोलिनन् मेमले । सम्भवत: मेरो भाषा बुझिनन् होला । ‘मेम, इट्स टाइम फर मेडिसन ?’ अहँ, पटक्कै उठिनन् । ओढेको च्यादर बिस्तारै हटाउँदै झकझकाएँ । हात छामें । चिसो भैसकेछ । नाडीको पल्स चेक गरें । नाडीको गति नै पत्तो पाइनँ । म आत्तिएँ । कुँदेर डाक्टरलाई बोलाएँ ।

डाक्टरले हतारिँदै छाती थिचे । ‘अक्सिजन छिटो लेऊ । अक्सिजन लेऊ भनेको ।’ अक्सिजन लगाउने क्रममा उनले आँखा पिलिक्क हेरिन् । मैले लामो सास फेरें ।

‘थ्याङ्क्स गड ।’ भगवान्लाई धन्यवाद दिएँ । कोठाको तापक्रम मिलाएँ । मुखमा दबाई राखिदिएँ । एक चम्चा पानी पिलाउँदै थिएँ डाक्टरले चौबीसै घन्टा सँगै बस्नु भने । मेरो ड्युटी सकिन लागेको थियो । ‘केही पर्‍यो भने रातिको डाक्टरलाई कल गर्नु’ भन्दै डाक्टर बाहिरिए । नर्सको जीवन पनि, थाकेझैँ भयो । थाकेछु पनि । स्लाइन सकिएछ । अर्को फेरें । तपतप स्लाइन पानीसँगै आँखा प्रस्टै खोलिन् उनले । खुसी लाग्यो ।

म उनको भाषा जान्दिनँ र मेरो भाषा उनी । अंग्रेजी अलि–अलि बोल्थिन् त्यति म मज्जाले बुझ्थें ।

‘केही खानुहुन्छ ?’ मैले सोधें ।

‘मन छैन । बरु च्यादर ओढाइदेऊ । जाडो भयो ।’

च्यादर ओढाइदिएँ । टाउको बाङ्गिएछ । सिरानीमा टाउको राखिदिएँ । म छेउमै बसिरहें । मलाई निद्रा लाग्लाझैँ भयो । नलागोस् पनि किन ? हिजोदेखि सुतेकी छैन । एकछिनपछि ‘खाना खाने’ भनिन् । राइस, चिकेन र भेजिटेबल अर्डर गरिदिएँ । ‘ल आराम गर्नुहोस् । अर्डर गरिदिएकी छु ।’

‘तिम्रो नाम ?’ उनले मेरो नाम सोधिन् ।

‘श्रद्धा हो मेरो नाम ।’

‘अनि कहाँ बस्छयौ ?’

‘पोखरा, नेपालमा ।’

‘नेपाल ? अँ, म एकपटक घुम्न गएकी थिएँ । राम्रो देश छ । तिम्रो देशका मानिसहरू सार्‍है सहयोगी छन् ।’

‘तपाईंलाई हाम्रो भाषा बोल्न आउँछ ?’

‘अहँ, आउँदैन ।’

‘कति भयो यहाँ आएको ?’

‘सात महिना ।’

‘अनि तपाईंको परिवारमा कोही छैनन् ?’ मैले सोधें ।

‘थिए, अहिले छैनन् । म जन्मिएको लेबनानमा हो । ६ वर्षकी हुँदा उमी र अबुनसँग युएई आएको । अबुनले यहीको अरेबिक इमोरसन म्यागेर्ट स्कुलमा लगाइदिए । मैले त्यहीँ पढें । केटीहरू मात्र हुन्थे । पछि कलेजसम्म त्यहीँ पढियो ।’ ‘तिमी कसरी युएई आयौ ?’ मलाई सोधिन् ।

‘घरको आर्थिक अवस्था सुधारका लागि आएको’ भन्ने क्रममै चिकेन–भेजिटेबल लिएर फिलिपिनो केटो आयो । उनले टाउको उठाउन खोजिन् तर सकिनन् । मैले बिस्तारै सिरानी मिलाएर उठाइदिएँ । भोक लागेको रहेछ । सबै खाइन् । ढोकामा ढकढक आवाज आयो । मैले ढोका खोलें । डाक्टर रहेछन् । डाक्टरलाई देख्नेबित्तिकै मेम कराउन थालिन् ।

मेम अर्थात् हाना उमर । मैले बुझिनँ । भाषा अरेबिक थियो । डाक्टर फर्केर गए । बुझ्न मन लाग्यो । मेम, किन कराउनुभएको ? त्यो डाक्टर मन पर्दो रहेनछ । जवाफ त्यस्तै दिइन् । मैले बुझ्न नसकेको यहाँका मानिसको मन...। ‘सुत्नुहुन्छ ?’ मैले सोधें । मलाई एकटकले हेरिरहिन्, डर पनि लाग्यो ।

‘मेम, आर यू ओके ?’ मैले प्रश्न सोध्दा मेमका आँखा भुइँमा गए । मेरो बच्चाहरू यस्ता सुन्दर छन्, जसको मुस्कान हरपल मेरो ह्दयमा गुन्जिँदा मलाई सधैं खुसी मिल्छ, पीडा भागेर जान्छ । आँखाभरि आँसु भरिए । आई मिस माई बेबी । मुखबाट र्‍याल बग्यो । पेपरले पुछिदिएँ । बल्ल थाहा भयो, बच्चाहरू पनि रहेछन् उनका । मलाई लागेको निद्रा अहिले हरायो । मेमलाई बुझ्न मन लाग्यो । कुरा मैले नै सुरु गरें ।

‘कसरी यस्ती हुनुभयो ?’

उनले बिस्तारै भन्दै गइन् । युएईमा कलेज सकेपछि एउटा सरकारी संस्थामा काम गर्दा रसिदसँग भेट भयो । रसिद अर्थात् मेरा श्रीमान् । रसिद पेसाले डाक्टर हुन् । उनीसँग पहिलो भेट मिराकल्स गार्डेनमा भएको थियो र दोस्रो बुर्ज खलिफा टावर हेर्न जाँदा । हामीहरूबीच प्रेम बस्यो । सार्‍है मीठो प्रेम । रसिद सधैँ मलाई भन्थे, ‘म तिम्रो हुँ अनि यो मेरो मुटुमा तिमीबाहेक अरू कोही बस्न सक्दैन ।’ पछि हाम्रो विवाह भयो । हामी एक–अर्कासँग खुसी थियौँ । दुई वर्षपछि बच्चा जन्मियो । फेरि अर्को वर्ष, अर्को बच्चा पनि जन्मियो ।

तर कान्छो छोरीलाई मैले देख्न पाइनँ । मलाई ब्रेस्ट क्यान्सर भैसकेको रहेछ । सेकेन्ड स्टेजमा थियो र मलाई अस्पताल भर्ना गरियो । हामी सात जना दिदी–बहिनी छौं । म कान्छी । मेरा बच्चालाई दिदीहरूले लेबनानमा लगे । मेरो लामो कपाल काटियो । खुब रोएकी थिएँ त्यतिबेला । अहिले त म हिँड्न पनि सक्दिनँ । रसिदलाई खुब सम्झन्छु । भेट्न पनि आउन छाडे । सुरु–सुरुमा भेट्न आइरहन्थे । सायद अब मर्छे भनेर नआएका होलान् । मेरो मन कुनै खेलकुदको मैदान होइन । मेरो मन त एउटा पवित्र मस्जिद हो । आशा छ, मेरो अन्तिम श्वास उनको काखमा जानेछ ।

मैले मेरो आफ्नो छोरालाई आठ महिनापछि बल्ल देखें । मलाई देख्नेबित्तिक्कै ऊ डराएर रोएको थियो । पछि बल्ल मान्यो, सानो बच्चा । आमा हुनुमा गर्व लाग्छ तर मैले आमाले दिने माया–ममता दिन पाइनँ उनीहरूलाई । मेरो ठूलो छोराले मलाई नचिन्दा मन भक्कानिएको थियो । कपाल, आँखीभौं सबै झरेका थिए । रगत सकिएर पहेंलो हुँदै थिएँ ।

छोरो तर्सिएर मलाई हेरी रूँदा म एयरपोर्टबाटै फनक्क फर्किएँ । मेरा छोराहरूलाई काखमा राखेर खेल्ने रहर सपनाझैं भयो । रहर एउटा सम्झनामा परिणत भयो । मान्छेले सबैभन्दा धेरै बोक्ने भनेकै सम्झना रहेछ, जुन कहिल्यै भारी र बढी हुँदैन अनि मुस्कुराउने आधार पनि त्यही बन्दो रहेछ । दु:ख त त्यतिबेला लाग्दो रहेछ, जब आफ्नै कोखमा नौ महिना राखेर जन्म दिएको सन्तान बिस्तारै पराई बन्दै गएर अरू कसैको काखमा खेलेको देख्दा । मैले मेमको हात समातेकी थिएँ । हात बिस्तारै काम्दै थिए । उनी रुँदै थिइन् । ओठ कामेका थिए । आँखाले केही खोजिरहेका थिए । पीडाले छटपटिरहेकी थिइन् उनी । म निस्सासिएझैं भएँ ।

मसँग मेमलाई सान्त्वना दिने शब्द थिएनन् । मर्नु त सबैलाई छ । यो शाश्वत सत्य पनि हो तर लुकामारी खेल्ने उमेरमा, हाँस्दै बंैस पोख्ने रहरमा मर्नु, जीवन फूल होइन जस्तो लाग्छ । मेमको अनुहारमा हेरें । अनुहार उज्यालो थियो । बिस्तारै मेरो हात मेमको हातबाट छुटाएँ । घडी हेरें, बिहानको ३ बजिसकेछ । सोचें, एकछिन सुत्नुपर्‍यो । मेमको च्यादर मिलाइदिएर भित्तामा अडेस लागेर सुत्ने प्रयास गरें । मेम पनि निदाइछन् । भित्तामा अडेस मात्र के लागेकी थिएँ, निदाएँछु ।

बिहान ढोकाको ढकढक आवाजसँगै म झल्याँस्स ब्युँझिएँ । मलाई पालो दिने नर्स आइपुगिछन् । आङ तनक्क तन्काएँ । जुरुक्क उठें । मेमलाई बोलाएँ । मेम..... मेम ...... झकझकाएँ....... मेम त .....मरिसकिछन् । टाउको सिरानीबाट लुथु्रक्क बेडमा पल्टियो । पालो दिने नर्सले कुँदेर डाक्टरलाई बोलाइन् । डाक्टरले उनी मरिसकेको घोषणा गरे । मैले लामो सास तानें ।

जीवन यस्तै रहेछ । हात टाउकोमा पुग्यो र बिस्तारै म पनि बाहिरिएँ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्