बालबालिकाहरूका लागि वातावरण

सिर्जना दुवाल श्रेष्ठ

वैशाख १८, २०७५

बालबालिकाहरूलाई सानै छन् भनेर धेरै कुराबाट वञ्चित गर्ने परम्परागत प्रवृत्ति छ तर वर्तमान ग्याजेट पुस्ताका नानीहरूलाई धेरै कुराको ज्ञान हुन्छ । उनीहरू हरेक कुरामा आफूलाई पनि सामेल गराइयोस् भन्ने चाहना राख्छन् तथापि उनीहरूका धेरैजसो कुरालाई ख्यालठट्टामा उडाइन्छ वा प्राथमिकता दिइँदैन । यद्यपि सबैजना आफ्ना बालबालिकालाई राम्रोसँग हुर्काउन चाहन्छन् ।

राम्रो लालनपालनबाटै बालबालिकाहरू मानसिक एवं शारीरिक रूपमा स्वस्थ हुन्छन् । जति समय अभिभावकले आफ्ना नानीहरूसँग बिताउँछन्, त्योभन्दा बढी समय नानीहरू विद्यालयमा बिताउँछन् । त्यसकारण विद्यालय नानीहरूका लागि रमाउने तथा खुसी हुने स्थान बन्नु जरुरी छ । विद्यालयका हरेक क्रियाकलाप बालमैत्री एवं रमणीय हुनुपर्छ । अहिले विद्यालय पढ्ने थलो मात्र होइन ।

अहिलेका नानीहरू बिहानदेखि साँझसम्मै त्यहीँ बिताउँछन् तसर्थ विद्यालय घरकै अर्काे रूप हुनुपर्छ । विद्यालयमा मीठो तथा स्वस्थकर खाना, समुचित अध्यापन, रमणीय वातावरण एवं आवश्यक अतिरिक्त क्रियाकलाप हुनैपर्छ अन्यथा बालबालिकाहरूले विद्यालय जानुलाई नै बोझका रूपमा लिनसक्छन् ।

बालबालिकाहरू जिज्ञासु स्वभावका हुने भएकाले एउटै काम गरेर बस्दैनन् । उनीहरू एउटा खेल खेलेपछि अर्को काममा लागिहाल्छन् । त्यसैले बालबालिकाहरू पनि सामेल हुने गरि खेलकुद, नाचगान तथा प्रतियोगितात्मक क्रियाकलापलाई स्थान दिँदै उनीहरूसँग बढी समय बिताउनु राम्रो हुन्छ । उनीहरूको उमेर वृद्धिसँगै घर तथा विद्यालयबाट व्यावहारिक कुराहरू सिकाउँदै जानुपर्छ ।

बालबालिकाले अध्ययनमा राम्रो गरे स्यावासी दिनुपर्छ भने नराम्रो काम गर्दा तत्काल प्रतिक्रिया दिनुहुँदैन । उनीहरूले बुझ्ने भाषामा राम्रोसँग सम्झाउनुपर्छ । कतिपय विद्यालयमा पढ्न जान्ने तथा तुलनात्मक रूपमा कमजोर विद्यार्थीहरूप्रति बेग्लाबेग्लै व्यवहार गरिन्छ जुन विल्कुलै गलत हो । घरमा अभिभावकले बालबालिकाले नजानेका कुरा सिकाउनुका साथै गृहकार्य गर्न, चित्र बनाउन एवं प्रोजेक्ट वर्क आदिमा सघाउन सकिन्छ । कहिलेकाहीँ बालबालिकालाई सरप्राइज गिफ्टहरू दिन पनि बिर्सनु हँुदैन । विद्यालयले पनि समय–समयमा उपहार तथा चकलेट उपहार प्रदान गर्दा बालबालिकाहरू रमाउँछन् ।

बालमैत्री वातावरण

जसरी घरलाई पहिलो पाठशालाका रूपमा लिइन्छ, त्यसरी नै विद्यालयलाई बालबालिका तथा विद्यार्थीको दोस्रो घर मानिन्छ । विद्यालयमा घरपरिवारमा जस्तै आत्मीय सम्बन्धको खाँचो हुन्छ । विद्यालयमा जति आत्मीयता बढ्दै जान्छ त्यति नै विद्यार्थी तथा बालबालिकाको सिकाइ उपलब्धिमूलक हुन्छ तथा उनीहरूले आफ्नो लुकेको क्षमता प्रस्फुटन गराउने उचित वातावरणसमेत प्राप्त गर्छन् ।

विद्यालयसँगको सम्पर्कले विद्यार्थीले आफ्नो उत्तर दिने क्षमताको पहिचान एवं विकास गर्ने अवसर पाउँछन् । विद्यालयले बालबालिकाको सुखद् जीवनयापनमा सघाउ पुर्‍याउन तथा अर्कातर्फ राज्यलाई आवश्यक दक्षजनशक्ति उत्पादन गरी देश विकासमा नयाँ आयाम थप्नसक्छ तसर्थ विद्यालय र विद्यार्थीबीचको सम्बन्ध असल परिवारको जस्तो हुनुपर्छ ।

विभिन्न जात, समुदाय, वर्ग, धर्म तथा पेशागत समूहका बालबालिका एउटै छतमा अटाउन सक्ने थलो विद्यालय मात्र हुनसक्छ । विद्यालयमा हासिल गरेको ज्ञान, सीप तथा अनुभवले बालबालिकाको भविष्य मात्र चित्रण गर्दैन समग्र राष्ट्रकै भविष्य चित्रण गर्छ । नेपालको सन्दर्भमा विद्यालय जान नमान्ने, बिदा पर्दा खुसी हुने तथा अध्ययनलाई जबरजस्ती लादिएको काम मान्नेजस्ता समस्या बालबालिकामा छ । त्यसैले हामीकहाँ अभिभावक, शिक्षक तथा सम्बन्धित पक्ष सबैले एक प्रकारको मानवीय अपराध गरिरहेका छन् किनभने हामीले हाम्रा बालबालिकाहरूलाई प्रफुल्ल मुद्रामा विद्यालय पठाउन सकेका छैनौं ।

बालबालिकामा आत्मीय खुसी प्राप्त गराउन शिक्षक, अभिभावक तथा सम्बन्धित पक्ष असफल भएको सन्दर्भमा बालमनोविज्ञान तथा शिक्षामनोविज्ञानको अध्ययन तथा अनुसरणको कमी देखिन्छ । अब प्राप्ताङ्कलाई शिक्षाको गुणस्तर मान्ने सबै सरोकारवालाले एकपटक गम्भीर भएर सोच्नुपर्ने समय आएको छ । मनोवैज्ञानिक तत्वहरूको अध्ययन–अनुसन्धान नगरेसम्म विद्यार्थीले खुसी भएर अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्न सक्दैनन् । घोकन्ते शिक्षामा जोड दिएर प्राप्ताङ्क बढाउने संस्कारबाट गुणस्तर प्राप्त गर्न सकिँदैन ।

शिक्षक तथा विद्यालय परिवारले आफ्ना बालबालिकाको चाहनाका साथै मनोवैज्ञानिक तत्व एवं समस्या बुझ्नु जरुरी छ । विद्यार्थीको विशेषताहरूको अध्ययन गर्नु तथा बालकेन्द्रित मैत्रीपूर्ण वातावरण सिर्जना गरेर शिक्षण सिकाइमा जोड दिनु आवश्यक छ । विद्यार्थीलाई मनैदेखि खुसी तथा प्रफुल्ल हुने वातावरण सिर्जना गर्न स्वस्थ वातावरणका साथै अतिरिक्त क्रियाकलापमा जोड दिने शिक्षण सिकाइमा केन्द्रित हुनुपर्छ ।

बालमैत्री वातावरणका अतिरिक्त शिक्षक–विद्यार्थीबीचको सम्बन्ध तथा अभिभावक–शिक्षकबीचको सम्बन्धसमेत महत्वपूर्ण हुन्छ । स्वच्छ प्रतिस्पर्धाका साथै बालबालिकाको स्वभाव अनुसारको ऐच्छिक विषयजस्ता कुरामा जोड दिनुपर्छ । तल्लो कक्षाका विद्यार्थीले पारिवारिक मायाको खाँचो महसुस गरेका हुन्छन् भने माथिल्लो कक्षाका विद्यार्थीहरूले साथीसंगत एवं अभिभावकीय सम्बन्धको खाँचो महसुस गरेका हुन्छन् ।

हामीकहाँ बालबालिकाका स–साना क्रियाकलाप तथा घटनालाई खासै महत्व दिइँदैन तर ती स–साना क्रियाकलाप तथा घटनाले नै उनीहरूमा लुकेर रहेको क्षमताको प्रतिनिधित्व गर्छ । त्यसैले विकसित मुलुकमा विद्यालय प्रवेशसँगै बालबालिकाको स्वभाव तथा क्षमताका आधारमा सुहाउँदो विषयमा प्रवेश गराइन्छ । बालबालिकाको स्वभावका आधारमा वातावरण निर्माण गरिन्छ ।

हरेक बालबालिकामा कुनै न कुनै गुण हुन्छ । उक्त गुण समयमै पहिचान गर्नसक्नु शिक्षक तथा अभिभावकहरूको दायित्व हो । बालबालिकाको रुचि पहिचान गरी सोहीअनुरूपको शिक्षण सिकाइ क्रियाकलाप तथा वातावरण प्रदान गर्नसके विद्यालय घरभन्दा प्यारो एवं मन खुसी पार्ने स्थान बन्नसक्छ ।

                                                                                - सविना केसी, शिक्षिका

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्