लेखन नै मेरो प्रिय साथी हो

  • शिवानीसिंह थारू

नारी संवाददाता

वैशाख ७, २०७५

शिवानीसिंह थारू पूर्व मोडल, एयर होस्टेज, भिजे, नाटक लेखक तथा निर्देशक हुन् । यतिबेला उनी लेखिकाका रूपमा उदाएकी छिन् । हालै उनको उपन्यास काठमाडौंमा एकदिन फाइन प्रिन्टले बजारमा ल्याएको छ ।

 

काठमाडौंमा एकदिन पुस्तक लेख्न ९ वर्ष खर्चिनुभयो । किन यति धेरै समय लाग्यो ?

पहिलो कारण थियो भाषा । जति पकड मेरो अग्रेंजीमा थियो त्यति नेपाली भाषामा थिएन । त्यसका लागि मैले नेपाली साहित्यको कदेखि ज्ञसम्म बुझ्न समय लगाएँ । दोस्रो कारण मैले पढ्न रुचाउने पुस्तक जस्तो थियो त्यस्तै खाले स्वादको उपन्यास लेख्नुपर्छ भन्ने चेत आउन थाल्यो र मैले पढ्न रुचाउने पुस्तकको शैली बनाउन अध्ययन र अभ्यास गर्नुपर्‍यो । त्यसमाथि मेरो विशिष्ट शैली निर्माण गर्न पनि मैले निकै मेहनत गर्नुपर्‍यो । यिनै कारणहरूले मलाई यतिका वर्ष लाग्यो ।

९ वर्षको मेहनतपछि पुस्तक प्रकाशनमा आयो। मन कत्तिको हलुंगो भएको छ ?

थोरै मात्र हलुंगो भएको छ । दिमागमा अर्को कथा फुरिसकेको छ । मैले अर्को पुस्तक लेख्नुपर्छ । त्यसैले चाँडोभन्दा चाँडो अर्को कथा, नाटक लेख्न बसूँजस्तै भैसकेको छ ।

जिन्दगीमा मोडलिङ गर्नुभयो, एयर होस्टेस बन्नुभयो, भिजे बन्नुभयो, रेडियो नाटक लेख्नुभयो । अब लेखकका रूपमा उदाउँदै हुनुहुन्छ । सबैभन्दा बढी रमाइलो केमा लाग्यो ?

सबैमा रमाइलो छ । जुन कुरामा रमाइलो लाग्दैन, म त्यो काम गर्दै गर्दिनँ । बीचमा मिडिया भनेको त्यस्तै हो, पैसा कमाउनतिर लाग्नुपर्छ भन्ने लाग्यो । मैले बुद्ध एयरमा एयर होस्टेजका लागि एप्लाई गरें र छानिएँ पनि । तीन महिनाको सम्झौता थियो, तर एक महिनामै छोडें । म आफूलाई बोरिङ लागेको कुरा छाडिदिन्छु । म पैसाका लागि मात्र काम गर्दिनँ । जे मन पर्छ त्यही गर्छु ।

किन लेख्नुहुन्छ ?

बाल्यावस्थामा आक्रोश व्यक्त गर्न लेख्थें । छोरा मानिसहरू रिस व्यक्त गरिहाल्थे । म सीधै त्यसरी रिस व्यक्त गर्न सक्दिनथें । म डायरी लेख्थें । लेखन नै मेरो प्रिय साथी हो । म डायरीमा एकदम खुलेर लेख्न सक्छु । मेरो पुस्तकको पात्र जति आक्रोशित छ, मेरो पात्रले जति पीडा भोगेको छ त्यो पीडा पाठकहरूले बुझिदिए पुग्छ । पुस्तक पढ्ने मानिसलाई पनि त्यत्तिकै रिस उठोस्, रौं ठाडो हुने गरी आक्रोश उब्जियोस् ।

जीवनमा के बन्ने सपना थियो ?

मेरो सपना हरेक पटक फेरिरह्यो । स्कुल पढ्दा म समाजसेवी बन्न चाहन्थें । ११–१२ पढ्दा टेक्सटाइल डिजाइनर बन्ने रहर पलायो । स्नातक पढ्दा म टेलिभिजन कार्यक्रम चलाउँथे ।त्यतिबेला म सपनाविहीनजस्तै थिएँ । मेरा कुनै सपना थिएनन् । राम्री उद्घोषिका बन्नुपर्छ जस्तो मात्र लाग्थ्यो । स्नातकोत्तर पढ्दा राम्रो टक शो सञ्चालक हुनुपर्छ भन्ने थियो । ११–१२ सकेपछि मैले नाटक–लेखन सुरु गरेकी थिएँ । त्यतिबेला भित्रैबाट लेख्छु भन्ने लागेको थियो । कमिक्स तथा अपराध कथाहरू एकदम धेरै पढ्थें । लेखक भन्ने त त्यतिबेला मलाई थाहा पनि थिएन । यद्यपि कथावाचक बन्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो ।

प्राय: कुन समयमा लेख्न रुचाउनुहुन्छ ?

सुतेर उठ्नेबित्तिकै दिमागमा धेरै कुरा फुर्छ । दिमाग एकदमै सफा हुन्छ । मलाई कडा चिया चाहिन्छ । त्यसपछि जस्तोसुकै पुस्तक लेख्न सक्छु भन्ने जाँगर आउँछ । बिहान साढे ७ बजे लेख्न थाल्यो भने दिउँसो २ बजेसम्म निरन्तर लेखेको लेख्यै हुन्छु, तैपनि एक घण्टा मात्र बितेजस्तो हुन्छ । यो मेरा लागि ऊर्वर समय हो । त्यसकारण यो समयमा भोक नलागिदिए हुन्थ्यो भनेर प्रार्थना गर्न मन लाग्छ । म साँझ र राति

लेख्न सक्दिनँ ।

मानिसका लागि अध्ययन किन जरुरी छ ?

धेरै कुराले जरुरी छ । आफूले आफूलाई चिन्न अनि धेरै जिन्दगी देख्न–चिन्न अध्ययन आवश्यक छ । अध्ययन भनेको रिस र आक्रोश चिन्ने माध्यम हो । अध्ययनबाट संसारको रंग, सुगन्ध तथा स्वादको मज्जा लिन सकिन्छ । अध्ययन गर्नेहरू जहाँ गए नि कहिल्यै बोरिङ फिल गर्दैनन् ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्