नयाँ वर्षलाई स्वागत

कविता शर्मा

वैशाख ३, २०७५

जसरी प्रकृतिको नियम छ हरेक वर्ष रुखका पुराना पात झरेर नयाँ पात पलाउँछन् त्यस्तै हामी हरेक वर्ष चैत्र मसान्तलाई बिदाई गरेर नयाँ वर्षको स्वागत गर्छौं ।

नयाँ वर्षलाई स्वागत गर्ने आ–आफ्नै तरिका हुन्छन् । कोही पारिवारिक जमघट गरेर, कोही सेवामूलक काम गरेर, कोही धार्मिक काम गरेर नयाँ वर्ष सेलिब्रेट गर्छन् ।

नयाँ वर्षको दिन हामी सबै बिहान उठेर भगवान्को अघिल्तिर उभिएर भन्छौं–हे भगवान् मलाई शक्ति दिनुहोस्, कसैको कुभलो चिताउनु नपरोस्, सधैं सकारात्मक सोच्ने शक्ति मिलोस्, शत्रु नाश हुन्, नयाँ वर्षको सुरुवातसँगै मेरो जीवनशैली नयाँ होस्, पुराना गल्ती तथा कमी–कमजोरी हटेर जाऊन्, अब जीवनमा कहिल्यै मबाट गल्ती नहोस्–हामीमध्ये धेरैले यस्तै संकल्प गरेर नयाँ वर्षलाई स्वागत गरिरहेका हुन्छौं ।

यो समाजका भनौं वा यो सिङ्गो पृथ्वीका कुनै पनि मानिसलाई नराम्रो बन्न मन लाग्दैन । आफूले गरेका हरेक गतिविधि, आफूले बोलेका कुरा सधैं सही लाग्छन्, राम्रा लाग्छन् तर कुनै बेला आफूले गरेका राम्रा गतिविधि आफूलाई सही लाग्दालाग्दै अरूलाई गलत लागिरहेको हुनसक्छ । हामी आफूले राम्रो सोचेर बोलिरहेका हुन्छौं सुन्नेले त्यसको गलत अर्थ लगाएर सुनिरहेको हुन्छ वा उसको बुझाइ गलत भैरहेको हुनसक्छ ।

नराम्रो कर्म गर्दा, नराम्रो लेख्दा वा बोल्दा मित्रहरू शत्रुमा परिणत भैरहेका हुन्छन् र तपाईं–हामी कसैलाई पनि शत्रु धेरै हुन्, मेरा कारणले अरूको मनमा चोट पुगोस् भन्ने लाग्दैन । सधैं सकारात्मक कर्म गरौं, सकारात्मक सोचौं जस्तो लागिरहेको हुन्छ । त्यसैले हामीले हरेक पर्व, नयाँ वर्ष वा जन्मदिनमा गर्ने संकल्प यही नै हो–सकारात्मक सोच्ने शक्ति मिलोस् ।

यद्यपि हामी बिहानै उठेर बाहिर निस्कँदा वैशाखको टन्टलापुर घाम लागिरहेको हुन्छ, त्यसमा पनि वैशाख–जेठको गर्मी, हामीलाई रनक्क रिस उठ्छ र अनुहार बिगार्दै बिहान–बिहानै के सारो चर्को घाम लाग्न सकेको भनेर घामसँग रिसाइरहेका हुन्छौं । यसमा प्रकृतिको के दोष ? प्रकृति त आफ्नो नियमअनुसार चल्छ । लगातार पानी पर्दा पनि हामी त्यसै रिसाइरहेका हुन्छौं ।

घरमा कोही आफन्त वा इष्टमित्र आउनुहुन्छ र कुनै तेस्रो व्यक्तिका बारेमा गफ सुरु हुन्छ । एउटाको कुरा अर्कालाई सुनाउने क्रममा आफन्त वा मित्रले सुनाएका कुराको यथार्थ नबुझी अथवा अन्धविश्वास गरेर हामी विभिन्न व्यक्तिसित भित्रभित्रै रिसाइरहेका हुन्छौं ।

यस्ता स–साना कुरामा पनि हामीलाई रिस उठिरहेको हुन्छ, तर कसैको कुरा सुनेपछि सत्यतथ्य के हो ? छानबिन गर्ने हो भने आफै भित्रभित्रै रिसाइरहनु पर्दैन । सत्यतथ्य के हो ? छानबिन गरौं अनि सीधै उसैसँग सोधौं कि त्यो कुरा सही हो कि गलत ? सम्बन्धित कहाँ पुग्यो भने ममाथि यति ठूलो आरोप लगाउने उता सम्बन्धित व्यक्तिलाई उल्टै रिस उठ्छ ।

यस्ता स–साना कुरालाई बेवास्ता गर्दै जाँदा थोपा–थोपाको रिस नै समुद्र बन्छ ।

नयाँ वर्षको संकल्पसँगै थोपा–थोपा पुछ्दै जाने हो भने पक्कै पनि समुद्र बन्न पाउँदैन ।

जब रिस उठ्छ आवेगमा आएर हामी मनमा लागेका सबै कुरा भन्छौं । अलि बढी नै रिस उठे हात हालाहाल गर्छौं । अहिले सामाजिक सञ्जालमा रिस पोख्नेहरूको जमात पनि ठूलै छ । जे कुरामा चित्त बुझेन लेखिदियो । गाली पनि त्यसैबाट, सत्य कुरा पनि त्यसैबाट । रिसको आवेगमा नभएको कुरालाई पनि लम्बाचौडा बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्नेहरू पनि उत्तिकै छन् । एउटाले पोस्ट गर्छ अनि अर्काले त्यसमा रिस उठेकोलाई असरका कुरै नबुझी लाइक र कमेन्ट ठोक्छ स्टाटस हाल्नेले यही शब्दहरूले मलाई प्रहार गर्दा मलाई पनि यति नै दुख्थ्यो जति उसलाई दुखेको छ भन्ने नसम्झी म नै सही छु मैले लेखेका कुरा नै सही छन् र त यति धेरै लाइक कमेन्ट आए भन्दै अरूलाई चोट पुर्‍याएर आफै मख्ख ।

फेरि उही संकल्प अनि सकारात्मक सोच ।

तपार्इं–हामी एउटा कुनै सामान्य काम गरेर जीवन चलाउनेहरूलाई पनि कतै न कतै आफ्नै मित्रले खोट लगाइरहेका हुन्छन् । अझ बढी प्रगति–उन्नति गर्दै जाउँ, हरेक पाइलामा खुट्टा तान्ने हाम्रै वरिपरि भेटिन्छन् ।

यो समाजमा परिवर्तन आओस्, देशको विकास होस् भन्ने हामी सबै चाहन्छौं तर तपाईं अघि बढ्नुस् कसैले भन्दैन । परिवर्तन चाहनेहरू नै कसै न कसैको खुट्टा तानिरहेका हुन्छन् ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्