नसर्ने रोगका लागि फिजियोथेरापी

डा. नवीना श्रेष्ठ

वैशाख २, २०७५

न्यूरो फिजियोथेरापिस्ट, निदान हस्पिटल

फिजियोथेरापी के हो ?

फिजियोथेरापी मेसिनको सहायताले वा शारीरिक कसरतबाट रोग निदान गर्ने तथा पीडा कम गर्ने उपचार पद्धति हो । एलोप्याथीअन्तर्गत पर्ने यो पद्धति धेरै किसिमका रोगको उपचारका लागि उपयुक्त हुन्छ । फिजियोथेरापीले हिँड्न नसक्नेहरूलाई हिँड्न सक्ने बनाउनुका साथै विभिन्न अर्थोपेडिक समस्याको सर्जरीपछि अङ्गहरूको संचालन क्षमता फर्काउन सघाउँछ ।

फिजियोथेरापी केका लागि आवश्यक छ ?

मांसपेशी च्यातिएका, कमजोर मांसपेशी, नशाको समस्या भएका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका, घाँटी तथा शरीरको पीडा कम गर्न एवं सर्जरीपछि फिजियोथेरापी आवश्यक हुन्छ । यसैगरी गर्भवती महिलाका लागि पनि फिजियोथेरापीको आवश्यकता पर्छ । यसका बारेमा धेरै चर्चा नभए पनि गर्भवती हुँदा पनि फिजियोथेरापी गर्न सकिन्छ जसमा किगल व्यायाम गराइन्छ । यस्तो अवस्थामा पेटको भाग बलियो बनाउने, शिशु जन्मिसकेपछि बलियो बनाउने आदि काम गरिन्छ । गर्भावस्थामा महिलाहरूलाई सामान कसरी उठाउने, आराम कसरी गर्ने जस्ता कुरा सिकाइन्छ । यसलाई मास्टर फिजियोथेरापी इन गाइनोकोलोजी भनिन्छ ।

कति उमेरसम्मकाले फिजियोथेरापी गर्न सक्छन् ?

बालबालिकादेखि वृद्धवृद्धासम्मले फिजियोथेरापी गर्न सक्छन् । रोगको प्रकृति तथा उमेरअनुसार फिजियोथेरापी गरिन्छ ।

फिजियोथेरापी कस्तो अवस्थामा ठीक हुन्छ ?

नशा च्यापिने, पक्षाघात, ढाड दुख्ने, अटिजम, सुस्त मनस्थिति आदिलाई फिजियोथेरापीबाट ठीक गर्न सकिन्छ । कुनै पनि सर्जरीपछि फिजियोथेरापीको आवश्यकता पर्छ । नसर्ने रोगमा फिजियोथेरापी निकै प्रभावकारी साबित भएको छ । कतिपय वृद्धवृद्धा (६० वर्ष माथिका) हिँड्दा लड्ने सम्भावना हुन्छ । यस्तो अवस्थामा फिजियोथेरापी गराउन सकिन्छ । कुनै पनि भागको फिजियोथेरापीका लागि केस हेरेर कति समय गर्ने भन्ने कुरा निर्धारण हुन्छ ।

टिप्स

-    महिलालाई हाँस्दा, खोक्दा पनि पिसाब चुहिने सम्भावना हुन्छ, यसका लागि पनि फिजियोथेरापी गर्न सकिन्छ ।

-    कतिपय महिलाको हात माथि नजाने तथा कपाल कोर्न गार्‍हो हुने हुन्छ जसलाई फ्रोजन सोल्जर भनिन्छ । यस्तो समस्या फिजियोथेरापी गरेर निको पार्न सकिन्छ ।

-    गर्भवती महिलाको खुट्टाको बीच भागमा दुख्ने समस्या पनि फिजियोथेरापीबाट कम हुन्छ ।

-    सही विकास नभएका, हिँड्न नसक्ने तथा हाइपर एक्टिभ बालबालिकाकाको पनि फिजियोथेरापी गर्न सकिन्छ । यसलाई मास्टर फिजियो इन पेडियाट्रिक भनिन्छ ।

-    टाउकाको पक्षघात भएको अवस्थामा पनि उपचारपछि फिजियोथेरापी गराउनुपर्छ ।

-    फिजियोथेरापिस्टले जाँच गरेपछि मात्र फिजियोथेरापी गर्नु उपयुक्त हुन्छ । फिजियोथेरापी गगराउनु अवधि फिजियो थेरापिस्टले निर्धारण गर्छन् । हिजोआज रोगको प्रकृतिअनुसार विशेषज्ञता हासिल गरेका फिजियोथेरापिस्ट उपलब्ध हुन्छन् ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्