कम वा बढी उमेरमा आमा बन्दा आइपर्ने समस्या

डा. अचला वैद्य

चैत्र २१, २०७४ नेपालमा कानुनले महिलाको विवाहयोग्य उमेर १८ वर्ष तोकेको छ तर अहिले पनि तराई तथा गाउँघरतिर १५–१६ वर्षमै विवाह गरिदिने परिपाटी छ । अहिले पनि कतिपय ठाउँमा बालविवाह कायम रहनुमा पुरातन मान्यता, चेतनाको कमी, गरिबी, परम्परा, धर्म–संस्कृतिजस्ता कारण जिम्मेवार छन् । अझै पनि महिनावारीको सुरुवातलाई विवाह योग्य उमेर मान्ने मानसिकता कतिपय आमाबुवामा छ । जब कि यो उमेरमा महिलाको शारीरिक विकास तथा अन्य कुरामा परिपक्वता आएको हुँदैन ।

कम उमेरमा विवाह गर्दा अपरिपक्वताले समस्या निम्त्याउँछ । घरपरिवारले विवाह भएको १–२ वर्षमै सन्तानको चाहना गरेका हुन्छन् । यसले गर्दा विवाह भएको १–२ वर्षमा सन्तान भएनन् भने आइभीएफ (टेस्टट्युब) मा जाने प्रवृत्ति पनि बढ्दो छ । छिटो विवाह गर्दा शारीरिक बनावटमा असर पर्छ । कतिपयले महिनावारी समयमै हुन्छ तर गर्भ रहेन भनेर पनि गुनासो गर्छन् ।महिनावारी ठीक हुँदैमा हरेक महिना अण्ड निस्कदैन । यसले गर्दा गर्भाधान हुन सक्दैन । आमा बन्न महिला आफै शारीरिक तथा मानसिक रूपमा तयार हुनु आवश्यक छ । गर्भावस्थामा शरीरमा आउने परिवर्तनका बारेमा  कुनै जानकारी नहुँदा अप्ठ्यारो सिर्जना हुनसक्छ । यो अवस्थामा पनि केही सामान्य तथा असामान्य जटिलता देखा पर्छन् । यतिबेला खान मन नलाग्ने, अल्छी लाग्ने आदि समस्या निम्तिन्छन् जुन कुरा कम उमेरमै गर्भवती भएका महिलाले बुझेका हुँदैनन् । यस्ता कुरामा ध्यान नदिँदा, खानपान तथा मानसिक रूपमा उथलपुथल भए गर्भमा रहेको शिशुमा असर पर्नसक्छ ।

गर्भस्थ शिशुको तौल पनि आवश्यक रूपमा बढ्दैन । यो अवस्थामा रगतको कमीले एनिमिया हुसक्छ भने प्रोटिनको कमीका कारण हातखुट्टा सुन्निन सक्छन् । उनीहरूले यस्ता कुरा घरपरिवारलाई भन्न सक्दैनन् । कम उमेरमा गर्भवती हुँदा जेनेटिक समस्या देखिने सम्भावना बढ्नुका साथै नवजात शिशुमा डाउन सिन्ड्रोम देखापर्न सक्छ । यस्ता महिलाको नर्मल डेलिभरी पनि नहुने तथा गर्भ तुहिने समस्या पनि उत्तिकै हुन्छ । त्यसबाहेक मानसिक तथा शारीरिक विकास नहुँदै गरिएको विवाहले भविष्यमा विभिन्न किसिमको जटिलता उत्पन्न गर्नसक्छ । यसबाट निराश हुने, आत्मबल कम हुने तथा डिप्रेसनजस्ता  मनोवैज्ञानिक समस्यासमेत देखापर्न सक्छन् ।  

 

ढिलो विवाहको असर

अहिले धेरैजना करिअर तथा अध्ययन केन्द्रित भएकाले ढिलो विवाह गर्ने चलन बढ्दो छ । यसले करिअर तथा भविष्य राम्रो भए पनि प्रजनन्मा भने असर पुग्नसक्छ । ३५ वर्षभन्दा ढिलो सन्तान जन्माउन चाहने महिलामा बच्चा बस्न गाह्रो हुने तथा बच्चा बसे पनि आमा तथा गर्भस्थ शिशु दुवैको स्वास्थ्य जोखिममा पर्नसक्छ । यस्ता महिलाले जन्माउने शिशुमा डाउन सिन्ड्रोम देखापर्ने सम्भावना हुन्छ । पेटमा शिशु हुर्कने सम्भावना पनि कम हुन्छ । ढिलो विवाह गर्ने महिलाको पनि प्रि–म्याचोर डेलिभरी (समय नपुगी डेलिभरी) हुनसक्छ वा शिशु स्वस्थ नहुनसक्छ । ढिलो सन्तान जन्माउँदा नर्मल डेलिभरी हुने सम्भावना कम हुनुका साथै गर्भ तुहिने समस्यासम्म सिर्जना हुनसक्छ भने स्वस्थ शिशुको जन्म नहुने सम्भावना पनि उत्तिकै हन्छ । गर्भावस्थामा मधुमेह तथा रक्तचाप देखापर्न सक्छ ।

सन्तानका लागि उपयुक्त उमेर

२० देखि ३० वर्षको उमेरमा सन्तान जन्माउनु उपयुक्त हुन्छ । दम्पतीले यही उमेरमा सन्तानको  प्लानिङ गर्नुपर्छ ।

अन्त्यमा

२० देखि ३० वर्षका महिलाको तुलनामा छिटो विवाह गरेका महिलाको गर्भावस्था तथा प्रसवका बेला आउने जटिलताका कारण मृत्यु हुने र उनीहरूले जन्माएका शिशु मृत जन्मने वा जन्मिएको केही समयमा मृत्यु हुने सम्भावना पनि उत्तिकै बढी पाइन्छ ।

त्यसैले परिपक्व भएपछि मात्र सन्तानको प्लानिङ गर्नु बुद्धिमानी हुन्छ । तयारी गरेको तीन–चार महिनादेखि फोलिक एसिड सेवन गर्नुपर्छ । गर्भवती हुनुअघि प्रि–प्रिग्नेन्सी स्क्रिनिङ गराउनु उपयुक्त हुन्छ । रगतको हेमाटोलोजी जाँच, दिसा–पिसाब, भिटामिन डी लेबल तथा अल्ट्रासाउन्ड गराउनुपर्छ । यसैगरी अहिले धेरै महिलामा थाइराइडको समस्या देखिएको छ भने कतिपयलाई मधुमेह पनि हुन्छ । यसको जाँच पनि गराउनुपर्छ । चिकित्सकको सल्लाहबमोजिम थाइराइड तथा मधुमेह भएका महिलाहरूले औषधि सेवन गरी गर्भ हुर्काउन सक्छन् ।  

गर्भावस्थाको सुरु तथा अन्तिमको तीन महिना भने विशेष सतर्कता अपनाउनुपर्छ । थाक्ने गरी कुनै काम गर्नुहुँदैन । गह्रौं भारी उचाल्नुहुँदैन । लामो यात्रा पनि गर्नु हुँदैन । गर्भावस्थाका दौरान पौष्टिक आहार खानुपर्छ । यतिबेलामा महिलालाई परिवारका सदस्यहरूले पनि सहयोग गर्नुपर्छ ।

                                                                                                           - नर्भिक अस्पताल

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्