छाउपडीविरुद्ध विद्यार्थी जागरण

जनक नेपाल

चैत्र ४, २०७४

विद्यार्थी नेताहरूको एउटा टोली गत महिना अछाम तथा दैलेखका ग्रामीण बस्तीमा पुगी ‘छाउगोठ’ को दु:ख हेरेर फर्किएको छ । यही प्रसंगमा विद्यार्थी नेतृ नविना लामासँग गरिएको कुराकानी :

छाउपडीविरुद्धको पछिल्लो अभियान के हो ?

महिनावारी प्राकृतिक धर्म हो, तर त्यसलाई पाप मानेर छाउगोठमा बस्नुपर्ने अवस्था पश्चिम नेपालकै सबैभन्दा ठूलो सामाजिक कुप्रथा हो । त्यसरी बस्दा निरन्तर थुप्रै महिलाको ज्यान गैरहेको छ । किशोरीहरू असुरक्षित भएका छन् । महिलाहरूले सहँदै आएको पीडा बुझेरै हामीले यो कुप्रथाविरुद्ध अभियान सुरु गरेका हौं । युवा–विद्यार्थीहरूले केही नगरे छाउपडीप्रथा अझै वर्षांै कायम रहने देखियो ।

छाउपडी गोठमा के देख्नुभयो ?

हामीले त्यहाँ महिनावारी भएर छाउगोठमै बसेका महिलाहरूसँग भेटघाट गर्‍यौं । उनीहरूले छाउ बार्नुको पीडा सुनाए । २१ औं शताब्दीमा पनि पशु र महिलाको समान स्थान देखेर असह्य पीडा भयो । त्यो देखेर निकै दु:ख पनि लाग्यो । म त द्रवित नै भएँ ।

तपाईंलाई कस्तो लाग्यो ?

म जनजाति समुदायकी छोरी, सुन्दै नौलो लाग्यो । वृद्ध आमाहरू आफैं महिनावारी हुनुलाई पाप मान्दा रहेछन् । यो पापलाई आरामले होइन, कष्टपूर्वक पखाल्नुपर्छ भन्ने अन्धविश्वास रहेछ । १३ दिनसम्म छाउगोठमा सुत्ने आमाहरू पनि भेटिए । देउता रिसाए घर बिग्रन्छ भन्ने ठूलो त्रास रहेछ । विद्यालयका शिक्षिका, नेता एवं जनप्रतिनिधिहरूकै घरमा त्यस्तो कुप्रथा निर्वाध रूपमा चलिरहेको देखियो ।

खास समस्या के पाउनुभयो ?

सरकारी तथा गैरसरकारी तहबाट वर्षांैदेखि विभिन्न अभियान चलाइएका छन् । छाउप्रथाविरुद्ध कार्यक्रमहरू पनि हुँदा रहेछन्, तर व्यवहारमा जस्ताको तस्तै ।

विद्यार्थी संगठनहरूले नियमित राजनीतिबाहेक सामाजिक अभियानमा समेत हातेमालो गरेको देखियो । यसरी सामाजिक कुरीतिविरुद्ध एक हुनुपर्छ भन्ने कुरा कसरी महसुस भयो ?

विद्यार्थीहरू सधैं लड्छन्–भिड्छन् भन्ने मात्र बुझ्नु भएन । विद्यार्थी संगठनले मिलेर धेरै राजनीतिक एवं सामाजिक काम पनि गरेका छन् । मूल्य वृद्धि, शुल्क वृद्धि तथा सवारी भाडामा छुटका धेरै आन्दोलनमा हामी सँगै छौं । किशोरी विद्यार्थीहरूको स्वास्थ्य र भविष्यसँग जोडिएको छाउपडी विरुद्धको अभियान धेरै अघि नै सञ्चालन गरिनुपथ्र्यो । ढिलै भए पनि राम्रो कामको थालनी भएको छ ।

यो मुद्दामा विद्यार्थी संगठनहरूले अब के गर्छन् ?

छाउपडी प्रथा गैरकानुनी छ । अघिल्लो संसद्ले त्यसविरुद्ध कानुनसमेत बनाएको छ । तैपनि पश्चिमी पहाडका महिलाहरू एउटा ठूलो अन्याय र अमानवीय भेदभाव सहेर बसिरहेका छन् । यो मूलत: सामाजिक समस्या हो । व्यापक जनचेतना फैलाएर यसलाई घर–घरबाटै अन्त्य गरिनुपर्छ ।

यो समस्याको दिगो समाधान कसरी गर्न सकिएला ?

कतै छाउगोठ भत्काइएका पनि रहेछन् । तैपनि छोरीहरू महिनावारी हुँदा घरभित्र निर्धक्क सुत्ने स्थिति बनिसकेको छैन । त्यसैले मनोविज्ञानमै परिवर्तन ल्याउनुपर्ने खाँचो छ । त्यो काम विद्यार्थी संगठनका सदस्यहरूबाटै सम्भव छ । समुदायलाई मनैदेखि कन्भिन्स गर्ने गरी चेतना फैलाउनुपर्ने आवश्यकता छ । हामीले प्रदेश नम्बर ६ र ७ का विद्यालय तहको पाठ्यक्रममै समावेश गरेर छाउप्रथाविरुद्ध जनचेतना जगाउनुपर्ने माग गरेका छौं । यसमा प्रदेश सरकार नै अगाडि आउनुपर्छ । छाउपडी मान्न बाध्य तुल्याउनेहरूविरुद्ध कानुनी कारबाही हुनुपर्छ ।

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्