नारी दिवसको सार्थकता महिलाको प्रगति

डा. नम्रता पाण्डे

फाल्गुन १६, २०७४

 

बर्सेनि नारी दिवस मनाउनुको औचित्य महिलाहरूको हक, अधिकार र सम्मानको मात्र कुरा होइन । एउटा घरमा, एउटा समाजमा वा एउटा राष्ट्रमा मात्र नभएर पूरा विश्वलाई नै तुलना गरौं त महिलाबिनाको संसार कति निरस होला ? त्यसैले महिलाको प्रगति भनेको त्यो घरको, त्यो समाजको, त्यो राष्ट्रको र पूरै विश्वको प्रगति हो । आधा आकाश, अर्धनारीश्वर, दुर्गामाता, नारीशक्ति आदि जति पनि सम्मानसूचक शब्दहरू प्रयोगमा छन् परापूर्व कालदेखि, आजसम्म पनि तिनले उति नै महत्व राख्ने गरेका छन् । त्यसैले नारी दिवसको अभियान र उत्सव कुनै नारी वर्ग विशेषप्रति मात्र लक्षित नभएर प्रगति पथको एउटा अभियान हो । जसरी चार्ज सकिएको ब्याट्रीलाई पुन: रिचार्ज गर्नुपर्छ त्यसैगरी लैंगिकताका आधारमा महिलामाथि भेदभाव नगरियोस् भन्ने चेतना जागृत गर्ने काम रिचार्ज गर्न बर्सेनि नेपालका साथै विश्वका सबै देशमा नारी दिवस मनाइन्छ । यो वर्ष पनि प्रगतिका लागि अगाडि बढ भन्ने नाराका साथ नारी दिवस मनाइँदैछ ।

प्रगतिको आधार र

महिला सम्मानको भूमिका समान हक

अस्तित्वले सिर्जना गर्दा नै प्रकृति र पुरुषको हिसाबमा मानिसको सिर्जना गरेको छ । अस्तित्वले दिएको स्वभाव र अधिकार कसैले खोसेर खोसिँदैन । प्रेम, करुणा, सम्मान, ध्यान, परोपकार, समाजसेवाजस्ता अमूल्य कामहरूमा महिलाले हक खोजिरहनु पर्दैन । यी गुण उनीहरूलाई पहिलेदेखि नै अस्तित्वले प्रदान गरेको छ । अब कुरा आउँछ सम्पत्तिमा हक, राजनीतिमा हक, शिक्षामा हक, स्वतन्त्र भएर बाँच्न पाउने हक । यी कुराहरूमा पितृसत्तात्मक परिपाटीका कारण महिलाहरूलाई पछाडि पारिएको छ । अहिले त यी कुरामा पनि धेरै प्रगति भैसकेको छ ।

नेपालको संविधानमै महिला हक– अधिकारका सम्बन्धमा अनेकन व्यवस्था छन् । नीति निर्माणदेखि राजनीतिक सहभागिता अनि अरु धेरै पक्षबाट महिला सहभागितालाई प्राथमिकतामा राखिएको छ । कुनै पनि क्षेत्रमा महिलाले आफ्नो सक्षमता प्रस्तुत गर्न सक्ने हो भने ढोका खुल्ला छ र अवसर पनि त्यत्तिकै छन् । अब महिलाले आरक्षणमा मात्र सीमित नभएर प्रत्यक्ष सहभागिता जनाउँदै आफ्नो क्षमता प्रस्तुत गर्न सक्नुपर्छ । समान हकका लागि आफैंले गरेर देखाउने बेला आएको छ ताकि महिला भएकै कारणले कसैले हेप्न नसकून् र हकका लागि झन्डा बोकेर सडकमा उत्रनु नपरोस् ।

रुढिवादी परम्परालाई

निरुत्साहित गर्दै जानुपर्ने

जति नै कानुन बनेर, संविधानमा अंकित भए पनि रुढिवादी परम्परा समाप्त नहुँदासम्म नारीका रूपमा गरिने विभेदको अन्त्य हुँदैन । त्यसो त स्वभाव र परम्परा जादुझैं तुरुन्तै परिवर्तन हुँदैनन् । नारी दिवस मनाउँदैमा वा विभिन्न प्रतिबद्धता जनाउँदैमा मानिसको सोचमा परिवर्तन आउँदैन । त्यसका लागि प्रेमपूर्ण घर एवं समाज निर्माण गर्नु पहिलो आवश्यकता हो किनभने प्रेममा विभेद हुँदैन । प्रेम जगाउन होशपूर्ण, साक्षी भावपूर्ण वातावरण तथा जागृत मनस्थितिको आवश्यकता पर्छ । ध्यानबाट मात्र चेतना जागृत भै व्यक्ति होशपूर्ण र प्रेमपूर्ण रहन सक्छ । ओशो भन्नुहुन्छ–‘जीवन नै प्रेम हो भन्ने जान्नेले विभेदको स्वभाव अपनाउन सक्दैन । जीवनका हरेक आयामलाई प्रेमपूर्ण र होशपूर्ण हेर्न जान्नेले जीवन विभेदमा होइन प्रेमपूर्ण भएर जिउन सक्छ । जीवनका सम्पूर्ण आयामहरूमा होश, जागरुकता र सजगता कायम राख्न सक्ने हो भने महिला र पुरुष भन्ने भिन्नता नै आउँदैन । घर, समाज, राष्ट्र र विश्व नै प्रेमपूर्ण हुन सकेको भए विभेद भन्ने कुराको अस्तित्व नै हुने थिएन ।’

सशक्तीकरण

सशक्त नभैकन कुनै पनि कुरामा प्रगति हासिल गर्न सकिँदैन तर के कुरामा पहिले सशक्त हुनुपर्छ त्यो जान्नु जरुरी हुन्छ । व्यक्तिगत रूपमा शारीरिक, मानसिक, बौद्धिक एवं आध्यात्मिक रूपमा सशक्त हुनु जरुरी छ । किनभने महिलाहरू जबसम्म शारीरिक रूपमा स्वस्थ र मस्त हुँदैनन्, मानसिक रूपमा शान्त र प्रसन्न हुँदैनन् अनि बौद्धिक रूपमा के सही के गलत छुट्टयाउन सक्दैनन् र आध्यात्मिक रूपले आफ्नो स्वभाव पहिचान गरी, आफ्नो गुणधर्ममा रहने खुबी राख्दैनन् तबसम्म समानता र अधिकारले कुनै अर्थ राख्दैन । शारीरिक, मानसिक, ह्दयको तह एवं आध्यात्मिक तहको जीवनशैली अपनाउने र पूर्ण मानव हुन प्रयास गर्नु नै सशक्त हुने उपाय हो ।

कानुनी एवं राजनीतिक रूपमा समान सहभागिता जनाउन चाहन्छु भनेर समानताको उद्घोष गर्नुलाई सामाजिक सशक्तीकरणका रूपमा बुझिन्छ । हिजोआजका महिलाहरूले व्यक्तिगत सशक्तीकरणभन्दा सामाजिक सशक्तीकरणमा जोड दिन थालेको पाइन्छ । व्यक्तिगत रूपमा सशक्त हुनु पहिलो प्राथमिकता हो ।

 किनभने जब महिलाहरू व्यक्तिगत रूपमा आफैंमा सशक्त हुन्छन् तबमात्र उनीहरूका सन्तानले पनि सही शिक्षा र उचित मार्ग पाउँछन् । आफू शिक्षित, स्वस्थ, मस्त, आनन्दित र प्रेमपूर्ण रहनु पहिलो प्राथमिकता हो । राजनीतिक एवं सामाजिक सहभागिता घर, परिवार र आनन्दपछिको दोस्रो प्राथमिकता हो । जसरी पहिलो खुट्किलो नचढी दोस्रो चढ्न खोज्दा लड्ने सम्भावना हुन्छ त्यसैगरी पहिलो सशक्तीकरणमा उत्तीर्ण नभई दोस्रोमा जाँदा लड्ने सम्भावना त्यत्ति नै रहन्छ । आत्मविश्वास, आत्मनिर्भरता, शील, सहनशीलताजस्ता गुण महिला सशक्तीकरणका आधार हुन् । यी आयामहरूबाट महिलाको प्रगतिका लागि घर, समाजको सहयोग आवश्यक हुन्छ भने स्वयं महिलाले पनि आफूलाई अघि बढाउनुपर्छ ।

सकारात्मक सोच

हाम्रा कर्महरू र कर्मका फल हाम्रै सोचका परिणाम हुन् । महिलाले सधैं आफू अपहेलित भएको, पछाडि पारिएको, अवसर नदिइएको जस्ता नकारात्मक कुराको रट लगाइरहनुभन्दा हिजोको अवस्थाबाट आजको अवस्थासम्म आइपुग्दा भएका सकारात्मक परिवर्तनहरूलाई हेर्नुपर्छ । आज शिक्षा, स्वास्थ्य, नोकरी अथवा सबै क्षेत्रको सहभागिता हेर्दा कसैले आरक्षण नदिए पनि आफैंमा सशक्त र सक्षमताका साथ उत्तरदायित्व निर्वाह गर्न सक्नेहरूको संख्या बढ्दैछ ।

घरमा छोरा र छोरी भनेर गरिने भेदभाव कम हुँदै गएको छ । सबैलाई शिक्षा भन्ने नारासहित छोरीहरू शिक्षित हुँदै जाने परम्पराको विकास भएको छ । महिलाले आफूलाई महिलाकै अस्तित्वमा राख्नुपर्छ । महिलाले किन पुरुषजस्तो हुनुपर्छ र ? महिला र पुरुषको आफ्नै आकर्षण र अस्तित्वले त यो संसार सुन्दर एवं आकर्षक भएको छ ।

त्यसो त हाम्रो समाजमा महिला भएकै कारणले हुने भेदभाव पूर्णरूपमा हटिसकेको छैन र पनि धेरै सुधार आएको छ । परिस्थितिलाई दोष दिनुभन्दा पनि कसरी आफ्नो अनुकूल बनाउने, कुन मार्ग अपनाउने अनि कुन सोच राखेर के उद्देश्यका लागि कर्म गर्ने त्यसको योजना बनाएर चल्नु बुद्धिमानी हुन्छ । गुनासो, चिन्ता, आलस्य, अभाव, अन्याय, अज्ञानता तथा तनाव लिएर कसरी प्रगति हुन सक्छ ? त्यसैले अगाडिको बाटो हेर्दै प्रगतिमै ध्यान दिने र सोचलाई सकारात्मक बनाउने प्रयास गर्नुपर्छ । सकारात्मक सोच नै महिलाहरूको प्रगतिको आधार बन्नसक्छ । यही नै सबैको विकास एवं प्रगतिको मापन बन्नसक्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्