सासू–बुहारी

दीपक घिमिरे

फाल्गुन ६, २०७४

 

म अलि ठूलो भएपछि आमाले घर आउने पाहुनालाई भन्नुहुन्थ्यो–त्यसले विवाह गर्ला अनि बुहारीले पकाउली र हामीलाई खान देली ।’ म लजाउँथें, विवाह भन्नेबित्तिकै नाक बटार्दै आमालाई भन्थें–‘नहुने कुरा नगर्नुस्, म विवाह गर्दिन ।’

 कहिले सुटुक्क अर्को कोठामा पुगेर भित्तामा झुन्डिएको ऐनामा अनुहार हेर्दै सोच्थें–‘खै जुँगा त आएको छैन, आमाले बुहारीको सपना देख्न थाल्नुभयो ।’

 बुहारी भित्राउने कुरा चल्न थालेपछि मैले आफ्नो गालामा ब्लेडले कोतर्न थालेको हुँ । आफूलाई जवान देखाउन नाकमुन्तिर जुँगाका रेखी बस्नुपर्छ भन्ने आफ्नै मान्यता थियो मेरो ।

 

बाले थोत्रो बनाएर फालेको टोपाज ब्लेडले गालाका फुस्रा भुत्ला कोतर्दा कोतर्दै नाकमुन्तिर जुँगाका रेखी बस्न थाले । उमेर नपुग्दै अनुहारमा ब्लेड लगाउने रहरले कहिलेकाहीँ गाला र ओठ काटिन्थ्यो तर छाला काटिएको पीडाभन्दा जवान हुने रहरले खुसी दिन्थ्यो अनि बाको गाली खाएर भए पनि ब्लेड लगाउन छाडिएन ।

जुँगामा रेखी बस्न थालेपछि मैले दस कक्षा उत्तीर्ण गरें । स्कुलमा सबैको लभ पर्न थाल्यो । कलेज पढ्ने उमेर भएपछि एउटी राम्री गर्लफ्रेन्ड बनाउने रहर हुन्थ्यो । तर कसले पत्याउने ? न आफैले प्रपोज गर्ने हिम्मत गरियो, न युवतीले ‘आई लभ यु दीपक’ भन्दै आउलान् भन्ने आश गरियो । अरूका जोडी हेरेरै कलेज जीवन कटाइयो ।

कलेज जीवनमै कतिले घरबार जोडे, लेखाजोखा छैन । लभ चलेको हल्ला एक कान–दुई कान मैदान नहुँदै प्रेममा फसेका जोडी सुटुक्क भाग्थे अनि एक हप्तापछि कलेज आउँदा केटो लज्जालु भएको देखिन्थ्यो अनि केटी सिउँदो भरी सिन्दूर भरेर झुल्किन्थी । हामी उनीहरूलाई जिस्काउँथ्यौं अनि विवाहको पार्टी खान क्यान्टिनसम्म पुग्थ्यौं ।

लभ चलाउनसक्ने हैसियत नभएका हामीजस्ता अभागीहरूलाई लभ परेका वा विवाह गरेकाहरूले क्यान्टिनमा लगेर छोला–समोसा ख्वाउँथे । हामी मख्ख पर्दै एक प्लेट छोला–समोसामा बिक्थ्यौं तर कहिल्यै दुलाहा बनेर यस्तै छोला–समोसाको पार्टी दिने सपना देखेनौं ।

साँच्चै भन्ने हो भने हाम्रो लभ पर्थेन । राम्रा जति अरु कसैका भैसक्थे, हामी सोझासाझा छोला–समोसामै चित्त बुझाउँथ्यांै । कलेज जीवन सकिएपछि घरमा सुरु भयो कचकच ।

गाउँमा विवाहका लागि तयार केटी देख्यो कि बा भन्नुहुन्थ्यो ‘फलानाकी छोरी राम्री छे, त्यसैलाई बुहारी बनाउने सोच्या छु । के छ दीपक तेरो विचार ?’

पँधेरामा अरु कसैकी गतिली बुहारी देखेपछि आमा घरमा आएर भन्नुहुन्थ्यो–‘यसलाई त त्यही पार्वतीजस्तै बुहारी खोज्ने हो ।’

घरमा बाआमाको सपना देख्दा मैले लभ नचलाएर बहुत ठीक गरेजस्तो लाग्थ्यो । किनभने मैले मन पराएकी केटी बाआमाको नजरमा नराम्री हुन सक्थी ।

उहाँहरूको सपनामा बसेकी बुहारी पार्वती, रुवि, अम्बिकाजस्ता थिए । मैले मन पराएका केटीहरूको स्वभाव उनीहरूसँग पटक्कै मिल्दैनथ्यो । भोलि घरमा सासू–बुहारीको कचकचमा बा र म पिल्सिएर बस्नुपर्ने बाध्यता सिर्जना हुन सक्थ्यो । त्यसैले सोच्छु, लभ नचलेर जीवन अझ बबाल भो, झकास पनि भयो ।

लभ चलेर सुटुक्क भागेका एक दर्जनभन्दा बढी जोडी हाम्रै टोलमा छन् । कोही हाम्रै गाउँबाट उडेर पल्लो गाउँ पुगे भने कति पल्लो गाउँबाट उडेर हाम्रो गाउँमा आए । कति त छिमेकमै पनि सुटुक्क यताउता भए ।

उनीहरूको दशा देख्छु अनि सोच्छु–‘माया–पिरती भन्ने पनि त्यस्तै रैछ । नपाउँदासम्म जून–तारा झार्दिम्ला, पाएपछि तेरा बाउको दाँत झार्दिम्ला ।’

टाकुले लेकमा बसेर सँगै जिउने सँगै मर्ने सपना देखेका अञ्जना र बिरेको जोडी छुट्टिए । बिरेले लेखेको लभ लेटर बोक्ने हुलाकी मै हुँ, अझै जिउँदैछु ।

 एकपटक उसले लेखेको थियो–तिम्रा लागि संसारको खुसी किन्नेछु, म मर्न तयार छु तर तिमीलाई हँसाउनेछु अञ्जु आई लभ यु ।’

 उसले लेखेको पढेर दुई दिनसम्म हाँस्ने मबाहेक अरु दुई जना पनि जिउँदैछन् ।

यो त एउटा लाइन मात्र हो । बिरे हरेक हप्ता दुई पाना लभ लेटर लेख्थ्यो । उसको लभ लेटर पढ्दा लाग्थ्यो, अञ्जनालाई पाएन भने बिरे रुखमा तुर्लुङ्ग झुन्डिन्छ कि त एक बोतल मेटासिट स्वाट्टै पार्छ ।

 बिरे फिदा भएको देखेर अञ्जना पनि प्यारमा परी । एकदिन सँगै जिउने, सँगै मर्ने कसम खाँदै भागे । एक वर्ष नपुग्दै उनीहरू छुट्टिने अवस्थामा पुगे ।  विरक्त भएर चौपारीमा भेटिने बिरेले मुखभरी भएको शुद्ध प्लसको झोल थुक्दै भन्यो–‘बाआमाले हेरेकी केटी विवाह नगरेर ठूलो गल्ती भयो ।’

 

माइतीमै बसेकी अञ्जना पँधेरामा भेटिँदा सुइय सुस्केरा हाल्दै भन्छे–जवानीमा जून–तारा खसाल्नेको पिरतीमा फसेर यी यस्तो नर्कको जस्तो जीवन बिताउँदैछु ।’

यस्ता उदाहरण त कति छन् कति । यहीँ देख्दा लाग्छ–‘पिरतीको छाता नओढेर बहुत सही गरियो ।’

 ‘प्यार किया तो डरना क्या’ भन्दै डेटिङ जाने अनि छिट्टै वरमाला पहिरिनेहरू अहिले कुन अवस्थामा छन् भन्ने कुरा टोलमा आउनुहोस् अनि हेर्नुहोला ।

आफू सँगैका साथीभाइले घरमा बुहारी ल्याइदिएपछि मेरा बाआमा पनि बुहारीको कुरा झिक्न थाले । त्यसो त मेरो जुँगाको रेखी नबस्दै बाआमाले बुहारीको सपना देख्न थालेका हुन् तर अब त उमेर पनि भयो भन्दै सुरु भयो बुहारी छान्ने प्रक्रिया ।

फलानाकी छोरीजस्ती, फलानाकी बुहारीजस्ती वा फलानीजस्तै भन्दाभन्दै एउटी बुहारी बाआमाले भेटाए । बाआमाको नजरमा बत्तीस लक्षणले युक्त बुहारी । बाआमाले छोरीजस्तै बुहारीको सपना देख्नुभयो, मैले जीवन चलाउने जीवनभरको साथीका रूपमा सपना सजाएँ ।

बाले औकातअनुसार विवाह गरिदिनुभयो, आमाले हैसियतअनुसार बुहारी भित्राउनुभयो । मैले श्रीमती पाएँ ।

अचम्म त के हुँदोरहेछ भने दुई–चार दिन मात्र होइन, दुई–चार महिनासम्म म विवाहित हुँ भन्ने बिर्सन्थें । बाटोमा कुनै राम्री युवती देख्दा यस्तै श्रीमती भेटिए हुन्थ्यो भन्ने लाग्थ्यो अनि झट्ट सम्झन्थें, म त विवाहित हुँ ।

घरमा नयाँ बुहारीले चुरा बजाउँदै खाना बनाउन थालेपछि घरको रौनक नै फरक भयो । बा घरको पिँडीमा बसेर बुहारीको प्रशंसा गर्नुहुन्थ्यो । आमा पँधेरो अनि मेलापातमा बुहारीको गुणगान गाउन थाल्नुभयो । म बेरोजगार थिएँ, दिनभरि ट्वाल्ल परेर श्रीमतीको अनुहार हेर्थें अनि आफै खुसीले दंग पर्थें । सोच्थें–‘लभै परेको भए पनि यस्ती स्वभावकी दुलही पाउँदिनथें बुहारीका पनि अनेक रूप हुन्छन् । कोही अलच्छिनी बुहारी हुन्थे कोही छोरा टोकुवा बुहारी हुन्थे । कोही सासू टोकुवा हुन्थे ।

नढाँटी भन्नुपर्दा समाजमा सबैभन्दा नमिलेको जोडी नै सासू–बुहारीको जोडी हो । सासूले बुहारी आएपछि छोरा टाढियो भन्ने सोच्छन् अनि बुहारी यो सासू कहिले मर्ली र घरमा मेरो राज चल्छ भनेर सोच्छन् रे । दुई लामा कपाल भएका जात कहिल्यै मिल्दैनन् रे । मैले पनि त्यति मिलेको देखेको छैन ।

तर भाग्यमानी म, मेरो घरमा त्यस्तो भएन । छोरीको कमी महसुस हुन नदिन बुहारीले आफ्नो भूमिका निभाई, बुहारीको मायालाई छोरीको मायासरह ग्रहण गर्दै आमाछोरीको नाता कायम राख्न आमाले ठूलो भूमिका खेल्नुभयो ।

मेरी श्रीमतीले घरमा बुहारीको महत्व उदाहरण बनेर देखाउँदै थिइन् । एकदिन झ्याट्ट वैदेशिक रोजगारीको भिसा लागेर म यता आएँ । यता मतलब खाडी । उता भाँडभैलो मच्चिन थालेछ ।

आमा र बुहारीको ग्रह दशा नमिलेपछि सुरु भयो घरमा कचकच । छोरीजस्तै प्यारी बुहारी कुरौटे र अलच्छिनी लाग्न थाली रे । आमाजस्तै सासू पनि उसलाई बोक्सी लाग्न थाल्नुभएछ ।

म बिचरो सात समुद्रपारिको खाडीबाट सम्झाउन सक्थें बाँकी सम्झने नसम्झने उहाँहरूको कर्तव्य थियो । गाउँ–समाजका लागि उदाहरण बनेको मेरो परिवारमा फाटो आउन थालेपछि एकदिन बाले फोनमा भन्नुभयो–‘सहरतिर डेरा गरेर राख तेरी श्रीमतीलाई । म मेरी श्रीमतीलाई पाल्छु ।’

दुई स्वास्नी मान्छेको युद्धमा बाले मलाई दोषी देख्न थालेपछि म आफूलाई अभागी मान्न थालें । म घरमा भएको अवस्थामा मिलेको परिवारमा किन दैव लाग्यो भनेर भगवान् गुहार्न थालें । कहिले श्रीमतीलाई सम्झाउँथें त कहिले आमालाई फकाउँथें तर कहिल्यै दुवैलाई मिलाउन सकिन । श्रीमती आमाको कुरा काट्दै भन्थी–‘तिम्री आमा त बौलाहीजस्ती, कुरै नबुझ्ने ।’

उसको कुरा सुनेर गालामा चड्कन लगाउन मन लाग्थ्यो तर फोनबाट सम्झाउनुको विकल्प थिएन । म उसलाई सम्झाउँथें, आमाको कुरामा मन नदुखाउन सल्लाह दिन्थें ।

यता आमा पनि रिसाउँदै भन्नुहुन्थ्यो–‘तेरी श्रीमती त अलच्छिनी रैछे कि सहरतिर डेरा गरेर बसाल होइन भने हामी निस्कन्छौं ।’

अब कसको कुरा मान्नु ? श्रीमतीलाई गाली गरेर घरमै बसालूँ भने बाआमा निस्केलान् भन्ने डर, बाआमालाई गाली गरूँ भने पाप लाग्ला भन्ने डर ।

घरका कुराले आँखा रसाउँछन् । त्यो परिवारलाई सम्झन्छु अनि कहिलेकाहीँ एक्लै रुन्छु । न श्रीमतीलाई डेरामा राख्न सक्छु । न बाआमालाई घरबाट निस्किएको देख्न सक्छु । त्यो मीठो परिवारको सम्झना गर्दै काममा जोतिन्छु । आमालाई सधै फकाउँछु, श्रीमतीका कुरा एउटा कानले सुन्छु, अर्को कानले उडाइदिन्छु ।

साँच्चै यति लेख्ने क्रममा एउटा कुरा के सत्य रहेछ भन्ने लाग्यो भने–सासू–बुहारी मिल्दै मिल्दैनन्, न मेरो न उसको, हामी सबैको ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्