युवामा डिप्रेसन

उपासना घिमिरे

माघ १४, २०७४

केही समयअघि सामाखुसीको एक होस्टेलमा बस्ने १२ कक्षा अध्ययनरत विद्यार्थीले होस्टेलकै भवनमा झुन्डिएर आत्महत्या गरे । प्रेममा असफल भएका कारण उनले आत्महत्या गरेका थिए । धेरै युवा–युवतीले प्रेममा असफल भएपछि आत्महत्या गर्ने गरेका छन् ।

अहिले थुप्रै युवामा लागूपदार्थ, डिप्रेसन तथा असाधारण चिन्ताको समस्या देखापर्न थालेको छ । बानी–व्यवहार, आर्थिक तथा सामाजिक समस्या आदिका कारण युवाहरूमा डिप्रेसन बढिरहेको छ । सानैदेखिको बानी, पढ्ने तरिका, लालनपालन तथा घर एवं सामाजिक वातावरण पनि यसका कारक हुन सक्छन् ।

पश्चिमा मुलुकमा टिनएज पार गर्नासाथ आमाबुवाबाट अलग रहनुपर्ने कारणले गर्दा संयुक्त परिवारको फाइदा लिन नपाउने र आफैंले आर्थिक भार व्यहोर्नुपर्ने भएकाले व्यस्त रहनुपर्छ ।

एकातिर पढाइ अर्कातिर बढ्दो बोझ अनि परिवारबाट टाढा रहनुपर्ने कारणले पश्चिमा युवामा समेत डिप्रेसनको समस्या चर्को छ । त्यसमाथि कतिपयले क्षणिक आनन्दका लागि धूम्रपान तथा मद्यपान गर्छन् । यसको बढ्दो प्रयोगले समेत डिप्रेसनको समस्या निम्त्याएको पाइन्छ । हाम्रो देशमा भने विशेषगरी सहरी क्षेत्रमा पश्चिमा संस्कारको नक्कल गर्ने प्रचलनले गर्दा युवाहरूमा डिप्रेसन बढेको पाइन्छ । असफलता र जटिल सम्बन्धबाट विक्षिप्त युवामा भने आत्महत्याको सोच समेत आएको पाइन्छ ।

डिप्रेसन हुने कारण

मानसिक रोगको कुनै निश्चित कारण हुँदैन । वंशानुगत, वातावरणीय तत्व तथा व्यक्तित्व नै यसका मुख्य कारक तत्व हुन् । बाबुबाजेलाई मानसिक रोग छ भने त्यसको असर छोराछोरीमा समेत देखापर्नसक्छ । यसले डिप्रेसन मात्र होइन लागूपदार्थको कुलतको सिकारसमेत बनाउनसक्छ ।

समाज तथा सामाजिक वातावरणले गर्दा मानसिकतामा असर पार्न सक्छ । तनावपूर्ण वातावरण, अशान्ति, कोलाहल एवं असुरक्षाले गर्दा पनि समस्या उत्पन्न हुनसक्छ । यसका साथै बानी–व्यवहार, चालचलन, पढाइ, खानपान तथा साथीभाइहरूसँगको व्यवहारले पनि असर पुर्‍याउन सक्छ ।

    उमेर वृद्धिसँगै देखापर्ने हार्मोनल परिवर्तनका कारण पनि डिप्रेसन हुनसक्छ ।

    मस्तिष्कमा पाइने विभिन्न रसायनको कमीले डिप्रेसन हुनसक्छ ।

    सुमधुर सम्बन्ध नहुँदा तथा पढाइमा असफल हुँदा पनि डिप्रेसन हुने सम्भावना रहन्छ ।

    भाषागत समस्या तथा पढाएको कुरा नबुझ्दा पनि युवाहरूमा डिप्रेसनको समस्या उत्पन्न हुन्छ ।

    कतिपय रासायनिक परिवर्तनवा असन्तुलनका कारणसमेत डिप्रेसन हुनसक्छ ।

    घरेलु हिंसा तथा घरमा धेरै झैझगडा देखिरहेका युवामा पनि डिप्रेसन हुने सम्भावना हुन्छ ।

लक्षण

    उदासीनता, शारीरिक कमजोरी ।

    एकाग्रता नहुनु तथा कुनै कुरा तथा काम गर्न मन नलाग्नु ।

    मन आत्तिएजस्तो महसुस हुनु । सामाजिक परिवेशमा घुलमिल हुन नसक्नु ।

    हीनताबोध ।

    निद्रा नलाग्नु, खान तथा बोल्न मन नलाग्नु । एकान्तमा बस्न मन लाग्नु ।

गर्न नहुने

    असहाय महसुस हुन नदिने ।

    मनोचिकित्सकको सल्लाहबिना औषधि सेवन गर्नुहुँदैन ।

    डिप्रेसनका बिरामीलाई हेयको भावले हेरिनुहुँदैन । जिस्काउने तथा होच्याउने काम गर्नुहुँदैन भने उनीहरूलाई हेरेर हाँस्नुहुँदैन ।

 

गर्नुपर्ने

    डिप्रेसन भएकाहरूलाई जुनसुकै कुरा गर्न सक्छौ भनेर हौसला दिनुपर्छ ।

    साथमा बसेर कुराकानी गर्नुपर्छ, एक्लो महसुस हुन दिनुहुँदैन ।

कसलाई हुन्छ डिप्रेसन ?

    डिप्रेसन युवाहरूको रोग भनिए पनि यसको कुनै निश्चित उमेर समूह भने हुँदैन ।

    बालबालिका तथा वृद्ध पनि यसको सिकार बन्ने गरेका छन् ।

    एक अनुसन्धानले १० देखि १५ प्रतिशत युवामा डिप्रेसन हुने देखाएको थियो ।

    विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार संसारभर कुल जनसंख्याको १० प्रतिशतभन्दा बढी मानिस डिप्रेसनको सिकार छन् ।

जोगिने उपाय

    आफूलाई व्यस्त राख्नुपर्छ ।

    जतिसुकै जटिल कुरालाई पनि सजिलै पार गर्न सक्छु भन्ने मनोबल हुनुपर्छ ।

    ध्यान, प्राणायाम तथा शारीरिक व्यायाम गर्नुपर्छ ।

    स्वस्थ एवं सन्तुलित खानेकुरा खानुपर्छ ।

    जीवनमा आएका सजिला–अप्ठ्याराहरूलाई आत्मसात् गर्नुपर्छ ।

    जीवनलाई बेकारको सम्झनुहुँदैन । सकारात्मक ऊर्जाका साथ जीवन जिउनुपर्छ ।

समाधान

कुनै पनि घटना, दुर्घटना अथवा तनावको स्थिति झेल्न सक्नुपर्छ । चिकित्सा मनोविद् सुजिता बनियाँका अनुसार समयमै रोगको पहिचान गरी उपचार गराए डिप्रेसन छिट्टै निको हुन्छ । धेरैजसोमा डिप्रेसन भयो भनेर जीवनभर औषधि खानुपर्छ भन्ने धारणा छ जुन गलत हो । डिप्रेसनको अवस्था (नरम, मध्यम तथा कडा) हेरेर त्यसको उपचार गरिन्छ । यसका लक्षणका सम्बन्धमा जानकारी राख्नुपर्छ । यसको उपचार बिरामीको अवस्था हेरेर औषधि तथा परामर्श दुवै तरिकाबाट हुन्छ । हाम्रो समाजमा डिप्रेसनलाई नकारात्मक रूपमा लिइन्छ, तर यो गलत हो । अन्दाजका भरमा रोगको उपचार गर्नुभन्दा पनि कस्तो खालको डिप्रेसन हो पत्ता लगाएर उपचार गराउनु प्रभावकारी हुन्छ । बिरामीका लागि सही उपचार पद्धति के हुन्छ छलफल गरी उपचार विधि अपनाउनुपर्छ । एकपटक नियन्त्रण भएपछि पछि पनि फेरि डिप्रेसन हुनसक्छ । एकपटक उचित उपचार गरेपछि पनि लामो समयपछि यो दोहोरिएर देखापर्नसक्छ ।

सुजिता बनियाँ

चिकित्सा मनोविद्, सिएमसी नेपाल

अहिले धेरै युवामा सामाजिक तथा आर्थिक समस्या ह्यान्डल गर्न नसक्दा मनोवैज्ञानिक समस्या देखापरेको छ । सानातिना समस्या सबैलाई हुन्छन् । यस्तो अवस्थामा समस्यासँग लड्न सक्ने क्षमता नभए डिप्रेसनको समस्या उत्पन्न हुन्छ । युवावस्थामा पढाइ, जागिर, करियर तथा विवाहका कारण डिप्रेसन हुनसक्छ । यस्तो अवस्थामा परिवारका सदस्यहरूले उनीहरूको तुलना अरू कसैसँग गरिदिनुहुँदैन । जतिसुकै अप्ठ्यारो परिस्थितिलाई ह्यान्डल गर्न सक्ने क्षमता भए डिप्रेसन हुँदैन ।

रामपुकार शाह

चिकित्सा मनोविद्, मेट्रो काठमाडौं हस्पिटल

बदलिँदो जीवनशैली, बानी–व्यवहारजस्ता धेरै कुराले अहिले धेरैलाई मानसिक रोगको सिकार बनाएको छ । आधुनिक जीवनशैली तथा पारिवारिक संरचनाका कारण पनि धेरै युवामा उदासीनता बढ्दै गएको छ । वल्र्ड हेल्थ अर्गनाइजेनसको सन् २०१२ को रिपोर्टअनुसार सर्वाधिक आत्महत्या हुने मुलुकहरूको सूचीमा नेपाल सातौँ स्थानमा थियो ।

इन्टरनेट सहयोगी

डिप्रेसनको मात्रा घटाउन सूचना तथा प्रविधिले ल्याएको इन्टरनेट सहयोगी हुने कुरा अस्ट्रेलियामा गरिएको एक अध्ययनबाट पत्ता लागेको छ । अस्ट्रेलियास्थित सिड्नी विश्वविद्यालयका खोजकर्ताहरूले यो कुरा पत्ता लगाएका हुन् । इन्टरनेटमा भएको सूचना भण्डार डिप्रेसनमा परेका युवाहरूका लागि समय कटाउने सजिलो माध्यम साबित भएको छ । विभिन्न उपयोगी सूचना प्राप्त गर्न तथा मनोरञ्जक खेलमा संलग्न गराउने हुँदा इन्टरनेट डिप्रेसन कम गर्न सहयोगी साबित भएको हो । अर्कातिर इन्टरनेटमा उपलब्ध मानसिक स्वास्थ्यसम्बन्धी सामग्रीका कारण पनि जोकसैलाई आफ्नो अवस्थाप्रति सचेत बनाइदिएको छ ।

इन्टरनेटमा उपलब्ध मानसिक स्वास्थ्यसम्बन्धी जानकारीमूलक सामग्रीले विश्वभरका युवामा देखिने डिप्रेसन र त्यसको उपचारको परम्परागत उपायका सम्बन्धमा अवगत गराउँछ । डिप्रेसनको उपचारका लागि आवश्यक प्राकृतिक उपाय एवं दैनिक क्रियाकलापका बारेमा सूचना उपलब्ध हुने भएकाले पनि इन्टरनेट डिप्रेसनका रोगीहरूका लागि उपयोगी साबित भएको हो । (एजेन्सीकी सहयोगमा)

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्