संकल्प

  • साहित्य

बिनु भट्टराई

माघ १२, २०७४

भालेले डाँको नछोड्दै पधेरीमा नुहाउन जाँदा आमाको कानको माडबारी हराउँदा त्यसको खोजी गरेभन्दा बढी खोजेर भेटिएको उसको फोन नम्बर बार्‍हैमहिना स्वीचअफ हुन्छ । कति पटक डायल गरें भने कति म्यासेज गरें, अहँ कुनै प्रतिक्रिया आउँदैन ।

फेसबुकको भित्तोमा दिनहुँजसो स्टाटस टाँस्ने ऊ, तस्बिर पनि आफ्नाभन्दा अधिक दु:खी, वृद्ध, अपाङ्ग र प्रकृतिकै अपलोड गर्थी । जति लाइक कमेन्ट गरे पनि केहीले छुँदैन उसलाई । फेसबुकको इनबक्समा म्यासेज पठाएको वर्षौं बितिसक्दा पनि अनसिन देखिन्छ । होइन, ऊ निर्जीव हो कि सजीव ? निर्जीव भए किन उसमा गति छ, सजीव हो भने किन यस्तो? मलाई पछ्याउने र बेलाबेला आँखामा ठोक्किरहने कतिपय युवतीलाई बेवास्ता गरिरहेको म किन निर्जीवजस्ती उसकै निम्ति मरिमेटिरहेको छु ?

ब्याचलर अध्ययनरत छँदा कलेजकै गेटमा पहिलो पटक देखिएकी ऊ पहिलो नजरमै टपक्क बसेकी हो आँखामा, मुटुमा, कुन्नि अरू कहाँ–कहाँ बसी । जतासुकै उसैलाई मात्र देख्थें म ।

सालभरिसँगै पढ्दा न कसैसँग बोलेको सुनें न कुनै हा हा हि हि, खाली पिरियडमा पनि पत्रिकामै डुब्थी । त्योपनि अंग्रेजी पत्रिका, बोल्ने–बोलाउने कुनै हिम्मत थिएन, न कुनै बहाना । एकदिन हदै भयो र पत्रिका मागें।

(हेल्लो मिस के रै’ छ न्युज ? पत्रिका हेरौं न ।

ऊ तटस्थ, बोल्न त परै जाओस् टाउको पनि नघुमाई पत्रिका तेर्साई मतर्फ, माग्ने को हो र दिई कसलाई ?त्यसको पनि कुनै चासो थिएन उसलाई । उसको हातमा रहुन्जेल उक्त पत्रिका उसैसँग मात्र हुन्थ्यो । मेरो हातमा पर्नासाथ कक्षाभरि फैलियो । अंग्रेजी पत्रिका पढ्ने दम त कसमा थियो र, तैपनि खोसाखोस । हेरें जसोतसो सम्हालें र उसलाई बुझाएँ पनि । पत्रिका दिँदा पनि नहेरेकी उसले पत्रिकाको पेज नम्बर हेर्दै मिलाई अनि आँखा फर्काएर हेरीपत्रिका उथलपुथल बनाइदिएको असभ्यतामाथि प्रहार गर्दै। मुखले एक शब्द ननिकाल्ने उसको आँखाको भाषा भने डरलाग्दो रहेछ । आफ्नै अशिष्टतामाथि लाज लाग्यो । जस्तो लिएको थिएँ, उस्तै दिएको भए, थ्यांक यु भन्दा वेलकमसम्म त भन्दी हो । त्यो पनि पाइन । त्यसपछि मैले कहिल्यै ऊसँग पत्रिका मागिन ।

ऊ हरेक कुरामा ट्यालेन्ट थिई, उसको असाधारण हाउभाउबाट पनि प्रशस्तै कुरा बुझ्न सकिन्थ्यो र परैबाट देखिने–बुझिने उसका ह्यान्डराइटिङबाट पनि आभास हुन्थ्यो । अचम्म त के थियो भने कुनै दिन कसैसँग परिचय नगरेकी उसको नाम कक्षाका कसैलाई थाहा थिएन ।

दसैं–तिहारको बिदा हुने अघिल्लो दिन शुभकामना आदान–प्रदान कार्यक्रम राखिएको थियो । मलाई भने प्रतीक्षा उसकै मात्र । शुभकामनासहित आफ्नो कविता वाचन गर्न स्नातक तह पहिलो वर्षकी विद्यार्थी मीरालाई मञ्चमा निम्ताउँछौं भनेर उद्घोषकले भनेपछि ऊ जुरूक्क उठेर मञ्चमा पुग्दासम्म म बेसुर भैसकेको थिएँ । कविता पनि,म दङ्ग परें । यस्तो निर्जीव जस्तो लाग्ने मान्छे, नाम पनि मीरा, मीराले त प्रेम गरेकी कृष्णलाई, उनैमा समर्पित भएर सबैथोक त्यागिन् । कुनै मूर्खले राखेको हुनुपर्छ ढुंगाजस्ती मान्छेको नाम मीरा । जे होस्, पहिलो पटक सबैले थाहा पाए उनको नाम ।

उनी मञ्चमा पुगुन्जेल वातावरण शान्त भैसकेको थियो । के बोल्छे, कसरी बोल्छे, म त अधैर्य थिएँ नै अरूले पनि कौतूहलता तेस्र्याए उसैतिर । सम्बोधन र शुभकामना दिइसकेपछि कविता वाचन गर्न थाली ।

आमा

वर्षौंपछि

तिम्रो काखमा फर्किएकी म,

सोच्थें धेरै कुरा गरुँला,

पोखुँला ह्दयभरिका पीडा

बगाउँला हर्षका आँसु पनि ।

देख्यौ तिमीले मलाई, खै कुन्नि के सोच्यौ

र देखें मैले पनि तिमीलाई ।

यति भन्दै ऊ मञ्चबाट झरेकी थिई । ताली उसकै निम्ति साँचेर राखेझैं गरी बजाएका थिए सबैले । सबै स्तब्ध भए, चिफ सरकै आँखाबाट आँसु झरे । मूर्तिवत् व्यक्तिको उक्त कवितामा सबथोक थियो । थोरै शब्दमा सबै कुरा व्यक्त गर्न सक्ने क्षमता भएपछि धेरै बोल्नुपर्ने रहेनछ । उनको यो शैली र कविताबाट निकै प्रभावित भएपछि उनका बारेमा थप कुरा जान्ने मोह जाग्यो ।

कक्षामा मरे बोल्दिन, बोलाउने दम पनि छैन मेरो । के छ माध्यम ? प्रश्नमाथि प्रश्न दौडिरहे मनभरि । कहाँ बस्छे, के गर्छे ? सबै कुरा जान्न निकै प्रयत्न गरें । बोल्दै नबोले पनि कक्षामा दर्शन पाइन्थ्यो दसैं–तिहारको लामो बिदाले अब त्यो पनि हराउने भयो । कमसेकम नाम त थाहा भयो, अब सर्च गर्छु इन्टरनेटमा, पक्कै फेसबुकमा त भेटुँला, यही सम्झेर मन बुझाएँ ।

दसैं गयो, तिहार गयो । पहिलो वर्षको परीक्षा नजिकिएकाले पढाइमा व्यस्त भएँ । पढ्न जरूरी थियो किनभने उसका सामु पढ्ने विद्यार्थी बन्नुपर्ने जो थियो । उसैको व्यंग्यात्मक कविताबाट ममा धेरै परिवर्तन आइसकेको थियो भने उसकै देखासिखी गर्न थालिसकेकाले आफैलाई मेघावी छु भन्ने लाग्न थाल्यो । जसरी भए पनि उसको नजरमा पर्नु थियो मलाई । राम्री पनि कति हो कति । आममहिलाको जस्तो शैली पटक्कै थिएन । लामो केश असरल्ल छोड्ने, न लिपिस्टिक, न गाजल, न कुनै गरगहना । कालो चस्मा भने कहिल्यै छुट्दैनथ्यो, आँखामा होस् वा टाउकोमा । अनुहारभन्दा पहिले देखिने उसको वक्षस्थलको के कुरा गर्नु र ?

संयोगले परीक्षा दिँदा उसकै छेउमा परें । टाढा हुँदा नजीक हुन मन लाग्छ, नजीक हुँदा होसहवास उड्छ । लौ बर्बाद π अब के हुने हो । डरले मुटु भटभट गर्न थाल्यो । के–कसो हुन्छ भन्दै चिट चोर्न भनी गेस पेपरका दुई–चारवटा टुक्रा च्यातेर ल्याएको, डरले चर्पीमा लगेर फालिदिएँ, उसकै नजीक परेको छु भन्ने थाहा पाएपछि । पढेर पूरै तयारी गरिसके पनि सानैदेखि चिट चोर्ने बानी बसेकाले ब्याचलरसम्म पनि मेरो त्यो बानी हटेको थिएन ।

परीक्षा हलमा एक घन्टाजति लेखिसकेपछि चेक गर्न भनी माथिबाट खटाइएकी निरीक्षक आइन् । जुत्ता, जिन्स र टिसर्टमा ठाँटिएकी उसलाई पनि जुत्ता खोल्न लगाइन् निरीक्षकले, तर मानिन, ठाडै जवाफ दिई, कृपया म्याम मेरो समय खर्च नगरिदिनुहोस्, चिट चोर्ने फुर्सद छैन मलाई ।

निरीक्षक कड्किइन्–

नियम हो सबैको चेक गरेपछि तपाईंलाई मात्र छोड्ने त कुरै हुँदैन ।

ऊ अझ चर्काे बोल्न थाली ।

केको नियम ? कहाँको नियम? परीक्षामा विद्यार्थीलाई डिस्टर्भ गर्ने पनि नियम हुन्छ ? इमान्दारीपूर्वक भन्दैछु, मसँग केही छैन । नियम मान्नैपर्ने भए आफै जुत्ता खोलिदिनुहोस् र लगाइदिनुहोस् पनि π मेरो समय नखानुहोस् ।

ऊ टसमस नभई लेखिरहेकी थिई । म लेख्नै छोडेर हेरिरहेको थिएँ, घरी निरीक्षकलाई, घरी उसलाई । उसको स्वाभिमानप्रति निकै गर्व लाग्यो । गल्ती नगर्ने र निडर रूपमा बोल्ने उसले लड्नैपरे लड्ने र परीक्षा नै रद्द गराइदिने धम्की दिई । यो कुरा गाइँगुइँ कलेजभरि फैलियो । चिफ सर उपस्थित भएर उसलाई छोड्ने ईशारा गरेपछि निरीक्षकले आखिर हार मान्नैपर्‍यो । सायद मीराको इमान्दारीसँग चिफ सर परिचित हुनुहुन्थ्यो ।

म दङ्ग परें । निरीक्षकलाई नै धम्काउने उसको त्यत्रो आँट देखेर । त्यसपछि उसका सामु पुगेर प्रेम प्रस्ताव राख्ने आफ्नो सोच सिसाकलमले लेखिएका अक्षरलाई इरेजरले मेटेझैं सर्लक्क मेटाएँ मैले ।

हामी स्वयंले कति गल्ती गर्दारहेछौं भन्ने कुराको उदाहरण बनेकी थिई ऊ सिंगो कक्षाका विद्यार्थीहरूका लागि । हामी कक्षाको पछिल्लो बेन्चमा थियौं निरीक्षकले अगाडिको बेन्चका दुईजना विद्यार्थीलाई बाहिर निकालिसकेका थिए चिट भेटेर । निरीक्षक गैसकेपछि उसले भनी :

म अगाडिको बेन्चमा बस्छु सर ।

निरीक्षकले भन्नुभयो,

ठाउँ सर्न पाइँदैन, म डराएको थिएँ अब के हंगामा सुरू हुने हो ।

उसले शान्त स्वरमा भनी ।

प्लिज सर म यो ठाउँमा बस्न सक्दिन, होइन भने म परीक्षा नदिई बाहिर निस्कन्छु ।

के भयो ? के छ तपाईंको समस्या भन्नुहोस् न, सरले सोध्नुभयो ।

सुजको स्मेलले बमिट नै होला जस्तो भयो, अंग्रेजी स्टाइलमा उसले यति भनेपछि सरले अनुमति दिनुभयो र ऊ अगाडि गएर बसी । सबै विद्यार्थी पछाडि बस्न नपाएर मुर्मुरिन्छन् ऊ अगाडि बस्नुमा आनन्द मान्छे, जे होस् मैले पनि मुक्ति पाएको थिएँ उसको डरबाट ।

यता समय पूरा भएको संकेत आइसकेको थियो । जिन्दगीमै पहिलो पटक चिट नचोरी परीक्षा दिएर बाहिर निस्किएँ । अर्को दिन पूर्ण तयारीमा चिट नबोकी कलेज पुगें । उसकै छेउमा पर्छु भन्ने ढुक्क थियो । जेसुकै होस् आज त बोल्छु र सहयोग माग्छु भनेर मन बलियो बनाई परीक्षा हलभित्र पसेको थिएँ । यता हेरें उता हेरें कतै देखिन । आँखा ढोकामै अड्काएँ । ऊ आइन । पछि थाहा भयो, पहिलो दिनको परीक्षामा निकै हल्ला भएको र त्यस्तो वातावरणमा परीक्षा दिन नसक्ने भनेर निवेदन दिएपछि उसलाई कार्यालय कक्षमै शान्त वातावरणमा परीक्षा दिने व्यवस्था मिलाइयो रे ।

उसको रूपले आकर्षित भैरहेको म, व्यवहारबाट पनि प्रभावित हुँदै गएँ । कलेजमा वर्षको अन्तिम परीक्षा पनि आयो । म ऊसँग छुट्नुपर्ने पीडाले मुर्मुरिन थालें ।

पक्कै डिग्री पढ्दिन होला ठूलै सहर ताक्ने होली । प्रेम गर्नुभन्दा पनि व्यक्त गर्न नसक्नुको पीडाले म गलिरहेको थिएँ । उसलाई मैले कति माया गर्छु, चाहन्छु भन्ने कुरा उसले थाहा पाओस्, यति नै ठूलो कुरा हुन्छ झैं लाग्थ्यो । म एकतर्फी प्रेम गरिरहेको छु उसलाई ।

साँच्चै, उसको छनोट कस्तो होला ? कोसँग प्रेम गरेकी होली ? उसको हाउभाउबाट यत्ति मात्र बुझ्न सक्थें । खानदानी तथा राजकुमार जस्तो केटो छानेकी होली ।

एकदिन मायाले भनी

कर्णालीको बगरैबगर हिँड्दै थिई ऊ । मैले हतारिँदै सोधें–

कोसँग ?

परेवासँग π कर्णालीको बगरमा थुप्रै परेवा जम्मा हुन्छन्, ऊ तिनीहरूलाई हेरेर रमाइरहेकी थिई एक्लै ।

मैले ठूलो सास फेरें ।

त्यसरी नै फेरि रमेशले भन्यो–

 तेरी परी त, नेपालगञ्जको बागेश्वरी मन्दिरमा मस्किँदै हिँडिरहेको देखेको थिएँ ।

मैले सोध्न सकिनऊ कोसँग थिई । मेरो मौन प्रश्न सुनेछ क्यारे, ऊ आफैले भन्यो–

जे होस् हामीसँग नबोले पनि दिलदार छे यार ऊ, एकजना वृद्ध व्यक्तिलाई डोर्‍याएर मन्दिर दर्शन गराउँदै थिई ।

आँधी आएर पनि थामियो उतिखेरै, उसप्रतिको मेरो लगाव अरू दुई–चारजना साथीलाई समेत थाहा थियो ।

तेस्रो वर्षको परीक्षा दिइसकेपछि उसलाई देखेकै थिइन । बाटोमा देख्छु कि भनेर गुलरिया बजार निकै धाएँ, कहिल्यै भेटिन । साथीहरूले देखेथें भन्दा पनि डाहले मुर्मुरिन्थें भित्रभित्रै ।

कहिलेकाहीँको संयोग फेरि पत्याउनै नसक्ने गरी मिल्छ । परीक्षा दिएर रिजल्टको पर्खाइमा बसेका हामी, हाम्रो लेवलका जम्मा आठ जना पास भएका रहेछौं । मार्कसिट लिन कलेज पुगें । चिफ सरसँगै कार्यालय कोठामा उनीसँग पनि भेट भयो ।

धेरै समयपछि देख्दा अलि मजबुत भएँछु क्यारे, मुटु ढक्क भै नफुलेकै त होइन, तैपनि साहस बटुलेर बिस्तारै भनें–

आरामै हुनुहुन्छ मीरा जी ?

ठीकै छ तपाईंलाई नि?

उसको छोटो अनि मीठो आवाज ह्दयको कुनासम्म पुग्यो ।

फेरि भनें, राम्रो गर्नुभएछ नतिजा, बधाई छ ।

धन्यवाद, तपाईंलाई पनि π–उसले भनी । मलाई ऊसँग बोल्न सजिलो हुँदै गएजस्तो लाग्यो । अब कहाँ पढ्ने विचार छ भनेर सोधूँ भन्ने लागेकै बेला ठीक त्यही प्रश्न चिफ सरले खोस्नुभयो ।

यहीँ पढ्छु सर–उसले भनी ।

तर मीरा तिमीले पढ्न खोजेको विषय यहाँ संचालन गर्न सकिएन अझसम्म, तिमी काठमाडौं जाऊ । सरले भन्नुभयो, ‘होइन सर बर्दिया धेरै पछाडि छ । मलाई यहीँ बसेर केही गर्न मन छ । हाम्रो कलेजमा पनि सुधार्नुपर्ने पक्ष धेरै छन् । म त्यसका निम्ति ठोस कदम उठाउँछु अब, मलाई तपाईंको साथ र समर्थन चाहिन्छ । सुविधा खोज्दै सबै सहर पस्ने हो भने कसरी आउँछ परिवर्तन देशको कुनाकाप्चामा? तसर्थ हामी आफै आ–आफ्नो जिल्लाबाट तात्नुपर्छ । किन आउन सक्दैन हाम्रो कलेजमा ऐच्छिक विषय ? हामी सबै मिलेर माग गरौं ।’

तिमी क्षमतावान् विद्यार्थी यसरी अल्झेर नबस, पहिले पढाइ सक अनि पूरा गरे हुन्छ समाजप्रतिको दायित्व, आफ्नो करियर नबिगार मीरा ।

सर, न युद्ध न व्यापार, न सम्झौता, न प्रतिस्पर्धा केका निम्ति चिन्ता गरूँ करियर समातेर ? केही थुपार्नु छैन मलाई, मैले कमाउनुपर्ने पनि त छैन कसैका लागि । जति सक्छु देश र समाजका निम्ति गर्छु । पछिल्लो समयको यात्राले नेपालमा धेरै गर्नुपर्ने जिम्मेवारी पाएको महसुस भैरहेको छ ।

उसका कुरा सुन्दै जाँदा अवाक् भै जमिनतिर हेरिरहेको म निन्द्राबाट ब्युँझिएको मान्छेझैं झस्किएँ । कुन्नि के–के भनी उसले अझै, म खप्न नसकेर बाहिर निस्किएँ ।

पैसा, सम्पत्ति, करियर भन्दै किताबी कीरा बनेका छौं हामी। कति विदेश पलायन भैसके। यदि उसले झैं सबैले अठोट लिने हो भने अवसरका ढोकाहरू यहीँ खुल्थे । उसप्रतिको मेरो प्रेम चकनाचुर भैसकेको थियो । ऊप्रतिको आकर्षणलाई उसको प्रभावले जित्यो ।

म रन्थनिएको थिएँ युद्धमा गोली लागेको सिपाहीझैं, उसका प्रत्येक शब्दको प्रहारबाट । जे होस्, तीन वर्षसम्म उसलाई पिछा गरेको र पढाइमा लगाएको समय खेर गएन । कागजको सर्टिफिकेट हातमा र प्रेरणाको सर्टिफिकेट मनमा बोकेर हतार–हतार घरतर्फ लागें। आमाबुवालाई सुनाउनु थियो धेरै कुरा । प्रेम, पीडा पोख्न बनाइएका साथीहरूको समूहभन्दा आमाबुवाको अनुहार अगाडि आएको थियो र आवश्यकता पनि हामीहरूकै थियो किनभने उहाँहरूको लगानीमै दुई–दुई वटा प्रमाणपत्र आएका थिए सँगसँगै, मेरो हात अनि मनमा । धनको मोहमा विदेश नपस्ने दृढसंकल्प लिइसकेको छोरो उभ्याउनु थियो उहाँहरूका अगाडि ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्