जाडो मौसममा आन्तरिक पर्यटन

नारी संवाददाता

माघ ११, २०७४  

अहिले जाडो मौसमलाई पर्यटनको बेमौसम भन्ने परम्परा तोडिँदैछ । नेपालीहरू पनि जाडोमा आफ्नो देशकै अनेकौं गन्तव्यमा पुग्ने गरेका छन् । नेपालको आन्तरिक पर्यटन पहिले धार्मिक स्थलहरूमा मात्र केन्द्रित थियो तर अहिले मौसमअनुसार गन्तव्य छनौट गरेर घुम्न निस्कनेहरूको संख्या धेरै नभए पनि बढ्दो क्रममा भएको जानकारहरू बताउँछन् । यो समयमा हुने पर्यटन मेला तथा गतिविधिले समेत पर्यटकीय सम्भावनालाई बढाएका छन् । पर्यटकहरूका लागि सेवाको विशिष्टता तथा गुणस्तर वृद्धिसँगै प्राकृतिक सौन्दर्यमा रमाउने, सांस्कृतिक अनुभव संगाल्ने एवं साहसिक गतिविधिमा संलग्न हुने सीमितताबाट पर्यटन एवं पर्यटकीय गतिविधि फराकिलो हुँदै गएको छ । यही सम्भावनालाई मध्यनजर गर्दै पर्यटन व्यवसायी एवं टुर अपरेटरहरूले जाडो मौसमलाई केन्द्रित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

पर्यटनमा संलग्न हुने धेरैजसो खर्चयोग्य आम्दानी र घुम्न समय भएकाहरू नै हुन् । त्यसमा पनि सरकारी, गैरसरकारी, वित्तीय, व्यापारिक तथा अन्य संस्थामा कार्यरत कर्मचारी, उद्योगी, व्यवसायी, व्यापारी एवं पेसाकर्मीहरू अग्रपंक्तिमा हुन्छन् । विशेषत: जाडो मौसम व्यापार–व्यवसायका हिसाबले सुस्त समय हो । त्यसो हुँदा यतिबेला कामको चाप कम हुन्छ र घुम्ने फुसर्द मिल्छ । जाडोमा राजधानीलगायत चिसो पहाडी ठाउँका स्कुले केटाकेटीदेखि कलेजका विद्यार्थीसम्म र शिक्षक–शिक्षिकादेखि प्राध्यापकसम्मले लामो जाडो बिदा पाउँछन् । फलस्वरूप विद्यार्थीहरू समूह बनाई घुमघाममा निस्कन्छन् । हिजोआज बालबालिकाहरूसमेत बाबुआमालाई घुमाउन जोड गर्छन् । कतिपय संस्थामा कार्यरत कर्मचारीलाई ‘पे लिभ’ को समेत व्यवस्था भएकाले सपरिवार घुम्न जान जाडो मौसमले प्राथमिकता पाउँछ ।

युरोप तथा अमेरिकातिर यो समय अत्यन्त जाडो हुने, हिउँले सारा धरती नै सेताम्मे हुने, महिनौं घाम नदेखिने हुनाले जीवन कष्टकर हुन्छ । त्यसैले त्यता बसोबास गरिरहेका गैरआवासीय नेपालीहरू पनि जाडो छल्न नेपाल आउँछन् । उनीहरू परिवार वा साथीहरूको समूह बनाई घुम्न निस्कन्छन् । जाडो महिनामै संसारभर भव्य रूपमा मनाइने क्रिसमस र अंग्रेजी नयाँ वर्ष पर्छन् । नेपालमा पनि यही जाडो मौसममा थारू समुदायको नयाँ वर्ष माघी, हिन्दूहरूको माघे संक्रान्ति, शेर्पाहरूको सोनाम ल्होसारजस्ता पर्व मनाइन्छ । माघी महोत्सव तराईका थारू बस्तीमा मनाइन्छ । त्यसैले जाडोमा घुम्न चितवन र बर्दिया उत्कृष्ट गन्तव्य हुन सक्छन् । अंग्रेजी नयाँ वर्षमा पोखरामा संचालन हुने सडक महोत्सव नेपालमा हुने भव्य महोत्सवहरूमध्ये एक हो । त्यसैगरी बर्दियामा हुने हात्ती पोलो र सौराहामा हुने हात्ती महोत्सव अर्को विशिष्ट पर्यटकीय गतिविधि हो । जाडोमा पसिना कम आउने भएकाले साइक्लिङ पनि स्वास्थ्य र पर्यटन दुवै हिसाबले राम्रो मानिन्छ ।

जाडो महिनामा विशेषगरी काठमाडौं उपत्यका वरपर शिवपुरी, कीर्तिपुर, चोभार, दक्षिणकाली, साँखु, नगरकोट, चाँगुनारायण, कीर्तिपुर, चम्पादेवी, चोभार, दक्षिणकाली, लप्सीफेदी, लाँकुरीभन्ज्याङ, हात्तीवन, भोटेचौर, सुन्दरीजल, ककनी, धुलिखेलजस्ता ठाउँको भ्रमण रमाइलो हुनसक्छ भने उपत्यकाबाहिर चितवन, लुम्बिनी, जनकपुर, डडेलधुरा, सुर्खेत, दाङ, पाल्पा, पोखरा, बन्दीपुर, गोरखा, दोलखा, जिरी, सिन्धुली, धरान, धनकुटा, इलाम, बर्दिया, कोशी टप्पु, खप्तड, शुक्लाफाँटा आदि क्षेत्रमा रमाउन सकिन्छ । यी ठाउँमा जाडो मौसममा पनि पारिलो घामको मज्जा लिन सकिन्छ । यसैगरी अलिअलि पानी पर्दा उच्च पहाडी क्षेत्रमा हिउँका सेता डल्ला खेल्दै रमाउन सकिन्छ । डडेल्धुरा, खप्तड, रारा, डोल्पा, मुस्ताङ, मनाङ, लमजुङ, माथिल्लो गोरखा, दामन, रसुवा, फुल्चोकी, दोलखा, सगरमाथा, ताप्लेजुङजस्ता क्षेत्रमा गै हिउँ खेलेर रमाइलो गर्न सकिन्छ । सामान्यत: जाडोमा शीतलहर पर्ने, हुस्सु लाग्ने तराईका गन्तव्यभन्दा पनि घाम लाग्ने, आकाश खुल्ने र हिमपातको दृश्यावलोकन गर्न सकिने पहाडी गन्तव्य उपयुक्त हुने सम्बन्धित व्यवसायीहरूको सुझाव छ । पहाडी क्षेत्रका गन्तव्यहरूमा पूर्वको माइपोखरीदेखि पश्चिमको खप्तडसम्म उपयुक्त मानिन्छन् ।

माइपोखरी

रामसार क्षेत्रमा सूचीकृत इलामको माइपोखरी प्राकृतिक सौन्दर्य तथा धार्मिक दुवै हिसाबले आकर्षक छ । यो क्षेत्र धार्मिक, वातावरणीय तथा ऐतिहासिक दृष्टिले समेत घुमघामका लागि उपयुक्त छ ।

 

पाथीभरा

धार्मिक हिसाबले प्रसिद्ध पाथीभरा देवी मन्दिर ताप्लेजुङमा पर्छ । समुद्री सतहबाट ३ हजार ७ सय ९४ मिटर उचाइमा अवस्थित यो मन्दिरबाट विश्वको तेस्रो अग्लो तथा नेपालको दोस्रो अग्लो हिमाल कंचनजंघा अवलोकन गर्न सकिन्छ ।

हलेसी महादेव

खोटाङ जिल्लामा अवस्थित हलेसी महादेव चर्चित धार्मिक गन्तव्य हो । यहाँको गुफा ६ हजार वर्ष पुरानो भएको विश्वास गरिन्छ । भगवान् शिवका भक्तहरू आकर्षित हुने यो गन्तव्य पनि घुमघामको उत्तम विकल्प हुनसक्छ ।

लोमान्थाङ

लोमान्थाङ स्वाभाविक रूपमा जाडो ठाउँ हो तर यो एउटा यस्तो गन्तव्य हो जहाँ जान कुनै पनि मौसम बाधक हुँदैन । यो सदैव जाडो हुने स्थान सदाबहार गन्तव्य हो ।

जिरी

नेपालको स्वीट्जरल्यान्डका रूपमा परिचित जिरी राजधानीबाट करिब दुई सय किलोमिटर टाढा छ । प्राकृतिक सुन्दरताका दृष्टिले जिरी उपयुक्त गन्तव्य हुनसक्छ । जंगलको बीचमा रहेको सुन्दर बस्तीका कारण यो गन्तव्य धेरै नेपालीको रोजाइमा परेको पाइन्छ ।

पोखरा

पोखरा पर्यटकहरूको पहिलो रोजाइमा पर्ने गन्तव्य हो । यहाँ सबै खालको पर्यटकीय आकर्षण देख्न सकिन्छ । पोखरा पुगेपछि आँखैअघि हिमाल हेर्दै तालमा डुँगा सयर गर्न सकिन्छ । विभिन्न गुफा अवलोकनका साथै साहसिक खेलप्रेमीहरूका लागि प्याराग्लाइडिङ, अल्ट्रा, बन्जी, जिप फ्लायर आदिको व्यवस्था छ पोखरामा । यो सदाबहार गन्तव्य जुनसुकै मौसममा पुग्न सकिन्छ ।

 

बन्दीपुर

कुनै समयको व्यापारिक केन्द्र र पछि विविध कारणले किनारा लागेको जिउँदो इतिहास बोकेको सहर हो–बन्दीपुर । यहाँबाट हिउँदको समयमा खुलेको अन्नपूर्ण र धौलागिरी हिमशृंखला अवलोकन गर्न सकिन्छ । कोलाहल तथा धूवाँ–धूलोबाट केही टाढा पुग्ने सोच बनाएकाहरूका लागि बन्दीपुर उत्कृष्ट गन्तव्य बन्नसक्छ । भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र आदि यहाँ आउने पर्यटकहरूको पहिलो रोजाइ बन्ने गरेका छन् । बन्दीपुर आउने पर्यटक यहाँको हावापानी, संस्कृति तथा रीतिरिवाजबाट समेत आकर्षित हुन्छन् । दुई–तीन दिन मात्र बस्ने गरी आएका पर्यटक यहाँ आइसकेपछि थप केही दिन नबसी नफर्कने स्थानीय होटल व्यवसायीहरू बताउँछन् । जाडो मौसम सुरु भएसँगै बन्दीपुर घुम्ने पर्यटकको संख्यासमेत वृद्धि हुने गरेको छ । तनहुँको सदरमुकाम दमौलीबाट १८ किलोमिटरको दूरीमा रहेको डुम्रे हुँदै थप ८ किलोमिटर उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ ।

 

मुक्तिनाथ

हिन्दू एवं बौद्ध धर्मावलम्बीहरूको संयोजनको नमुनाका रूपमा रहेको मुक्तिनाथ पूजापाठका लागि मात्र नभएर सुन्दर पर्वतीय क्षेत्र अवलोकनका लागि समेत उपयुक्त गन्तव्य हो । समुद्री सतहबाट ३ हजार ७ सय १० मिटर उचाइमा अवस्थित मुक्तिनाथ नेपालीहरूको मात्र होइन भारतीय तथा तेस्रो विश्वका पर्यटकहरूको समेत आकर्षक गन्तव्य हो ।

 

मनकामना

गोरखास्थित मनकामना मन्दिर हिन्दू धर्मावलम्बीहरूका लागि एउटा तीर्थस्थल हो । चितवनको कुरिनटारबाट केबलकार चढेर पुग्न सकिने यो मन्दिरबाट मनास्लु हिमाल तथा अन्नपूर्ण हिमशृंखलाको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ ।

 रारा

मुगुको रारा ताल संसारकै आकर्षण पर्यटकीय गन्तव्य हो भन्दा फरक पर्दैन । विशेषगरी सडक यातायात सञ्जालले जोडिएपछि त्यहाँ पुग्ने पर्यटकहरूको संख्यामा समेत निकै वृद्धि भएको छ । छिनछिनमा पानीको रंग परिवर्तन हुने यो तालमा तीन प्रजातिका माछा पाइन्छन् जसमध्ये स्नो ट्राउट प्रजातिको माछा यो तालबाहेक नेपालको अन्यत्र कहीँ पाइँदैन । ५ किलोमिटर लम्बाइ र ३ किलोमिटर चौडाइमा करिब ११ किलोमिटर क्षेत्रफल ओगटेको यो ताललाई पैदल फन्को मार्न ५ घन्टाजति लाग्छ ।

 

जुम्ला

नेपाली भाषाको उद्गमस्थल सिंजा उपत्यका जुम्लाको मुख्य आकर्षण हो । त्यस्तै चन्दननाथ मन्दिर पनि अर्को आकर्षण हो । रारा पुगेपछि जुम्ला हुँदै फर्कनु उपयुक्त हुन्छ ।

 

स्वर्गद्वारी

प्यूठान जिल्लास्थित हिन्दू धार्मिक केन्द्र हो–स्वर्गद्वारी । वैदिक धर्म–संस्कृतिको अध्ययन–अध्यापन हुने यो क्षेत्र पवित्र धार्मिक तीर्थस्थल पनि हो ।

 खप्तड

सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य हो–खप्तड क्षेत्र । धार्मिक तथा प्राकृतिक महत्वको अनुपम संयोजन मानिने यो गन्तव्यमा खप्तड बाबाको आश्रमसँगै त्यहाँको पहाडी फाँट अवलोकन गर्न सकिन्छ । यहाँ हिउँदमा हिउँ परेको दृश्य हेर्नु निकै रोमाञ्चक हुन्छ । प्रचार–प्रसार तथा पूर्वाधारको अभावमा पछाडि परे पनि यो गन्तव्य नेपालीहरूका लागि उत्कृष्ट गन्तव्य बन्ने कुरामा कुनै शंका छैन ।

भेडेटार

भेडेटार बजार क्षेत्र पूर्वाञ्चलको रमणीय स्थलका रूपमा प्रख्यात छ । यो ठाउँ धरान नगरपालिकाबाट करिब १७ किलोमिटर उत्तरमा सुनसरी र धनकुटा जिल्लाको सीमामा पर्छ । समुद्री सतहबाट १ हजार ४ सय ३० मिटर उचाइमा अवस्थित भेडेटारमा पर्यटकहरू गर्मी मौसममा तराईको गर्मी छल्न आउँछन् भने चिसो मौसममा उच्च पहाडी एवं हिमाली भेगको सुन्दरता हेर्न पुग्छन् । भेडेटारको भ्यू टावर अर्थात् चाल्र्स प्वाइन्ट यस्तो स्थान हो जहाँबाट सप्तकोसीको मनोरम दृश्य, पूर्वी तराईका फाँटहरूका साथै मकालु, कञ्चनजंघा, कुम्भकर्णजस्ता हिमशृंखलाहरूको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ जाडो मौसममा पिकनिक खान आउने मानिसहरूको समेत भीड लाग्छ ।

 

 कुपिण्डे ताल

उत्तरतिर मोतीझैँ हाँसिरहेका हिमशृंखला, वरिपरि अग्ला–अग्ला पहाड, हरियाली जङ्गल र बीचमा नीलो आकाशझैं मनै लोभ्याउने दृश्य भएको कुपिण्डे ताल । सल्यान जिल्लास्थित कुपिण्डे ताल हिजोआज आन्तरिक पर्यटनको केन्द्र बनेको छ । अहिले राप्ती र भेरी अञ्चलका विभिन्न जिल्लाबाट कुपिण्डे दह हेर्न आउनेहरूको संख्या बढेको छ । मनोरम वातावरणमा डुँगा सयर गर्दै हिमशृंखलाको अवलोकन गर्नु यहाँको प्रमुख आकर्षण हो ।

के–के गर्न सकिन्छ भ्रमणमा ?

साइक्लिङ, हाइकिङ, भिलेज टुर, जंगल सफारी, स्नो वाक, डुँगा सयर, क्याम्प फायर, धार्मिक यात्रा, सन बाथिङ, होमस्टे, स्थानीय संस्कृति अवलोकन आदि ।

के–कस्ता पहिरन तथा सामग्री बोक्ने ?

कटनको भित्री पहिरन (थर्मकोट आदि), हाइनेक, स्वेटर, ज्याकेट, टोपी, गलबन्दी, जुत्ता, बाक्लो मोजा, हिउँ पर्ने ठाउँ भए लामकाने टोपी, पन्जा, कालो चस्मा आदि ।

टाउको दुखेको, रुघा तथा ज्वरोको औषधि, टर्च लाइट, स्क्रयाप ब्यान्डेज, बदाम वा अन्य सुख्खा फलफूल, पानी तातो रहने भाँडा (थर्मस, मेगास्लिम बोटल आदि), कोल्ड क्रिम, चिपिस्टिक, क्यामेरा, मोबाइल, चार्जर, सेल्फी स्टिक, धेरै जाडो हुने गन्तव्य भए स्लिपिङ ब्याग, बाक्लो सल तथा यी सबै सामान अट्ने एउटा बलियो र बोक्न सजिलो झोला ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्