रंगमञ्चको एक्सन कटमा महिला

राधिका अधिकारी

माघ ८, २०७४

नेपाली रंगमञ्चमा नेपाली महिला निर्देशकको उपस्थिति निकै पातलो छ । २०४६ सालमा नाटक ‘मुनामदन’ निर्देशन गरेकी सुभद्रा अधिकारीले लामो समय रंगमञ्चमा बिताइन् । नाटक हुँदै चलचित्रको पर्दामा देखापरेकी सुभद्राले नेपाली चलचित्र तथा रंगमञ्चमा आफ्नो राम्रो छाप छाडे पनि निर्देशनमा भने उनी एउटै नाटकमा सीमित भइन् । ‘मुनामदन’ पछि उनले कुनै पनि नाटक निर्देशन गर्ने हिम्मत गरिनन् । हुन त सुभद्रा अधिकारीभन्दा अघि पनि केही महिला नाटक निर्देशनमा देखा परे । त्यसयता विभिन्न समयमा पशुपति राई, पवि खड्का, शकुन्तला शर्मा, सुशीला थापा आदि रंगकर्मीले अभिनयसँगै निर्देशनमा समेत हात हाले । यद्यपि सबैको अवस्था सुभद्राको जस्तै रह्यो । अभिनयमा राम्रो दख्खल राख्ने यी रंगकर्मीले निर्देशनमा एउटा भन्दा बढी नाटक मञ्चन गर्न सकेनन् ।

सुशीला रायमाझी, सुवर्ण पोख्रेल, भुवन चन्दजस्ता कलाकारको उपस्थिति पनि नाटक निर्देशनमा एकबाट दुई पुग्न सकेन तैपनि नेपाली रंगमञ्चलाई माथि उठाउन र नाटकमा नारीको प्रतिनिधित्व गर्न यी नामको ठूलो भूमिका रह्यो । कुनै समयको रंगमञ्चको अनुभव सम्झदै सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघर नाट्य विभाग प्रमुख प्रभाकरदेव शर्मा भन्छन्–‘महिलाहरूले पुरुषले भनेपछि डाइलग कण्ठस्थ गरेर बोल्नुपर्ने अवस्था थियो । २०४४–४५ सालताका रंगमञ्चमा राम्रो छाप छाड्न सफल वेदकुमारीले पुरुषहरूको सहारामा लामो समय डाइलग कण्ठस्थ पारेर अभिनय गरिन् ।

यद्यपि समाजसँगै आएको परिवर्तन र चेतनासँग परिचित नारीहरू अहिले निकै शिक्षित भैसकेका छन् । तैपनि महिलाहरूले नाटक निर्देशनका क्षेत्रमा भने उल्लेख्य उपस्थिति जनाउन सकेका छैनन् । त्यसो त २९ सालमा स्थापना भएको सांस्कृतिक संस्थानले थुप्रै व्यावसायिक कलाकार जन्माएको छ । नाचघरको यति लामो इतिहासमा रंगमञ्चमा नाटक निर्देशन गरेर निरन्तरता दिने अथवा लेखनमै पनि बलियो उपस्थिति जमाउन सक्ने महिला रंगकर्मी जन्माउन नसकेको तीतो यथार्थ हाम्रा सामु छ ।

नेपाली परिवेशमा नाटक निर्देशन अथवा लेखनमा मात्र महिलाको उपस्थिति कमजोर देखिएको होइन । राजनीतिक क्षेत्रदेखि कलाकारितासम्म, जहाँ घरव्यवहार छाडेर बाहिर निस्कनुपर्छ सबै क्षेत्रमा महिलाको उपस्थिति आज पनि पातलै छ । विवाहअघि रंगमञ्च नै सबैथोक हो भनेर लागेका कतिपय कलाकार पनि विवाहपछि पलायन भएका छन् । एक समय एउटै नाटक निर्देशन गरेर रंगमञ्चमा राम्रो सम्भावना देखाएकी रंगकर्मी सुवर्ण पोख्रेल विवाहपछि अमेरिका भासिइन् । उनको नाटक निर्देशनमा देखिएको सम्भावना त्यतिमै सीमित हुन पुग्यो । यो अन्य क्षेत्रका महिलाका हकमा पनि लागू हुन्छ ।

अहिले सिर्जना अधिकारी, सरिता शाह, नानी थापा, विना बूढाथोकी, अञ्जु रञ्जितकार, शारदा सिलवाल आदि रंगकर्मी नाटक निर्देशनमा देखा परेका छन् । यद्यपि नाटक निर्देशन पुरुषहरूलाई जत्तिको सहज नभएको रंगमञ्चमा काम गरिरहेका महिलाहरूको दुखेसो छ । करिब २२/२५ वटा नाटकमा काम गरिसकेकी रंगकर्मी नानी थापा आफ्नो क्षमताले मात्र अघि बढ्ने महिला रंगकर्मी निकै कम भएको बताउँछिन् ।

श्रीमानले लेख्ने, श्रीमतीले निर्देशन गर्ने अथवा श्रीमतीले लेख्ने श्रीमानले निर्देशन गर्ने केहि अभ्यास भने राम्रोसँग भएको देखिन्छ । नाटक निर्देशनमा लागेका केहि नारी पात्रलाई छाडेर हेर्ने हो भने ‘कोहि कसैका श्रीमती त कोहि कसैका श्रीमती’ भएकै कारण आएका छन् । नेपाली रंगमञ्चमा पुरुषहरुले महिलाको क्षमतालाई पूर्ण रुपमा अझै पनि विस्वास गर्न सकेका छैनन् । सुलक्षण भारतीको लेखन रहेको ‘सलेदो’ नाटक निर्देशन गरेर राम्रै प्रतिकृया बटुलेपनि सिर्जना अधिकारीको निर्देशकिय क्षमता माथि विश्वास गरेर काम गर्ने अरु रंगकर्मीले आँट गर्न सकेनन् ।

५ वटा नाटकमा एकल रुपमा प्रसतुत भएकी नानी थापा पछिल्लो समय ‘जुनकिरी’ नाटकका कारण निक्कै चर्चामा छिन् । यो नाटकमा उनले लेखन, निर्देशन र एकल अभिनय गरेकी छिन् । तर, उनको क्षमता माथि विश्वास गरेर आजसम्म कसैले उनलाई नाटक निर्देशनको अफर गरेको छैन । उनले लेखेका नाटक निर्देशन गर्छु भन्ने आँट पनि कसैले गर्न सकेको छैन् । बरु उनको सिर्जनसिलता गिराउँने खालका विभिन्न टिक्का टिप्पणी उनले सुनेकी छिन् । उनी भन्छिन् ‘हामी महिलाले महिलाकै कारण पनि आफ्नो क्षमतालाई बृहत्तर रुपमा प्रस्तुत गर्न पाएका छैनौं ।’

अन्य क्षेत्रमा जस्तै महिलाले गरेको कामलाई ‘एसेप्ट’ गर्न नसक्ने परिपाटी रंगमञ्चमा पनि हाबी रहेको रंगकर्मीहरु बताउँछन् । पुरुषले भन्दा राम्रो क्षमता प्रस्तुत गरेका महिलालाई ‘महिला भएकै कारण’ इन्करेज गर्ने तर, उनीहरुको क्षमतालाई ‘डोमिनेट’ गर्ने परम्पराका कारण पनि महिलाले रंगमञ्चको एक्सन कटमा उल्लेख्य उपस्थिती जनाउन नसकेको पुराना पुस्ताको भनाई छ । नाटक निर्देशनमा अनुज पुस्ताको कामलाई अग्रज पुस्ताले स्विकार गर्न नसक्दा पनि महिलाको उपस्थिती पातलो रहेको पछिल्लो समय नाटक निर्देशनमा देखा परेका महिला रंगकर्मीहरु बताउँछन् ।

कला क्षेत्रको अन्य विधा भन्दा ‘रंगमञ्च’को क्षेत्र अझै सानो छ । यो सानो ठाउँमा पनि विभिन्न गुटका कारण क्षमतावान महिलाहरुले आफ्नो क्षमता देखाउँन नपाएको धेरैको गुनोसो छ । हरेक क्षेत्रमा जस्तै रंगमञ्चको एक्सन कटमा पनि महिलाले गरेको काम परिपक्व हुँदैन भन्ने भ्रम आज पनि यथावत छ । भ्रमलाई भ्रमकै रुपमा छाडेर महिलाको काममा इन्करेज गर्न सक्ने हो भने निक्कै क्षमतावान महिलाले रंगमञ्चमा आफ्नो क्षमता देखाउँन सक्ने राष्ट्रिय नाचघर– नाट्य विभागका विरेन्द्र हमाल बताउँछन् ।  

 

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्