Teej banner

नायाग्रा फल्सको झिनो पर्दाभित्र पस्दा

शरद निरौला

पुस २८, २०७४

सबै स्थानको विशिष्ट सौन्दर्य हुन्छ । प्रकृतिले यो भूतललाई आ–आफ्नै पाराको सौन्दर्यले सिँगारेर विविधताको घुम्टोभित्र सजाएको छ । कुनै स्थानको सौन्दर्य झलक्क हेर्दा मनमोहक लागे पनि आँखाबाट ओझेल भएपछि स्मृतिबाट हराउने हुन्छ भने कुनै स्थानको सौन्दर्य आँखाबाट ओझेल भएपछि पनि जीवनपर्यन्त ताजा रहन्छ । यस्तै दोस्रो प्रकारको अविस्मरणीय स्थान हो–अमेरिका र क्यानाडाको सीमामा रहेको विश्वप्रसिद्ध छहरा ‘नायाग्रा फल्स’ । सन् १९९३ को अगस्त महिनामा अमेरिकी भूमिमा पाइला टेकेपछि म पहिलो पटक नायाग्रा फल्स घुम्न गएँ । दोस्रोपल्ट सन् २०१३ को जुन महिनामा र तेस्रोपल्ट २०१६ को अगस्त महिनामा पुन: त्यही अलौकिक स्थानको अवलोकन गर्न पाएँ क्यानेडियन क्षेत्रबाट ।

नायाग्रा फल्स कुनै समय अमेरिकामा ‘हनिमुन गन्तव्य’ का रूपमा प्रख्यात थियो । विवाह गरिसकेपछि प्रणयसम्बन्ध दरिलो बनाउने कुनै नयाँ मुुलुक वा आफ्नो मुलुकभित्रै कुनै दर्शनीय स्थल जाने प्रचलनअन्तर्गत धेरै नवविवाहित जोडी नायाग्रा फल्स पुग्थे, तर हिजोआज त्यस्ता जोडीहरूका साथै अन्य पर्यटक पनि प्रशस्तै भेटिन्छन् त्यहाँ । नायाग्रा फल्सको पर्यटकीय आकर्षण कति प्रबल छ भने यहाँ देश–विदेशबाट आउने पर्यटकको संख्या वर्षको ८० लाखभन्दा बढी (अमेरिकातर्फ) र १ करोड ३० लाख (क्यानाडातर्फ, सन् २०१२ को तथ्यांकअनुसार) छ ।

क्यानाडातर्फको संख्या बढी हुनुका कतिपय कारणमध्ये एउटा के हुनसक्छ भने तुलनात्मक रूपमा नायाग्रा फल्स अमेरिकातर्फबाट भन्दा क्यानाडातर्फबाट बढी आकर्षक देखिन्छ । अमेरिकातर्फबाट छहरा हेर्दा त्यसको शिरमाथि बसेर तलतिर हेरेजस्तो लाग्छ भने क्यानाडातर्फबाट हेर्दा दुवै साइडका सबै छहराको अत्यन्त प्रभावशाली प्यानोरामिक दृश्य देखिन्छ । त्यस्तै अमेरिकातर्फबाट हेर्दा क्यानेडियन नायाग्रा फल्स क्षेत्रमा ‘स्काइलन’ नाम गरेको गगनचुम्बी दृश्यावलोकन टावर र अलग–अलग अनि नियोन बत्तीले झकाझक बलेका विल्डिङहरूका साथै होटलका भवनहरू देखिन्छन् भने क्यानाडाबाट अमेरिकातर्फ हेर्दा त्यस्तो झकाझक देखिँदैन ।

नायाग्रा फल्स तीनवटा विशाल झर्ना अमेरिका फल्स, ब्राइडल भेल फल्स र हर्स सु फल्स मिलेर बनेको छ । यसमा बग्ने पानी अप्पर ग्रेस लेक्स (लेक एरी र लेक ओन्टारियो) बाट प्राप्त हुन्छ । अमेरिकी साइडतर्फ अमेरिकन फल्स र ब्राइडल फल्स पर्छन् भने क्यानाडातर्फ हर्स सु फल्स पर्छ । हर्स सु किन भनिएको हो भने यो हेर्दाखेरि घोडाजस्तो टापमा लगाउने नालको आकारमा छ । यसलाई अर्धवृत्ताकार पनि भन्न सकिन्छ । तुलनात्मक रूपमा यो फल्समा अन्य फल्सभन्दा बढी पानी बग्छ ।

नायाग्रा फल्स खस्छ कहाँ त ? तीनवटै झरना आफ्ना लाखौं क्युबिक फिट आयातनसहित गडगडाउँदै तल बगिरहेको नायाग्रा नदीमा खस्छन् । यही नायाग्रा नदीले संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्य र क्यानाडाको ओन्टारियो प्राप्तका बीच सीमाको काम गर्छ ।

नायाग्रा फल्समा पहिले करिब १० खर्ब ग्यालन प्रतिघन्टाका दरले पानी खस्थ्यो । अहिले भूस्खलन रोक्न अमेरिकी तथा क्यानेडियन दुवै सरकारद्वारा पानीको बहाव एवं मात्रा नियन्त्रण गरी केही मात्रामा विद्युत् उत्पादनका लागि प्रयोग गरिन्छ । यो कार्य विशेषत: राति गरिने हुनाले तुलनात्मक रूपमा नायाग्राको गडगडाहट दिउँसोभन्दा राति कम सुनिन्छ ।

सबैभन्दा ठूला झर्ना हर्स सु फल्स १ सय ७० फिट अग्लो छ र यसको एक किनारको टुप्पोदेखि अर्को किनारको पुच्छरसम्म २ हजार ५ सय फिट छ । अमेरिकातर्फको झरनाको उचाइ १ सय ८० फिट तथा चौडाइ १ हजार १ सय फिट छ ।

जसरी नायाग्रा फल्स विश्वभरि आफ्नो सुन्दरताका लागि प्रख्यात छ त्यसरी नै प्राकृतिक शक्तिसँग पौंठेजोरी खेल्ने लहडबाजहरूको जमर्को पनि उत्तिकै चाखलाग्दो छ । धेरै व्यक्तिले नायाग्रा फल्सबाट तल नायाग्रा नदीमा हाम फाल्ने जोखिमपूर्ण काम गरेका छन् । ब्यारेल ब्रिगेडको नामले प्रसिद्ध ती व्यक्तिहरू साँचो अर्थमा साहसी व्यक्तित्वका रूपमा परिचित छन् ।

ब्यारेल अंग्रेजी शब्द हो, जसको अर्थ अण्डाको आकारजस्तो काठले बनेको ठूलो ढुङ्ग्रो हुन्छ । ब्रिगेड पनि समूह जनाउने अंग्रेजी शब्द नै हो । यस्ता ब्यारेलभित्र बसी छहराबाट फाल हान्नेहरूको जमातलाई नै ब्यारेल ब्रिगेड भनिन्छ । यी अमेरिकी लोकस्मृतिमा गहिरोसँग बसेका व्यक्तिहरू हुन् । यिनीहरूले तिनताका अरू कसैले सोच्नै नसकेका र सोच्न पनि असम्भव मानिएका साहसिक कार्यहरू गरेर देखाएका थिए । नायाग्रा फल्समाथिबाट फल हान्ने कामजति सबै क्यानाडातर्फको हर्स सु फल्सबाट मात्र भएका छन् । यसको प्रमुख कारण अमेरिकी फल्स खस्ने नायाग्रा नदीको उक्त स्थलमा ठूल्ठूला तिखा चट्टान छन्, जसमाथि खस्यो भन्ने मानिसको तत्काल मृत्यु हुनसक्छ ।

एनी हड्सन टाइल नायाग्रा फल्सबाट हाम फाल्ने विश्वकी प्रथम महिला मात्र नभएर ब्यारेलभित्र बसेर फाल हान्ने प्रथम व्यक्ति थिइन् । उनी नायाग्रा फल्स क्षेत्रमा सन् १९०१ मा आइन् । आफ्नो उमेर ६३ वर्षको भए पनि उनी सबैलाई आफू ४२ वर्षकी हुँ भन्थिन् । उनी एक पैसा पनि हातमा नभएकी सर्वहारा सुकुम्बासी थिइन् । फल्सबाट हाम फाल्ने स्टन्ट गरे पैसाको वर्षा हुन्छ भन्ने सोचले उनी सन् १९०१ को अक्टोबर २४ तारिखका दिन आफैंले बनाएको ब्यारेलभित्र बसी नायाग्रा फल्सबाट गुड्किइन् । त्यसबाट उनको मृत्यु त भएन तर उनले सोचेजस्तो पैसाको वर्षा पनि भएन ।

त्यसपछि उनले २० वर्षसम्म सडकमा पर्यटकहरूलाई मालसामान बेच्ने काम गरिन् र कंगाली हालतमै उनको जीवनलीला समाप्त भयो । यस्तै जुलाई ४, १९२८ का दिन जिन लास्सिएरले ६ फुटे रबरको बलभित्र बसी नायाग्रा फल्सबाट फाल हाने । उक्त रबरको बलभित्र अक्सिजन भरिएका ट्युबहरू राखिएका थिए । साधारण चोटपटकबाहेक उनको ज्यानमा अरू केही भएन । टुक्रा–टुक्रा भएका ट्युब बेचेर उनले केही पैसा हात पारे । त्यसैगरी जुलाई ४, १९३० मा जर्ज स्टेथाकिसले १ टन वजन भएको १० फुट लामो काठको ब्यारेलभित्र बसी नायाग्रा फल्सबाट फाल हाने । दुर्भाग्यवश उनको ब्यारेल कुनै कारणवश झरनाको पछाडिपट्टि अड्कियो । त्यो ब्यारेल चौध घन्टासम्म अड्किएको अड्कियै भयो । उक्त ब्यारेलमा केवल तीन घन्टासम्म पुग्ने अक्सिजन मात्र भरिएको थियो ।

उद्धारकर्ताहरू पुगुन्जेलसम्म जर्जको मृत्यु भैसकेको थियो तर जर्जले सँगै लगेको १ सय ५ वर्षको एउटा कछुवा भने जीवितै भेटियो । रेड हिल जुनियर पनि आँटिला थिए । उनका बुवा पनि नम्बरी पौडीवाज थिए र उनले आफ्नो जीवनकालमा १ सय ७७ वटा लास नायाग्रा नदीबाट निकालेका थिए । ५ अगस्ट १९५१ मा आफ्ना बाबुको बिँडो थाम्न रेड हिलले अर्कै तरिका अपनाए । उनले मोटरका सहस्र ट्युबलाई डोरीको सहायताले बाँधेर र त्यसलाई माछा मार्ने जालभित्र कसेर बनाइएको एउटा चेप्टो डुंगामाथि बसेर हर्स सु छाँगाबाट फाल हाने । फाल हानेको केही क्षणपछि तल नदीमा ट्युबका सहस्र टुक्राबाहेक उनको नामनिशान देखिएन । भोलिपल्ट मात्र उनी घाइते अवस्थामा फेला परे । जेसी सार्पले जून ५, १९९० मा अहिलेसम्म कसैले नआँटेको काम गर्ने विचार गरे ।

उनले पहाडी नदीहरूमा चलाइने डुँगा कायाकमा बसी लाइफभेस्ट र हेल्मेट नलगाई नायाग्रा फल्सबाट फाल हाने । उनको तत्काल मृत्यु भयो । एकल व्यक्तिका अतिरिक्त युगल व्यक्तिको टिमले पनि नायाग्रा फल्सबाट हाम फाल्ने कीर्तिमान कायम गरेका छन्, जून १८, १९९५ मा स्टिभन ट्रटर र लोरी मार्टिन एउटै ब्यारेलभित्र बसी फाल हान्ने पहिलो महिला–पुरुष जोडी बने । १९८९ मा क्यानाडाका पिटर डेबर्नाडी र जुफ्री पेटकोभिचले पनि नायाग्रा फल्सबाट सफलताका साथ फाल हानेका थिए । उनीहरूलाई साधारण चोटपटक मात्र लागेको थियो ।

यी घटनाक्रमले के देखाउँछन् भने मानिसमा अन्य कतिपय गुण विद्यमान भएझैं जोखिमपूर्ण कार्य गर्ने इच्छा र आँट पनि विद्यमान हुन्छ, जसले गर्दा ऊ प्रकृतिका कठोर एवं दुर्भेद्य संरचनाहरूविरुद्ध जाने जमर्को गर्छ । यस्ता कार्यका पछाडि नाम र प्रचारको आवश्यकताका साथै आर्थिक लाभ प्राप्त गर्ने लालसा नै प्रमुख हुन्छ । नायाग्रा फल्स आफैंमा एउटा चमत्कार हो ।

उत्तरी अमेरिकाका ग्रेट लेक्सहरूलाई त्यसै ‘ग्रेट’ भनिएको होइन । हामी नेपालको परिप्रेक्ष्यबाट प्रभावित भएको हुनाले कुनै पनि अग्लो ठाउँबाट खसेको पानीको बहावलाई छाँगा, झरना वा फल्स भन्छौं तर ग्रेट लेक्स कुनै फेवाताल, बेगनास ताल, रारा दह वा डेभिड फल्स होइनन् । ग्रेट लेक्सहरू आफैंमा ताल नभएर झन्डै–झन्डै समुद्र नै हुन्, जसको अर्को तर्फबाट किनारा देखिँदैन र त्यसको गहिराइ समुद्रजत्तिकै छ । यस्तो जलाशयबाट निस्केर १ सय ८० फिट माथिबाट गडगडाउँदै नायाग्रा नदीमा बजारिने लाखौंलाख ग्यालन पानीको आयतनको छटा एकपल्ट हेरेपछि त्यो दृश्य सदा अविस्मरणीय हुन्छ । यसको प्रमुख सौन्दर्य झरनाका रूपमा झरिरहेको पानीमा छ भने त्यही झरना अत्यधिक न्यून तापक्रम भएको मौसममा जमेर बरफको एउटै ढिक्का हुँदा त अद्भूत नै देखिन्छ ।

नायाग्रा फल्सको सौन्दर्य र आभामा जलप लगाउने काम मेड अफ द मिस्टले गरेको छ । यो एउटा फेरी बोट हो, जसले पर्यटकहरूलाई नायाग्रा फल्स खस्ने ठाउँको एकदमै नजिकसम्म लगेर त्यसको सौन्दर्य देखाउँछ । जतिजति झरना नजिक आउँदै जान्छ उतिउति त्यसबाट उत्पन्न मिस्ट (पानीका छिटाहरूद्वारा बनेको कुइरो) ले रेनकोटले छोपिएको शरीरलाई निथ्रुक्क भिजाउँदा र विशालकाय छाँगाबाट उत्पन्न कर्णभेदी गडगडाहटले कान बन्द हुँदा यस्तो अनुभव हुन्छ, मानौं कुनै प्रलय नै आइरहेको छ । अनि फेरि तत्कालै फर्कने क्रममा गडगडाहट कम हुँदै जान्छ, कुइरो पातलिँदै जान्छ, झल्याकझुलुक घामका किरणहरू देखिन थाल्छन् र इन्द्रेणीको विशाल प्रवेशद्वार देखिन्छ । हो, यो त्यही समय हो जब यस्तो अनूभूति हुन्छ मानौं यो देह यो लोकमा होइन अन्त कुनै दैवी मुलुकमा छ र आफ्नो चारैतिर केवल पानीका कणहरूले बनेको झिनो पर्दामात्र छ ।

                                  (तथ्यांकहरू साभार ‘हिस्ट्री डट कम’)

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्