अभिभावकत्व निर्वाहका लागि

नारी संवाददाता

पुस २४, २०७४

आधुनिक एवं व्यस्त जमानामा बालबालिकाहरूलाई सम्हाल्नु तथा उचित मार्गदर्शन दिनु सार्‍है गार्‍हो काम हो तसर्थ पनि हिजोआजका अभिभावकका लागि बालबालिकाको रेखदेख एउटा ठूलो चुनौती बनेको छ । अहिलेका बालबालिका यति स्मार्ट बन्दै गएका छन् कि उनीहरूमाथि सही निगरानी नराख्ने हो भने गलत बाटोमा जानसक्ने सम्भावना ह्वात्तै बढ्छ । यस्तो अवस्थामा उनीहरूको मनोविज्ञान बुझी सोहीअनुरूप व्यवहार गर्नु सचेत अभिभावकको दायित्व हो ।

    बालबालिकाहरूलाई हरेक कुरामा रोकटोक गर्नुहुँदैन । उनीहरूलाई केही कुरा सम्झाउनैपर्ने छ भने एकान्तमा प्रेमपूर्वक सम्झाउनुपर्छ ।साथीभाइका अगाडि गाली गर्ने, कराउने, झपार्ने काम गर्दा उनीहरू अटेरी हुनुका साथै उनीहरूमा अभिभावकप्रतिको प्रेम एवं सम्मानसमेत घट्दै जान्छ ।

    बालबालिकालाई बाल्यकालदेखि नै धन्यवाद र माफीका बारेमा राम्रोसँग बुझाउनुपर्छ । घरमा आएका पाहुनालाई यथोचित सम्मान गर्न सिकाउनुपर्छ ।

    कहिलेकाहीँ बालबालिकाको जिद्दीलाई पनि बुझिदिने प्रयास गर्नुपर्छ । उनीहरूको जिद्दीलाई स्वभाव नसम्झी बालसुलभताका रूपमा लिनुपर्छ । अभिभावकले होसियारी पूर्वकसम्हाल्न सके उनीहरूको यो स्वभावमा क्रमिक रूपमा कमी आउँछ ।

    कहिलेकाहीँ आफ्ना बालबालिकालाई पनि बोल्ने मौका दिनुपर्छ र उनीहरूका कुरा ध्यानपूर्वक सुनिदिनुपर्छ । आमनेपाली परिवारमा अभिभावक बोल्ने तथा बालबालिकाले सुन्ने चलन छ तर ठूलामान्छेले पनि बालबालिकाका कुरा सुनिदिनुपर्छ । बालबालिकाले स्वतन्त्रतापूर्वक आफ्ना कुरा व्यक्त गर्न पाए तथा अभिभावकले सुनिदिए भने उनीहरूलाई सही दिशानिर्देश गर्न सकिन्छ ।

    हिजोआज अभिभावक र बालबालिकाबीचको दूरी त्यति लामो छैन । उनीहरूको सम्बन्ध साथीको जस्तै भैसकेको छ तर यस्तो अवस्थामा एक निश्चित सीमा निर्धारण गर्नु आवश्यक हुन्छ ।

    अरूका बालबालिकासंँग आफ्ना बालबालिकाको तुलना गर्नुहुँदैन । यसले बालबालिकामा बडप्पन वा त्रासको भावना पैदा हुँदै जान्छ । यसका अतिरिक्तस्कुलमा धेरै अंक ल्याउने विद्यार्थीसँग आफ्ना बालबालिकाको तुलना गर्नुहुँदैन । हरेक बालबालिका व्यक्तिगत रूपमा फरक हुन्छन् । उनीहरूको क्षमतामाथि विश्वास गर्दै हौसला प्रदान गर्नु अभिभावकको कर्तव्य हो ।

    बालबालिकालाई जिम्मेवार र अनुशासित बनाउन सर्वप्रथम आफू अनुशासित हुनुपर्छ । अभिभावकको लापरबाहीको असर बालबालिकामा छिट्टै पर्छ र उनीहरू आफ्नो मनोमानी गर्दै जान्छन् ।

    बालबालिकालाई आफ्नो पारिवारिक झगडा एवं मनमुटावको हिस्सा बनाउनुहुँदैन ।

 

    बालबालिकासँग बढी अपेक्षा गर्नुहुँदैन । प्राय: अभिभावक आफ्ना अधूरा महत्वाकांक्षा तथा पूरा हुन नसकेका सपनाहरू आफ्ना बालबालिकामा लाद्न खोज्छन् । यसले बालबालिकालाई कुण्ठित बनाउँछ र उनीहरूले आफ्ना इच्छा मार्न थाल्छन् ।

    बालबालिकाका अगाडि गालीगलौज वा अपशब्द प्रयोग गर्नुहुँदैन । उनीहरूका अगाडि झूटो पनि बोल्नुहुँदैन ।

    आफ्ना बालबालिकाका लागि समय निकाल्नुपर्छ, उनीहरूको माग र आवश्यकताका बारेमा गम्भीर भएर सोच्नुपर्छ । बालबालिकाको दिनचर्या एवं उनीहरूको व्यक्तिगत विकासमा सामेल हुनु उनीहरूको सम्पूर्ण विकासमा सहयोग पुर्‍याउनु हो ।

    कुनै पारिवारिक जमघट, विवाह, व्रतबन्ध, पास्नी आदि कार्यक्रममा बालबालिकालाई सँगै लानुपर्छ । यसले बालबालिकालाई सामाजिक हुन त सघाउंँछ नै साथसाथै आफ्ना रीतिरिवाज एवं परम्पराका बारेमा पनि थुप्रै जानकारी प्रदान गर्छ ।

    बालबालिकाको मनभित्र कुनै जिज्ञासा

वा प्रश्न छ भने हप्काएर चुप लगाउनुहुँदैन । समझदारीपूर्वक प्रश्नको उत्तर दिएर उनीहरूको मन शान्त बनाउने प्रयास गर्नुपर्छ ।

    कतिपय अभिभावक आफ्ना बालबालिकालाईयति धेरै स्वतन्त्रता दिन्छन् कि उनीहरू लापरबाह बन्दै जान्छन् । कुनै पनि प्रकारको अंकुश नलगाउँंदा बालबालिकाहरू बिग्रने डर हुन्छ ।

    बालबालिकालाई आत्मनिर्भर बन्न सिकाउनुपर्छ । कतिपय अभिभावक आफ्ना बालबालिकालाई यति धेरै माया गर्छन् कि त्यसैले उनीहरूलाई परनिर्भर बनाइदिन्छ । बालबालिकाले बिगारेका खेलौना, भुइँमा छरेकाकलर पेन्सिल, छरपष्ट पारेका खेलौनाहरू उनीहरू आफैलाई मिलाउन दिनुपर्छ । त्यसो गर्दा उनीहरू बाल्यकालदेखि नै आत्मनिर्भरतर्फ अग्रसर हुन्छन् ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्