फूलको थुंगाजस्तै हलुङ्गो महसुस

  • सुशीला कार्की सुवेदी, पूर्व प्रधानन्यायाधीश

लक्ष्मी भण्डारी थापा

पुस २०, २०७४नेपाली न्यायपालिकाकै इतिहासमा प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्की छोटो समयमै विवाद, विचार एवं सकारात्मक सक्रियताको चरम उचाइमा पुगिन् । ३१ वर्षपूर्व विभिन्न जिल्ला तथा अञ्चल अदालतमा दिनभरिको बाटो हिँडेर जुत्ता–चप्पल फटाउँदै वकालत पेसामा खर्चिएको समयसँग तुलना गर्दा १ वर्षे प्रधानन्यायाधीश पद उनका लागि भारी साबित भयो । त्यसको कारण थियो–न्यायका पक्षमा अडिग रही घूसखोरी एवं भ्रष्टाचारलाई न्यूनीकरण गर्ने प्रयास ।

बुझ्ने भैसकेपछि संसारका जुनसुकै कुनामा गएर जे पनि गर्न सकिन्छ र लोभलालचमा पर्नु हुँदैन भन्ने चेतना आफूमा आइसकेको बताउने कार्की महिलाको क्षमता प्रमाणित गर्न आफू पदमा रहँदा सक्रिय भएर लागेको कुरा बताउन पनि हिचकिचाउँदिनन् ।

पुर्‍याएकै हो, खोइ त के गरे महिलाले त्यहाँ पुगेर ? भन्ने नजिर बस्ला भनेर चुनौतीका अगाडि नडगमगाई लड्ने–भिड्ने काम गरें–कार्की भन्छिन्–ममा कहिल्यै लोभ–लालच उत्पन्न भएन, म कुनै पार्टीको मान्छे थिइन र हुन्न पनि, म स्वतन्त्र रूपमा न्याय हाँक्ने हेतुले त्यहाँपुगेकी हुँ । म नियम–कानुनभन्दा बाहिर जान चाहिन । त्यो उनीहरूलाई पचेन अनि महाभियोग लगाए ।

सुशीलाकै शब्दमा वर्ष दिनपछि अदालतको निस्सासिँदो चक्रब्यूहबाट बाहिर निस्कँदा उनलाई फूलको थुंगाजस्तै हलुङ्गो महसुस भयो । विराटनगर शंकरपुरमा वि.सं. २००९ सालमा जन्मिएकी सुशीला कार्कीका २–२ जना बहिनी तथा भाइ छन् । उनका बुवा स्व. डिल्लीबहादुर कार्की छोरी न्यायाधीश बनेको हेर्न चाहन्थे । उनकी आमा लीलादेवी कार्की सधै उनको विश्वासमा अडिग रहिन् । त्रि.वि. बाट स्नातक कार्कीले बनारस हिन्दू विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरेकी छिन् । न्यायपालिकाभित्र शक्ति सन्तुलनको सिद्धान्त (चेक एन्ड ब्यालेन्स अथवा ब्यालेन्स अफ पावर) लाई नजिकबाट बुझेकी कार्की कार्यपालिकाले न्यायपालिकामाथि हस्तक्षेप गर्दा न्यायपालिका सक्रिय देखिन पुगेको बताउँछिन् ।

उनका अनुसार राज्यका तीन अंग कार्यपालिका, न्यायपालिका तथा व्यवस्थापिकाका फरक–फरक काम एवं जिम्मेवारी हुन्छन्, त्यसमा कसैले कसैलाई हस्तक्षेप गर्न मिल्दैन । संविधानको संरक्षण गर्नु, फैसला र कार्यान्वयन गर्नु, अनुगमन गर्नु तथा आन्तरिक प्रशासन न्यायपूर्ण तवरले सन्तुलनमा राख्नु न्यायपालिकाको काम–कर्तव्य एवं अधिकार भित्र पर्छन् । न्यायप्रमुख असल, इमान्दार, योग्य तथा विज्ञ पर्‍यो भने न्यायपालिकाका ९० प्रतिशत समस्या समाधान हुने कार्कीको भनाई छ ।

वि.सं.२०३५ सालदेखि विराटनगरबाट वकालत पेसा सुरु गरेकी सुशीला त्यतिबेला २४ वर्षकी थिइन् । पूर्व विराटनगर, मोरङ, धरान, सुनसरी जिल्ला तथा अञ्चल अदालत मात्र होइन कयौं दिन जंगलको बाटो पैदल हिँडेर उनी धनकुटा पूर्वाञ्चल क्षेत्रीय अदालतसम्म वकालत गर्न पुग्थिन् । वि.सं. २०६१ सालमा बरिष्ठ अधिवक्ताको लाइसेन्स प्राप्त गरेकी कार्की ६५ माघ ९ गते सर्वोच्चको न्यायाधीश नियुक्त भएकी हुन् । वि.सं. २०७३ वैशाख १ गते का.मु. प्रधानन्यायाधीश तथा त्यसपछि प्रधानन्यायाधीशको पद सम्हाल्न थालेकी कार्की विरूद्ध तत्कालीन सरकारले महाभियोग लगाएको थियो ।

०७३ वैशाख १ देखि ०७४ वैशाख २४ गतेसम्म तोकिएको कार्यकालका बीच महाभियोगलगायतका अन्य थुप्रै चुनौती सामना गरेकी कार्की छोटो समयका कारण आफूले भनेजस्तो उपलब्धिमूलक कार्य गर्न नसकेको बताउँछिन् । राजनीतिलाई फोहोरी खेलका रूपमा बुझेको बताउने सुशीला ३३ वर्षको उमेरमा तत्कालीन प्रजातान्त्रिक आन्दोलनका भूमिगत योद्धा दुर्गा सुवेदीसँग वैवाहिक जीवनमा बाँधिएकी थिइन् । उनीहरूका एक छोरा (प्रशान्त सुवेदी) छन् ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्