महिलामाथि हुने हिंसाको अन्त्य सम्भव होला ?

डा.नम्रता पाण्डे

पुस १०, २०७४ 

प्रत्येक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म १६ दिने महिला हिंसाविरुद्धको अभियान चलाइन्छ । यो वर्ष पनि ‘महिलामाथि हुने हिंसाको अन्त्य गरौं : कोही महिला पछाडि नपरून्’ भन्ने नाराका साथ यो अभियानलाई निरन्तरता दिइादैछ । विश्वमा आजभन्दा झन्डै ६० वर्ष पहिले ल्याटिन अमेरिकाको डोमेनिकन गणराज्यका मिरावल परिवारका तीन दिदीबहिनी (पेट्रिया, मिनर्मो र मारिया) को तत्कालीन निरंकुश तानाशाही सरकारले निर्मम हत्या गरेको विरोधमा त्यहाँका जनताले नोभेम्बर २५ लाई लिङ्गका आधारमा महिलाविरुद्ध गरिएको राजनीतिक हिंसाको विरोध गर्ने दिवसका रूपमा मनाउन थालेका हुन् । सन् १९९९ डिसेम्बर १७ मा संयुक्त राष्ट्र संघ महासभाले २५ नोभेम्बरलाई अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । त्यसयता हरेक वर्षको २५ नोभेम्बरका दिन विश्वभर महिला हिंसाविरुद्ध दिवस मनाइन्छ ।

प्रत्येक वर्ष महिला हिंसाविरूद्धको अभियानलाई महिला अधिकारकर्मीले भव्यरूपमा मनाए पनि र सरकारले विभिन्न प्रतिबद्धता जाहेर गरे पनि महिला हिंसाको अवस्था भने जस्ताका तस्तै छ । कसरी होला त महिला हिंसाको अन्त्य ? यो प्रश्नको उत्तर नारा र अभियानमा भन्दा हिंसामा उत्रने व्यक्तिको मनोविज्ञानमा खोजिनु जरुरी छ ।

निम्नस्तरीय सोचको अन्त्य जरुरी : कसैलाई चोट नपुर्‍याई आफू खुसी हुन नसक्नु सामान्य अर्थमा हिंसा हो । यही सामान्य अर्थमा विशाल वास्तविकता लुकेको छ । कसले गर्छ महिलामाथि हिंसा ? पुरुषले ? के पुरुष प्रवृत्ति भनेको हिंसात्मक प्रवृत्ति हो ? अवश्य होइन । आदरभाव, प्रेमपूर्ण भाव, सहनशीलताजस्ता गुण दिएको छ प्रकृतिले महिलालाई, जुन गुणमाथि पुरुषले कदापि हिंसा गर्न सक्दैन । जब ऊ हिंसामा उत्रिन्छ भने उसले मनुष्यको स्वभावबाट हटेर राक्षसी प्रवृत्ति अपनाएको हुन्छ । कुनै पनि देश, धर्म, संस्कृति वा भाषामा महिलामाथि अन्याय गर्नु भनिएको छैन । महिलाप्रतिको आदरभाव र प्रेमले नै यो संसारको, मनुष्यको सृष्टि भएको हो । पुरुषको, मनुष्य जातिको उद्गम महिलाबाट भएको हो । आमा, जननी, मातृत्वबाट भएको हो । पुरुषले आफ्नो उद्गम बिर्सिएपछि के हुन्छ ? उसले बाटो बिराउाछ, विवेक गुमाउाछ अनि प्रेमको साटो हिंसा गर्न तत्पर हुन्छ । महिला, जननी, मातृत्व जसको सृष्टिले जीवन दियो । जीवनमा प्रेम पैदा गर्‍यो, जीवनलाई रूपान्तरण गरायो आमाको रूपबाट, दिदीबहिनी एवं जीवनसंगिनीका रूपबाट ।

के महिलाविनाको संसारको कल्पना गर्न सकिन्छ ? खाली कागज स्वरूपको पुरुषको जीवनमा महिलाको आगमनपछि मात्र कविता कोरिन्छ, पुरुषको जीवनमा प्रेरणा थपिन्छ । यसका लागि बाहिरी शिक्षा र चेतनाले मात्र पुग्दो रहेनछ भन्ने उदाहरण बढ्दै गएका महिला हिंसाका उदाहरणले बताउँछन् । मनुष्यको आन्तरिक चेतनामा बाहिरबाट परिवर्तन आउँदैन । जति शैक्षिक स्तर बढ्दै गयो, आधुनिकताले स्थान लिँदै गयो त्यति हिंसाको प्रकृति फरक हुनुका साथै त्यसको संख्या बढ्दै गएको छ ।

चेतना जागरणको अभियान जरुरी : सुन्दा नै कहाली लाग्ने घटनाहरू दिन प्रतिदिन घटिरहेका छन् । ३ देखि ६ वर्षका नाबालकदेखि, किशोरीहरू अनि वृद्ध महिलासम्म हिंसामा परेका घटनाले कसको भावनामा चोट पुगेको छैन र ? एकछिन याद गरौं ३ वर्षीया, ६ वर्षीया आफ्नी छोरीको, जो साँझ परेपछि घरबाहिर निस्कन डराएर आमाबाबाको हात समातेको । एकछिन याद गरौं आफ्नी सानी छोरी स्कुल जाँदा डराएर पुर्‍याउन आमाबाबा सँगै जानुपरेको । याद गराँै हाम्री छोरी पल्लो कोठामा एक्लै सुत्न नसकेर आमा भन्दै दौडँदै आएको । आज ती कलिला नानीहरू दानवको सिकार भएका छन् । स्कुल गैरहेका नानीहरू, कलेज पढ्ने हाम्रा बहिनी वा छोरीहरू, हाम्रा आमा, दिदी–बहिनीहरू आफ्नै भाइ, छोराहरूजस्ता दानवबाट बलात्कारदेखि लिएर विभिन्न मानसिक सिकारमा परेका छन् । राजनीतिमा पुरुष प्रवृत्तिलाई चित्त बुझाउन सक्ने महिलाले मात्र स्थान पाएका घटना सामान्य हुन थालेका छन् ।

शारीरिक, मानसिक, आर्थिक, राजनीतिकलगायत अनेकौं रूप छन् महिला हिंसाका । किनभने हिंसाको कारणलाई मनोविज्ञानमा खोजिएन । हिंसाको कारणलाई अज्ञानतामा खोजिएन र हिंसाको कारणलाई चेतनाको स्तरबाट हेरिएन । रोगको उपचार हुन रोग पहिचान हुनुपरेजस्तै हिंसाको अन्त्य हुन मानिसको चेतना जागरण, शिक्षित एवं सभ्य समाजको परिकल्पनामा जोड दिइएन । महिला हिंसाविरुद्धको अभियानलाई बर्सेनि पर्वका रूपमा मनाएर मात्र हुँदैन । सहरी क्षेत्रमा, पहुाचवाला वर्गमा मात्र यो अभियान चलाउनुको अर्थ छैन । असभ्य, अशिक्षित समाज तथा पिछडिएका महिलाहरूलाई शिक्षाद्वारा सशक्तीकरण गर्न सके मात्र हिंसा कम हुँदै जानसक्छ । हामी कसैले आवाज उठाउादैमा पीडित महिलाको पीडा शान्त हुने वा घट्ने होइन । पीडित महिलाले आफ्नो आवाज आफैं उठाउन सक्ने अवस्थाको सिर्जना गरिदिनु महिला अधिकारकर्मीको दायित्व एवं भूमिका हो ।

कडा कारबाहीका लागि कानुनमै व्यवस्था हुनुपर्ने : मानिस जस्तो विवेक र प्रेम भएको प्राणीलाई कानुनको दायरामा ल्याएर चेताउनुपर्ने अवस्था लाजमर्दो र कठोर हो तर मानवताबाट हटेको व्यक्तिमात्र हिंसामा उत्रिने भएकाले उसका विरुद्ध कडा कारबाहीका लागि कानुनमै व्यवस्था हुनु जरुरी छ । अति र ज्यादती गर्ने हिंस्रकहरू पनि राजनीतिक आडमा छुट्ने, कतिपय प्रलोभन र धम्की देखाएर

दोष मुक्त हुने प्रचलन छ हाम्रो समाजमा । अमेरिका तथा युरोपका केही देश अनि एसियाका कतिपय मुलुकमा समेत मृत्युदण्डको कानुन बनिसकेको छ जुन अब हाम्रो देशमा पनि जरुरी भैसकेको छ । होइन भने कसले, कसरी ती पीडित पक्षको ऋण तिर्न सक्छ ? ३–६ वर्षीया बालिकामाथिको हिंसाको मूल्य कसरी चुक्ता हुन्छ ? हाम्रा दिदीबहिनी तथा आमाहरूमाथिको हिंसाको मूल्य कसरी, कसले चुक्ता गर्न सक्छ ? हाम्रा महिला तथा बालबालिकामाथिको हिंसा अन्त्य हुनु जरुरी छ । ढिला गरेर, कार्यान्वयनको सान्त्वना दिएर बस्ने समय छैन । जनताको चाहनाअनुरूप देशलाई कडा कानुन आवश्यक भैसकेको छ ।

अहिंसा स्वभावको बोधका लागि आध्यात्मिक ज्ञानको जरुरी : मानिसलाई हिंसाकै कारणले दण्ड–सजाय तोक्नुअघि आध्यात्मिक जागरण र चेतनाको स्तरबाट सुधार्न सके उनीहरू दण्डित हुनबाट जोगिन्थे कि ? कानले सुन्नै नसक्ने र आाखाले देख्नै नसक्ने प्रकृतिका घटनाहरू अर्थात् बोक्सीको आरोपमा मलमूत्र ख्वाउनु, कुटपिट गर्नु, आँखा फोड्नु, ज्युँदै जलाउनु, झाँक्रीको बहानामा आगोले पोल्नु, डाम्नु आदि अमानवीय कार्य महिला हिंसाका चरम रूप हुन् ।

समाजमा अभिशापका रूपमा दाइजोका कारण हजारौं महिला हिंसाको सिकार भएका छन् । तराई, मधेस, पहाड, उपत्यका जताततै यस्ता हिंसाका घटना भैरहेको पाइन्छ । दाइजोका कारण यस्ता हृदयविदारक घटना दिनप्रतिदिन घटिरहेका छन् । एक दशकयता भएका दाइजो विरोधी विभिन्न अभियानले यसबाट हुने हिंसामा खासै कमी ल्याउन सकेको छैन । त्यसैले कतिपय चेलीले बेचिनुपरेको छ भने कतिपय पति र परिवारको ज्यादतीका कारण सन्तानसमेत छोडी घरवारविहीन हुनुपरेको छ । कतिपय हत्या र आत्महत्याको सिकार समेत भएका छन् । त्यस्तै कतिपय चेलीले विवाहपछि पनि माइतीकै आश्रयमा बाँच्नुपरेको छ ।

यौन शोषण र महिला हिंसा आफ्नै परिवारबाट हुने जस्ता पत्यार नै गर्न नसकिने घटना पनि नेपाली समाजमा भएका देखिन्छन् । बालविवाह, बहुविवाह, अनमेल विवाह, गाली बेइज्जती, अपमान, मानसिक यातनाजस्ता हिंसा एवं जघन्य अपराधका घटना पनि महिलामाथि नै हुने गरेका छन् । महिला हिंसा दिवस मनाइरहेको अवस्थामा पनि सहरदेखि गाउँसम्मका महिला कुनै न कुनै हिंसाको सिकार भएका खबर आइरहन्छन् । यी सबै घटना पुरुषको घमण्ड र पुरुषको सम्मान जोगाउने नाममा अनि पुरुष प्रधान समाज कायम राख्न खोज्ने अमानवीय प्रवृत्तिका कारण मात्र बारम्बार दोहोरिरहेका छन् ।

समाजमा घट्ने यस्ता हिंसाका कारणहरू मनुष्यको चेतनामा खोज्नु जरुरी छ । मनुष्यको मनोविज्ञान भित्र खोजिनु जरुरी छ । त्यो भित्रको पीडा ठीक पार्न, भित्रको प्रेम जगाउन, भित्रको अहिंसाको स्वभावको बोधका लागि थोरै मात्रामा भए पनि आध्यात्मिक ज्ञान आवश्यक छ । जुन आध्यात्मिक ज्ञान मनुष्यको स्वभाव हो त्यो जन्मदै मनुष्यले लिएर आएको गुण हो । अध्यात्मले प्रेमको मार्ग मात्र प्रस्तुत गर्छ । आफ्नो स्वभावमा बााच्न सिकाउाछ, स्वस्फुर्त मनुष्य आफ्नो उद्गम तथा आफ्नो स्वभावमा फर्कन्छ । भित्री चेतना खुलेको मनुष्य समाजले मात्र अहिंसात्मक क्रान्ति गर्नसक्छ जुन महिला हिंसाविरुद्धको तथाकथित कागजी वा कानुनी अभियानभन्दा उच्च गुणको क्रान्ति हुनसक्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्