मातृत्वको भोक

  • साहित्य

डा. टीकाराम पोखरेल

पुस ६, २०७४

हो, म विवाहित हिन्दू नारी हुँ । म पतिव्रता पनि हुँ । पतिबाहेक म अरू पुरुषको कल्पना पनि गर्न सक्दिन ।

म कसैकी पत्नी हुँ । यो समाजले मलाई मेरो पति अशोककी धर्मपत्नी, अर्धाङ्गिनी, जीवनसाथी भन्छ । तर म कसैकी पत्नी मात्र होइन, कसैकी आमा पनि हुन चाहन्छु आमा तर म आमा हुन सकिन । सकिन होइन, कसैले मलाई आमा बनाउन सकेन । हो, मलाई आमा बनाउन मेरो पति सक्षम छैन ।

मानव जाति प्रकृतिको सिर्जना हो । जसरी मलाई प्रकृतिले आमाबाट जन्मायो त्यसैगरी आमा बन्न पाउनु मेरो पनि प्राकृतिक अधिकार हो । मेरो यो प्राकृतिक अधिकार प्राप्तिका लागि मलाई पुरुषको साथ चाहिन्छ तर मेरो पतिले मलाई त्यो साथ दिन सकेन । साथ दिन नचाहेर होइन, साथ दिने क्षमता नै छैन ऊसँग । उसलाई डाक्टरले तिमीबाट सन्तान हुँदैन भनिसकेका छन् । सन्तान जन्माउने मामिलामा दुर्बल

छ अशोक ।

उफ ! विवाह भएको पनि दस वर्ष बितिसक्यो । विगत दस वर्षदेखि म आमा हुन पाउने आफ्नो इच्छालाई कुल्चेर बाँचेकी छु । म बाँझो जमिन भएकी छु । उब्जनी नै नहुने जमिन भए जमिनले चित्त बुझाउँथ्यो, तर यहाँ त जमिन ऊर्वर छ, खोट छ त केवल बीजमा । जमिनलाई चाहिने बीजमै खोट भएपछि के लाग्यो । कस्तो विडम्बना । उफ ......!



बबिताले यस्तै सोच्दै दिन बिताएको धेरै वर्ष भैसकेको छ । मनमा दिनहुँ उब्जने यस्ता भावनाले उसलाई उथलपुथल तुल्याउँछ । आज पनि रात धेरै बितिसकेको छ, तर उसलाई निद्रा लागेको छैन । आज मात्र हो र ? यस्ता कयौं रात उसले निद्राविहीन बिताएकी छ, छटपटीलाई अँगालो हालेर ।

उसको श्रीमान अशोक उसको छेउमा पल्टिरहेको छ बेडमा । बबिता मूढोझैं पल्टिरहेको श्रीमान्लाई एकटकले हेर्छे । छेउमा लोग्ने देख्दा बबितामा पहिले–पहिले ऊर्जा आउँथ्यो । हिजोआज हीनताबोध पलाउँछ । सोच्छे–मेरो पति जवान छ, हट्टाकट्टा र खाइलाग्दो छ तर बाँझो बारी आवाद गर्न नसक्ने जवान के काम ? उसका पाँसुलाको के काम, उसको खाइलाग्दो शरीर मेरा लागि कुनै कामको छैन । ढुंगा बराबर । बबितालाई सन्तान दिनसक्ने पुरुष चाहिएको छ ।

अशोक बबितालाई माया गर्छ । अनेकौं सामान किनेर ल्याइदिन्छ । इच्छाहरू पूरा गरिदिने प्रयास गर्छ तर अरु सबै इच्छा बबिताका लागि गौण छन् । मातृत्व भोकका आगाडि अशोकले दिएको माया बबितालाई फिक्का लाग्न थालेका छन् । उसको मुख्य इच्छाका लागि त्यो पुरुष काम लाग्दैन । जेका लागि काम लाग्दैन त्यही नभएपछि त्यो सामानको के काम ? मायाका शब्दहरूले मात्र के गर्नु ?



बबिता आफैंलाई प्रश्न गर्छे–‘के मेरो लोग्नेसँग मलाई सन्तान दिने क्षमता छैन भन्दैमा म मातृत्वको हकदार छैन ? यसमा समाज किन बाधक बनिदिन्छ ? कानुनमा खोइ समान अधिकार ? मबाट शिशु नभएको भए १० वर्षपछि मेरो श्रीमान्ले बाजा बजाएर अर्को विवाह गर्न पाउँथ्यो । मेरै अगाडि । मलाई चाहिँ मेरै श्रीमान्को अगाडि अर्को पुरुषसँग सम्बन्ध जोड्ने अधिकार खोइ? कस्तो एकपक्षीय कानुन ? समाज पनि किन यतिविघ्न कठोर ? पुरुषलाई छुट महिलालाई बन्धन कहाँको धर्म, रीति, परम्परा, मान्यता हो यो ? मेरो पति दुर्बल छ, तर मलाई त प्रकृतिले आमा बन्न अवरोध गरेको छैन । सन्तान जन्माउने अधिकार मेरो, तर अवरोध अरूको किन ? किन ममाथि सामाजिक बन्धनहरू छन् ?

मेरो लोग्नेको वीर्य मेरो मातृत्व इच्छा पूरा गर्न मलाई काम लाग्दैन भने त्यो मेरो कसरी हुन्छ ? जो–जसले मेरो इच्छा पूरा गर्छ, जुन वीर्य मलाई काम लाग्छ त्यो पो मेरो हुन्छ । यो समाजमा के मैले आफूलाई काम लाग्ने वीर्य खोज्ने हक पाउँदिन ? प्रकृतिले कहाँ लेखेको छ त्यस्तो ? होइन भने प्रकृतिविपरीत संस्कृति र परम्परा चलाउने अधिकार कसले दियो मानिसलाई ? प्रकृतिविपरीतका कानुन बनाउने अधिकार कसले दियो दुनियाँलाई ?

म अब विद्रोह गर्छु । म समाजसँग विद्रोह गर्छु । म कानुनसँग विद्रोह गर्छु । म ईश्वरसँग न्याय माग्छु । म प्रकृतिसँग गुहार माग्छु । बबिता आवेगमा आउँछे तर अनायास सम्झन्छे–धरातल । हो, आफूले टेकेको धरातल । धरातलले झस्काउँछ उसलाई अनि चकनाचुर हुन्छन् उसका सपना फेरि एकपटक ।



ओहो † मैले यस्तो अराजक कुरा गर्न सुहाउँदैन । म त हिन्दू नारी पो त ।

सन्तानहीन मजस्ता नारी कति छन् कति ? सानैमा विधवा भएर जीवनभर एक्लै बसेका, सन्तान भएर पनि सन्तान नबाँचेका धेरै नारीहरू सम्झन्छे ऊ । केही क्षण चित्त बुझाउँछे । ऊ दृढ हुन्छे, मैले आफ्नो मातृत्व भोक दबाउनुपर्छ । समाजमा यस्तो अपवित्र इच्छा राखेर मैले समाजलाई के चुनौती दिनु ? मेरो यो भोक समाजले थाहा पायो भने मलाई उत्ताउली भन्छ । म यो भोक दबाउँछु । मेरो पति खोटो हुनु मेरो कर्मको पनि त दोष होला नि । फेरि अशोकले मलाई आमा बनाउन नचाहेको पनि त कहाँ हो र ? तर उसमा त्यो गुणै छैन भने विचराले के गरोस् ?बबिता आफ्नो मनलाई थुमथुम्याउँछे । भो म समाजमा कलंक बन्न चाहन्न । म आफ्नो सतीत्वमा दाग लगाउँदिन ।



फेरि एक्कासि मातृत्व जागेर आउँछ उसमा ।

मनमनै भन्छे–होइन, ममा मातृत्वको भोक छ भोक । यो भोकमा म मीठो भोजन गर्न चाहन्छु । भोकमा भोजन गर्नु के पाप ? भोक लाग्नु पाप होइन भने भोजन गर्नु कसरी पाप हुन्छ ? भोक र भोजन दुवै प्रकृतिका सिर्जना हुन् । म अप्राकृतिक काम गर्दै त छैन नि । मेरो इच्छा सृष्टिको विपरीत पनि त छैन ?

बेडमा निदाइरहेको लोग्नेलाई फेरि हेर्छे । सायद अशोकमा पनि त पितृभोक होला नि मलाई जस्तै । पितृभोक र मातृभोकको तुलना गर्छे तर उसलाई भोक तुलना गर्ने कुरा होइन जस्तो लाग्छ । संसारमा भोक पनि आफ्नै खालका छन् । कसैको तीव्र कसैका सामान्य ।

उफ के गर्नु । सन्तान जन्माउन पुरुष नभै नहुने । पुरुषसँग यौन सम्पर्क राख्नुपर्ने । खोइ सन्तान जन्माउने अर्को बाटो ? बबिता नारी र पुरुषका उत्ताउला यौन सहवासहरू सम्झन्छे । नारी र पुरुषका यौन कर्तुतका कथाहरू झलझली उसका अगाडि नाच्न थाल्छन् ।

जताततै यौन सम्पर्क राख्दै बग्रेल्ती शिशु जन्माउँदै हिँड्ने कुन शिशु कसका हुन् भन्ने थाहा नपाउनेदेखि लिएर अवैध शिशु जन्माएर जिउँदै बोरामा कोचेर खोलामा फाल्ने आमाहरू सम्झन्छे । धत्, कस्ता–कस्ता आमा ? एकछिन त आमा शब्दसँगै वितृष्णा लाग्छ उसलाई । भो आमा पवित्र मात्र हुँदैन रहेछन्, कलंकित पनि हँुदारहेछन् । भो म अब आमा बन्ने भोक त्याग्छु । मनलाई दह्रो बनाउँछु । फेरि मन मान्दैन । परपुरुष संसर्ग गर्ने नारीलाई यो समाजले कलंकिनी भनेको सम्झन्छे । ऊ कलंकिनी हुन तयार छे मातृत्वका लागि । किनभने ऊ यौनका लागि होइन, मातृत्वका लागि पुरुष चाहन्छे ।



ओहो कस्तो विडम्बना यौनको भोक भए ऊ दबाउन सक्थी । भलै दबाउन सकिन भने यौन सन्तुष्टिका लागि अनेक कृत्रिम साधन प्रयोग गर्न सक्थी । आफ्नो पतिको अंग काम नलागे ऊ कृत्रिम अंगको सहारा लिन्थी तर के गर्नु, कृत्रिम साधनहरूले मातृत्वको भोक मेटाउँदैनन् ? यौन भोक मेटाउने कृत्रिम अंगहरू बन्ने तर खोइ मातृत्व भोक मेट्ने कृत्रिम अंग बनेका ? ऊ आधुनिक विज्ञानको उपहास गर्छे ।

मलाई लोग्ने होइन लोग्नेमान्छे चाहिएको छ । मलाई यौन आनन्द दिने लोग्ने होइन, कोख भरिदिने लोग्नेमान्छे चाहिएको छ । मसँग लोग्ने छ, तर लोग्नेमान्छे छैन । के मेरा लागि संसारका सबै लोग्नेमान्छे मरेका हुन् ? ऊ विद्रोही बन्छे ।

हो, म अब समाजसँग विद्रोह गर्छु । म यो समाजको अगाडि मातृत्वका लागि विद्रोह गर्छु । नारी अस्तित्वका लागि विद्रोह गर्छु । म आफ्नो अस्तित्वका लागि आफैंलाई लुटाउँछु । हो म अब आफूलाई लुटाउँछु । को तयार छ मलाई लुट्न ? ए पुरुषहरू हो † मेरो मातृभोक मेटिदिन कोही तयार छौ ?तयार छौ कोही ? उसका मनका व्यथाहरू एक्कासि बाहिर आउन खोज्छन् । ऊ मुख बन्द गर्छे र निसासिन्छे आफै, उफ....!

मैले किन विद्रोह गर्ने ? मैले मातृत्वको इच्छा राखेर कुन चाहिँ क्रान्ति गर्न खोजेकी हुँ? यो मेरो विद्रोह होइन, यो त नारी धर्मको रक्षा हो । यो नारीले गर्नुपर्ने सृष्टिको निरन्तरता हो । चाहे जोसुकैबाट होस् सन्तान जन्माउनु नारीको धर्म हो । यही आर्य परम्परामा पौराणिक कथाहरूमा त सन्तान जन्माउने कुरा पतिबाट मात्र भनिएको छैन त ? परासेचन प्रक्रियाबाट धेरैको गर्भाधान भएको छ ।

बबिता पौराणिक कथातिर पुग्छे । ओहो ! इन्द्रका ती अप्सराहरू । मनुका कथाहरू । महाभारतका ठेलीका ती कथाहरू । गंगापुत्र भीष्म कस्तो प्रकारका नारी–पुरुष सम्बन्धबाट यो धर्तीमा आए ? धृतराष्ट्र र पाण्डु कसरी जन्मिए? विदुर दासीपुत्र कहलिए । कुन्तीबाट कर्णको जन्म कसरी भयो ? के कुन्तीका कोखबाट जन्मिएका पाण्डव र कर्णका पिता एउटै थिए? तर कुन्तीफेरि कसरी सबैकी मान्य भइन् ? कुन्ती अनैतिक कहलिइनन् त ? कृष्णका कति थिए रानीहरू ? द्रौपदी पाँच पुरुषकी साझा कसरी कहलिइन् ? तर यी किन सबै सम्मानित छन् ? अनि म मातृत्व भोक मेटाउन आफ्नो पतिबाहेक कुनै पुरुषलाई अंगाल्छु भने कसरी कलंकित हुन्छु ?

 मलाई आमा बन्न कुन कानुनले छेक्ने हो ? मजस्ता आमा हुन चाहनेहरूको स्वीकृतिविना कानुन बनाउने कुन पुरुष हो ? मेरा लागि कानुन कसले बनाउने मैले कि अरुले ?

महिला अधिकारको कुरा पनि सुनेकी छु मैले । अधिकारका नाममा धेरै भाषण सुनेकी छु अनि अधिकार र अनुशासनको कुरा पनि सुनेकी छु । के मेरो अधिकारको उपभोगमा अनुशासन भङ्ग हुन्छ ? मेरो आमा हुने अधिकारमा अनुशासनको अंकुश कसरी थोपर्न मिल्छ ? अब मलाई कुनै पनि अंकुशले छेक्न सक्दैन । कसैले मलाई रोक्न सक्दैन । जब मलाई प्रकृतिले रोक्न सक्दैन भने कुनै मानवले मेरो अधिकार कसरी कुण्ठित गर्न सक्छ ? म दृढ छु । म अब यी वर्षजस्ता लाग्ने लामा रातहरू म मातृत्व लिएर छिचोल्न चाहन्छु । पट्यारलाग्दा दिनहरूमा म ममतामयी आमाका रूपमा प्रफुल्लित हुन चाहन्छु ।



अशोक खाना खाएर सधैझैं कार्यालय निस्कियो तर बबितालाई आज पनि खाना खान मन लागेन । उसलाई भातको भोक लाग्न छोडेको धेरै भएको थियो । जति मातृभोक बढ्दै गयो उति भातको भोक हट्दै गयो । अहिले ऊ मातृत्व भोकको चरममा छे । भातको भोक शून्य ।

गेटबाट लोग्ने निस्कने क्रममा उसले लोग्नेलाई हेयपूर्ण नजरले हेरी । जतिसुकै खाइलाग्दो देखिए पनि आफ्नो मातृभोक नमेटाउने उसको लोग्ने उसका लागि छिटो घरबाहिर गए नै बरु हीनताबोध कम हुन्थ्यो । बबितामा लोग्नेप्रतिको वितृष्णा चरम सीमामा उक्लियो ।

अशोक दृश्यबाट टाढा भएपछि बबिता पनि घरबाट बाहिर निस्की । गाउँ चकमन्न । कतै लोग्ने मानिसको उपस्थिति छैन । सबै काममा गएका छन् । एकाध घरमा महिला छन् जो उसलाई काम लाग्दैनन् । फटाफट चोकमा पुगी ।

चोकतिर भौतारिन थाली । बिजुली पसलमा बसिरहेको एकजना अधवैंसे युवकमा उसको आँखा गएर ठोक्कियो । सरासर उसको पसलमा गई । भनी–भाइ मेरो घरमा बत्ती बिग्रिएको छ । हेरिदेऊ न ।

युवकले भन्यो–अहिले पसलमा कोही छैन । पसल बन्द गर्नुभएन । बेलुका हेरिदिन्छु ।

बेलुका म घर हुन्न । अहिले नै हेरिदेऊ न । बरु पसल बन्द गर्दा तिमीलाई लाग्ने घाटा पनि म व्यहोरिदिउँला । अहिले नै हिँड न प्लिज ।

अतिरिक्त पारिश्रमिक पाउने भएपछि युवक जान तयार भयो । उसलाई सरासर घरमा लगी । ढोका खोली । युवकले बत्तीको स्वीच थिच्यो । बत्ती बलिरहेको थियो ।

यहाँ त बत्ती छ । कहाँ बिग्रियो ? युवकले सोध्यो ।

यहाँ होइन भित्र बेडरुममा बिग्रिएको छ–बबिताले भनी ।

बबिताले युवकलाई सरासर बेडरुममा लगी ।

त्यहाँ पनि स्वीच थिच्दा बत्ती बल्यो ।

यहाँ पनि ठीकै छ त बत्ती ? बिग्रिएको छैन त ?

बत्ती बिग्रिएको छैन, म बिग्रिएकी छु ।

युवकले कुरा बुझेन ।

के भन्नुभएको ? युवकले फेरि सोध्यो ।

युवकको प्रश्नको उत्तर दिनुको साटो बबिताले ढोका बन्द गरी । पर्दा लगाई अनि युवकप्रति याचनाको आँखाले हेर्न थाली । उसका आँखाले युवकसँग मातृत्वको भिख मागिरहेका थिए ।

बबिता विस्तारै युवकतर्फ बढी । दुई विपरीतलिंगी प्राणी बन्द कोठामा एक भए ।

युवक अक्क न बक्क भयो । के गरौं कसो गरौं अलमल्ल पर्‍यो ।

बबिताको कसिलो छाती, पोटिला गाला अनि रसिला ओठको स्पर्श युवकको शरीरमाथि पर्‍यो ।

आगोमा घिउ पग्लन्छ, प्रकृतिको नियम हो ।

युवक पनि पग्लियो ।

दुवैबीच प्राकृतिक लीला चल्यो ।

केही बेरमा दुवै रित्तिए ।

बाँझो जमिन सिंचन भयो, बीज रोपियो ।

युवक आफ्नो बाटो लाग्यो ।

बिरुवा अंकुरायो ।

बबिता अब महिना गन्न थाली ।

ठीक १० महिनामा यो धर्तीमा अर्को एउटा प्राणी थपियो । उसको परिवारमा एक सदस्यको आगमन भयो ।

बबिताको मातृत्वको भोक मेटियो ।

बबिता दङ्ग थिई ।

बबिताभन्दा बढी त अझ अशोक दङ्ग थियो । अशोक भन्दै थियो–आखिर डाक्टर पनि फेल खाए हगि बबिता । मबाट सन्तान हुँदैन भन्थे डाक्टरले भयो त । ल हेर त भगवान्को अगाडि चिकित्साशास्त्र पनि फेल हुँदोरहेछ । अपरम्पार छ भगवान्को लीला ।

हेर, नानीको नाकचाहिँ मेरो जस्तो अलि छैन । तिम्रो जस्तो हो कि ? कि मावलीतिरका हजुरबाको जस्तो हो ? बबिताको काखमा भएको शिशुतिर हेर्दै अशोकले बबितालाई भन्यो ।

बबिता केही बोलिन । मुसुक्क हाँसी मात्र । अनि मनमनै भनी–भगवान्को मात्र होइन अशोक मानवलीला पनि अपरम्पार छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्