बालबालिकामा अटिजम

डा. मेरिना श्रेष्ठ

मंसिर २०, २०७४ 

 

अटिजम कस्तो समस्या हो ?

अटिजम मस्तिष्कको बनावटमा हुने असन्तुलनका कारण उत्पन्न हुने जन्मजात समस्या हो । बालबालिकाले जन्मिएको १८ महिनादेखि २ वर्षभित्रमा आमा वा अभिभावकसँग कुनै पनि सञ्चार गर्न सकेनन् भने अटिजमको शंका गर्न सकिन्छ । बालबालिकाले उमेरअनुसारको गतिविधि गरेका छैनन् वा असामान्य व्यवहार देखाउँछन् भने अटिजम भएको हुनसक्छ । समयमै पहिचान गर्न सके त्यस्ता बालबालिकाको उचित व्यवस्थापन गर्न सकिन्छ । अटिजम स्नायु तथा नसाको विकासमा आउने र्‍हासले उत्पन्न हुने समस्या हो । यो जन्मजात नसा र तन्तुको विकासका क्रममा आएको असमानताको एउटा रूप हो । अटिजमलाई न्यूरो डेभलपमेन्ट डिसअर्डर भनिन्छ । अटिजम रोग नभएर मस्तिष्कको विशेष अवस्था हो ।

 

यो समस्या कसरी पहिचान गर्ने ?

अटिजममा बाहिरबाट हेर्दा कुनै रोग देखिँदैन । सामाजिक रूपमा घुलमिल हुन नसक्ने, कसैसँग कुरा गर्न गार्‍हो हुने, आँखा नजुधाउने, एक्लोपन रुचाउने, अरूलाई आफ्नो कुरा बुझाउन नसक्ने र आफूले पनि बुझ्न नसक्ने तथा एउटै कुरा दोहोर्‍याउने आदि हुन्छ । इन्द्रियहरूको उतारचढावका कारण अटिजम भएका बालबालिकाले वातावरण, व्यक्ति र वस्तुप्रति अलग किसिमको प्रतिक्रिया देखाउँछन् । बालबालिका जन्मिएदेखि लगभग डेढदेखि दुई वर्षसम्म प्रस्ट रूपमा यसका लक्षण चिन्न गार्‍हो हुन्छ । शारीरिक रूपमा धेरैजसो स्फुर्तिला देखिने यी बालबालिकाको भाषा विकास नभएको अभिभावकहरूले याद गर्छन् । धेरैजसो बालबालिकामा त स्कुल गएपछि मात्र यो समस्या पहिचान भएको पाइन्छ । अटिजम दुई प्रकारको हुन्छ, हाइपर र लो । हाइपर भए बालबालिकामा प्रकाश, गन्ध, स्वाद, वासनामा बढी संवेदनशील हुने र अत्यन्त कम हुने हुँदा ठूला सामान उठाउन सक्छन् भने साना सामान उठाउन सक्दैनन् ।

 

उपचार के हुनसक्छ ?

यो रोगको उपचार थेरापी नै हो । समयमै रोग पहिचान गरी विहेवियर थेरापी दिनु नै यसको महत्वपूर्ण उपचार हो । अटिजम भएका बालबालिकालाई सञ्चार गर्न, सामाजिक व्यवहार गर्न, विभिन्न थेरापी एवं खेलको माध्यम प्रयोग गर्न सकिन्छ । बालबालिकाका प्रथम गुरु नै अभिभावक हुन् । अभिभावकले नै उनीहरूसँग सबैभन्दा बढी समय बिताउने अवसर प्राप्त गर्छन् । त्यसैले यस्तो समस्या भएका बालबालिकाका अभिभावकले नै विहेवियर थेरापीको तालिम लिनु आवश्यक हुन्छ । उनीहरूले नै बालबालिकालाई घरका विभिन्न परिस्थितिमा, वातावरण सुहाउँदा खेल खेल्दै थेरापी दिनुपर्छ । यो आजीवन रहने समस्या हो । अटिजम भएकाहरू बौद्धिक रूपमा ठीक भए पनि यसको मूल समस्याका कारण आत्मनिर्भर भने हुन सक्दैनन् ।

नेपालमा यस्तो समस्या भएका बालबालिकाहरूको अवस्था के–कस्तो छ ?

अटिजम भएका बालबालिकाले उमेर पुग्दै गएपछि पनि आफ्नो उमेरका साथीसरह गतिविधि गर्न नसक्ने, गतिविधि गरे पनि एउटै गतिविधि धेरै गर्ने वा अत्यन्तै कम गर्ने जस्ता समस्या देखिन्छन् । यस्ता बालबालिकामा भाषाको विकास हुँदैन । नेपालमा अटिजम भएका सबै बालबालिकाको पहिचान नहुँदा अभिभावक तथा बालबालिका दुवै पीडित हुनुपरेको छ । पहिचान नहुँदा यस्ता समस्याले ग्रसित बालबालिकाहरू खोरमा, घरको कोठामा डोरीले बाँधिएर वा सिक्रीले बाँधिएर थुनिएको अवस्था छन् ।

ध्यान दिनुपर्ने कुरा समस्या पहिचान गरी परिवारले उनीहरूको व्यवस्थापनसम्बन्धी तालिम लिएपछि यस्ता बालबालिकाको उचित व्यवस्थापन गर्न सक्छन् । संगीत, आर्टस् थेरापीजस्ता क्रियाकलापबाट उनीहरूको क्षमता अभिवृद्धि गर्न सकिन्छ । यो समस्या पूर्णरूपमा समाधान नभए पनि केही रूपमा भए पनि सहजीकरण भने हुन्छ ।

डा. मेरिना श्रेष्ठ, बाल रोग विशेषज्ञ,

त्रिभुवन विश्वविद्यालय, टिचिङ हस्पिटल

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्