स्मार्ट र युनिक पहिरनका लागि बुटिक

सिर्जना दुवाल श्रेष्ठ

कार्तिक २७, २०७४

अहिले मानिसहरू स्मार्ट र सुन्दर देखिन चाहन्छन् । त्यसैले पहिरनका शोरुमहरूमा पनि विविधता देखा पर्दैछन्। पहिरनका शोरुममा पनि क्याजुअल अर्थात् रेडिमेड तथा डिजाइनर वेयरहरू छ्यापछ्याप्ती छन् । अहिले रेडिमेड पहिरन टिनएजहरूप्रति लक्षित छन् भने बुटिकमा प्लस २५ लाई लक्षित गरी पहिरन डिजाइन गरिएको पाइन्छ । किन प्लस २५ का लागि बढी डिजाइन गरिन्छ भन्ने जिज्ञासामा फेसन डिजाइनर विष्णु गौतम भन्छन्–‘यो उमेर भनेको आफूले चाहेको खर्च गर्न तथा शरीरलाई सुहाउँदो किसिमको पहिरन डिजाइन गराउन सक्ने उमेर हो।’

पौराणिक कालदेखि नै मानिसहरूले नयाँ–नयाँ डिजाइनको चाहना राख्दै आएको पाइन्छ । कुनै समय सम्भ्रान्त परिवारका सदस्यले मात्र प्रयोग गर्दै आएका बुटिकका डिजाइनर पहिरन अहिले सर्वसाधारणहरूको रोजाइमा समेत पर्न थालेका छन् । बढ्दो आधुनिकता एवं सहरीकरणले गर्दा मुलुकभर बुटिक व्यवसाय फस्टाउँदै गएको छ । बढ्दो प्रतिस्पर्धाले बुटिकमा पनि आम उपभोक्ताको पहुँच सहज र सस्तो बनाएको छ । शरीर सुहाउँदो पहिरन तयार गरिने हुँदा पनि बुटिक नै धेरैको रोजाइमा पर्ने फेसन डिजाइनर तरुनिका महतो बताउँछिन् ।

अहिले कुपन्डोलमा मात्र डेढ सयभन्दा बढी बुटिक छन् । दरबारमार्ग, न्यूरोड, नक्साल, भाटभटेनी,नयाँ तथा पुरानो बानेश्वर, महाराजगञ्ज, पानीपोखरी, लाजिम्पाट, जाउलाखेल आदि स्थानहरूमा समेत बुटिकको संख्या बढ्दो छ । उपत्यकामा सानाठूला बुटिकको संख्या ४ सयभन्दा बढी भएको बताइन्छ अहिले कुपन्डोललाई बुटिकको हब समेत भनिन्छ । विगत १७ वर्षदेखि सक्रिय फेसन डिजाइनर आर्शिया बानुले पुतलीसडकका साथमा कुपन्डोलमा समेत आफ्नो बुटिक बिस्तार गरेकी छिन् ।

आर्शियाले प्रतिस्पर्धाकै लागि कुपन्डोलमा आउटलेट खोलेको बताइन् । १२ वर्षदेखि नागपोखरीमा इनोभ एट बुटिक सञ्चालन गरिरहेकी रुना मानन्धरले पनि २ वर्षयतादेखि कुपन्डोलमा समेत बुटिक संचालन गर्दै आएकी छिन् । आर्शियाले भनेजस्तै उनी पनि फेसन बजारमा प्रतिस्पर्धा गर्न कुपन्डोल पुगेकी हुन् । मानन्धरका अनुसार बुटिक व्यवसायका लागि ठाउँले पनि धेरै अर्थ राख्छ । यद्यपि उनको भनाइसँग काव्य बुटिककी डिजाइनर रमिला नेमकुल सहमत छैनन् ।

१५ वर्षअघि पाटनढोकाको गल्लीमा काव्य बुटिक खोल्दा धेरैले गाली गरेको अनुभव सुनाउँदै रमिला भन्छिन्–मैले त्यतिबेला कुनै पसल नै नभएको ठाउँमा बुटिक खोलें । अहिलेसम्म पनि मेरो बुटिक त्यही गतिमा चलिरहेको छ । राम्रो काम, डिजाइन तथा सर्भिस दिन सक्ने हो भने ठाउँले खासै फरक नपार्ने उनको तर्क छ ।

ड्रिम वेयरकी संचालक तथा फेसन डिजाइनर मञ्जु बञ्जारा ढकालका अनुसार हिजोआज मिडिल क्लासका ग्राहकहरूबाटै बुटिक चलिरहेका छन् । उनका अनुसार डिजाइनर पहिरन क्याजुअल र साधारण टेलरमा सिलाइएका पहिरनभन्दा फिटिङ मिलेका तथा सजिला हुन्छन् । जस्तो सेप छ त्यहीअनुरूप फिगरलाई आकर्षक देखाउने कारणले पनि अचेल काठमाडौंका धेरै कामकाजीहरू डिजाइनर वेयर नै खोज्छन् । ड्रिम वेयरमा सिजनको समयमा दिनको ३ वटासम्म ब्राइडल सेट तयार हुन्छन् । साउनजस्तो अफ सिजनमा समेत आफ्नो बुटिकमा दैनिक ३० हजारसम्मको कारोवार हुने उनले बताइन् । लोकेसन राम्रो भयो भने व्यापार अझ बढ्ने मञ्जु बताउँछिन् । बञ्जाराका अनुसार डिजाइनर वेयर लगाउने जोकोहीएक न एकपटक कुपन्डोल पुगेकै हुन्छन् ।

पहिले–पहिले बढी महँगो भएकाले बुटिकप्रतिको आकर्षण निकै कम भए पनि अहिले परिस्थितिमा परिवर्तन आइसकेको छ । ग्राहकको पहिचान र रोजाइलाई प्राथमिकतामा राखी चित्त बुझाएर सामान उपलब्ध गराउने भएकाले अहिले व्यवसायीहरूको संख्यासँगै उपभोक्ताहरूको संख्या पनि उत्तिकै बढ्दै गएको छ । विविध मौसमका कलेक्सन र व्यक्तिपिच्छेका ढाँचामा निर्माण गर्न सकिने हुनाले पनि यो व्यवसाय फस्टाउँदै गएको जानकारहरू बताउँछन् ।

बुटिकमा व्यक्तिको वर्ण, उचाइ, मोटाइ आदि कुरालाई ख्याल गरेर उपयुक्त पहिरन डिजाइन गरिन्छ । पारखीहरूका अनुसार शरीर सुहाउँदो पहिरन डिजाइन हुने स्थान बुटिक नै हो । पौराणिक कालदेखि नै प्रत्यक्ष वा अप्रत्यक्ष जूनसुकै किसिमले होस् मानिसहरूले नयाँ–नयाँ डिजाइनको चाहना राख्दै आएका छन् । त्यतिबेला सम्भव नभएका कुरालाई अहिलेका फेसन डिजाइनरहरूले बुटिकमार्फत पूरा गरिरहेको वुमन प्लानेत बुटिककी फेसन डिजाइनर सुषमा सिंह बताउँछिन् ।

अवधारणा परिवर्तनसँगै नेपालीहरूको पहिरन शैलीमा समेत ठूलो परिवर्तन आएको छ । अहिले आयको निश्चित रकम पोसाकका लागि छुट्याउने चलन छ । बुटिकले मानिसका चाहनालाई सहज रूपमा पूरा गरेको देखिन्छ । त्यसैले नेपाली बजारमा पहिरनको कारोवारमा राम्रो प्रगति भएको पाइन्छ । बर्सेनि ठूलो मात्रामा चीन, भारत, थाइल्यान्ड आदि मुलुकबाट तयारी कपडा नेपाल भित्रिए पनि बुटिकको क्रेज पनि निरन्तर बढ्दो क्रममा छ ।

 

नाम चलेका केही बुटिक

आरडी चाहत, उत्तम्स क्रिएसन्स, ड्रिमवेयर, ओढनी, तरुनिकाज क्रिएसन्स, इम्याजिन, लाइक्रा, उमाज, आकर्षण, सी, विविटिकेसन, पुल्चोक ३, पन्छी द रनवे, काव्य, इनोभ एट, यू आर स्टाइलिस्ट, स्वर्णिम, यस म्याम, वुमन्स प्लानेट, ओरियन, कायरा, आवरण, एलिसाज क्रियसन्स, कलश, रेड भेल्भेट, आर्शिया, मुक्कु, डुपियन, अकल्प, दिपाज क्रियसन्स, पेजथ्री, रेड भेल्भेट आदि ।

रेडिमेड पहिरनका लागि न्यूरोड, दरबारमार्ग, बौद्ध, महाराजगन्ज, पुतलीसडक, बागबजार, डिल्लीबजार, कुमारीपाटी, नयाँ तथा पुरानो बानेश्वर, मैतीदेवी तथा भाटभटेनी निकै चल्तीका बजार हुन् । लबिम मल, सिटी सेन्टर, सिभिल मल, ताम्राकार हाउस, काठमाडौं मल, राइजिङ मल, केएल टावर आदिमा समेत विभिन्न क्याजुअल तथा बुटिकका पहिरन उपलब्ध हुन्छन् । पाटनको गावाहाल, मंगलबजार, जाउलाखेल, काठमाडौंको महाराजगञ्ज, चावहिल, लाजिम्पाट, नक्साल, पुरानो बानेश्वर, नयाँबानेश्वर, मैतीदेवी आदिमा समेत बुटिकका शोरुमहरू फेला पार्न सकिन्छ ।

अहिले बुटिक वा शोरुम नखोली अनलाइन तथा माउथ टु माउथ र घरमै डिजाइन गरी पहिरन बेच्ने चलन पनि उत्तिकै छ । तेञ्जिङ भुटिया, मनीष राई आदि घरमै डिजाइन गर्छन् । अहिलेका सेलिब्रेटीहरू मनीष राई, युवी थापा, तेन्जिङ, आकाश श्रेष्ठ, विश्व गौतम, विजय गौतम, रस्मी श्रेष्ठ आदि डिजाइनरका पहिरन लगाउन लालायित देखिन्छन् ।

स्टार मलस्थित ओरियन बुटिककी संचालिका नीलम शाही आफ्नो बुटिकमा हाइ क्लासका ग्राहकहरू बढी आउने बताउँछिन् । उनीहरू धेरै नछान्ने र एकपटकमै डिल गरिहाल्ने हुँदा काम त्यति गार्‍हो नहुने शाहीले बताइन् ।

आरडी चाहत, दरबारमार्ग : नेपाली फेसन डिजाइनको क्षेत्रमा राजेश धाख्वाको आफ्नै प्रकारको योगदान छ । धाख्वाले आममानिसले पनि डिजाइनर पहिरन लगाउनुपर्छ भनेर काठमाडौंमा धेरै पहिलेनै बुटिक स्थापना गरेका हुन् । धाख्वाको बुटिकमा रेडी टु वेयर पनि डिजाइन गरेर राखिएका छन्भने यहाँ साडी तथा कुर्ताका साथमा क्याजुअल गाउन, वान पिसहरू पनि तयार गरिन्छ ।

ओढनी : ओढनी बुटिकको स्थापनासँगै विदेशमा रहेका नेपालीहरू समेत यहाँका पहिरनप्रति आकर्षित भएको पाइन्छ । फिगर फिनिसिङ र भारतमा चलेका सबैजसो डिजाइनलाई उस्तै रूपमा उपलब्ध गराउन सक्नु यो बुटिकको विशेषता हो । अरू बुटिकभन्दा केही महँगो भए पनि यहाँ गुनासो गर्ने ठाउँ कमै हुन्छ । ओढनीले आफ्नो शाखा अमेरिकामा समेत खोलेको छ ।

पन्छी द रनवे : दरबारमार्गस्थित पन्छी द रनवे बुटिकको मुख्य विशेषता भनेकै इन्डियन फेसन डिजाइनर विशाल कपूरले डिजाइन गरेका पहिरन उपलब्ध हुनु हो । श्वेता सिरोहियाले संचालनमा ल्याएको यो बुटिकका पहिरन निकै राम्रा तथा गुणस्तरीय मानिन्छन् । डिजाइनर वेयर लगाउने उच्च वर्गका पुरुष तथा महिलाका लागि यो बुटिक उपयुक्त गन्तव्य हो ।

ड्रिम वेयर : ब्राइडल वेयर, चिल्ड्रेन वेयर तथा पुरुषका डिजाइनर वेयरका लागि उपयुक्त गन्तव्य हो ड्रिम वेयर बुटिक । सयौं ब्राइडल वेयर तथा पार्टी वेयरको कलेक्सन रहेको ड्रिम वेयरमा सुरुदेखि नै चिल्ड्रेन वेयर समेत उपलब्ध हुँदै आएको छ । यो बुटिकमा प्रवेश गरेपछि परिवारका सबै सदस्यका लागि आवश्यक पहिरन उपलब्ध हुन सकून् भनेर यहाँ पहिरनमा विविधतासमेत दिइएको छ ।

मुक्कु : लामो समयदेखि फेसन डिजाइनरका रूपमा काम गर्दै आएकी मुक्ता श्रेष्ठले ढाकाको प्रयोग गरी कुर्ता, साडी, वान पिस, लेहेंगा तथा स्कर्टहरू तयार पारेकी छिन् । नेपाली कपडाको प्रयोग नै मुक्कुको विशेषता हो । इम्ब्रोइडरी तथा ह्यान्डवर्कका थुप्रै बुटिकहरूमाझ मुक्कुले छोटो समयमै राम्रो सफलता हासिल गरेको छ ।

इनोभ एट : डेढ दशकदेखि नागपोखरीमा संचालनमा रहेको इनोभ एटले दुई वर्षदेखि कुपन्डोलमा समेत आफ्नो आउटलेट बिस्तार गरेको छ । यहाँ ब्राइडल वेयर, पार्टी वेयरदेखि क्याजुअल वेयरसम्म तयार पारिन्छ । गुणस्तरमा सम्झौता नगर्ने हुँदा पनि यहाँका पहिरन धेरैको रोजाइमा छन् ।

जूनकिरी : बालबालिकाहरूकै लागि स्थापना भएको बुटिक हो–जूनकिरी । कुपन्डोलस्थित जूनकिरीमा पास्नी गर्ने बालबालिकाहरूदेखि १२–१३ वर्षसम्मका लागि डिजाइनर वेयर तयार पारिन्छ । यहाँ फ्रक,वान पिस, गाउनलगायत वेस्टर्न टच भएका चिल्ड्ेरन वेयरहरू उपलब्ध हुन्छन् । बालबालिकाहरूका लागि यहाँ तुलनात्मक रूपमा बढी च्वाइस छ ।

वुमन्स प्लानेट : दरबारमार्गमा विगत डेढ दशकदेखि संचालनमा रहेको वुमन्स प्लानेटमा ब्राइडल, पार्टी वेयरदेखि क्याजुअल वेयरका थुप्रै भेराइटी उपलब्ध हुन्छन् । युनिक पिस तथा ग्राहकको सन्तुष्टिलाई सबैभन्दा बढी महत्व दिएकै कारण वुमन्स प्लानेटले सुरुवाती समयदेखि नै आफ्नो छुट्टै स्थान बनाएको छ ।

सी बुटिक : फेसन डिजाइनर संगीत श्रेष्ठका लागि यो क्षेत्र निकै पुरानो भैसकेको छ । आकर्षण बुटिकबाट छुट्टिएपछि संगीतले सी बुटिक खोलेका हुन् । छोटो समयमै फरक डिजाइन र कन्सेप्टका कारण सीले आफ्नो अलग स्थान बनाउन सफलता प्राप्त गरेको पाइन्छ । मुख्यत : लेहेंगामा फोकस संगीतका डिजाइन विदेशमा समेत रुचाइन्छ ।

कायरा बुटिक : सिटी सेन्टरको ग्राउन्ड फ्लोरमा अवस्थित कायरा बुटिक अहिलेका चल्तीका बुटिकहरूमध्ये एक हो । साडी, लेहेंगासहित वेस्टर्न ड्रेसहरूमा बढी रुचाइएको कायरा नेपाली सेलिब्रेटीसमेत पनि प्रिय छ । कायरामा पार्टी, क्याजुअल तथा चिल्ड्ेरन वेयर आदि उपलब्ध हुन्छन् ।

लाइक्रा बुटिक : साडी तथा लेहेंगालाई फोकस गरी डिजाइनर वेयर तयार पार्ने लाइक्रा बुटिक इम्ब्रोइडरीलाई प्राथमिकता दिने बुटिकमध्ये एक हो । यहाँ मेसिन इम्ब्रोइडरी, प्याच वर्क, लेसहरूभन्दा कालीगढबाट हातैले भरेर डिजाइन गरिन्छ । लाइक्राको माथिल्लो तल्लामा पुरुषका पहिरनहरूको सेक्सनसमेत छ ।

बुटिकलाई साधारणतया कसरी बुझ्न सकिन्छ ?

बुटिक भनेको कुनै नौलो कुरा वा स्थान होइन । यो परम्परादेखि चलिआएको पेसा हो । पौराणिक कालदेखि लगाउने कपडामा विभिन्न डिजाइन दिइएको पाइन्छ । हाम्रोभन्दा अघिल्लो पुस्ताले पनि पहिरन लगाउँदा आफू सुहाउँदो डिजाइन गराउँथे । अहिलेको बुटिक त्यसकै विकसित रूप हो । शरीर सुहाउँदो सिलाइ तथा डिजाइन हुने स्थान नै बुटिक हो । बुटिकमा मानिसको शरीरअनुसार

सुहाउँदो पहिरनका सम्बन्धमा सुझाव समेत प्रदान गरिन्छ ।

संगीता अमात्य प्रधानांग

महासचिव, बुटिक एसोसियसन नेपाल तथा कलश बुटिक

 नेपालमा बुटिकको व्यावसायिक अवस्था कस्तो छ ?

नेपालमा फेसनसम्बन्धी काम गर्ने व्यवसायीहरू बर्सेनि बढिरहेका छन् । त्यसको अनुपातमा बजारको आकार भने बढ्न सकेको छैन । अहिलेको अवस्थालाई हेर्दा कतिपय डिजाइनरले काम नपाएको स्थिति पनि छ ।  विदेशबाट पनि नेपाली डिजाइनको मागहुन्छ । त्यसैले पनि नेपालमा बुटिक व्यवसायीहरूको संख्या वृद्धि भैरहेको हो । यसर्थ यसलाई व्यवस्थित बनाउने उद्देश्यले हामीले ५ वर्षअघि एसोसिएसन खोलेका हौं ।

बुटिक एसोसिएसनको मुख्य उद्देश्य के हो ?

हाम्रो उद्देश्य भनेको बुटिक व्यवसायलाई व्यवस्थित गर्नु हो । बुटिक संचालनका क्रममा आउनेसमस्याहरू समाधान गर्ने प्रयास गर्नु हो । त्यस्तै हाम्रो अर्को उद्देश्य नेपाली डिजाइन, डिजाइनर तथा बुटिकहरूलाई अन्तर्राष्ट्रियकरण गर्नु हो । अहिले एसोसिएसनमा करिब ५० वटा मात्र बुटिक आबद्ध छन् । यो वर्ष भने सकेसम्म सबै बुटिकलाई एसोसिएसनमा आबद्ध गराउने योजना छ ।

नेपालको बुटिक व्यवसायमा कस्तो प्रतिस्पर्धा छ ?

त्यस्तो प्रतिस्पर्धा छैन । किनभने कुनै एउटा बुटिकमा पाइने डिजाइन तथा सामान अन्य बुटिकसँग मिल्दैन । सबै बुटिकका आ–आफ्नै विशेषता हुन्छन् । यसमा उपभोक्ताले के चाहन्छन् भन्ने कुरालाई केन्द्रमा राखेर डिजाइन तयार गर्नुपर्ने हुन्छ । हो डिजाइनको विषयमा चाहिँ प्रतिस्पर्धा हुनसक्छ । त्यसमा अलिकति मूल्यले पनि प्रभाव पार्न सक्छ तर मूल्यभन्दा ठूलो कुरा गुणस्तर र मौलिक डिजाइन हो ।

यो व्यवसायमा कस्तो परिवर्तन पाउनुभएको छ ?

सबै कुरा शिक्षामा निर्भर हुन्छ । पहिलेको तुलनामा अहिलेका मानिसहरू धेरै शिक्षित भैसकेका छन् । त्यही अनुपातमा उनीहरूले कुरा पनि बुझ्दै गएका छन् । अहिले कुनै कुरामा खराबी भए पनि त्यसलाई मानवीय कमजोरीका रूपमा लिने ग्राहक धेरै छन् । पहिले त्यस्तो भए मानिसहरू झगडा गर्थे । त्यस्तै पहिलेको तुलनामा अहिलेका ग्राहक साधारण पहिरन रुचाउने खालका छन् । पहिले सबै ग्राहक एउटै मोडलका कपडा प्रयोग गर्थे । अहिले ग्राहकहरूको रुचि फरक–फरक हुने गरेको छ । एउटै समयमा धेरै प्रकारका मोडल तथा डिजाइनको माग हुने गरेको छ । त्यस्तै व्यवसायीहरू पनि पहिलेको तुलनामा बढी सक्षम एवं योग्य बन्दै गएका छन् । उनीहरूमा पनि अन्तर्राष्ट्रिय फेसनसम्बन्धी सबै कुराको ज्ञान छ ।  

 

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्