दीपाश्रीसँग छ प्रश्न

  • दीपाश्री निरौंला

सिर्जना दुवाल श्रेष्ठ

कार्तिक २४, २०७४

छक्कापञ्जा–२ सम्मको सफलताको सूत्र के होला ?

आजको सफलता तत्काल वा रातारात प्राप्त सफलता होइन, २५ वर्षको संघर्ष, निरन्तरता एवं मेहनतको प्रतिफल हो । समय–परिस्थितिअनुसार परिवर्तन हुने सन्दर्भमा मैले नायिकाबाट कमेडियन हुँदै निर्देशनमा हात हालेकी हुँ । मैले हास्यव्यंग्यका क्षेत्रमा लागेदेखि नै दीपकजीजस्तो असल तथा प्रतिभाशाली साथी पाएँ । उहाँको जोडी हुन नपाएको भए सायदै यो सफलता हात पथ्र्याे । समयलाई बुझेर चल्नसक्नु नै मेरो सफलताको मुख्य रहस्य हो ।

तपाईंको जीवनमा तीतो सत्यको प्रभाव कस्तो रह्यो ?

हामी टेलिभिजनको इतिहासमै लामो सिरियलका रूपमा दर्शकमाझ टिकिरहन सक्यौं । तीतो सत्यबाट मैले थुप्रै प्रशंसक पाएँ । बालकदेखि वृद्धसम्मले दीपा भनेर माया गर्नुभयो । कुनै समय १० रुपैंयाँ नभएर गाडी चढ्न नसक्ने मेरा लागि दर्शक तथा श्रोताहरूले नै बानेश्वरमा घर तथा गाडी जुटाइदिनुभयो । यसरी एकपछि अर्काे चलचित्र बनाउन सकें । यो सबै तीतो सत्यको देन हो ।

तपाईंका लागि दीपकराज गिरी ?

मेरो सफलताको श्रेय दीपकजीलाई नै जान्छ । दीपकजीसँग निरन्तर सँगै मिलेर काम गरियो । हामी दुवैमा एउटा मिल्ने कुरा छ जसले हामीलाई संँगै काम गर्ने ऊर्जा प्रदान गर्छ । हामीमा कामप्रतिको पागलपन छ । करियरप्रतिको त्यही पागलपनका कारण नै मैले विवाह गरिन । दीपक मेरा मिल्ने साथी, अभिभावक एवं मार्गनिर्देशक हुन् ।

बुढेसकालमा एक्लो जीवन बाँच्न सहज होला त ?

म वर्तमानमा बाँच्ने मानिस हुँ । जति बाँच्छु, आनन्दपूर्वक बाँच्छु । मैले विवाह नगरेको मेरो कामलाई बुझ्ने मानिस नपाएर पनि हो । दीपाश्रीसँग विवाह गर्नेहरू आउँछन् तर दीपासँग विवाह गर्नेहरू आउँदैनन् । मैले करियरलाई प्राथमिकता दिएकै कारण विवाह गरिन । बुढेसकालसम्म बाँचे म आफूले कमाएको सबै सम्पत्ति कुनै वृद्धाश्रमलाई दिएर उतै जीवन बिताउँछु । पैसा भए पाल्ने मानिसको कमी हुँदैन भन्ने पनि मैले देखेकी छु ।

तपाईं कस्तो स्वभावको व्यक्ति हुनुहुन्छ ?

सानैदेखि हक्की, केटाहरूलाई मात्र साथी बनाउने, नरिवलको रुख चढ्ने, डन्डीबियो, क्रिकेट, फुटबल आदि खेल्ने । घरमा मलाई साइँला छोरा भनेर बोलाइन्थ्यो । दीपकजी पनि म महिला भएर जन्मनु संसारकै ठूलो गल्ती भन्नुहुन्छ । म कसैसँग नडराउने, जस्तो कुरामा पनि नआत्तिने स्वभावकी छु ।

कुनै अविस्मरणीय कुरा ?

म ट्युसन पढ्न पाटनदेखि काठमाडौं हिँडेरै पुग्थेँ । सरले मसँग पैसा छैन भनेर शुल्क लिनुहुन्नथ्यो । त्यो समयमा मसँग बस–टेम्पु चढ्ने तथा खाजा खाने पैसासम्म हुँ दैनथ्यो । रुझ्दै, गर्मीमा पोलिँदै बाग्मती पुलमा एक्लै हिँडेको कुरा अझै सम्झिरहन्छु । पहिलो पटक गाडी किनेर बाग्मती पुलको एक चक्कर लगाएको क्षण मेरा लागि अविस्मरणीय छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्