चितवनका रिसोर्ट

विमल खतिवडा

कार्तिक २२, २०७४

चितवनका पर्यटकीय क्षेत्रमा ठूलो लगानीमा रिसोर्ट तथा रेस्टुराँ खुल्ने क्रम बढ्दो छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै रिसोर्ट खुल्ने यो क्रम बढ्दै गएको हो । चितवन चिनाउने पहिलो आधार चितवन राष्ट्रिय निकुञ्ज हो जहाँ एक सिंगे गैंडा, बाघ, चितुवा, हात्ती, मृग, भालु, गौरीगाई, मयूर आदि दुर्लभ वन्यजन्तुहरू पाइन्छन् । यिनै वन्यजन्तुलाई मध्यनजर गर्दै निकुञ्ज छेउछाउमा रिसोर्ट खोल्ने प्रतिस्पर्धा चल्न थालेको छ । त्यसमा पनि अधिकांशको रोजाइ सौराहा बन्ने गरेको छ ।

त्यस्तै स्वादका पारखीहरूका लागि राप्ती किनारमा दर्जनौं रेस्टुराँ खुलेका छन् । गर्मीमा खुल्ला आकाशमुनि तथा नदीको किनारमा रमाउनुको मज्जा बेग्लै हुन्छ । जाडोमा भने यहाँ क्याम्प फायर गर्दै रमाउनेहरूको कमी हुँदैन । यहीँबाट गैंडा हेर्न सकिन्छ । सनराइज र सनसेटको दृश्यले सबैलाई लोभ्याउँछ । यही दृश्य हेर्न सौराहामा बास बस्न आउनेहरूको कमी हुँदैन । राप्ती किनारका रेस्टुराँमा साँझ परेपछि रमाउनेहरूको भीड लाग्छ । परिवारसँग बसेर राति अबेरसम्म खानपानमा रमाउनेहरूको जमात छुट्टै हुन्छ । रेस्टुराँ संचालकले पाहुनाको मागअनुसार विभिन्न परिकार पकाएर चखाउँछन् । ‘साँझ राप्ती किनारमा बढी भीड हुन्छ,’ सौराहाबीच रेस्टुराँका संचालक बलराम दाहाल भन्छन् ।

सौराहामा करिब १ सय १५ वटा होटल छन् । यहाँ ५ सयदेखि १० हजारसम्म पर्ने कोठा उपलब्ध हुन्छन् । खानपिन आदि सहितको प्याकेजमा एक रातको ३ हजारदेखि १० हजारसम्म पर्छ । नयाँ वर्ष तथा क्रिसमसमा यहाँ विशेष भीड लाग्छ । त्यतिबेला होटल तथा रेस्टुराँ संचालकले छुटको समेत व्यवस्था गर्छन् । होटलहरूले पनि पाहुनाको चाहनाअनुसार सेवा–सुविधा थप्दै लगेका छन् । पहिले होटल मात्र खुल्थे, बास बसाउने मात्र ध्याउन्न हुन्थ्यो । अहिले होटलको संख्या बढ्दै गएपछि सुविधा पनि थपिँदै लगिएको छ ।

सौराहामा खुलेका होटल तथा रिसोर्टले धमाधम स्विमिङ पुल निर्माण गरिरहेका छन् । केही रिसोर्ट तथा होटलले भने सुरुवातमै स्विमिङ पुल बनाएर होटल संचालनमा ल्याएका छन् । ‘अहिले होटल खोल्नु ठूलो कुरा होइन, सबै किसिमका सेवा उपलब्ध गराउनु ठूलो कुरा हो,’ होटल सेभेन स्टारका संचालक माधव दवाडीले भने– ‘त्यसैले सुरुवातमै पाहुनाबाट बढी माग हुने स्विमिङ पुल बनाएँ ।’

दवाडीका अनुसार सेभेन स्टार होटलमा ४८ वटा रुम छन् भने ४ वटा सुइट छन् । यहाँ विभिन्न प्रकारका फलफूल लगाइएको छ । सुइट हनिमुन कपलका लागि हो । विवाहित जोडीहरू सौराहा घुम्न आउँदा उक्त रुमलाई सिँगारिन्छ । दिनभरि पर्यटकीय स्थलहरू घुमेर साँझ कोठामा बस्न आउने पाहुनाहरूले मागअनुसारको सुविधा उपभोग गर्न पाउँछन् । हनिमुन रुममा ज्याकुची तथा मिनी बारको व्यवस्था छ । यहाँ बैठक गर्न मिल्ने छुट्टै ठाउँ छ । बगैंचा हेर्न मात्र ५ जना कर्मचारी खटाइएको छ जहाँ उत्पादित फलफूल होटलमा बस्न आउने पाहुनाहरूलाई चखाइन्छ । बगैंचामा लगाइएका विभिन्न प्रजातिका फूलले सबैलाई लोभ्याउँछन् । यहाँ सेमिनार तथा विवाह पार्टीका लागि हलको समेत व्यवस्था छ । यो होटलमा ५ सय क्षमतासम्मका ३ वटा हल छन् ।

सौराहा अहिले विवाह गर्ने गन्तव्यका रूपमा समेत परिचित हुन थालेको छ । यहाँ प्रशस्त पार्किङको व्यवस्था छ । हेलिप्याडसमेत निर्माण गरिएकाले भिआइपी पाहुना हेलिकप्टर चार्टर गरेर सौराहा पुग्ने गरेका छन् । ‘एक वर्षको अवधिमा ८ वटा होटल तथा नयाँ रिसोर्ट थपिएको छ,’ क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष सुमन घिमिरेले भने–‘पुरानाले नयाँ सुविधाका रूपमा स्वीमिङ पुल निर्माण गरिरहेका छन्, नयाँ खुल्ने होटल तथा रिसोर्ट नयाँ–नयाँ सुविधाका साथ संचालनमा आउने गरेका छन् ।’

 

परिकार

यहाँका होटलमा प्राय: बन्ने परिकार भारतीय, कन्टिनेन्टल एवं चाइनिज नै हुन् । यहाँ चाइनिज तथा भारतीय पाहुना बढी आउँछन् जसलाई मध्यनजर गर्दै खानपिनको व्यवस्था गरिन्छ । नेपाली पाहुना विदेशीजस्तै खर्च गर्न हिचकिचाउँदैनन् । नेपालीले भने थकाली सेट बढी रुचाउँछन् । नेपाली खाना विदेशीहरूलाई समेत चखाइन्छ । त्यस्तै पाहुनाले स्वतन्त्र भएर शान्त वातावरणमा आफूले चाहेको पेय पदार्थ पिउँदै रमाउने अवसर पनि प्राप्त गर्छन्–सौराहामा । पर्यटकहरू शान्त वातावरणमा रमाउन चितवन आउँछन् ।

सौराहामा थारू संस्कृतिसँग सुपरिचित हुन पाइन्छ । विभिन्न होटल परिसरमै कलाकारलाई उपस्थित गराएर संस्कृति देखाउने व्यवस्था पनि मिलाइएको छ । घुम्न आउनेहरूले स्थानीय कलाकारको गायन वा नृत्य जे हेर्न चाहन्छन् त्यो होटलले पूरा गर्ने गरेका छन् । यहाँ क्याम्प फायर गर्दै बार्बिक्युको मज्जा लिन पाइन्छ भने पाहुनाहरू जिप सफारी, हात्ती सफारी, क्यानोइङ, थारू कल्चर एवं टावर नाइटमा समेत रमाउन पाउँछन् । टावर नाइटमा जाँदा राति नजिकबाट दुर्लभ वन्यजन्तुको गतिविधि प्रत्यक्ष नियाल्न पाइन्छ ।

सौराहाको नदी किनारमा होटल तथा रेस्टुराँ खुल्ले लहर अझै जारी छ । यद्यपि सौराहा मात्र पर्यटकको गन्तव्य भने होइन । भरतपुर महानगरपालिकाभित्र पर्ने मेघौली, पटिहानी, जगतपुरमा समेत ठूलो लगानीका होटल तथा रेस्टुराँ खुलेका छन् ।

मेघौली सेराई, ताज सफरी लज संचालनमा आएको झन्डै एक वर्ष भयो । यहाँ पाहुनालाई माटाको पालामा थारु समुदायको स्थानीय मदिराले स्वागत गरिन्छ भने मागबमोजिम घन्टी फूलको जुस पनि सर्भ गरिन्छ । थारु समुदायले परम्परादेखि जडीबुटीका रूपमा प्रयोग गर्दै आएको फूललाई उक्त होटलको वेलकम ड्रिङ्स बनाएको हो । चौधरी ग्रुपको ७० करोडभन्दा बढी लगानीमा सञ्चालनमा आएको यो लक्जरी लजको व्यवस्थापन भारतीय चेन ताज सफारीले गरेको छ ।

चितवनमा जंगल सफारीको सुरुवात ५० वर्षअघि निकुञ्जभित्र संचालनमा रहेको टाइगर टप्स होटलले गरेको थियो । टाइगर टप्सले पर्यटकको सेवा एवं सत्कारमा स्थानीय कला, संस्कृति एवं खानपानको प्रयोग गथ्र्यो । लिज सकिएकाले उक्त होटल बन्द भयो । दक्षिण एसियाका थुप्रै मुलुकका निकुञ्जमा सफारी पर्यटनमा ख्याति कमाएको ताजको प्रवेशले यो ठाउँमा ठूलो आशा जगाएको छ ।

यो होटलमा धनाढ्यहरूको जमघट हुने गरेको छ । जहाज तथा हेलिकप्टर चार्टर गरेर यो ठाउँ घुम्न आउनेहरूको कमी छैन । लजमा छुट्टै पौडीपोखरीसहितका १६ वटा आकर्षक भिल्ला छन् । छुट्टाछुट्टै वातानुकूलित भवनभित्र सुविधासम्पन्न बेड तथा मिनी बार छन् । भिल्लाभित्र नुहाउन बाथटव, बाथरुम तथा ढुंगेधारा छन् । बेडरुमबाहिर पौडीपोखरी छ । यहाँ मसाज तथा स्पाको समेत सुविधा लिन सकिन्छ । यसको मध्यभागमा आकर्षक मेघौली भवन छ जहाँ १३ वटा लक्जरी कोठा छन् । भवनको भुइँतल्लामा अध्ययन तथा ध्यानका लागि कोठा छुट्याइएको छ । एउटा सेमिनार हल छ । परिवारसहित र हनिमुनका लागि आउनेहरूलाई प्रेसिडेन्सियल (राप्ती महल) सुइट उपलब्ध हुन्छ । यसबाहेक यहाँ छुट्टै भवनमा डायनिङ हल (वडा घर), प्रतीक्षा कक्ष (लवी) पनि छन् जसमा थारू कला–संस्कृतिको प्रयोग गरिएको छ । राप्ती नदीको डिलमा ठूलो पौडीपोखरी छ । लजका अनुसार यहाँ मेघौली भवनका कोठा, भिल्ला तथा सुइटको मूल्य फरक छ । त्यहाँ एक रात बिताएको न्यूनतम साढे २ सयदेखि १ हजार ६ सय डलरसम्म लाग्छ ।

यहाँ पर्यटकलाई वन, वन्यजन्तु एवं वनस्पतिका बारेमा जानकारी गराइन्छ । निकुञ्जभित्र र स्थानीय सामुदायिक वनमा हात्ती, डुँगा र जिप सफारीको व्यवस्थासमेत उपलब्ध छ । निकुञ्ज र सामुदायिक वनमा चरा अवलोकन गर्दै पैदल यात्रा गर्न सकिन्छ । त्यस्तै आर्चरी र फिसिङको सुविधा पनि त्यहाँ उपलब्ध हुन्छ । यहाँ भित्तामा दुर्लभ वन्यजन्तुका चित्र बनाएर संरक्षणको सन्देश दिइएको छ ।

उता मेघौलीमै खेर गएका काठ जम्मा गरेर कलात्मक रिसोर्ट निर्माण गरिएको छ । ५ करोडभन्दा बढी लगानीमा पर्यटन व्यवसायी सुबोध प्रधानले उक्त रिसोर्ट संचालनमा ल्याएका हुन् । साराङ वाइल्डलाइफ सेन्चुरी रिसोर्ट संचालनमा आएको एक वर्षभन्दा बढी भयो जसमा २४ वटा कोठा छन् । यो रिसोर्ट खरले छाइएको छ । यसका अधिकांश संरचना पुरानो शैलीका छन् । खेर गएका काठलाई जम्मा गरेर बस्नेदेखि सुत्ने खाट एवं धारोसम्म त्यसबाटै बनाइएको छ ।

यहाँ मादल, माछा मार्ने ढडिया तथा लालटिन आदिको प्रयोग गरिएको छ भने स्नुकरको सुविधा पनि छ । ११ बिघा जग्गामध्ये ३ बिघा क्षेत्रफलमा रिसोर्ट छ । स्विमिङ पुल निर्माणको तयारी थालिएको छ । जंगलभित्र भएकाले यो रिसोर्टको वातावरण शान्त छ । साँझ–बिहान कराउने चराको आवाजले यहाँ रात बिताउन आउने पाहुनाहरू मोहित हुन्छन् ।

‘फाइभ स्टार होटलमा बसेर वाक्क भएका पर्यटक एकान्तको खोजीमा हुन्छन्,’ संचालक प्रधान भन्छन््–‘त्यस्तै पर्यटक रमाउन भनेर एकान्त वातावरणमा पुरानो शैलीको यो रिसोर्ट निर्माण गरिएको हो ।’ यो रिसोर्टको छेउमा राप्ती नदी छ । यो रिसोर्टमा पर्यटकले जिप सफारी, हात्ती सफारी, थारू गाउँ एवं गैंडा हेर्न तथा थारू संस्कृतिमा रमाउन पाउँछन् । ३ वटा काठको डुँगामा राप्ती नदीमा जलयात्राको समेत मज्जा लिन पाइन्छ । यहाँ स्पासमेत संचालनमा छ ।

भरतपुर महानगरभित्रै पर्ने पटिहानीमा कसरा रिसोर्ट संचालनमा आएको करिब ५ वर्ष भयो । यति ग्रुपका सोनाम शेर्पा, आङछिरिङ शेर्पा एवं कलाकार तथा पर्यटन व्यवसायी आरपी पन्तसहितको संयुक्त लगानीमा संचालनमा आएको यो रिसोर्टमा ४० करोडभन्दा बढी लगानी छ । यो रिसोर्टमा ४३ वटा कोठा छन् जसमध्ये ३५ वटा डिलक्स तथा २ वटा हनिमुन कोठा छन् ।

हनिमुन कोठामा छुट्टै स्विमिङ पुल छ । त्यहाँ कोठामा आफै पकाएर खाने व्यवस्थासमेत छ । ४ बिघा जग्गामा १५ महिना लगाएर यो रिसोर्ट निर्माण गरिएको हो । संचालक पन्तका अनुसार यो प्राकृतिक रिसोर्ट उपयुक्त ठाउँमा निर्माण गरिएको छ । ‘स्थानीय स्रोत–साधन प्रयोग गरेर रिसोर्ट संचालनमा ल्याएका हौं,’ पन्त भन्छन्–‘चाँडै रिसोर्टका पाहुनाका लागि अग्र्यानिक खानेकुरा ख्वाउने तयारीमा छौं ।’ यो रिसोर्टको बगैंचा बनाउन मात्र २ करोड खर्च भएको छ । बगैंचामा कोलकाताबाट ल्याइएका ३५ किसिमका फलफूल लगाइएको छ । रिसोर्टभित्रै हेलिप्याड निर्माण गरिएको छ । यहाँ हेलिकप्टर चढेर हनिमुन मनाउन आउनेहरूको संख्या बढ्दो छ । यो रिसोर्टका आफ्नै ३ वटा हात्ती छन् । तरकारी तथा फलफूल आफैं उत्पादन गरेर ख्वाइन्छ । रिसोर्टको कोठाबाट गैंडा तथा मृग सहजै हेर्न सकिन्छ ।

एकान्त वातावरण भएकाले यहाँ पर्यटक रमाउँछन् । यहाँका कोठालाई बाँसले बारेर थप आकर्षक बनाइएको छ । त्यस्तै कोठाभित्र पानी जमाएर रोपिएका रुख–बिरुवाका कारण आगन्तुकले जंगलभित्र बसेको अनुभव गर्छन् । यो रिसोर्टमा काम गर्नेहरूमध्ये ८५ प्रतिशत स्थानीय बासिन्दा छन् । कसरा रिसोर्ट नजिकै जंगलमा भिल्ला रिसोर्ट संचालनमा छ । गणेश शर्मा पौडेल, सोमप्रसाद पौडेल तथा रुद्रनाथ पौडेलको संयुक्त लगानीमा यो रिसोर्ट संचालनमा आएको हो । भिल्ला रिसोर्ट राप्ती नदीको छेउमा छ । खाना खाँदै कोठाबाटै गैंडा, मृग एवं गोही हेर्न सकिनु यहाँको विशेषता हो । त्यस्तै कहिलेकाहीँ यहाँ बाघसमेत देख्न पाइन्छ । यहाँ राप्ती नदी किनारमा बसेर चरा हेर्दै रमाउने पर्यटकहरूको संख्या बढ्दै गएको छ । यो रिसोर्टमा ३० वटा कोठा छन् ।

उता छिमेकी जिल्ला नवलपरासीमा समेत होटल तथा रिसोर्ट खुल्ने क्रम बढेको छ । जसको केन्द्र नारायणी किनार नै बन्ने गरेको छ । ‘होटल तथा रिसोर्ट खुल्ने क्रम बढेको छ,’ नवलपरासी अमलटारीस्थित टाइगर टप्स थारू भिलेज रिसोर्टका डिबी चौधरी भन्छन्–‘चितवनको जस्तो भैसकेको छैन, तर त्यही बाटोमा छ ।’ वाइल्डलाइफ पर्यटनको सम्भावना भएकाले नवलपरासीमा होटल तथा रिसोर्टमा लगानी गर्नेहरूको आकर्षण बढेको हो ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्