Teej banner

धर्ममा नारी शक्ति

लक्ष्मी भण्डारी थापा

कार्तिक १०, २०७४

विश्वासमै यो ब्रह्माण्ड अडिएको छ । शक्तिको पूजा आज मात्र होइन धेरै पहिलेदेखि हुँदै आएको हो । यो संसार प्राकृतिक एवं कृत्रिम शक्तिको बल र प्रभावमा अडिएको छ । मानिसहरू अहिले आएर त शक्तिकै पछाडि दौडिरहेका पाइन्छन् । संसारमा आजसम्म पनि यस्ता कतिपय शक्तिमाथि विश्वास गरिन्छ जुन सर्वव्यापी मानिँदै आएको छ । हाम्रो धर्म–संस्कारमा शक्तिको व्याख्या गरिएका सयौं कथा छन्, वेदमै उल्लिखित शक्तिशाली पात्र र तिनको प्रभुत्वलाई हामी अहिले आँकलन गर्न मात्र सक्छौं । यो संसारमा त्यस्तो कुनै सर्वशक्तिमान् अदृश्य शक्ति छ जसले पृथ्वीका सारा मानव, जीव–जन्तुलगायत प्रकृतिलाई चक्रीय प्रणालीद्वारा घुमाइरहेको छ भन्ने कुरामा विश्वास गर्नेहरू प्रशस्तै छन् ।

शक्तिमा विश्वास गर्ने र त्यसलाई मान्ने हामी मानव हाम्रो संस्कार, परम्परा, रीति–रिवाज, धर्म–संस्कार र संस्कृतिलाई यसको माध्यम मान्छौं । हिन्दू धर्ममा यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवता भनेर नारीशक्तिको पूजा गरिएको छ, नारीलाई उच्च स्थानमा राखिएको छ ।

हाम्रा कतिपय पर्वमा स्त्रीशक्तिलाई महत्वपूर्ण मान्दै नारीका विविध शक्तिको आराधना गरिन्छ जसको परिणाम घर–परिवार, समाज तथा देशमा मात्र नभई विश्वमै शान्ति फैलने विश्वास गरिन्छ । दसैंका ९ दिनसम्म नेपालीहरूको घरमा नवदुर्गाको पूजा हुन्छ । नारीका विभिन्न शक्तिशाली रूपलाई पूजा गरिने यो पर्व एउटी महिला (दुर्गा) ले महिषासुरजस्तो सर्वशक्तिशली राक्षसलाई एक्लै बध गरी संसारबाटै हिंसा अन्त्य गरेको खुसीमा मनाउने पर्व हो जसले नारी शक्तिलाई उच्च मान्यता प्रदान गर्दै उनीहरूको स्थान उच्च बनाएको छ ।

क्रिश्चियन समुदायमा भर्जिन म्यारीलाई भगवान्भन्दा माथि राखेर पूजा गरिन्छ । बिनाश्रीमान् कसैसँगको शारीरिक संसर्गविना नै ईश्वरको कुनै एक अंशद्वारा गर्भवती हुन पुगेकी म्यारीले जिजसलाई जन्म दिएकी हुनाले क्रिश्चियनहरूले देवताका पनि देवता अर्थात् देवताकी आमाका रूपमा भर्जिन म्यारीलाई उच्च स्थानमा राखेका हुन् । संसारका चर्चहरूमा उनको विशाल कस्तूरी वर देख्न पाइन्छ जहाँ म्यारीले बालक जिजसलाई काखमा च्यापी बसेकी छिन् । क्रिश्चियनहरूले नारीलाई सर्वशक्तिमान् र उच्च ओहोदामा राख्दै आएका छन् । संसारभरका चर्चमा वार्षिक रूपमा भर्जिन म्यारीको प्रार्थना हुन्छ ।

युरोपियनहरूले मनाउने पर्व हलोइनमा पनि महिलालाई शक्तिका रूपमा पूजा गरिन्छ । हप्ता दिनसम्म मनाइने यो पर्व सुरु हुने अघिल्लो दिन रातिसम्म बालिका तथा युवतीहरू भूतको भेषमा सजिएर उस्तै मेकअप गरी मानिसहरूको घर–घरमा पुगेर पैसा र खानेकुरा बटुल्दै हिँड्छन् । यसको अर्थ हुन्छ भोलिपल्टदेखि सुरु हुने हलोइनमा कुनै पनि भूतप्रेतले दु:ख नदियोस् र शान्ति तथा खुसीपूर्वक पर्व मनाउन पाइयोस् । सात दिनसम्म मनाइने यो पर्वमा विशेषत: नारी शक्ति र सौन्दर्यमाथि भरोसा राख्दै त्यसलाई मनैदेखि स्वीकार गर्ने प्रण गरिन्छ ।

यो पर्वमा परिवारका सबै सदस्य जम्मा भएर मीठो खाने, राम्रो लगाउने काम मात्र हुदैन सँगै घुमेर रमाइलो पनि गरिन्छ । क्रिश्चियनिटी पनि प्रोटेस्टेन्ट र क्याथोलिक गरी दुई भागमा विभाजित छ । यिनीहरूका कतिपय रिवाज फरक ढंगले चल्दै आएका छन् । जे भए पनि क्रिश्चियनहरू म्यारीलाई मदर अफ द गडका रूपमा पूजा गर्छन् । क्रिश्चियनहरूले विशेष रूपमा मान्ने चाडमध्ये मदर्स डे पनि एक हो । यो दिन आफ्नी आमालाई भगवान्कै दर्जा दिई लाइभ गडेज भन्दै आमाको अगाडि घुँडा टेकेर प्रार्थना गरिन्छ भने मीठा खानेकुरा ख्वाएर सक्दो प्रसन्न तुल्याउने प्रयास पनि हुन्छ ।

जापानीहरूले मान्ने सिन्तो धर्म मातृशक्तिमा आधारित छ । सिन्तो धर्ममा  मनाइने थुप्रै चाडपर्व, रीतिरिवाज एवं संस्कारमा आमालाई भगवान्भन्दा माथि राखेर पूजा गरिन्छ । सिन्तो धर्ममा मनाइने विभिन्न सिरिन्स (पर्व) हुन्छन् । जन्म, मृत्यु, खुसीलगायतका अवसरमा सिन्तो फ्युनेरल, हाराय, इमी, मिसोगीजस्ता पर्वमा मातृशक्तिको पूजा गरी फलफूल, राइस केक, राइस वाइन आदि चढाइन्छ । सिन्तो फ्युनेरलमा किचुफुदा (पूर्णरूपमा कालो पहिरनमा सजिएका शोकधारीहरू) का अगाडि सिन्तो प्रिस्टले संस्कारका अनेकन कार्य गर्न लगाउँदा पनि आमा तथा  उनको अंशका बारेमा व्याख्या गरिन्छ जहाँ स्त्रीशक्तिलाई सर्वमान्य मानिन्छ ।

मुसलमानहरू मानव योनिद्वारा जन्मिने कुनै पनि मानव वा त्यसद्वारा निर्मित शक्तिलाई मान्दैनन् । उनीहरू निराकार शक्तिमा विश्वास गर्ने हुनाले आकाशतर्फ फर्किएर अल्लाह भन्दै प्रार्थना गर्छन् । जे छ माथि नै छ, यो विश्व–ब्रह्माण्डमा सर्वशक्तिमान् कोही छ भने ती केवल अल्लाह मात्र हुन्, जसलाई कसैले जन्म दिएको होइन, उनी स्वत:स्फुर्त शक्तिद्वारा उत्पत्ति भएका हुन् जसको निर्देशनमा पृथ्वीका सारा प्राणी, वनस्पति, चराचर जगत्, जल–थल अडिएको छ भन्ने विश्वासद्वारा निर्देशित हुन्छन् मुस्लिमहरू ।

ताओ धर्मले महिलालाई उच्च स्थानमा राखेको छ । ईशापूर्व तेस्रो तथा चौथो शताब्दीका लाओत्सेको दर्शनमा आधारित यो धर्मले दीर्घजीवी र मृत्युरहित जीवनका सम्बन्धमा कुरा गर्छ । यसैलाई भियतनामीहरू दाओ नामले मान्छन् भने कोरियनहरू हान्जा वा आन्गुल भन्छन् यद्यपि यी सबै एउटै धर्म–संस्कृति हुन् । ताइवानमा समेत प्रचलित ताओ धर्ममा मातृशक्तिलाई उच्च स्थानमा राखिएको छ ।

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्