के हो थाइराइड

डा.अरुणकुमार सिंह

कार्तिक ७, २०७४

बालरोग विशेषज्ञ, बी.पी. कोइराला

स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान

थाइराइड एउटा ग्रन्थि हो जुन घाँटीमा सास फेर्ने नलीको बाहिरपट्टि हुन्छ । यो पुतली आकारको हुन्छ । यसलाई गलगाँड पनि भनिन्छ । यो ग्रन्थिको काम थाइराइड हार्मोन उत्पादन गर्नु हो । पुरुषको तुलनामा धेरै महिलामा थाइराइडको समस्या बढी देखापर्छ । पुरुषमा भन्दा महिलामा यो व्यापक मात्रामा पाइएको छ । किशोरीहरूमा यसले अझ व्यापकता पाएको देखिन्छ । बाबुआमालाई यो रोग भए सन्ततिलाई पनि हुने सम्भावना हुन्छ । महिला, वंशानुगत इतिहास, रोग प्रतिरोधात्मक क्षमतामा र्‍हास, धूमपान, गर्भावस्था, गलगाँड तथा घाँटीमा धेरै गिर्खा भएको अवस्था, क्यान्सर तथा विकिरण उपचार गरेकाहरू ‘हाइपरथाइराइडिज्म’ हुनसक्ने जोखिम समूहमा छन् । यसैगरी प्रौढ उमेर, पहिले थाइराइडसम्बन्धी रोग भएका (गलगाँड, ग्रन्थिको शल्यक्रिया वा विकिरण चिकित्सा, दीर्घरोगीहरू जस्तै मधुमेह, रक्तअल्पता, ढिकेनुन सेवन गर्नेहरू पनि ‘हाइपोथाइराइडिज्म’ को जोखिम समूहमा पर्छन् ।

आयोडिनको अभाव थाइराइड ग्रन्थिको कार्यक्षमता र्‍हासको प्रमुख कारण हो । आयोडिन नमिसाइएको ढिकेनुन सेवन गर्ने समूहलाई यो रोग बढी लाग्छ । हार्मोन उत्पादन तथा नियन्त्रण गर्ने काम मस्तिष्कले गर्छ । सधैं तनावमा रहँदा हार्मोन नियमित गर्ने प्रक्रियाले राम्रोसँग काम गर्दैन । असुरक्षित तरिकाले घाँटी, छाती,दाँत एवं टाउकाको एक्सरे गर्दा पनि रोग उत्पन्न हुनसक्छ ।

रक्त परीक्षण

रक्त परीक्षणमा यदि टी–३, टी–४ बढेर टीएसएच घटे हाइपोथाइराइडिज्म पत्ता लाग्छ । त्यसैगरी टी–३ र टी–४ घटे तथा टीएसएच बढे हाइपोथाइराइडिज्मको निदान हुन्छ । स्वस्थ व्यक्तिमा थाइराइड हार्मोन घटबढ नभै सामान्य मात्रामा हुन्छ ।

उपचार

परीक्षणपछि थाइराइड देखिए चिकित्सकको सल्लाहअनुसार लामो रेडियोएक्टिभ, आयोडिन तथा एन्टी थाइराइड औषधि र शल्यक्रिया (हाइपरथाइराइडिज्मका लागि) का थाइराइड हार्मोन चक्की (हाइपोथाइराइडिज्मका लागि) सेवन गर्नुपर्ने हुन्छ । थाइराइडका औषधि सहज रूपमा उपलब्ध हुन्छन् । यसमा आवश्यकतानुसार विशेष उपचार तथा लाक्षणिक उपचारसमेत गराउनुपर्ने हुनसक्छ ।

जोगिने उपाय

थाइराइडबाट जोगिने एक मात्र उपाय समय–समयमा थाइराइड हार्मोनको रक्तपरीक्षण गराउने र रोग भए समयमै उपचार गर्ने हो । आयोडिनयुक्त नुन तथा

पौष्टिक खाना खाने, अनावश्यक रूपमा एक्सरे, सिटिस्क्यान आदि नगर्ने तथा तनाव एवं चिन्तालाई न्यूनीकरण गरेर पनि थाइराइडबाट जोगिन सकिन्छ ।

हाइपरथाइराइडिज्मको लक्षण

    एक्कासि धेरै मात्रामा तौल घट्नु । हात काम्नु । मुटुको धड्कन तीव्र तथा अनियमित हुनु ।

धेरै पसिना आउनु ।केशमा हाँगा फाट्नु, झुर्रिनु, झर्नु ।

 पटक–पटक दिसा लाग्नु । सामान्य र चिसो तापक्रममा पनि बढी गर्मी हुनु, निद्रा नलाग्नु ।

 महिनावारी नहुनु वा अल्प मात्रामा हुनु । आँखा ठूला देखिनु, सास फेर्न गार्‍हो हुनु ।

 जोर्नीहरू दुख्नु, कमजोर अनुभव हुनु, घाँटी गलगाँडजस्तै बढ्नु ।

 बालबालिकाहरूमा अध्ययन क्षमतामा र्‍हास, बानी–व्यवहारमा समस्या ।

 मुटुको रोग भएका प्रौढको छाती धेरै दुख्नु, सास फेर्न गार्‍हो हुनु ।

 मांसपेशी विशेष गरी काँध एवं जाँघ कमजोर हुनु ।

 केश र छाला सुक्खा हुनु । सुस्त हुनु । नङ टुट्नु, झुरो हुनु । छाला पहेंलो देखिनु ।

खानामा अरुचि भए पनि तौल बढ्नु । थकित एवं कमजोर हुनु ।

 छाला चिसो हुनु । चिसो सहन नसक्नु ।

    स्मरण समस्या, डिप्रेसन तथा एकाग्रतामा कमी तथा कब्जियत ।

 महिनावारी अनियमित तथा धेरै हुनु ।

 घाँटी गलगाँडजस्तो बढ्नु, हातखुट्टा, पैताला, मुख तथा आँखामुनि सुन्निनु । स्वर धोत्रो तथा भास्सिएको हुनु, मांसपेशीमा पीडा हुनु, बाउँडिनु तथा कोलेस्ट्रोल बढ्नु ।

 बालबालिकाहरूमा अरुचि, वृद्धिमा र्‍हास, जन्डिस, कमजोरी तथा स्मरणशक्तिमा र्‍हास । कुनै–कुनै बालबालिकामा अस्वाभाविक तौल बढ्नु तथा यौवनावस्था ढिलो आउनु ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्