छोरी जन्मिँदा खुसी

जितेन्द्र साह

कार्तिक ७, २०७४

 

छोरी जन्मिँदा महिलालाई विभिन्न प्रकारका यातना दिइएका अनि घरबाट समेत निकालिएका थुप्रै घटना घटिरहेका हुन्छन् तर हाम्रै समाजमा प्रशस्तै त्यस्ता व्यक्ति एवं परिवार छन् जसकहाँ छोरी जन्मिँदा खुसीयाली छाउँछ । उनीहरू छोरीको आगमनलाई शुभ संकेत मान्दै मिठाईं बाँड्छन् ।

पहिलो सन्तानका रूपमा छोरी जन्मिँदा विराटनगर, समताचोक बस्ने २७ वर्षीय नवल यादवले गदगद हुँदै लड्डु बाँडे । उनको परिवारले छोरीलाई समृद्धि, ज्ञान तथा घरपरिवारको संरक्षणकर्ता मान्यो । धेरै समयदेखि रोकिएको एउटा आर्थिक कारोबारसमेत छोरी जन्मिएको केही दिनपछि अघि बढेकाले औषधि व्यवसायी यादवको खुसीको सीमा रहेन । उनी मोरङको पूर्वी भेक ऊर्लाबारीका बासिन्दा हुन् । ‘ओरालो लागेको व्यापारले छोरीको जन्मसँगै गति लियो, उनी मेरा लागि भाग्यशाली साबित भएकी छिन्,’ यादव भन्छन् । शिक्षा, करियर एवं अवसरका दृष्टिकोणले यो छोरीको युग भएको कुरा उनले राम्रोसँग बुझेका छन् ।

‘म र मेरी श्रीमती प्रीतिले पहिलो सन्तान छोरी नै होस् भन्ने चाहना राखेका थियौं,’ यादव भन्छन्, ‘बाआमाको असल साथी र सहयोगी छोरी नै हुन्छन्, दोस्रो वा तेस्रो सन्तान भए उनीहरूका लागि पनि उनी अभिभावकजत्तिकै हुन्छिन् ।’ यादव भन्छन्–छोरीमा जति हेरचाहको भावना छोरामा हुँदैन । यादवका पनि दुई दाजु तथा एक बहिनी छन् । ‘विवाह गरेर गैसके पनि वृद्ध बा–आमाको चिन्ता हामीभन्दा बढी बहिनीलाई हुन्छ ।

यादवकी बहिनीको विवाह मोरङको कटहरीमा भएको छ । यादवका बा–आमा ऊर्लाबारीमै बस्छन् । ‘छोरी जन्मिँदा न त परिवारमा कसैले खिन्नता व्यक्त गरे, न त कुनै खालको दबाब नै आयो,’ यादव भन्छन् । एउटै सन्तानको राम्रोसँग पालनपोषण गर्ने सोच राख्ने यादव दम्पतीले हाललाई अर्को सन्तान जन्माउने योजना बनाइसकेका छैनन् ।

एकपछि अर्को गर्दै दुई छोरी जन्मिँदा विराटनगर–४, खारजी बस्ने ३९ वर्षीय देवेन्द्र सापकोटा पनि निकै खुसी भए । सापकोटाका बुवाका ६ दाजुभाइ भए पनि दिदीबहिनी थिएनन् । त्यसैले दुईवटी नातिनी जन्मिएपछि परिवारका सबै जना दङ्ग परे । छोरीहरू जन्मिँदा उनले पनि टोलभरि लड्डु बाँडेका थिए । चेलीबेटी भनेपछि आफ्ना बा–आमा हुरुक्क हुने सापकोटा बताउँछन् । छोराहरूको सहयोगबिनै बा–आमाले अझै आफै काम गरेर खाइरहेको उनी बताउँछन् । सापकोटाका बा–आमा आफ्नै पुख्र्यौली घर सुनसरी बराह–८, चक्रघटीमा छन् । सापकोटाले दुई छोरीलाई पढाएर आफ्नै खुट्टामा उभ्याउने लक्ष्य लिएका छन् । ‘अर्को सन्तानको योजना छैन,’ उनी भन्छन् । सापकोटाकी आठ वर्षीया जेठी छोरी कक्षा–२ मा तथा चार वर्षीया कान्छी छोरी नर्सरीमा पढ्छन् । सापकोटा पत्नी २९ वर्षीया मञ्जुकुमारी पनि छोरा वा छोरीभन्दा पनि सन्तान योग्य हुनुपर्ने कुरामा विश्वास राख्छिन् । ‘समाजमा लिङ्गभेदको कुरा गर्नेहरूको कमी हुँदैन तर मलाई यस्ता कुराको वास्ता छ्रैन,’ मञ्जुले बताइन् ।

मोरङको रंगेली–५, आँपगाछीका ५३ वर्षीय लक्ष्मण मण्डलले तीन छोरीलाई उच्च शिक्षा दिएर आत्मनिर्भर बनाउने अठोट लिएका छन् । पेसाले किसान एवं व्यवसायी मण्डल छोरीहरूकै अध्ययनका लागि २७ वर्षदेखि विराटनगरमा डेरा गरी बसेका छन् । उनकी श्रीमती घरबारी र खेतको रेखदेखका लागि गाउँमा बस्छिन् ।

मण्डलकी २५ वर्षीया जेठी छोरी बीएस्सी नर्सिङ उत्तीर्ण गरी भारतको नयाँदिल्लीस्थित एक अस्पतालमा कार्यरत छिन् । उनको विवाह भैसकेको छ । २० वर्षीया माहिली छोरी डिप्लोमा इन फार्मेसी सकेर श्रीमान्सँग वीरगञ्जमा छिन् । १९ वर्षीया कान्छी छोरी विज्ञान संकायबाट दस जोड दुई उत्तीर्ण गरेपछि एमबीबीएसको प्रवेश परीक्षाको तयारी गरिरहेकी छिन् ।

‘हाललाई भौतिक सुखसुविधा जोड्नेभन्दा छोरीहरूलाई पढाउने एवं अघि बढाउने बाहेक कुनै योजना छैन,’ मण्डल भन्छन्, ‘कान्छी छोरी चिकित्सक भएपछि हामी बूढाबूढीले आफ्ना बारेमा सोचौंला, अहिले जे छ त्यसमै सन्तुष्ट छौं ।’ छोरीहरू प्रतिभाशाली भएकाले छोरा छैनन् भन्ने पछुतो कहिल्यै नभएको मण्डल बताउँछन् । मण्डलका अनुसार ‘छोरा भएका केही बाआमाले समेत नि:सन्तानझैं एक्लो जीवन बिताएको प्रत्यक्ष देखिरहेको हुनाले मनबाटै छोराछोरीको विभेद हटिसकेको छ ।’

तीन पुस्तापछि घरमा छोरी जन्मिँदा रंगेली–६, का स्वास्थ्यकर्मी ४० वर्षीय व्रजेश मेहताले २०५९ सालमा घरमा ठूलो पार्टी गरेका थिए । मेहता परिवार कुनै पनि वर्ष छोरीको जन्म दिन मनाउन छुटाउँदैन । अहिले उमेरले १५ वर्ष पूरा गरेकी उनकी छोरी कक्षा–९ मा अध्ययनरत छिन् । छोरीपछि जन्मिएका उनका १० वर्षका छोरा कक्षा–४ मा पढ्छन् । परिवार नियोजन गराइसकेका मेहता छोराछोरीले एक–अर्कालाई पढाइमा टक्कर दिइरहेको बताउँछन् । हाल झापाको बिर्तामोड बस्ने मेहताका छोराछोरी विद्यालयमा उत्कृष्ट १० छात्रछात्रामा पर्छन् । ‘सुरुदेखि नै दुई सन्तान मात्र जन्माउने योजना थियो, छोरा हुन्छ कि छोरी भन्नेतिर कहिल्यै सोचेनौं,’ मेहता भन्छन् ।

दिदीको पर्याप्त हेरचाह एवं मार्गदर्शन पाएकाले बाबु पढाइमा राम्रो भएको उनी बताउँछन् । ‘बूढाबूढी कुनै कामले बाहिर जानुपर्‍यो भने दुवैजना मिलेर बस्छन्,’ मेहताका अनुसार ‘छोरीले भाइको खानपिनदेखि लुगाफाटोसम्मको ख्याल राख्छिन्, जेठो सन्तानका रूपमा छोरा भएको भए यस्तो व्यवहारको अपेक्षा गर्न सकिँदैनथ्यो ।’

विराटनगर–४, गोग्राहा चोककी ४५ वर्षीया सरिता दाहालका दुई छोरी मात्र छन् तर उनलाई छोरा नभएकोमा कुनै गुनासो छैन । दाहालले छोरीहरूलाई नै छोरासरह शिक्षा–दीक्षा दिएर हुर्काइरहेकी छिन् । उनकी जेठी छोरीले स्नातक तथा कान्छीले दस जोड दुई उत्तीर्ण गरेका छन् । दुवै छोरीलाई योग्य एवं दक्ष बनाउन उनी एक निजी संस्थामा कार्यालय सहायकको काम गर्छिन् । ‘छोरीहरूले मलाई कहिल्यै छोराको अभाव महसुस हुन दिएनन्,’ दाहाल भन्छिन् ।

पूर्व प्रधानाध्यापक गंगा साहले छोरीबाट जत्तिको आदर, माया एवं हेरचाह छोराहरूबाट नपाइने दाबी गर्छन् । उनका एक छोरी तथा दुई छोरा छन् । मोरङको बेलबारी–१०, डाँगीहाट निवासी साहका छोरीको विवाह भैसकेको छ । साहले हजूरबुवा बन्ने सौभाग्य पनि पाइसकेका छन् । ‘विवाह भएर गैसक्दा पनि मलाई कुनै अप्ठेरो परेको थाहा पाउनेबित्तिकै छोरी दगुरेर आउँछे,’ साह भन्छन्, ‘एउटै कोठामा बसे पनि छोराहरूले त्यति वास्ता गर्दैनन् ।’

विराटनगरका प्रसूति रोग विशेषज्ञ डा. बालकृष्ण साह प्राप्त अवसरको भरपूर सदुपयोग गर्दै छोरीहरूले विभिन्न क्षेत्रमा हासिल गरिरहेको उपलब्धिका कारण अभिभावकहरूको धारणामा परिवर्तन आइरहेको बताउँछन् । थोरै मात्र पनि जान्ने–बुझ्ने बा–आमाले पनि लिङ्ग परीक्षणभन्दा पनि स्वस्थ सन्तान होस् भन्ने चाहना राख्न थालेको डा. साहको अनुभव छ । सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक परिवर्तन एवं चेतनास्तरको दृष्टिकोणले यसलाई सुखद् मान्नुपर्छ । साहका दुई सन्तानमध्ये जेठी छोरी र कान्छा छोरा छन् । आफ्नो परिवारमा समेत छोराछोरीलाई लिएर कुनै विभेद नरहेको उनी बताउँछन् । साहले छोरा र छोरीको शिक्षामा बराबरी लगानी गरिरहेका छन् ।

‘छोरालाई चुनौती दिँदै छोरीहरूले उच्च उपलब्धि हासिल गरिरहेका छन्,’ डा. साह भन्छन्, समाजमा आफ्ना छोरीको उपलब्धिको बखान गर्नेहरू बढिरहेका छन् ।’ अहिले मधेसी, मुस्लिम, जनजाति तथा आदिवासी समुदायमा समेत छोराकै हाराहारीमा पढेर डाक्टर, नर्स, इन्जिनियर, व्यवसायी, शिक्षक एवं प्राध्यापक बन्ने छोरीहरूको कमी छैन । उनीहरूको उपस्थिति सबैतिर महसुस गर्न सकिन्छ ।

तुलनात्मक रूपमा छोराभन्दा छोरी मेहनती, प्रतिस्पर्धी एवं संयमी हुने डा. साह बताउँछन् । ‘छोराजस्तै छोरी पनि योग्य एवं दक्ष भए असल जीवनसाथीको छनोटमा समस्या नआउने कुरा अभिभावकहरूले बुझ्न थालेका छन्,’ डा. साह भन्छन्, ‘शिक्षित एवं आत्मनिर्भर बुहारीको खोजी बढिरहेको हुनाले विस्तारै समाजबाट दाइजो प्रथासमेत विस्थापित हुँदै जाने अपेक्षा गर्न सकिन्छ ।’

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्