लाटीको छोरो

राधिका अधिकारी

कार्तिक १, २०७४

 

एउटी लाटी युवतीको पछि लाग्छ सारा गाउँ । बोल्न नसक्ने एउटी अबला नारीमाथि गाउँलेहरू पटक–पटक आफ्नो उत्तेजना पोखेर शान्त हुन्छन् । ती युवतीको शरीरलाई केवल साधन सम्झन्छन् र प्रयोग गर्छन् सुन्दर बस्तीका सम्पूर्ण कथित सभ्य एवं बुद्धिजीवी कहलिएका सबै ओहोदाका व्यक्ति । यद्यपि जब समाजको पोखिएको उत्तेजना लाटीको गर्भमा हुर्किन्छ र लाटी पोटिली देखिन्छे, त्यसपछि सुरु हुन्छ समाजको टाउको दु:खाइ र अन्त्यमा लाटीको सन्तानको संरक्षणका लागि भन्दै केही रकम दिएर जिम्मा लगाइन्छ एउटा निर्दोष डोमलाई । के एउटी नारीको शरीर र कोखको मूल्य निर्धारण गर्न सम्भव छ ?

श्याम साहले लेखेको कथा ‘लाटीको छोरो’ ले उठाउने यो प्रश्न नाटकमा मात्र सीमित छैन । हाम्रो समाजले गर्दै आएको अभ्यास पनि यही हो । मधेसको पृष्ठभूमिमा तयार पारिएको यो नाटकमार्फत सुलक्षण भारतीले सम्पूर्ण समाजको चित्रण गर्न खोजेका छन् जसलाई कोपिना सिंह, टीका पहारी, पशुपति राई, कुन्दनचौधरी, सुदीप खतिवडा आदि कलाकारले साकार तुल्याउँछन् ।

सुन्दरबजारका डोम जातिमाथि वरिपरिका ठूलाबडाले गर्ने अत्याचार प्रसंगमा आए पनि यो नाटक लाटी, लाटीको लुटिएको कुमारित्व र उसको गर्भको वरिपरि घुमेको छ । लाटीसँगै केन्द्रमा छन् पवित्रा भाउजू । उनीमाथि पनि बारम्बार स्खलित भएको छ पुरुष समाज तर उनलाई बोक्सी र पागलको संज्ञा दिएर गाउँको कुनामा एउटा झुपडी बनाएर थन्काइएको छ । जहाँबाट बस्तीसम्म उनको आवाज पुग्न सक्दैन अनि लुटिरहन्छ समाजले उनको अस्तित्व ।

समाजमा न्यायको ठेक्का लिएका बिसनाथ बाबुले न्यायका नाममा लाटी र पवित्रालाई गाउँ निकाला गर्छन् । जो आफै पटक–पटक पुगेका हुन्छन् लाटीको अंगालोमा । सुन्दरबजारका न्यायमूर्ति मानिने बिसनाथका सामु असई प्रेमबहादुर थापा, पण्डित चन्द्रकान्त झा, व्यापारी सीताराम अग्रवाल, शिक्षक रामप्रसाद शर्मासहित सबैले लाटीको गर्भ आफ्नो भएको स्वीकार गरेका छन् पालैपालो । गाउँमा प्रत्येक मानिसले चर्चा गर्ने विषय लाटीको उठेको पेट बनिरहँदा पनि लाटी ती सबै कुराबाट अनभिज्ञ छे ।

लाटीको भूमिकामा प्रस्तुत भएकी कोपिनाको अभिनयले बेलाबेला दर्शकलाई भावशून्य बनाउँछ । जिद्दी र घमण्डी स्वभावकी लाटीलाई पञ्चायतमा २ मिनेट आºनो कुरा राख्न समय दिइन्छ । यसले पनि हाम्रो समाजमा पहिले बोल्न नसक्ने बनाइन्छ अनि न्यायका लागि वकालत गरिन्छ भन्ने एउटा तीतो यथार्थ देखाइएको छ । समाजले बोल्न भन्दा पीडाबोधले निस्किएको लाटीको चिच्याहटले दर्शकका आँखा रसाउँछन् । यही नै कोपिनाको सफलता हो । फोहोरी, बोल्न नसक्ने र जंगली स्वभावकी लाटीको भूमिकाप्रति उनले न्याय गरेकी छिन् ।

श्याम साहले लेखेको कथालाई दुरुस्तै प्रस्तुत नगरेर निर्देशकले परिमार्जित नाटकको रूप दिएका छन् । परिमार्जित गरिए पनि नाटकलाई आधुनिकीकरण भने गरिएको छैन । समग्रमा लाटीको छोरो नाटकमार्फत नारीमाथि न्यायका नाममा अन्याय नै थोपरिएको कथा प्रस्तुत भएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्