इलेक्ट्रोनिक्स सामग्रीको बहार

नारी संवाददाता

आश्विन २४, २०७४

दैनिक जनजीवनलाई सहज तुल्याउन विविध विद्युतीय सामग्री थपिँदै जान थालेका छन् । एक–दुई दशकअघिसम्म कम्मरमा दर्‍हो पटुका कसेर लुगा धुने, भाँडा मस्काउने अनि अचार–मसला पिस्ने काम गर्दा मात्र होइन सम्झिँदा पनि पसिना छुट्ने गृहिणीहरू आज यस्ता घरायसी सामग्रीलाई वरदान मान्छन् ।

फिलिप्सको आधिकारिक बिक्रेता स्याकार कम्पनीले भर्खरै बजारमा ल्याएको इयर प्युरिफायर नौलो विद्युतीय उपकरण हो जसले कोठाभित्रको हानिकारक कार्बनडाइअक्साइड सोसेर फ्रेस अक्सिजन प्रवाह गर्छ । काठमाडौंलगायतका प्रदूषणयुक्त सहरका घरहरूमा निकै उपयोगी यो इयर प्युरिफायर स्वास्थ्यसँग जोडिएको हुनाले यो बिलासिताको सामग्री नभई अहिलेको आवश्यकता नै भएको फिलिप्सकी सेल्स एक्ज्युकेटिभ दीपा थापा बताउँछिन् ।

नेदरल्यान्डको ब्रान्ड फिलिप्सको नयाँ राइसकुकर थ्रिडी टेक्नोलोजीयुक्त छ । साधारण राइस कुकरमा पिँधबाट मात्रै हिट आउँछ तर यसले तीनैतिरबाट तातो बनाएर खाना पकाउँछ । फिलिप्सले पछिल्लो समयमा विशेष र थप सुविधायुक्त हेयर ड्रायर पनि बजारमा उतारेको छ । १६ सय वाटको यो ड्रायरले २१ सय वाट बराबरको काम गर्छ । यसको अर्थ केश त छिट्टै सुक्छ नै थोरै बिजुली खपत यसको अर्को विशेषता हो । फिलिप्सको स्पिल्ट फ्रि हेयर स्ट्रेटनरले हाँगा फाट्नबाट जोगाउँछ भने लामो समयसम्म केश सीधा राख्न मद्दत पुर्‍याउँछ ।

सिजी डिजिटल, टंगाल, भाटभटेनीका म्यानेजर राजेन साङताङ भन्छन्–अहिले बढी मात्रामा ५० लिटरदेखि २ सय ५० लिटरसम्मका फ्रिज बिक्री भैरहेका छन् जसको मूल्य १३ हजार ४ सय ९० देखि ३४ हजार ६ सय ९० सम्म छ । सुपर कुलिङ, फास्ट आइस, सुपर क्विक आइस, इनर्जी सेभिङ, लो भोल्टेज कम्जम्सन, लङ–ट्रमसम्म चिसो बस्ने रिटेन फ्रेसनेसयुक्त फ्रिज अहिले बढी रुचाइएको छ । यसबाहेक ट्रान्सप्यारेन्ट ड्रयर, ग्लास सेल्सयुक्त फ्रिज अत्यधिक रुचाइएका फ्रिज हुन् । सिजीको डिम फ्रिज भने सबैभन्दा बढी माग भएको होम अप्लाइन्सेस हो । यसमा ३६ महिनाको वारेन्टी पाइन्छ ।

राजेनका अनुसार फ्रन्ट लोडिङ ६, ७ र ८ केजीका वासिङ मेसिन अहिले चल्तीमा छन् । वाटर सेभिङ गर्नुका साथै यसमा बिग एलइडी डिस्प्ले पनि छ भने यसको मोटरको आयु १० वर्ष भएको बताइन्छ । यसमा भएको वाटर म्याजिक क्युब भन्ने नयाँ फिचरले तीन वटा फ्लोमा पानीलाई फ्याँक्ने हुँदा कपडा शतप्रतिशत सफा हुन्छ । हटपट (पानी तताउने भाँडा), राइसकुकर, मिक्सचर ग्य्रान्डर आदि अप्लाइन्सेसमा पनि नयाँ सुविधाहरू थपिएका छन् । भर्खरै बजारमा आएको सिजीको वाटर डिस्पेन्सरमा टेबल टप तथा स्ट्यान्डिङमा क्याबिनेट (ग्लास–र्‍याक) युक्त छन् जहाँ गिलास सुरक्षित र हाइजिन तरिकाले राख्न सकिन्छ ।

कोरियन ब्रान्ड एलजी लाइफ स्टायल सपी मीनभवनका इन्चार्ज ज्योति खतिवडाका अनुसार पछिल्लो समय एलजीको कमर्सियल वासिङ मेसिन निक्कै चलेको छ । जुन १० केजी तथा १५ केजीमा उपलब्ध छ । यो वासिङ मेसिन १८ घन्टासम्म निरन्तर चलाउँदा पनि कुनै समस्या सिर्जना हुँदैन भने कम पानी खपतका साथै कम आवाज आउने र भाइब्रेसनमुक्त छ । यसमा कपडा राखेको ३७ मिनेटभित्रै कपडा धोई निचोरेर सुख्खा बनाएर बाहिर निस्कन्छ ।

एलजीकै नयाँ उत्पादन नियो–सेस माइक्रोवेभ ओभन २५ तथा ३९ लिटरमा उपलब्ध छ । यसको विशेषता भनेको कम बिजुली खपत तथा म्याग्नेट्रनमा १० वर्षे वारेन्टीका साथै आकर्षक लुक्सयुक्त हुनु हो । खतिवडाले भने–हामी बढी मात्रामा फ्रिज र वासिङ मेसिन बेच्छौं । एलजीको सिंगल डोर फ्रिजमा पनि १० वर्षे वारेन्टी दिएको एलजीका हरेक सामानमा स्मार्ट इन्भर्टर टेक्नोलोजी प्रयोग गरिएका कारण बलिया र अत्यधिक विद्युत् सेभिङ हुने खालका भएको खतिवडाको दाबी छ । एलजीले भर्खरै बजारमा ल्याएको मस्क्विटो–अवे तथा एफएम रेडियोयुक्त टेलिभिजन सर्वाधिक मन पराइएको छ ।

मस्क्विटो अवे टेलिभिजनले स्ट्यान्डबाई मोडमा रहँदा पनि लामखुट्टे भगाउँछ । २०१७ मै उत्पादन भएको एलजीको सुपर युएचडी टेलिभिजन फुल एचडीभन्दा ४ गुणा बढी पिक्चर क्वालिटी तथा उत्कृष्ट साउन्ड भएको टिभी हो । एलजीका अहिले ४३ देखि ८६ इन्चसम्मका फोके टेलिभिजन पनि बिक्रीमा छन् । एलजी कम्पनीका एसी (इयर कन्डिस्नर) हरू विशेषगरी तराई क्षेत्रका लागि उपयुक्त हुने खालका कुलिङ वन्ली सिस्टममा उपलब्ध हुन्छन् । यसमा स्मार्ट इन्भर्टर कम्प्रेसर प्रयोग गरिएको छ जसले छिट्टै चिसो बनाउने काम गर्नुका साथै आवाज पनि कम आउँछ ।

अनामनगर, न्यू प्लाजास्थित होरपुलको आधिकारिक बिक्रेता नवीन डिस्ट्रिब्युटर्सका प्रबन्ध–निर्देशक आशीष टिबडेवालका अनुसार अहिले यो ब्रान्डका पृथक् क्षमता र नयाँ सुविधायुक्त सामग्री बजार भित्रिएका छन् । रेफ्रिजेरेटर, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ आदि घरायसी सामग्री अहिले कम बिजुली खपत हुने गरी तयार पारिएका हुन् । होरपुलका उत्पादन गुणस्तरका हिसाबले उच्च तथा स्वास्थ्यप्रति विशेष ध्यान दिई निर्माण गरिन्छ । आशीषले भने–अहिले उपभोक्ताहरू दुई–चार पैसा बढी हाल्न तयार हुन्छन् तर गुणस्तरमा सम्झौता गर्दैनन् ।

विद्युतीय उपकरण मेरो दैनिकीका सहारा

म दुई सन्तानकी आमा र गृहिणी पनि हुँ । घर–अफिस मात्र होइन पाहुना व्यवस्थापनलगायतका काम आफैंले गर्नुपर्ने हुँदा विद्युतीय घरेलु उपकरण मेरा लागि वरदान साबित भएका छन् । मेरो घरमा फ्रिज र ओभन हुँदैनथे भने बिहान पकाएका खानेकुरा बेलुका फाल्नुपर्ने हुन्थ्यो । विद्युतीय घरेलु उपकरणले मेरो समय व्यवस्थापनमा सघाउ पुर्‍याउनुका साथै मेरो शारीरिक थकानसमेत कम गरेको छ । बजारमा आएका लेटेस्ट होम अप्लाइन्सेसका बारेमा जानकारी लिइरहन्छु । बजारमा जति पनि थप रयाँ सुविधायुक्त विद्युतीय घरेलु सामग्री आउँछन् म खोजी–खोजी किन्छु कारण एउटै हो हामीजस्ता कामकाजी महिलाको करियरमा यसले प्रत्यक्ष भूमिका खेलिरहेको छ दैनिक जीवनमा सहयोगी बनेर ।

                                              - अनिता पराजुली थापा, शिक्षिका

 

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्