चाडपर्वमा बालबालिकाको खानपान

डा. दिनेश धरेल

आश्विन ८, २०७४

दसैं–तिहार नजिकिँदै जाँदा ‘बिन्दास’ बिदाको पर्खाइमा हुन्छन् बालबालिकाहरू । बजार र विज्ञापनले नियन्त्रण गरेको हाम्रो खानपान चाडपर्वको बेला अझ अनियन्त्रित हुन्छ । यस्तो बेला विवेक पुर्‍याउन सकिएन भने बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । आफ्ना छोराछोरीलाई खुसी राख्नु आमाबाबुको पहिलो कर्तव्य हो । अझ चाडपर्वका बेला बालबालिकाको खुसीमा कोही सम्झौता गर्न चाहँदैनन् । बच्चाले खोज्यो भनेर चाउचाउ, चिजबल्स, कुरकुरे, चकलेट, जेम्स, कोक, मिरिन्डा, ड्यु, रेड बुल्स आदि जंक फुड किनिदिनु वा त्यस्ता कुरा खान खुला छुट दिनु हुँदैन । उनीहरूको क्षणिक खुसीका लागि यस्ता खानेकुरा खान दिँदा स्वास्थ्यमा असर पर्न सक्छ ।

अझ आफ्नो काम गर्न वा साथीसंगी, इष्टमित्रसँग समय बिताउन बालबालिकाले डिस्टर्ब नगरून् भनेर उनीहरूका माग पूरा गरिदिनु हुँदैन ।

फुर्सदमा बालबालिका अधिकांश समय टेलिभिजन हेर्छन् । यसले बालस्वास्थ्यमा अनेकौं असर पार्न सक्छ । लामो समयसम्म टेलिभिजन हेरेर बसिरहँदा उनीहरू शारीरिक रूपमा निस्क्रिय हुने हुँदा मोटोपन बढ्ने सम्भावना हुन्छ । अर्कातिर आकर्षक विज्ञापनको प्रभावका कारण उनीहरू अस्वस्थ खालका जंक फुड खान लालायित हुन्छन् । लगातार टिभी हेरिरहँदा निद्रा नपर्ने, आँखा दुख्ने, माइग्रेन भएकाहरूलाई टाउको दुख्ने समस्या सिर्जना हुने त छँदैछ हिंसाजन्य घटनाका दृश्य आदिबाट उनीहरूमा मानसिक असरसमेत पर्न सक्छ ।

खानेकुराका विज्ञापन निर्माताहरूले बालबालिका एवं किशोर–किशोरीहरूलाई नै लक्षित गरेको पाइन्छ । जिज्ञासु स्वभाव, नयाँ कुरा प्रयोग गर्ने र जोखिम लिने चाहना अनि देखासिकी गर्ने बानीका कारण उनीहरू सजिलै विज्ञापनले देखाउने रंगीन दुनियाँमा भुल्न पुग्छन् । कतिपय विज्ञापनले त अभिभावकको मस्तिष्कमा समेत असर पार्छन् । भ्रम छरेर बिक्री बढाउने उत्पादकहरूको मुनाफाका लागि हामीले आफ्ना बालबालिकाहरूको स्वास्थ्यको ‘च्याँखे’ थापिरहेका त छैनौं ? यो जुनसुकै समयमा पनि ख्याल गर्नुपर्ने कुरा हो, तर चाडपर्वको रमझमका बेला हामी यसको चंगुलमा फस्ने गरी फुर्सदिला वा बेमतलबी भएका हुन सक्छौं । तेज मस्तिष्क प्राप्त गर्न, हाइट बढाउन, साहसी एवं सफल हुन, रोग लाग्नबाट जोगिन कुन–कुन पेय पदार्थ वा तयारी खानेकुरा खानुपर्छ भन्ने कुरा धेरै बालबालिकालाई कण्ठ हुन्छ । यस्ता जंक फुडमा के–कस्ता विषाक्त सामग्री वा रसायन प्रयोग गरिएका हुन्छन् भनेर खोज्न थाले परिणाम निकै भयावह देखापर्छ ।

मासु दसैंको प्रमुख आहार हो । वास्तबमा मासु पोषिलो खानेकुरा हो यसमा प्रशस्त मात्रामा प्रोटिन हुन्छ । त्यसैगरी मासुमा विभिन्न खालका भिटामिन, मिनरल्सजस्ता सूक्ष्म तत्वहरू पनि पर्याप्त हुन्छन् । बालबालिकाहरूको वृद्धि एवं विकासका लागि भोजनमा माछा–मासु समावेश हुनु जरुरी हुन्छ तर केही दिनभित्रै धेरै मासु खाँदा बोसो पनि बढी नै खाइएको हुन्छ, जुन स्वास्थ्यका दृष्टिले फाइदाजनक हुँदैन । दसैंमा कतिपयले मासुको सेकुवा बनाउँछन् भने कतिपयले मासुलाई फ्राई गर्छन् । यस्ता मासुमा क्यान्सरजन्य तत्व समावेश हुन्छन् । मासु पकाउँदा धेरै मसला तथा तेल प्रयोग गर्ने बानी हानिकारक साबित हुनसक्छ । त्यसैगरी दसैंमा मासुलाई धेरै दिनसम्म राखेर खाइन्छ । यसले गर्दा मासु दूषित हुन्छ । त्यस्तो मासु खाँदा बिरामी हुने सम्भावना बढी हुन्छ । चाडपर्वमा मिठाई पनि प्रयोगमा आउँछ । गुलियो कुरा धेरै खाँदा बालबालिकाको दाँत कीराले खान्छ । चकलेट, बरफ आदि खाएर दाँत कीराले खाइराखेका बेला धेरै दिनसम्म थरीथरीका मिठाईं खाएर राम्रोसँग दाँत नमाझ्दा बालबालिकाका दाँत बिग्रन्छन् । धेरै गुलियो खाने बालबालिकामा मोटोपनको समस्या पनि उत्तिकै हुन्छ ।

बच्चा त हो, मोटाएर के हुन्छ भन्ने धारणा राख्नु हुँदैन । अहिले धेरै बालबालिकामा मोटोपन देखिन थालेको छ । मोटोपन मधुमेह, उच्च रक्तचाप, मुटुको रोग, दमजस्ता दीर्घ रोगको भण्डार हो । गुलिया तथा चिल्ला खानेकुरा अनि जंक फुड धेरै खाने र धेरैजसो निस्क्रिय रहने बालबालिका मोटोपनको सिकार हुन्छन् । कम तौल तथा कम उचाइ हुने कुपोषणको समस्याले सताइरहेको हाम्रो देशमा बालबालिकाहरूको मोटोपन पनि अर्को गम्भीर समस्याका रूपमा देखापर्न थालिसकेको छ ।

चाडपर्वका बेला जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अर्को कुरा खाद्यपदार्थमा गरिने मिसावट हो । बेसार, मसला, मिठाई, तेल, चिनी, सख्खर, मह, जाम, जुस, कफी, चिया, दूध, घिउ आदि विभिन्न खानेकुरामा व्यापक रूपमा मिसावट हुने गरेको पाइन्छ । बालबालिका रंगीन तथा गुलिया खानेकुराहरूप्रति बढी आकर्षित हुन्छन् । रंग र स्वादका लागि अखाद्य एवं स्वास्थ्य बिगार्ने केमिकल प्रयोग भएको कुरा उनीहरूलाई थाहा हुँदैन । कतिपय अभिभावकसमेत यस्ता मिसावट र तिनको असरका सम्बन्धमा जानकार हँुदैनन् । काँचा फलफूललाई एकैपटक पकाउन र तरकारी, फलफूल आदिलाई ठूलो बनाउन प्रयोग गरिने औषधिले पनि स्वास्थ्यमा गम्भीर असर सिर्जना गर्नसक्छन् । सरसफाइमा ध्यान दिइएको छैन र बासी वा सडेगलेका कुरा प्रयोग गरिएको छ भने स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । चाडपर्वका बेला आफू पनि बिरामी नपर्न र बालबालिकाहरूलाई पनि बिरामी हुन नदिन यस्ता कुरामा सचेत रहनुपर्छ ।

खानेकुरामा सागपात तथा फलफूलको मात्रा पर्याप्त हुनुपर्छ । भिटामिन, मिनरल्स आदि शरीरको रक्षा गर्ने सूक्ष्म तत्वहरू प्राप्त गर्न मात्र नभई कब्जियत हुन नदिन पनि फाइबरयुक्त खानेकुरा प्रशस्त खानु जरुरी छ । खानामा प्लेटको झन्डै आधा भाग तरकारी तथा फलफूल हुनुपर्छ । माछा, मासु, अण्डा वा दाल, गेडागुडी आदि प्रोटिन धेरै हुने खानेकुरा प्लेटको एक चौथाइ हुनुपर्छ भने अर्को एक चौथाइ भात, रोटीजस्ता अन्न हुनुपर्छ । यस्तो प्लेटको छेउमा एक गिलास दूध वा दही भए भोजन सन्तुलित हुन्छ ।

चाडपर्व मनाउँदा रमाइलो गरिन्छ । यसका लागि घरमा बसेर मीठा परिकार खाइन्छ । त्यस क्रममा आफूसँगै पाहुनाहरूलाई हाइजनिक खानेकुरा ख्वाउनुपर्छ । अतिथि सत्कारमा ताजा फलफूलको जुस, सर्बत, दूध, सादा पानी आदि प्रयोग गर्न सकिन्छ । यतिबेला ताजा फलफूल तथा सलाद पनि उत्तिकै प्रयोग गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्