बाल्यकालको दसैं

सिर्जना दुवाल श्रेष्ठ

आश्विन ५, २०७४

उषा शेरचन

थाकखोलाबाट बसाइ सरेर पोखरा आउने पहिलो थकाली परिवारकी सदस्य हुन्–उषा शेरचन । भक्तपुरबाट बसाइ सरेका नेवार समुदायका बीचमा एक्लो थकालीको घर उनकै थियो । नेवार समुदायले दसैं (मोहनी) नौ दिनसम्म मान्ने हुनाले उनी पनि शक्ति पीठहरूमा दर्शन गर्न जान्थिन् । हुन त उनको समुदायले दसैं–तिहार होइन फागुपूर्णिमालाई आफ्नो मुख्य चाड मान्छ । टोलभरि सबैले मनाउने हुँदा उनीहरू टीकाको दिन मात्र दसैं मान्थे र टीका थाप्थे । उनका हजुरबुवा थकाली समुदायका मुखिया भएकाले पोखरामा भएका सबै थकाली उनको घरमा टीका थाप्न र आशीर्वाद लिन आउँथे । त्यसैले त्यो दिन मात्र साँच्चिकै दसैं आएको अनुभूति हुन्थ्यो उनीहरूलाई । कसको टोलमा कत्रो पिङ राख्ने होडबाजी नै चल्थ्यो । उषा पनि खुसीसाथ पिङ खेल्न जान्थिन् ।

नौरथामा एउटा समुदाय मालश्री बजाउँदै टोलटोल तथा घरघर पुग्थ्यो । उक्त समूहले मालश्रीको धुन बजाउन थालेपछि साँच्चिकै दसैं आएको अनुभूति हुने उषा बताउँछिन् । नयाँ लुगा, नयाँ जुत्ता र गहना लगाएर आफूभन्दा ठूलाका हातबाट टीका थाप्न जाँदा आफ्नो ध्यान टीका र आशीर्वादमा भन्दा नयाँ–नयाँ नोटको दक्षिणामा बढी केन्द्रित हुने कुरा बताउँदै उषा भन्छिन्–चाडपर्वमा रमाइलो हुने भनेकै बाल्यकालमा रहेछ । अझै पनि बाल्यकालमा मनाएका दसैंका ती रमाइला र सुन्दर दिनहरू मस्तिष्कबाट हटेका छैनन् ।

मोहितवंश आचार्य

कलाकारिता र गायनमा उपस्थिति जनाउँदै अहिले ब्रिक्स क्याफेमार्फत होटल व्यवसायमा सक्रिय मोहितवंश आचार्यलाई दसैं भन्नासाथ बाल्यकालको सम्झना आउँछ । १ महिना स्कुल बिदा हुने भएकाले उनलाई निकै रमाइलो लाग्थ्यो । त्यतिबेला उनी बुवा हरिवंश आचार्यसँगै घट्टेकुलोमा बस्थे । टोलका ८–९ जना साथी दसैंमा घर जाने हुँदा उनलाई असाध्यै नरमाइलो लाग्थ्यो । बुवा–मुमालाई हामी पनि घर जाऊँ भनेर हैरान पार्थे तर मोहितको परिवार काठमाडौंकै भएकाले गाउँ जाने कुरै हुँदैनथ्यो । घटस्थापनादेखि सपरिवार विभिन्न देवी मन्दिरमा गएर दर्शन गर्थे ।

अझै पनि दसैंमा आकाशमा उडिरहेको चंगाले उनको मन हर्षित बनाउँछ । परिवारमा कसैलाई तास खेल्न नआउने हुँदा घरमा कहिल्यै तास खेलेको अनुभव छैन उनीसँग । बुवालाई टोलका मानिसहरूले तास खेल्न बोलाउन आउँदा सधै अन्तै तास खेल्न जानुभयो भनेर झूटो बोलेको पनि उनलाई अझै सम्झना छ । उनको घरमा जोनी नामक कुकुर थियो । दसैंमा घरमा खसी ल्याएपछि उसले जात्रै गथ्र्यो ।

जोनीलाई एउटा कुनामा बाँधेर राख्नुपथ्र्यो । पछि जोनीकै कारण खसी काट्ने चलन पनि बन्द भयो । मोहितलाई दसैंको सबैभन्दा मनपर्ने पक्ष नै टीका हो । टीकाका दिन उनीहरू नयाँ पहिरन लगाई आफन्तहरूकहाँ टीका लगाउन जान्थे । राति दाइ र उनी बसेर कसले कति पैसा कमायो भनेर गन्थे । त्यतिबेला उनलाई दसैं भनेको पैसा कमाउने पर्वजस्तै लाग्थ्यो ।

रमिला नेमकुल

फेसन डिजाइनर रमिला नेमकुललाई बाल्यकालको जस्तो रमाइलो दसैं कहिल्यै हुँदैन जस्तो लाग्छ । अहिले उनलाई दसैं मान्यजनका हातबाट टीका थाप्न जाने, आशीर्वाद लिने पर्व जस्तो लाग्छ । उनको घरमा ९८ वर्षकी हजुरआमा हुनुहुन्छ भने मावलीमा पनि हजुरमुमा हुनुहुन्छ । त्यसैले पनि दसैं आउन थालेपछि रमिलालाई रमाइलो महसुुस हुन्छ । बाल्यकालमा टीका र आशीर्वादभन्दा दक्षिणाकै लोभ हुन्थ्यो रमिलाले बताइन् । मामाघरमा १२–१३ जनासँग टीका लगाउनुपथ्र्याे । ठूलोदेखि लाइन बसेर टीका लगाउने चलन थियो । नातिनातिनीमा सबैभन्दा ठूली नातिनी रमिलाले अरूले भन्दा बढी दक्षिणा पाउँथिन् । त्यसमा पनि कसले बढी दक्षिणा दिन्छ, पहिले त्यहीँ टीका लगाउन जान खोज्थिन् । दसैंमा हजुरमुमाले सबैलाई सधैं एउटै आशीर्वाद छोरा पाओस्, मनोकामना पूरा होस् भन्ने आशीर्वाद दिने कुरा पनि उनी रमाइलो मान्दै सम्झना गर्छिन् । रमिलालाई अझै पनि त्यो मोभमेन्ट पर्खन मन लाग्छ र आशीर्वाद लिन हतार हुन्छ ।

मोहना क्षेत्री

इभेन्टम्यानेजर तथा शिक्षिका मोहना क्षेत्रीलाई सानो छँदाको दसैं सम्झदा सारै रमाइलो लाग्छ । बाल्यकाल कालिम्पोङमा बिताएकी मोहनालाई दसैंको लामो बिदा सबैभन्दा मनपर्ने कुरा हो । संयुक्त परिवार भएकाले दसैं मनाउँदा उनीहरूको परिवारमा ४०–४५ जना हुन्थे । दसैं सुरु हुनुअघि नै बाबाले उनका लागि धूलाबारी आएर जिन्स तथा टिसर्ट किनिदिनुहुन्थ्यो । मोहनालाई अहिले पनि सम्झना छ, उनी त्यो लुगालाई रातभरि आफूसँगै राखेर छाम्दै सुत्थिन् ।

उनी दसैंको घटस्थापनादेखि नै हजुरआमासँग वरपरका दुर्गा मन्दिर पुग्थिन् । दार्जीलिङमा दुर्गापूजा एकदमै भव्य रूपमा हुन्थ्यो, फूलपातीमा सहर परिक्रमा गरिन्थ्यो । राति सपरिवार मन्दिर घुम्न जाने, टीका लगाएर दक्षिणा पाइने पनि उनलाई अर्काे रमाइलो लाग्ने पक्ष हो । सानोमा आशीर्वाद, टीका, पूजाभन्दा पैसाको महत्व बढी हुन्थ्यो । दाइहरूले पैसा रोपे पैसाको रुख उम्रने र डबल हुने बताउँथे । त्यसैले मोहनालगायत सबै दिदीबहिनी खाल्टो खनेर पैसा रोप्थे । उनीहरू हरेक दिन पैसाको रुख उम्रियो कि भनेर हेर्न जान्थे तर दाइहरूले त्यो पैसा पहिले नै झिकिसकेका हुन्थे । मोहनाको घरमा भोग चढाउन बोका ल्याइन्थ्यो तर त्यसमा उनी सानैदेखि रमाउँदिनथिन् । उनी दसैंमा गीत गाएर, नाचेर, पिङ खेलेर, भजनका साथमा पूजाआजा गरेर अनि मेला आदिको भ्रमणमा रमाउँथिन् । मोहना भन्छिन्–जति–जति ठूली हुँदै गइयो उति उति दसैंको रौनक घटेको अनुभूति हुन्छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्