अविस्मरणीय दसैं

लक्ष्मी भण्डारी थापा

आश्विन ५, २०७४

 

मानिसको जीवन थुप्रै कुराको सम्मिश्रण हो । अनुभव र अनुभूतिको संगालो यो मानवीय जीवन अवर्णनीय छ । इन्द्रेणी रंगको प्रभावले जीवनलाई अझ सुन्दर र आकर्षक बनाउँछ, यसैमा थपिन्छन् विविध अनुभव र बिर्सनै नसकिने क्षणहरू । यिनै कुराले जीवनलाई अमूल्य बनाउँछन् । हरेकको जीवनमा सधै सम्झिरहने क्षणहरू हुन्छन् जसले जीवनका पट्यारलाग्दा समय कटाउन सघाउँछन् । चाडपर्व हाम्रो जीवनमा खुसी थप्ने बहाना पनि हुन् जसलाई मनाउने क्रममा भुल्नै नसक्ने क्षण सिर्जना भएका कथाले हामीमा खुसी थप्छ ।  

अञ्जु भटट्राई

अक्षरा स्कुल काँडाघारीकी प्रिन्सिपल अञ्जु भट्टराई दसैंको स्मरण गर्दा बाल्यकालदेखि मनाएका सबैजसो दसैं सम्झन्छिन् । त्यसमा पनि मैले बिर्सनै नसक्ने दसैं भनेको २०५६ सालको दसैं हो–अञ्जु भन्छिन्–त्यो दसंैमा हामी मेरो हजुरबा बस्ने मूलघरमा भेला भएका थियौं । हजुरबाहरू ५ जना र उहाँहरूका छोरा–बुहारी, छोरी–ज्वाईं, नाति–नातिना तथा पनाति पनातिनासम्मको ठूलो समूहले एकै ठाउँमा बसेर टीका लगाएका थियौं । झन्डै डेढ सयजतिको समूह एकै परिवारका, त्यसमा पनि एकै ठाउँमा भेला भएर टीका लगाउँदा र आशीर्वाद ग्रहण गर्दै दक्षिणा गन्न पाउँदा अनि नयाँ लुगा लगाएर रोटे पिङ र लिङ्गे पिङ खेल्न जाँदाको सम्झना अझै ताजा छ ।

त्यतिबेला ठूलो परिवार भएका कारण झन्डै दुई घन्टा कुरेपछि मात्र आफूलगायत अन्य केटाकेटीको टीका लगाउने पालो आएको अञ्जुले बताइन् । त्यो पर्खाइमा पनि उनीहरू

निकै रमाउनुका साथै कति दक्षिणा पाइन्छ भन्ने कौतूहलता बोकेर बसेका थिए । हजुरआमाले पकाएको खसीका परिकार र चिउरा अनि खसीकै मासु र भात टपरीमा खाँदाको स्वाद उनीे कहिल्यै बिर्सन सक्दिनन् । एन्फा महिला फुटबल कमिटीकी अध्यक्ष अञ्जु अहिले पनि दसैं आयो कि त्यही दिन सम्झना गरिहाल्छिन् ।

 

रञ्जना प्रधान

उतिबेला अल इन्डिया रेडियोमा निकै नाम चलेकी गायिका रञ्जना प्रधान संसारभरमै चामलको टीका लगाउने हामी नेपाली मात्र भएको र यो सुन्दर संस्कारलाई जोगाइराख्नुपर्छ भन्छिन् । अहिले काठमाडौंमा शैक्षिक कर्ममा सक्रिय रञ्जना कक्षा ६ मा पढ्दाको दसैं कहिल्यै भुल्न नसक्ने बताउँछिन् । स्वरमा अब्बल प्रधान इलाहावाद विश्वविद्यालयअन्तर्गतको कर्साङस्थित गीतिकुञ्ज म्युजिकल कलेजमा भोकल क्लास लिन्थिन् । उनीसँग हार्मोनियम थिएन तर बजाउने रुचि भने उत्पात थियो । दसैंमा उनले आमासँग हार्मोनियमको माग राखे पनि दसैंमा धेरै खर्च हुने भएकाले त्यो माग पूरा हुन सकेन ।

रञ्जना आफै हार्मोनियम खोज्दै हिँड्न थालिन् । बल्लतल्ल सेकेन्डहेन्ड हार्मोनियमको दाम छिनी घर फर्किएर लुगा किन्ने पैसा लिएर हामोर्नियम किन्न हिँडिन् । प्रधान भन्छिन्– ‘त्यतिबेला आमाले एक्कासि नयाँ लुगा ल्याएर दिँदा खुसीले म पागलझैं नाच्न थालें । आमाबुबाको मन के मान्थ्यो र मैले लुगा किन्ने पैसाले हार्मोनियम किने पनि खुसुक्क नयाँ कपडा किनेर राखिदिनुभएको रहेछ । अहिले पनि प्रत्येक दसैंले मलाई त्यही दसैंको सम्झना गराउँछ र आमालाई सम्झेर मन भक्कानिन्छ ।’

 

विनीता कार्की

नेपाल बार एसोसियसनकी पूर्व केन्द्रीय सदस्य तथा अधिवक्ता विनीता कार्कीले दसैंलाई भ्रातृत्व प्रगाढ तुल्याउने पर्वका रूपमा बुझेकी छिन् । चाडपर्व मज्जाले मनाउनुपर्छ भन्ने मान्यता राख्ने कार्की दसैंमा समय निकालेर परिवार, साथीभाइ, इष्टमित्र तथा आफन्तसँग मात्र नभै आफ्ना वरिपरि रहनेहरूसँग पनि सम्बन्ध सन्तुलित राख्न सक्रिय हुन्छिन् । किनमेल, खाद्यान्न जोहो, घरको सरसफाइ तथा इन्टेरियर परिवर्तनमा पनि खट्ने विनीता वर्ष दिनमा अलिकति समय निकाल्न सक्ने समय यही भएको बताउँछिन् । परिवारका सम्पूर्ण सदस्य दसैंमा एकै ठाउँमा भेला हुन नसक्दा उनलाई खल्लो लाग्छ । विदेशमा बस्ने भाइहरू तथा काठमाडौंबाहिर बस्ने नजिकका आफन्त जम्मा भएर धुमधामसँग मनाएको २ वर्षअघिको दसैं विनीताका लागि स्मरणीय छ । त्यतिबेलाको दसैं जस्तो न त्यसअघि भएको थियो न त्यसपछि–विनीताले भनिन्–विदेशमा बस्ने भाइ–बुहारी अनि काठमाडौंबाहिर बस्ने आफन्त जम्मा हुँदा सयौं जना पुग्ने, कसैको के रुचि कसैको के, कोही खानामा, कोही तासमा त कोही चंगा उडाउन व्यस्त । घरैभरि उल्लास अनि हर्ष । सबैजना सँगै भएपछि कसैलाई कसैको चिन्ता नै नहुने । त्यतिबेला स्वर्गीय आनन्दको अनुभूति हुँदोरहेछ ।

 

बिनु श्रेष्ठ

व्यवसायी बिनु श्रेष्ठ २० वर्षअघिको आफ्नो दसैं आफ्ना लागि अविस्मरणीय भएको कुरा बताउँछिन् । माछामासुलाई मुख्य परिकार मान्ने नेवार समुदायमा उनले आजभन्दा २० वर्षअघि पशुबलि मात्र रोकिनन् करिब १ सय जनाको परिवारलाई नरिवल बलि दिने कुरामा सहमत गराइन् । श्रेष्ठको परिवारमा अहिले मासु त खाइन्छ तर घरमा काटमार गरिँदैन । उनको परिवारमा अहिले बाहिरबाटै मासु ल्याएर खाने चलन छ ।

 

आशिष पुरुष  

पेसाले मोडल तथा कार्यक्रम उद्घोषक आशिष पुरुष हरेक चाडपर्वले हामीमा फरक किसिमको ऊर्जा प्रदान गर्ने तथा अझ अनुशासितका साथै जिम्मेवार बनाउने तर्क प्रस्तुत गर्छन् । आशिषलाई १६ वर्षअघिको दसैंले अहिले पनि पुलकित बनाउँछ । आशिष भन्छन्–त्यो दसैंमा मेरी आमा र मेरो ठूलो दाइ सँगै हुुनुहुन्थ्यो । अहिले उहाँहरू दुवैजना यो संसारमा हुनुहुन्न । त्यतिबेला दसैंअघि हाम्रो घरमा दसैं सुरु भैसकेको थियो । किनमेल, सरसफाइ, घरमा नयाँ सामान भित्र्याउने चटारो, दसैं सुरु भएपछिको पूजाआजा, तास, पर्वलाई हर्षोल्लास बनाउन गरिने सबै क्रियाकलाप त्यतिबेला छुटेनन् । त्यसपछिका दसैंमा कहिल्यै यस्तो भएन न त परिवारका सबै सदस्य त्यसरी एकत्रित भइयो ।

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्