हिन्दू संस्कारमा महिला सम्मान

दीपक दाहाल

आश्विन ४, २०७४

प्राचीन कालदेखि आधुनिक कालसम्म अर्थात् वर्तमान समयसम्मको हिन्दू परम्परामा महिलाको स्थिति परिवर्तनशील पाइन्छ । हाम्रो समाज प्राचीन समयदेखि नै पुरुषप्रधान रहिआएको छ । यद्यपि अति प्राचीन समयमा महिलाहरू नै प्रधान रहेको अर्थात् मातृप्रधान समाज रहेको उल्लेख विभिन्न विद्वान्हरूले गरेका छन् । व्यवहारमा अनेकौं विविधता पाइए पनि शास्त्रीय मर्यादाका दृष्टिले हिन्दू सामाजिक परम्परामा महिला सम्मानको सुदीर्घ परम्परा रहिआएको छ । पुरातन समाजमा महिलाहरू पूज्य थिए र आजसम्म पनि श्रीमतीबिना हिन्दूहरूको कुनै पनि धार्मिक संस्कार पूरा हुँदैन ।

महिलालाई हिन्दू संस्कारमा सिद्धान्तत: उच्च दर्जा प्रदान गरिएको छ । हिन्दू आदर्शअनुसार महिलाहरूलाई अर्धाङ्गिनी भनिएको छ । मातृत्वप्रतिको आदर हिन्दू संस्कारको विशेषता हो, महाकवि कालिदासले रघुवंश महाकाव्यको सुरुको श्लोकमै ‘पार्वतीपरमेश्वरौ’ भनेर शिवभन्दा पहिले माता पार्वतीको नमन गरेका छन् । हिन्दू परम्परामा दुर्गा, काली, लक्ष्मी, सरस्वती आदिलाई शक्ति, धन एवं ज्ञानको प्रतीकका रूमा पूजा गरिन्छ । त्यसैले त हामी आफ्नो देशलाई समेत नेपाल आमा भनेर सम्मान प्रकट गर्छाैं ।

वैदिक युगमा महिलाहरूलाई कुलदेवी मानिन्थ्यो । त्यतिबेला पनि महिलाहरू केवल घरमा मात्र सीमित थिएनन् । उनीहरू रणक्षेत्र एवं अध्ययन–अध्यापनमा समेत पुरुषसँग काँधमा काँध मिलाएर अघि बढ्थे अर्थात् उनीहरूबीच लैंगिक समानता थियो । गार्गी, मैत्रेयी, घोषा काक्षिवती, लोपामुद्रा, अरुन्धती, अनसूया, कैकेयीजस्ता नारीहरूका बारेमा अध्ययन गर्दा यही तथ्य फेला पर्छ । वैदिक युग सभ्यता एवं संस्कृतिका दृष्टिले महिलाहरूको चरम उन्नतिको युग थियो, उनीहरूको प्रतिभा, तपस्या एवं विद्वत्ता सबै विकासोन्मुख हुनुका साथै पुरुषहरूलाई नै परास्त गर्नसक्ने किसिमको थियो । उक्त समयमा महिलाको स्थिति उनीहरूको आत्मविश्वास, शिक्षा, सम्पत्ति आदिका दृष्टिले पुरुष समान थियो ।

यज्ञमा पनि महिलालाई सर्वाधिकार प्राप्त थियो । वैदिक कालमा युवतीहरूको गतिविधिमा कुनै रोक थिएन न त उनीहरूलाई कसैसँग भेट गर्न नै प्रतिबन्ध थियो । मैत्रेयी, गार्गी, अनसूया शास्त्रार्थमा पारङ्गत थिए भने घोषा त वैदिक मन्त्रद्रष्टा नै थिइन् । ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ भन्ने उक्ति उक्त समयका लागि सर्वथा उचित थियो । महाभारतमा उल्लेख भएअनुसार उक्त कालमा सुसंस्कृत एवं सुशिक्षित पत्नी नभएको घरलाई घर नै मानिँदैनथ्यो । गृहिणीविहीन घर जंगलसरह मानिन्थ्यो र पत्नीलाई पतिसरहकै अधिकार प्राप्त थियो ।

विवाहमा वरलाई वरण गर्ने सन्दर्भमा कन्याको इच्छालाई पूर्ण मान्यता दिइन्थ्यो जसको उदाहरण स्वयम्वर प्रथालाई मान्न सकिन्छ । त्यतिबेला गान्धर्व विवाह पनि उत्तिकै प्रचलित थियो जसले महिला–पुरुष समानतालाई दर्शाउँछ । वर्तमान समयसम्म आइपुग्दा हाम्रा वैवाहिक संस्कारमा महिला र पुरुषलाई समान हैसियत प्राप्त छ । हिजोआजका हिन्दू वैवाहिक संस्कारमा पनि महिला–पुरुष समानताको अपेक्षा गरिएको पाइन्छ । यसैगरी वैदिक कालमा पुत्रको अभावमा पिताको सम्पत्तिको अधिकार पुत्रीको हुन्थ्यो ।

आपस्तम्ब धर्मसूत्रमा भनिएको छ–पति–पत्नी दुवै समान रूपले धनका मालिक हुन् । यसले पनि महिला–पुरुष समानताको वकालत गरेको छ ।

अझ मनुस्मृतिले त महिलाप्रति उच्च सम्मान दर्शाएको पाइन्छ, । केही उदाहरणबाट यो कुरा पुष्टि हुन्छ : जुन कुलमा महिलाहरू शोकमग्न रहन्छन् त्यो कुलको शीघ्र विनाश हुन्छ । जुन कुलमा महिलाहरू सदैव प्रसन्न रहन्छन् उक्त कुल सदैव उन्नतितर्फ उन्मुख हुन्छ । जहाँ महिलाहरूको पूजा हुन्छ त्यहाँ देवताको वास हुन्छ । यसरी महिलाका पक्षमा उच्च सम्मान दर्शाउने मनुस्मृति कतिपय सन्दर्भमा भने महिलाविरोधी भनाइका कारण आलोच्यसमेत छ । वैदिक कालपछि महिलाको स्थिति केही खस्किएको र पछि त धर्मशास्त्रमा बालविवाह, बहुविवाह आदि प्रचलन थप्दै ‘न स्त्री स्वातन्त्र्यमर्हति’ अर्थात् महिलालाई स्वतन्त्र हुन दिनु हुँदैनसम्म भनियो । यद्यपि संस्कारमा महिलालाई पूर्ण उपेक्षा गर्न भने कसैले सकेनन् । शास्त्रमै भए पनि महिलालाई उच्च स्थानमै राखियो ।

हाम्रा कतिपय शास्त्रीय प्रसंगमा पनि महिलाको सम्मान गर्नुपर्ने कुरामा जोड दिइएको पाइन्छ । भनिएको छ–संसाररूपी समुद्रमा डुब्न लागेका पुरुषहरूको उद्धार महिलाले गर्छन् । जो सपत्निक अर्थात् विवाहित हुन्छन् उनीहरू विश्वसनीय मानिन्छन् । यसकारण पत्नी पुरुषका लागि विश्वासको पर्याय एवं गति प्रदान गर्ने खालका हुन्छन् । हिन्दू संस्कारमा महिलालाई गौरी तथा भवानी देवी मानिन्छ । त्यसैले दसैंमा नवदुर्गा भवानीको प्रतीकस्वरूप नौ वटी कन्याको पूजा गरिन्छ । श्राद्धमा पत्नीको हातबाट लिएर पिण्डदान गर्दा पितृहरू प्रसन्न हुने तथा उनीहरू सय संवत्सर अर्थात् सय वर्षसम्म तृप्त हुने विश्वास छ । यसबाट पनि महिलाविना हिन्दू संस्कार अपूरो रहने कुरा प्रस्ट हुन्छ ।

संस्कृत भाषाका ठूला साहित्यकार वाण भट्टले माताको गर्भमा आएकी राज्यश्रीको वर्णन गर्दै लेखेका छन्–देवी यशोमतीले देवी राज्यश्रीलाई त्यसैगरी गर्भमा धारण गरेकी छिन् जसरी नारायणमूर्तिले माता वसुधा अर्थात् पृथ्वीलाई । यसबाट पनि महिलाप्रतिको सम्मान झल्कन्छ । प्राचीन हिन्दू समाजमा पुनर्विवाह एवं सम्बन्धविच्छेदको समेत व्यवस्था थियो । प्राचीन कालमा कुनै कारणवश पत्नीको परित्याग गर्न त सकिन्थ्यो तर त्यसका लागि पत्नीसँग अनुमति लिनुपथ्र्यो । पत्नीको अनुमति नपाई त्यागेको खण्डमा उक्त पुरुष सामाजिक बहिष्करणमा पर्नसक्थ्यो, ऊ पापको भागी हुन्थ्यो हिन्दू समाजमा महिलालाई राज्य सञ्चालनको अधिकार थियो । जसका अनेकौं उदाहरण छन् । भक्तपुरकी देवलदेवी, नायकदेवी, कश्मिरकी रानी सूर्यमती, काकतीय रानी रुद्रम्मादेवी आदि अनेकौं हिन्दू महिलाले आ–आफ्नो समयमा शासन गरेका थिए ।

हिन्दू परम्परामा दिदीबहिनीलाई खुट्टामै ढोगिन्छ । यसरी ढोग्नुको अर्थ प्रेम एवं सद्भावनाका साथ अझ निकट सम्बन्ध स्थापित गर्नु हो । सम्मानले जीवनमा ठूलो भूमिका निर्वाह गर्छ । एक–अर्काप्रतिको नि:स्वार्थ सद्भाव एवं समर्पणले सम्बन्ध प्रगाढ हँुदै जान्छ । यही कुरा मनन गरेर हिन्दू परम्परामा महिलालाई विशेष आदर गर्न सिकाइएको छ । पुरुषले महिलाको गोडामै ढोग्नुपर्ने संस्कार छ । हिन्दू परम्परामा आमा तथा दिदीबहिनी भनेका नारी शक्ति हुन् र उनीहरूलाई ढोग्दा साक्षात् गंगा, जमुना, सरस्वतीलाई ढोगेसरह हुन्छ भनिन्छ ।

सुभाषित रत्नभाण्डागारमा ‘चतुर्णामपि वर्णानां दारारक्षतमा सदा’ अर्थात् सबै वर्णका नारी जाति सधैं सुरक्षित छन् तथा ‘जामयो यानि गेहानि शपन्त्य प्रतिपूजिता, तानि कृत्या हतानिव विनश्यन्ति समन्तत: अर्थात् दिदीबहिनी, श्रीमती, छोरी र बुहारी जुन घरमा दु:खी भएर कचकच गरिरहन्छन् वा रुन्छन् त्यो घर मारण, उच्चाटन आदि वामतन्त्रद्वारा नासिएझैं धन, पशु, कुलसहित नष्ट भएर जान्छ भनिएको छ तसर्थ नारीलाई चरणमा ढोगेर खुसी तुल्याउने प्रयास गर्नु हिन्दू संस्कार हो । पौराणिक कथनअनुसार राजा अश्वपतिकी छोरी सावित्रीले आफ्ना श्रीमान् सत्यवान्लाई यमराजकहाँबाट फिर्ता ल्याएपछि उनले छोरी सावित्रीको चरणमा ढोगेका थिए । छोरीले यति ठूलो काम गर्न सक्छिन् भन्ने जानेर त्यही शक्तिका कारण उनीहरूलाई ढोग्न थालिएको हो भन्ने हिन्दूहरूको मान्यता छ । त्यस्तै हिमालय पर्वतकी छोरी पार्वतीको विलक्षण प्रतिभा देखेर पर्वतवासीहरूले छोरीलाई ढोग्ने चलन चलाएका हुन् भन्ने अर्को भनाइसमेत छ । जे होस्, महिलालाई आदर एवं सम्मान गर्नु हिन्दू परम्पराभित्रको उच्च संस्कार हो ।

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्