चाडपर्व : प्रेम र सद्भावको मौसम

नारी संवाददाता

आश्विन ३, २०७४

मानिस सामाजिक प्राणी हो । मानिसको समाज अरू प्राणीको भन्दा भिन्न हुन्छ । मानिस सामाजिक परिवेशमा जन्मन्छ, समाजको काखमा हुर्कन्छ र सन्ततिका रूपमा हाँगाबिँगा हाल्दै अघि बढ्छ । मानिसले समाजमा प्रचलित मानवीय स्वभावलाई सँगालेर राखेको हुन्छ । ती मानवीय स्वभाव वा नीतिसंगत व्यवहारलाई हाँगाबिँगारूपी शाखा सन्ततिले अनुकरण गर्दै जान्छन् र तिनै मानवीय स्वभाव, चरित्र वा व्यवहार सभ्यता र संस्कृति बन्न पुग्छन् ।

संस्कृतिको विशेषता नै हो, एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरित हुँदै जानु, जसले मानव सभ्यतालाई अघि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । पुर्खाको सद्व्यवहारसँग वर्तमान संस्कार र संस्कृतिको अन्तर्सम्बन्ध हुन्छ । मानिसलाई एकताको सूत्रमा आबद्ध गर्दै संस्कार र संस्कृतिले सुमार्गतर्फ अघि बढाउँछ । फलस्वरूप चाडपर्वको जन्म हुन्छ । त्यसकारण संस्कार, संस्कृति, मानवीय सभ्यता एवं चालचलन नै चाडपर्वका जननी हुन् । समाज र सभ्यताबीच, मानवीय व्यवहार र पुराना मान्यताबीच अनि मुख्य रूपमा संस्कृति र चाडपर्वबीच गाढा सम्बन्ध हुन्छ । दसैं–तिहारजस्ता पर्व हाम्रा त्यस्तै पर्व हुन् जसको आगमनसँगै प्रेम तथा सद्भाव झाँगिन्छ ।

समयसँगै चाडपर्व र संस्कृतिका रूप र पक्षहरू परिवर्तन हुँदै जान्छन् । जीवनसँगै गतिशील हुँदै अघि बढ्दा चाडपर्वहरू पनि एकै रूपमा कायम रहँदैनन् । कतिपय हराउँदै जान्छन् भने कतिपयले नयाँ अर्थबोध र स्वादसँगै आफूलाई जीवन्त राख्छन् । यस्तै आयाम, सन्दर्भ, अर्थ एवं रूप भएको चाड हो–दसैं ।

भिन्न धर्म, संस्कृति, भाषा र भेगका नेपालीहरूले साझा रूपमा मनाउने दसैंलाई हिन्दूवादी आँखाबाट मात्र हेर्नु उपयुक्त हुँदैन । दसैंका बेला देवी मन्दिरहरूमा भीड लाग्छ । देवी भगवती वा दुर्गा माताका रूपमा देशैभरि मातृसत्ता र स्त्रीशक्तिको पूजा हुन्छ । यो महिमा र गरिमा वर्णनले नेपाली समाजको ऐतिहासिक कालखण्डमा महिलाहरूको उच्च योगदानलाई दर्शाउँछ । दसैंमा स्त्रीशक्ति, कृषि जीवन र त्यससँग सम्बन्धित विभिन्न पक्षहरूको सम्मिश्रण पाइन्छ । यसलाई हेर्दा दसंै हिन्दू वा आर्यहरूको मात्र पर्व हो भन्न मिल्दैन । फेरि यो नेपालीहरूको मौलिक पर्व पनि हो किनभने नेपालका मगर, गुरुङ, राई, लिम्बू, थारू, नेवार, बाहुन, क्षेत्री आदि जातिमा जस्तो चामलको टीका र जमरा लगाउने चलन संसारका अन्य कुनै पनि जाति वा हिन्दूहरूमा पाइँदैन । यो नेपाली मात्रलाई आपसी प्रेम एवं सद्भावले बाँध्ने पर्व हो । राष्ट्रिय पर्व दसैं नवरात्रभर कठोर साधना गरेर मानिसभित्र रहेको खराब आचरण तथा आसुरी, पाशविक मनोवृत्तिबाट मुक्त हुने शास्त्रीय मान्यताका आधारमा मनाइँदै आएको छ ।

कमाउन देश–विदेश गएकाहरू घर फर्कने र सबैभन्दा बढी घर सम्झने बेला पनि दसैं नै हो । हजुरबा–हजुरआमाहरूले आफूसँगै भएका सन्तानलाई वरिपरि राखेर टीका र जमरासँगै आसिक दिएर दङ्ग पर्ने समय हो दसैं । मान्यजनको हातको टीका थापेर आपसी सम्बन्धलाई हार्दिक एवं जीवन्त राख्ने पर्व पनि दसैं नै हो । यसरी हेर्दा वर्षभरिको थकान सबसाउँदै आपसमा मोहक रूपले जोड्ने, अभिभूत पार्ने अनि भित्रैदेखि आनन्दित तुल्याउने अनौठो चाड हो दसैं । सबैको जीवनमा सुख, समृद्धि र उल्लासको सन्देश दिने पर्व पनि हो दसैं । नेपालीहरूलाई जोड्ने सांस्कृतिक सूत्र पनि हो दसैं ।

दसैंजस्तै तिहार पनि हाम्रो महत्वपूर्ण चाड हो । तिहारमा काग, कुकुर, गाई–गोरु, महालक्ष्मी तथा भाइपूजा गरिन्छ । तिहारमा महालक्ष्मी स्तोत्रपाठ, महालक्ष्मी दर्शन एवं उनको उपासना गरिन्छ । दिदी–भाइबीचको आत्मीयता कायम राख्न भाइपूजा गरिन्छ अनि दिदीबहिनीबाट आशीर्वाद ग्रहण गरिन्छ । दाजुभाइ तथा आफन्तबीचको तिक्तता दसैंको टीकाले मेट्छ भने दिदी–भाइबीचको द्वन्द्व तिहारमा पखालिन्छ ।

साथी–साथीबीचको कटुता बुद्ध जयन्तीमा विलय हुन्छ, आमा–छोराबीचको तिक्तता मातातीर्थ औंसीमा समाप्त हुन्छ । बाबु–छोरा र मामा–भान्जाबीचको तनाब कुशेऔंसी तथा जनैपूर्णिमामा विसर्जन हुन्छ । कुलपूजाले आफ्ना सगोत्री दाजुभाइबीचको सम्बन्धलाई अझ परिपक्व र चीरस्थायी बनाउन सहयोग गर्छन् । श्रीमान् तथा श्रीमतीको सम्बन्धलाई तीज र स्वस्थानी पूजाले अझ परिपक्व तथा ताजा बनाउँछन् । प्रत्येक दिनजसो चाडपर्व र उत्सवहरू पर्ने नेपालमा ठूला चाडपर्वलाई विशेष महत्त्व दिएर सानालाई कम महत्व दिइए पनि तिनमा निहित विशिष्ट अर्थलाई भने कम आँक्न मिल्दैन । हरेक दिनलाई उत्सव, उमङ्ग वा चाडपर्वका रूपमा मनाउनुपर्छ भन्ने जीवनको अर्थलाई आत्मसात् गर्ने भएकाले नेपालीहरू चाडपर्वलाई विशेष उल्लासका साथ ग्रहण गर्छन् । यिनले हामीलाई कुनै पनि समय निष्क्रिय रहेर व्यर्थमा फाल्नुहुँदैन भन्ने बोध गराउँछन् । चाडपर्वले खर्च गराउने होइन, उत्साहित गराउने, आपसी सम्बन्धमा प्रगाढता ल्याउने तथा आत्मिक शान्ति प्रदान गर्ने हो र यसले प्रेम एवं सद्भावलाई बढाएर मानवीय भावनाको विकास गर्ने कार्यमा सहयोग पुर्‍याउँछ ।

हाम्रा चाडपर्वले प्रत्येक नातालाई मजबुत बनाउँदै प्रत्येक प्राणीलाई प्रेम गर्न सिकाउँछन् । तिहारमा क्रमश: काग, कुकुर, गोरु, गाईको पूजा गरेर तिनीहरूप्रति कृतज्ञ हुन, नागपञ्चमीमा नागको पूजा गरेर वातावरणमा शुद्धता ल्याएकोमा आभार प्रकट गर्न, हनुमानको पूजा गरेर बाँदरको सम्मान गर्न, देवीको पूजामा बाघको समेत पूजा गरेर पर्यावरणमैत्री बन्न, गणेशको पूजामार्फत हात्तीजस्तो भीमकाय र सानो मुसालाई समेत उत्तिकै इज्जत दिन हिन्दूहरू प्रयासरत छन् । उनीहरू लक्ष्मीसँगै लाटोकोसेरो, विष्णुसँगै गरुड र तुलसी, सरस्वतीसँगै कमलको फूल र पुस्तकआदि सजीव/निर्जीव सारा चराचर जगत्का प्राणी तथा वस्तुहरूको इज्जत गर्नुपर्छ भन्ने दर्शनलाई व्यवहारमा परिणत गर्छन् ।

हाम्रा चाडपर्वले उपवास बस्न लगाएर स्वस्थ बनाउँछन् । पूजा गर्न लगाएर र दान दिन सिकाएर उदार र सहिष्णु हुन लगाउँछन् । श्रीखण्ड, तुलसी, पीपल, वर, शमी, पाख्री, आँप, कुश, दूबो आदि बिरुवा तथा झारपातलाई भगवान्को रूप मानेर वृक्षरोपण गर्न सिकाउँछन् । मूर्तिमा तिल–जौ–अक्षताले पूजा गर्ने परम्पराको विकास गराएर मन्दिरको संरक्षणमा वा आश्रय लिएर बसेका परेवा, मुसा आदि जीव वा पक्षीलाई खानाको व्यवस्था मिलाइरहेका हुन्छन् । वर, पीपल, तुलसी, कुश, दूबो, विभिन्न फलफूल चढाउन लगाएर मन्दिर तथा घरभित्र अक्सिजनको मात्रा बढाइरहेको र मनलाई सन्तुलित बनाइरहेको हुन्छ भने धूपबत्ती जलाउन लगाई रोगका कीटाणुहरूको विनाश गरेर वातावरण सन्तुलित गर्ने काम पनि गरिरहेको हुन्छ ।

देवतालाई खुसी पार्ने निहुँमा गाइने भजन, संगिनी, बालन, कर्खा आदिको चलनले इतिहासको संरक्षण गर्दै संगीत र कलाको प्राण भर्नुका साथै लोकसंस्कृतिको जगेर्ना गर्ने काम गर्छ । हाम्रा चाडपर्वले सद्भाव बढाउने कुरामा कुनै शंका छैन । चाडपर्वले कतै कसैको नोक्सान नगरी सबैको संरक्षण गर्दै अस्तित्वलाई जोगाउने भएकाले चाडपर्वको अन्त्य होइन, चाडपर्वमा देखिएका विकृतिको अन्त्य गर्नु आवश्यक छ । चाडपर्वको नाममा जाँड–रक्सी, गाँजा–भाङ र माछा–मासुलाई प्रश्रय दिन थालिएसँगै तिनमा विकृति आएको तथा जुवातासका कारण पर्वको नाम सुन्नासाथ लाजले झुक्नुपर्ने अवस्था सिर्जना भएको पनि पाइन्छ तर यो पर्वको मूल मर्म होइन । आर्थिक एवं मानसिक आडम्बरले त पर्वको मर्ममा अझ बढी असर पुर्‍याएको छ । त्यस्ता कुराप्रति सचेत हुनु आवश्यक छ अन्यथा चाडपर्वले दिनचर्या अघि बढाउन, समाजमा सहिष्णुता कायम गर्न, आपसमा भाइचारा कायम गर्न तथा पूर्ण रूपमा मनोरञ्जन प्रदान गर्न सहयोग पुर्‍याउँछन् ।

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्