दशैं बिदामा दिल्ली घुम्ने कि ?

नारी संवाददाता

आश्विन १, २०७४

छिमेकी देश भारत विशाल छ । भौगोलिक विशालतासँगै यसका सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक विशेषता पनि उत्तिकै छन् । विकासको मार्गमा अघि बढिरहेको भारत भ्रमणमा गएर एउटा रमाइलो अनुभव गर्न सकिन्छ किनभने भारत भ्रमण आफैंमा अनौठो अनुभव हुनसक्छ । भारतको राजधानी दिल्लीको भ्रमण जीवनकै अविस्मरणीय क्षण बन्नसक्छ । भारतको सबैभन्दा ठूलो सहर दिल्ली प्राचीनता तथा आधुनिकताको अभूतपूर्व संयोजन हो, जो अहिले विकासको मार्गमा फड्को मारिरहेको छ । दिल्ली मुम्बईपछिको सबैभन्दा बढी जनसंख्या भएको ठूलो सहर हो । नयाँ र पुरानो दिल्लीको मिश्रणपछि विस्तारित वर्तमान दिल्लीमा भारतको इतिहास, संस्कृति एवं आश्चर्यलाग्दा चीजहरूको संकलन फेला पार्न सकिन्छ । यो भारतको राजनीतिक गतिविधिको केन्द्र पनि हो भने दिल्ली पर्यटनपारखीहरूलाई आफूतर्फ आकर्षित गर्नसमेत सफल छ ।

समुद्री सतहबाट ० देखि १ सय २५ मिटर उचाइमा अवस्थित दिल्ली भारतको उत्तरी भागमा पर्छ । यसको पूर्वमा उत्तर प्रदेश तथा उत्तर, दक्षिण तथा पश्चिममा हरियाणा छ । दिल्ली रिज एवं यमुना नदी दिल्लीका दुई मुख्य भौगोलिक विशेषता हुन् । यमुना दिल्लीको एक मात्र प्रमुख नदी हो । यहाँको मौसम गर्मीमा अत्यधिक गर्मी तथा हिउँदमा अत्यधिक चिसो हुने खालको छ । मौसमका हिसाबले दिल्ली भ्रमण वर्षाको अन्तदेखि असोज, कात्तिक तथा मंसिर महिनातिर उपयुक्त हुन्छ ।

दिल्लीको संस्कृतिमा पनि ठूलो विविधता पाइन्छ । यहाँ दिवाली, महावीर जयन्ती, होली, लोहडी, कृष्णजन्माष्टमीजस्ता थुप्रै पर्व मनाइन्छ भने कुतुब तिहार, वसन्त पञ्चमी, विश्व पुस्तक मेला एवं अन्तर्राष्ट्रिय आँप महोत्सवजस्ता थुप्रै अनौठा पर्वसमेत मनाइन्छ । परिकारको कुरा गर्दा दिल्ली त्यो स्थान हो जहाँ मुगल व्यञ्जनको प्रारम्भ भयो, जसको प्रभाव दिल्लीका परिकारहरूमा पाइन्छ । यसका साथै यहाँ सबैजसो भारतीय परिकारको आनन्द उठाउन सकिन्छ । कडाही चिकेन, चिकेन मख्खन, चाट, जिलेबी, कचौडी एवं लस्सी दिल्लीका केही लोकप्रिय परिकार हुन् ।

दिल्लीमा निर्मित कैयौं स्मारक एवं पर्यटकीय स्थलले प्राचीन कालको सम्झना दिलाउँछन् । कुतुब मिनार, लाल किल्ला, इन्डिया गेट, लोटस मन्दिर तथा अक्षरधाम मन्दिर दिल्लीको वास्तुकलाका उत्कृष्ट कृतिमध्ये महत्वपूर्ण मानिन्छन् । यसैगरी यहाँ भारतीय राजधानीका रूपमा संसद भवन, राष्ट्रपति भवन, राजघाट तथा अन्य थुप्रै दर्शनीय स्थल छन् । इतिहासप्रति रुचि भएकाहरूले त जीवनमा एकपटक दिल्ली भ्रमण गर्नैपर्छ ।

दिल्लीका केही दर्शनीय स्थल

लालकिल्ला

लालकिल्ला भारतको महत्वपूर्ण स्थल हो । हरेक वर्ष जनवरी २६ का दिन हुने भारतको स्वतन्त्रता दिवस कार्यक्रम यही लालकिल्लामा आयोजित गरिन्छ । लालकिल्ला सन् १६३८ मा शाहजहाँले बनाएका हुन् । यो किल्ला बनाउन १० वर्ष लागेको थियो अर्थात् सन् १६४८ मा त्यसको निर्माण सम्पन्न भएको थियो । यो किल्लाभित्र थुप्रै भवन छन् जसमध्ये दिवान ए आम, मोती मस्जिद, रंगीन महल एवं शाही स्नानगृह दर्शनीय मानिन्छन् ।

 

इन्डिया गेट

दिल्लीको दर्शनीय स्थलमध्ये एक हो– इन्डिया गेट । आफन्त वा प्रिय पात्रसँग बेलुकी वा रातको समयमा दिल्लीको राजपथमा टहल्दै इन्डिया गेट घुम्नुको आनन्द अविस्मरणीय हुन्छ । इन्डिया गेटमै अमरज्योति पनि छ । भदौ महिनाको वर्षादी साँझमा रुझ्दै साथीभाइसँग इन्डिया गेट घुम्नु निकै रोमाञ्चक हुन्छ ।

 

कुतुब मिनार

कुतुब मिनारको निर्माण कुतुब–उद–दीन ऐबकले सन् ११९९ मा सुरु गरेका थिए भने इल्तुमिसले सन् १३६८ मा यसको निर्माण सम्पन्न गरे । यसको नाम ख्वाजा कुतबुद्दीन बख्तियार काकीको नाममा राखिएको हो । यसको प्रयोग नजिकैको मस्जिदको मिनारका रूपमा गरिन्थ्यो भन्ने विश्वास छ जहाँबाट अजान (नमाजको समयको जानकारी) दिइन्थ्यो । मस्जिदको नजिकै चौथो शताब्दीमा निर्मित फलामे स्तम्भ पनि छ जुन पर्यटकका लागि आकर्षणको केन्द्र बनेको पाइन्छ । यो भारतको दोस्रो ठूलो मिनार हो । यो मिनार ७३ मिटर अग्लो छ भने यसमा ३ सय ७९ वटा सिँढी छन् । यो स्थान युनेस्कोको विश्व सम्पदा सूचीमा समेत सूचीकृत छ ।

 

लोटस टेम्पल

कमलको आकारमा निर्मित यो मन्दिर कमलझैं देखिन्छ । दक्षिणी दिल्लीको मन्दिर मार्गस्थित यो मन्दिर बहाई धर्मको विश्वभरका सात मन्दिरमध्ये एक हो । यो मन्दिर किन पनि अनौठो छ भने यहाँ न त कुनै मूर्ति छ न त कुनै प्रकारको धार्मिक कर्मकाण्ड नै गरिन्छ । यहाँ विभिन्न धर्मसँग सम्बन्धित विविध पवित्र लेखहरू पढिन्छ । यहाँ पुग्दा एकै क्षण भए पनि जीवनका सारा पीडा एवं चिन्ता भुलिन्छ । मन्दिरको एक किनारमा बसेर सिर्सिर चल्ने हावाको आनन्द लिने हो भने त्यसले स्वर्गीय अनुभूति प्रदान गर्छ । यो मन्दिर ध्यान एवं प्रार्थनाका लागि अत्यन्त उपयुक्त थलो हो । यो मन्दिरलाई चारैतर्फबाट नौवटा तलाउले घेरेको छ जसका कारण यहाँ सदैव शीतलता कायम रहन्छ । यहाँ दैनिक आठदेखि दस हजार पर्यटक पुग्छन् ।

 

चाँदनी चोक

चाँदनी चोक दिल्लीको घुम्नैपर्ने स्थानमध्ये एक हो । कपडाको होलसेलका लागि प्रसिद्ध चाँदनी चोक नपुगी दिल्ली भ्रमण पूरा भएको मान्न सकिँदैन । हरेक सामानको होलसेल बजारका लागि प्रसिद्ध यो ठाउँ खानपानका लागि समेत उत्तिकै चर्चित छ । यहाँका पराठा, दही भल्ला, चाट पकौडी, जलेबी, फालुदा आइसक्रिम आदिले कसको मन नतान्ला र ?

 

अक्षरधाम मन्दिर

अक्षरधाम दिल्लीको सबैभन्दा महत्वपूर्ण धार्मिक स्थलमध्ये एक हो । १ सय एकड क्षेत्रफलमा फैलिएको यो मन्दिर विश्वकै सबैभन्दा ठूलो हिन्दू मन्दिर हो । यसकारण यो गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा पनि सामेल छ । यो मन्दिर ६ हजार टन राजस्थानी गुलाबी पत्थरबाट निर्माण गरिएको हो । यो मन्दिरको कालिगढी अद्भुत छ । फलाम र इस्पातजस्ता धातुको प्रयोगबिनै निर्मित यो मन्दिरको भित्तामा सूक्ष्म कालिगढी देख्न सकिन्छ जुन यो मन्दिरको विशेषता पनि हो । यसको पगौडाले अलग–अलग ध्यान मुद्रामा बसेका साधुसन्तहरूलाई प्रतिविम्बित गर्छ । यो मन्दिर हरेक सोमबार बन्द हुन्छ भने यहाँ अन्य दिन पनि बेलुकी साढे छ बजेसम्म मात्र प्रवेश पाइन्छ ।

 

कनाट प्लेस

भारतको राजधानी दिल्ली हो भने कनाट प्लेसलाई दिल्लीको राजधानी मानिन्छ । यो दिल्लीको प्रमुख व्यावसायिक केन्द्र हो । सन् १९३३ मा बसालिएको यो बजारको नाम ब्रिटेनको शाही परिवारका सदस्य ड्युक अफ कनाटको नाममा राखिएको हो । यहाँ दिल्लीको पुरानो शान देख्न पाइन्छ भने भित्री भागमा लगभग सबै अन्तर्राष्ट्रिय ब्रान्डका कपडाका शोरुम, रेस्टुराँ तथा बारहरू छन् ।

 

राष्ट्रपति भवन

दिल्लीमा घुम्नैपर्ने ठाउँ हो–राष्ट्रपति भवन । यो भवन निर्माण गर्ने समय सीमा ४ वर्ष थियो तर यसको निर्माण सम्पन्न हुन १७ वर्ष लाग्यो । यो भवन निर्माण भएको अठारौं वर्षमा भारत स्वतन्त्र भयो । यो चारतले विशाल भवनमा ३ सय ४० वटा कोठा छन् । २ लाख वर्गफिट क्षेत्रफलमा फैलिएको यो भवनको निर्माणमा ७ सय मिलियन इँटा तथा तीन मिलियन क्युबिक फिट ढुंगा प्रयोग भएको बताइन्छ । यो भवनमा इस्पातको प्रयोग कमै मात्रामा गरिएको छ ।

 

दिल्लीपछि कहाँ जाने ?

आगरा

दिल्ली भ्रमणपछि पायक पर्ने अर्को गन्तव्य हुनसक्छ–आगरा । ताजमहलका कारण ख्यातिप्राप्त आगरा ऐतिहासिक सहर हो । मुगल कालदेखि नै ख्यातिप्राप्त आगराको सम्बन्ध करिब १००० वर्ष ईशापूर्वका महर्षि अंगिरासँग रहेको मानिन्छ । अग्रवाण, अग्रवनबाट अपभ्रंश हुँदै आगरा हुन पुगेको यो सहर भारतकै सबैभन्दा ठूलो प्रान्त उत्तर प्रदेशमा छ । आधुनिक आगरा सन् १५०६ मा सिकन्दर लोदीले बसाएका हुन् जुन १५२६ देखि १६५८ सम्म मुगल साम्राज्यको राजधानी रह्यो । आज आगरा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत मुगलकालीन महलहरू ताज महल, आगराको किल्ला, फतेहपुर सिकरी आदिका कारण प्रसिद्ध पर्यटकीय स्थलका रूपमा परिचित छ ।

आगरामा घुम्नैपर्ने पर्यटकीय स्थल

ताजमहल

मुगल सम्राट शाहजहाँले आफ्नी प्रिया बेगम मुमताजको सम्झनामा निर्माण गरेको ताजमहल विश्वकै प्रसिद्ध भवनमध्ये एक हो । यो विश्वका सात आश्चर्यमध्ये एक तथा आगरास्थित विश्वकै तीन सांस्कृतिक धरोहरमध्ये एक हो । यो भारतको मात्र नभै मानवनिर्मित विश्वकै अत्युत्तम कृति हो । यो महल बनाउन बीस हजार कालिगढलाई बाइस (सन् १६३०–१६५२) वर्ष लागेको थियो । यो भवनसँगै मुगलशैलीको चारवटा बगैंचा पनि छन् । ताजमहल फारसी वास्तुकार उस्ताद ईशा खाँ को डिजाइनमा निर्माण गरिएको हो । यमुना नदीको किनारमा निर्मित यो भवन केही टाढाबाट हेर्दा हावामा तैरिरहेको अनुभूति हुन्छ । यसको मुख्यद्वारमा कुरानको आयात कुँदिएको छ । यो महलमा बाईसवटा स–साना गुम्बज छन् जसले यसलाई निर्माण गर्न लागेको समय दर्शाउँछन् । यो महल रातो पत्थरको आधारमाथि सेतो सिंगमर्मरको अर्को चौतारोजस्तो आधारमाथि निर्मित छ । ६० फिट व्यासको ८० फिट अग्लो गुम्बज यो महलकै सर्वाधिक आकर्षक पक्ष हो जसको मुनि मुमताजको चिहान छ । मुमताजको चिहानसँगै शाहजहाँको पनि चिहान छ । महलको भित्री भागमा बहुमूल्य रत्न एवं पत्थरहरू जडिएको छ । शुक्रबार बन्द रहने ताजमहल अन्य दिन बिहान छ बजेदेखि बेलुकी साढे सात बजेसम्म खुला रहन्छ ।

आगराको किल्ला

यो पनि युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत धरोहर हो । सहरको बीच भागमा अवस्थित यो किल्लालाई यदाकदा लालकिल्ला समेत भनिन्छ । यो किल्लाको निर्माण सन् १५६५ मा अकबरले गराएका हुन्, पछि उनका नाति शाहजहाँले यसमा रातो पत्थर प्रयोग गरी पुनर्निर्माण गरेर यसलाई किल्लाबाट दरबारको स्वरूपमा परिवर्तन गरे । सिंगमर्मर प्रयोग गरिएकाले यो किल्ला पनि अत्यन्त आकर्षक देखिन्छ । यो किल्लाभित्रका मुख्य भवनहरूमा मोती मस्जिद, दिवान ए आम, दिवान ए खास, जहाँगिर महल, खास महल, सिस महल एवं मुसम्मन बुर्ज प्रमुख छ । यो किल्लाको निषिद्ध क्षेत्रमा लुकेको स्वर्गजस्तो स्थान छ । यो किल्ला अर्धचन्द्राकार छ जुन पूर्वतर्फ केही चेप्टो देखिन्छ, नजिकैको सीधा भित्ता नदीतर्फ पर्छ । यो किल्लाको पूरा परिधि २ दशमलव ४ किलोमिटर छ जुन किल्लारूपी पर्खालले घेरिएको छ । पर्खालको भित्तामा ठाउँठाउँमा बुर्जाहरू छन् जसमा छत्राकार ओतस्थल छन् । यो किल्लाको भित्तालाई ९ मिटर चौडा तथा १० मिटर गहिरो खाडलले घेरिएको छ । यो किल्लामा शिवाजीको सम्झनामा निर्मित मूर्ति पनि छ जो यहाँ सन् १६६६ मा सन्धिका लागि पुगेका थिए । यो किल्ला मुगल स्थापत्य कलाको जीवन्त उदाहरण हो । यसलाई उत्तर भारतीय दुर्ग (किल्ला) शैलीको अत्युत्तम नमुना मानिन्छ ।

फतेहपुर सिकरी

यो रातो पत्थरद्वारा निर्मित एक विशाल संरचना हो जसलाई मुगल बादशाह अकबरले सन् १५७२–१५८५ मा बनाएका थिए । फतेहपुरस्थित शेख सलिम चिश्तीको चिहान पर्यटकका लागि आकर्षणको केन्द्र बनेको पाइन्छ । जनविश्वासअनुसार अकबरका धेरै पत्नी भए पनि कुनै सन्तान थिएनन् तसर्थ पुत्रको कामना गर्दै उनी धेरै सन्तकहाँ पुगे जसमध्ये सुफी सन्त शेख सलिम चिश्ती पनि थिए । चिश्ती गुफामा बस्थे । उनले दिएको आशीर्वाद पाएपछि अकबरलाई सन् १५६९ मा एक पुत्र प्राप्त भयो । अकबरले पुत्रको नाम सन्तकै नाममा सलिम राखे भने सन्त बस्ने ठाउँमा जामा मस्जिद निर्माण गरे । तिनै सन्तको सम्झनामा अकबरले भव्य सहर निर्माण गरे र त्यसको नाम फतेहपुर सिकरी राखे । फतेहपुर सिकरीभित्र एउटा अलौकिक संसार देख्न सकिन्छ जसको भव्यताले दिल्ली एवं आगराका अन्य भव्य धरोहरलाई राम्रै टक्कर दिएको छ । आज सयौं वर्ष बिते पनि यसको भव्यतामा कुनै कमी आएको छैन ।

यसका विशाल आँगन, बरन्डा एवं दरबार पहिलेकै स्थितिमा संरक्षित छन् । यहाँका प्रमुख स्मारकमा रंग महल, कबुतरखाना, हात्तीसार, संगीन बुर्ज, हिरन मिनार एवं यात्रु विश्रामस्थल छन् । फतेहपुर सिकरीस्थित भवनहरूलाई धार्मिक क्रियाकलापसँग सम्बन्धित एवं सामान्य गरी दुई भागमा वर्गीकरण गरिन्छ । पहिलो प्रकारको भवनमा विशाल जामा मस्जिद तथा बुलन्दद्वार पर्छन् ।

बुलन्दद्वार १ सय ७६ फिट अग्लो द्वार हो जुन अकबरले सन् १६०२ मा दक्षिण भारतीय राज्यमाथि विजय प्राप्त गरेको उपलक्ष्यमा निर्माण गरेका थिए । यसैगरी शेख चिश्तीको सफेद सिंगमर्मरद्वारा निर्मित दरगाह मुस्लिम धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित छ जहाँ श्रद्धालुहरूले झ्यालमा रातो धागो बाँधेर प्रार्थना गर्दै सन्तान प्राप्तिको कामना गर्छन् । दोस्रो प्रकारका भवनमा दिवान ए आम, दिवान ए खास, मरियम महल, तुर्की सुल्तानाको निवास, पञ्च महल, जोधाबाईको महल तथा बीरबल निवास आदि छन् । पञ्चमहल पाँचतले भवन हो जसको प्रत्येक तलाको कोठा तल्लो तलाको भन्दा साँघुरिँदै गएको छ । १ सय ७६ कलात्मक खम्बा भएको यो भवनको प्रयोग कुनै बेला शाही भवनमा बस्ने महिलाहरूको विलास एवं मनोरञ्जनका लागि हुन्थ्यो । यसैगरी यहाँका अन्य आकर्षण जोधाबाईको महल जाने बाटोमा पर्ने ख्वाबगाह, अनुप तलाउ, आवदार खाना, पच्चिसी दरबार, ज्योतिषीको कोठा, हरमसारा आदि हुन् ।

सुरक्षित यात्राका लागि

- सदैव राम्रो होटलमा बस्ने, सस्तोको चक्करमा पर्दा अनेकौं समस्या सिर्जना हुनसक्छन् ।

- अनलाइन बुकिङ गर्नु राम्रो हुन्छ ।

- बुकिङ गर्नुअघि सबै पोर्टलको जानकारी लिने । त्यहीँबाट राम्रो तर सस्तो अफरका सम्बन्धमा जानकारी प्राप्त हुनसक्छ ।

- यात्रा सुनिश्चित भैसकेपछि मात्र बुकिङ गर्नुपर्छ, कुनै कारणवश बुकिङ क्यान्सिल गराउनुपर्‍यो भने नोक्सान बेहोर्नुपर्ने हुनसक्छ ।

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्