महिलाको रोजाइमा छ परिवारको स्वास्थ्य

डा.नम्रता पाण्डे

भाद्र २१, २०७४

 

संसारमा सृष्टि भएका कुनै पनि प्राणी भोजनबिना बाँच्न सक्दैनन् । मानव शरीरलाई अत्यावश्यक चीजमध्ये भोजन पनि एक हो तर कति भोजन खाने, कस्तो भोजन खाने, कतिपटक खाने र किन खाने अनि सम्यक भोजन कसरी खाने भन्ने सन्तुलनको कला जानिएन भने हाम्रो शरीरमाथि अन्याय हुन्छ । घरका परिवारले कस्तो खाना खाने भन्दा पनि घरकी महिलाले कस्ता खाना पकाएर प्रस्तुत गर्छन् त्यसमा भर पर्छ । भान्साको सौन्दर्य एवं व्यवस्थापनमा महिलाको प्रमुख भूमिका हुन्छ । खाना तयार गर्ने मानिस अरू नै भए पनि निर्देशन दिने काम गृहिणीकै हुन्छ । आफ्नो र परिवारको स्वास्थ्यका लागि के ठीक र के बेठीक छुट्याएर व्यवस्थापन गर्ने गुण महिलामा हुन्छ । कामकाजी महिलाहरू पनि कार्यालयको कामबाट थकित भएर घर आएपछि सफा–सुग्घर भएर हत्तपत्त भान्सामा छिर्छन् किनभने स्वस्थ खाना र त्यसको व्यवस्थापनमा पोख्त र सचेत छन् उनीहरू । खाना बनाउने मान्छे नै भए पनि कसरी बनाउँछन्, के बनाउँछन् त्यसमा निगरानी राख्छन् महिलाहरू ।

रेस्टुराँ गएर खाने–ख्वाउने, नभए रेस्टुराँबाट मगाएर खाने प्रचलन बढेको छ । बाहिर खाने प्रचलन र संस्कारमा आफूलाई सभ्य र संभ्रान्तका रूपमा चिनाउने प्रयत्न लुकेको पाइन्छ । कसैकसैले भनेको सुनिन्छ–दुई दिनको जीवनमा मन लागेको खाने र रमाइलो गर्ने हो । किन के खाने र के नखाने विचार पुर्‍याउनुपर्‍यो र ? यसो सुन्दा त हो पनि जस्तो लाग्छ, तर त्यही खानाकै कारण अस्पतालको शैय्यामा पीडाका साथ दिन बिताउनुपर्‍यो भने ? त्यो पीडा भोग्नेलाई नै थाहा हुन्छ । न त अरूले त्यो पीडा आफूले लिएर सहयोग गर्न मिल्छ । कतिपय महिला सजिलै भन्छन्–‘कार्यालय पनि जाने अनि आएर खाना पनि बनाउन सकिन्छ र ? खाना त बाहिर खाने हो । किन दु:ख गर्ने ?’ त्यस्ता महिलाहरूको ध्यान खानमा मात्र हुन्छ, शुद्धता र सफाइतिर त्यति ध्यान दिइएको पाइँदैन । त्यसैले स्वस्थ खाना आफैंले बनाएर खाने कि सुख पाउन एवं रमाइलोका लागि रेस्टुराँ जाने धेरैजसो रोजाइ र निर्णय महिलाकै हुन्छ । १० ग्रामको जिब्रोको स्वादका लागि ६० किलोको शरीरलाई बेफाइदा हुने भोजन ग्रहण गर्ने कि नगर्ने विचार पुर्‍याउने र परिवारका सदस्य एवं बालबालिकाहरूलाई पनि सिकाउने प्रमुख दायित्व महिलाको हो । हामीले खाएको खानाबाट नै शरीर, मन र प्रज्ञा उत्पन्न हुन्छ र स्थूल रूपमा मल र रगत बन्छ । हाम्रो शरीरमा जस्तो रगत प्रवाह हुन्छ त्यस्तै विचार उत्पन्न हुन्छ । त्यसैले शुद्ध, सफा र स्वस्थ खाना खानु आवश्यक मानिन्छ ।

अनुसन्धानले बताएअनुसार अहिले कम भोजनले भन्दा अति भोजन ग्रहण गरेर विभिन्न रोग निम्त्याउनेहरूको संख्या तीव्र गतिमा बढिरहेको छ । भोजन ग्रहण गर्नुभन्दा महत्वपूर्ण पक्ष कस्तो भावदशाले भोजन ग्रहण गरिन्छ, भोजन तयार गर्नेको मनोदशा कस्तो छ र सरसफाइ अनि स्वस्थता कस्तो छ आदि कुराले निर्धारण गर्छ उक्त भोजनको प्रभावलाई । प्रसन्न मुद्रामा, धन्य भावले भरिएर, भोजन बनाउने व्यक्तिप्रति अहोभाव व्यक्त गर्दै अमृत समान ग्रहण गरिएको भोजनबाट सकारात्मक ऊर्जा प्राप्त हुन्छ भने हतारमा, क्रोधपूर्वक ग्रहण गरिएको भोजनले शरीरमा नकारात्मक प्रभाव पार्छ । ढुंगारूपी भगवान्का अगाडि टाउको निहुराएर खानेकुराको भोग लगाउने प्रचलन भएको हाम्रो समाजमा शरीररूपी भगवान्लाई भोग लगाउँदा पूजा समान भोजन ग्रहण गर्नु आवश्यक छैन र ?

त्यसैले त आयुर्वेद भन्छ–‘सन्तुलित भोजनको प्रयोगबिना औषधिको कुनै काम छैन भने सन्तुलित भोजनको प्रयोगपछि औषधि नै आवश्यक पर्दैन ।’ प्रकृतिले खान हुनेगरी उपलब्ध गराएका सबै खाना हाम्रा लागि उपयुक्त छन् । यद्यपि व्यक्तिपिच्छे शरीरको प्रकृति फरक हुने हुँदा हामीले आफ्नो शरीरको प्रकृति अनुकूल भोजन ग्रहण गर्नुपर्छ । हामीले खाने खानाले हाम्रो शरीरलाई स्वस्थ राखोस् र त्यो ऊर्जाशक्ति प्रदान गर्ने खालको होस् भन्ने कुरामा घरका महिला सधैं सचेत हुनुपर्छ । आवश्यकताभन्दा बढी वा आवश्यकताभन्दा कम भोजन सम्यक भोजन होइन । हाम्रा परिकारहरू तामसी, राजसी र सात्विक प्रकारका हुन्छन् तर शरीरलाई ऊर्जा प्रदान गर्ने भोजन भने सात्विक भोजन नै हो । त्यसैले त आयुर्वेदले भनेको छ–‘आहार शुद्धौ सत्व शुद्धि’ । मानव जीवनमा शुद्ध आहार सेवनको महत्वपूर्ण भूमिका छ । शुद्ध आहारबिना उत्तम, निरोगी र स्वस्थ रहने कल्पना नगरे पनि हुन्छ । त्यति मात्र कहाँ हो र मनुस्मृति भन्छ–‘अन्नं ब्रह्म इत्युपासीत ।’ अन्न नै ब्रह्म हो । पेट भर्नु र भोक मेटाउनु मात्र भोजनको काम होइन । भोजनप्रति धन्यवाद व्यक्त गर्दै भोजनलाई उपासना बनाउनुपर्छ ।

भोजन आफ्नो अगाडि आउनासाथ हर्षयुक्त र प्रसन्न हुनुपर्छ्र । हाम्रो धर्मशास्त्रअनुसार अन्न ब्रह्मा हो भने स्वाद विष्णु र ग्रहण गर्ने महेश्वर हो । विचार स्वस्थ नहुँदासम्म हाम्रो शरीर, मन र मस्तिष्क स्वस्थ हुँदैन । अस्वस्थ व्यक्तिले गर्ने व्यवहार, बचन अनि कर्म कसरी असल र स्वस्थ हुन सक्छन् ? नार्मन विसेन्ट पालले भनेका छन्–‘कतिपय मानिस यसकारण रोगी भैरहेका छैनन् कि उनीहरू गलत चीज खान्छन् । मानिसहरू यसकारण रोगी छन् कि उनीहरूलाई गलत चीजले खाइरहेको छ ।’ मानिसको सजगताप्रति इंगित गरेका छन् विसेन्टले । खानपान र विचारप्रति कसरी सचेत हुने उनको यो उद्गारलाई मनन गर्न सके अवश्य बुझिन्छ । परिवारमा यस्तो संस्कार बसाउन महिलाको भूमिका महत्वपूर्ण छ ।

बिहानको समय सात्विक वा सन्तुलित आहार सेवन गर्नु उत्तम मानिन्छ । मँुगको दाल, जौको पिठो, अमला, दूध, मह आदि पनि शरीरका लागि महत्वपूर्ण भोजन हुन् । एकपटक ठोस खाना खाइसकेपछि कम्तीमा चार घन्टापछि मात्र अर्को पटकको खाना खानुपर्छ । किनभने ठोस खाना पच्न कम्तीमा चार घन्टा लाग्छ । खाना अति छिटो–छिटो वा अति ढिलो गरी खानुहुँदैन । एकाग्र भएर स्वाद लिई–लिई खाने बानी बसाल्नुपर्छ । खाना खाँदा सामान्यतया आमासय (पेट) को तीनमा दुई भाग अर्थात् दुई तिहाई मात्र अट्ने गरी खाना खानुपर्छ । स्वादिलो र मीठो छ भन्दैमा आवश्यकताभन्दा बढी भोजन गर्नु हुँदैन । हाम्रो भौगोलिक अवस्था र बनोटका आधारमा प्रकृतिले नै जाडो, गर्मी आदि गरी मौसमलाई ६ वटा ऋतुमा विभाजित गरेको छ र ती फरक–फरक मौसममा फरक–फरक प्रकृतिका तरकारी, फलफूल एवं अन्न उत्पादन हुन्छन् । मौसमअनुसारका त्यस्ता उत्पादन प्रयोग गर्नु प्राकृतिक रूपमा भोजन ग्रहण गर्नु हो । मौसमअनुसारका काँचा र हरिया तरकारी, गेडागुडी सबै हाम्रो शरीरका लागि हितकर हुन्छन् । यद्यपि हामी शरीर र स्वास्थ्यका लागि भन्दा स्वादका लागि खान रुचाउँछौं ।

हाम्रो शरीरको विज्ञान, अस्तित्वले सिर्जना गरेको प्रकृतिको नियमसँग ठ्याक्कै मेल खान्छ । अस्तित्वको सिर्जनालाई विज्ञानले थप पुष्टि गर्ने प्रयास गरेको छ । कुन मौसममा के उत्पादन हुन्छ र कसरी ती मौसमी उत्पादनको प्रयोगले शरीरलाई के फाइदा हुन्छ अस्तित्वले पहिले नै निर्धारण गरिदिएको छ । विज्ञानले फ्रिजको आविष्कार गर्‍यो र एउटा मौसममा उत्पादित वस्तुलाई पनि वर्षांैसम्म जोगाएर राख्न सिकायो । यद्यपि त्यो ताजा र स्वस्थकर हुँदैन । आधुनिकताको नाममा वर्षौंदेखि फ्रिजमा राखिएका र आयातीत खानेकुरा सेवन गर्दा हाम्रो स्वास्थ्य एवं विचार कसरी शुद्ध र स्वस्थ होला ? एकपटक पकाइएको खाना ४८ मिनेटभित्र ग्रहण गरिसक्नुपर्छ अन्यथा बिस्तारै त्यो खाना दूषित र विषमय बन्दै जान्छ–आयुर्वेदले व्याख्या गरेको छ । अधिक मात्रामा चिनी र नुनको प्रयोग पनि फाइदाजनक छैन ।

मैदाबाट बन्ने खाद्यपदार्थ पनि शरीरका लागि उपयुक्त हुँदैनन् । त्यसका अलावा शुद्ध, फाइबर प्रशस्त भएको आटा प्रयोग गर्नु उत्तम हुन्छ । कतिपय व्यक्तिले त काम सक्नकै लागि खाना खाने र बासी भए पनि काम चलाउ रूपमा खाने गरेको पनि बताउँछन् । कामचलाउ र बासी खानेकुराले हाम्रो शरीरमा कस्तो ताजगी ल्याउला, कस्तो ऊर्जा प्रदान गर्ला ? मौसमअनुसार जे उपलब्ध छ त्यही ग्रहण गर्न हामीलाई के आपत्ति ? हो देश, परिस्थितिअनुकूल आयातीत वस्तुको उपभोग नगरी सुख छैन भने त्यसलाई अपवादका रूपमा लिन सकिन्छ अन्यथा उपलब्ध भएसम्म मौसमी तरकारी, फलफूल एवं अन्न प्रयोग गर्ने बानी बसालौं ।

अनावश्यक कृत्रिम पदार्थ मिसिएका खाद्यपदार्थको प्रयोगबाट जोगिनुपर्छ । त्यस्ता खाना जसले बेहोसीमा पुर्‍याएपछि मात्र आनन्द दिन्छन् भने हाम्रो शरीरका लागि फाइदाजनक भए त ? मासु नखाए कमजोर भइन्छ भन्ने भ्रम एकदम गलत हो । किनभने तागत प्रदान गर्ने सबै शक्ति मौसमी खाद्यपदार्थमै हुन्छन् । मानिसको शरीर, दाँत, आन्द्रा र पाचन प्रणाली नै मासुका लागि बनेको होइन । रासायनिक पदार्थ मिसिएका पेयपदार्थको सट्टा दही, मोही, लस्सी, कागती, बेल एवं जमराको सर्बत आदि प्रयोग गर्न सकिन्छ । यस्ता पदार्थमा रोगप्रतिरोधक क्षमता पनि हुन्छ ।

कहिलेकाहीँ सफा, शुद्ध अनि स्वस्थ खाना पाइने ठाउँमा परिवार र साथीभाइसँग रेस्टुराँ जानु ठीकै हो तर यसलाई संस्कार बनाएर क्षणिक स्वादका लागि जीवनभर रोगसँग लडेर पीडा जन्माउनुभन्दा स्वस्थ खानु र स्वस्थ रहनु नै बुद्धिमानी हुन्छ । जसरी हामी रोगसँग डराउँछौं त्यसरी नै अखाद्य र अस्वस्थ खानासँग पनि डराउनुपर्छ । आफ्नो भोजनमै आफ्नो स्वास्थ्य छ, यी कुरा आफ्नै हातमा छन् । यसप्रति महिलाहरूले विशेष सजग भै परिवारमा चेतना जगाउन आवश्यक छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्