बालबालिकामा थाइराइड

नारी संवाददाता

भाद्र २०, २०७४

-डा. मनीषा मिश्र

कन्सल्टेन्ट इन्डोक्राइनोलोजिस्ट

वयोधा हस्पिटल

 

थाइराइड किन हुन्छ ?

थाइराइड ग्रन्थि बन्ने बेलामा कुनै जटिल समस्या भएर यसको उत्पादनमा गड्बढी हुन्छ । त्यसले उत्पादन गर्ने हार्मोनको मात्रा धेरै न्यून तथा उत्पादन नै नहुँदा यो समस्या जन्मजात रूपमा देखिन्छ । गर्भवती महिलाले थाइराइडको औषधि सेवन गरिरहेको भए शिशुलाई पनि थाइराइड हुने सम्भावना हुन्छ । वंशानुगत कारणले पनि थाइराइड हुनसक्छ । यसैगरी आयोडिनको कमीका कारण पनि बालबालिकामा थाइराइडको समस्या देखापर्छ । घाँटीमा हुने थाइराइड ग्रन्थिबाट टी ३, टी ४ हार्मोनको उत्पादन हुन्छ । त्यसको कमी भएमा हाइपो थाइराडिजम देखिन्छ भने बढी उत्पादन भएमा हाइपरथाइराडिजम देखिन्छ । हाइपोथालामस र पिट्युटरी ग्रन्थिबाट थाइराइडमा जाने सन्देशात्मक हार्मोनमा गढबढी आउनाले पछि थाइराइडको समस्या देखापर्छ । थाइराइड हर्मोन लगायत अरु हर्मोनको पनि समस्या देखिन थाल्छ जस्तो:  ग्रोथ हर्मोन, सेक्स हर्मोन ।

 

कस्ता समस्या देखापर्छन् ?

सामान्यत: कुनै एउटा मात्र समस्या वा लक्षणबाट जन्मजात थाइराइड भए नभएको छुट्याउन सकिँदैन । जन्मपछि क्रमिक रूपमा शारीरिक एवं मानसिक वृद्धि विकास हुँदै जाँदा देखिने लक्षणका आधारमा विशेषज्ञले मात्र यो रोग पहिचान गर्न सक्छन् ।

 

नवजात शिशुमा देखिने लक्षण

-  दूध चुस्ने बेलामा समस्या ।

-  कमलपित्त, सुस्तता, जिब्रो सामान्यभन्दा ठूलो ।

 

जन्मिएको केही सातापछि देखिने लक्षण

-  अनुहारको आकृति फरक हुनु,

-  पेट ठूलो हुनु र फुल्नु,

-   गलगाँड देखापर्नु ।

 

बालबालिकामा देखिने लक्षण

-   मोटोपन शिशुको तौल बढ्दै जानु ।

- धेरै दिनसम्म दिसा नआउनु, कब्जियत हुनु ।

-  आलस्य हुनु, उचाइ नबढ्नु ।

-  कुनै कुरामा ध्यान केन्द्रित नहुनु, सुस्त हुनु ।

- थाकेको महसुस हुनु, गल्नु ।

-  टाउको दुख्नु । हातखुट्टा अनुहार सुन्निनु ।

-  धेरै पसिना आउनु , छाला सुख्खा लगायत अन्य छालासम्बन्धी समस्या पनि देखिन सक्छ ।

- यी लक्षणबाहेक कतिपय बालबालिकामा थाइराइड ग्रन्थि सुन्नियो, घाँटीमा डल्लाडुल्ली देखियो भने पनि थाइराइड भएको हुनसक्छ ।

 

परीक्षणका लागि

थाइराइड भए नभएको थाहा पाउन रगतमा थाइराइड हार्मोनको मात्रा कति छ थाहा पाउनु आवश्यक हुन्छ । बालबालिकाको उमेरअनुसार थाइराइड हार्मोनको मात्रा फरक हुन्छ । हातखुट्टाको एक्सरे, घाँटीको अल्ट्रासाउन्ड तथा एफएनएसी थाइराइड ग्ल्यान्डबाट विशेष परीक्षण गर्न सकिन्छ ।

अहिले धेरै महिलामा थाइराइड पाइन्छ । त्यस्ता महिला गर्भवती भएपछि जन्माउने शिशुको पनि जन्मनासाथ थाइराइड चेकअप गर्ने ट्रेन्ड विकसित भएको छ । सामान्यत: थाइराइड दुई किसिमका हुन्छन्– हाइपरथाइराडिज्म र हाइपोथाइराडिज्म । थाइराइड हार्मोन बढी उत्पादन हुने अवस्थालाई हाइपरथाइराडिज्म भनिन्छ भने कमी हुने अवस्थालाई हाइपो थाइराडिज्म भनिन्छ । धेरैजसोलाई हाइपोथाइराडिज्म भएको पाइन्छ ।

 

उपचार

थाइराइडबाट हार्मोन उत्पादन नहुने वा अति न्यून उत्पादन हुने एक मात्र उपचार विधि हो । थाइराइडको कमी हुँदा हर्मोन पूर्ति (रिप्लेसमेन्ट) गरिन्छ । र बढी उत्पादन हुँदा थाइराइड सप्रेसन गनुपर्ने हुन्छ । थाइराइडको उपचारपछि सामान्य जीवन यापन गर्न सकिन्छ । यसमा बालबालिकाले आफ्नो उमेरअनुसार औषधि सेवन गर्नुपर्ने हुन्छ ।

थप जानकारी

-  थाइराइडको औषधि सेवन गरिरहेका सबै महिलाले जन्माउने शिशुको थाइराइड जाँच गर्नु आवश्यक छ तर सबै शिशुमा थाइराइड हुन्छ भन्ने छैन ।

-   अहिले ८–९ वर्षका बालबालिकामा बढी थाइराइड पाइएको छ ।

-  प्राय: अभिभावकले बालबालिकाको विकासक्रम ख्याल गर्दैनन् । उचाइ नबढेपछि मात्र अस्पताल आउँछन् ।

- समयअनुसार शारीरिक विकास नहुनु तथा समय अगावै विकास हुँदा पनि थाइराइड हुने सम्भावना हुन्छ ।

- आयोडिनयुक्त खानेकुराको कमीका कारण पहाडी तथा हिमाली क्षेत्रका बालबालिकामा पनि थाइराइड देखिन्छ ।

- आयोडिन तथा अटो इम्युनका कारण थाइराइड ग्रन्थि बढेर गलगाँड देखिनसक्छ ।

(उपासना घिमिरेसँगको कुराकानीमा आधारित )

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्