मामा मुभमेन्ट

नारी संवाददाता

भाद्र १५, २०७४

सन् १९८३ मा नेदरल्यान्डको आम्स्ट्रड्याम सहरको कुनै एक घरको भान्सा टेबलबाट सुरु भएको हो– मामा क्यास अभियान । स्थानीय ५ जना महिला अधिकारकर्मी जो स्वयं पैसाको शक्तिबाट निकै टाढा थिए, ले प्रारम्भ गरेको यो अभियान केही दिनभित्रै करोडौं महिलामा पुग्न सफल भयो । ती ५ जना महिला घरायसी काम सकेपछि भान्साको टेबलमा बसेर आफूसँग भएका आइडिया आपसमा सेयर गर्थे । अब यसलाई गुपचुप राख्नु हुँदैन भनेर उनीहरूले वरपरका महिलाहरूलाई पनि आफ्ना कुरा बुझाउन थाले । सुरुवाती केही महिनामै त्यहाँका हजारौं महिलासम्म पुगेको यो अभियान छोटो समयमै चर्चित भयो ।

यो अभियानमा सहभागी विशेषज्ञ एवं व्यवसायीहरूको पृथक् सोच तथा कार्यशैलीका कारण यसलाई सहयोग जुटाउने संस्थाको ट्यागबाट माथि उठी सहयोग प्रदान गर्ने संस्थामा परिणत हुन बेरै लागेन । मामा क्यास संसारभरका महिलाहरूका लागि संचालित संसारकै पहिलो सहयोगी अभियान हो । सुरुमा लैंगिक समानतालाई मुख्य मुद्दा बनाएको मामा क्यास मुभमेन्ट अहिले आफ्नो दायरा फराकिलो पार्दै मानव अधिकार तथा सर्वोच्च सामाजिक परिवर्तनसम्म आइपुगेको छ ।

मामा क्यास मुभमेन्ट आज संसारभरका कुना–कुनामा अँध्यारोमा रुमल्लिइरहेका महिलाहरूका लागि किरण बनेर फैलिएको छ । सुरुवाती दिनमा आमाहरूलाई सशक्त तुल्याउन खटिएका यी अभियन्ताले आफ्नो अभियानलाई बिस्तार गर्दै संसारभरका सीमान्तकृत महिला, किशोर–किशोरी, तेस्रो लिंगी (लेस्बियन, बाइसेक्स्युअल तथा ट्रान्सजेन्डर महिला), एचआइभी एड्स संक्रमित महिला, यौनकर्मी, अत्यन्तै गरिब महिला, फरक क्षमता भएका महिला तथा धार्मिक एवं सांस्कृतिक हिसाबले पछाडि पारिएका महिलाहरूसम्म पुगेर उनीहरूको जीवनस्तर उकास्ने एवं अधिकारका लागि सजग बनाउने कामसम्म पुर्‍याएको छ ।

हरेक वर्ष मामा क्यास सपोर्टअन्तर्गत १ सयभन्दा बढी त्यस्ता समूह, संघ–संस्था वा सञ्जाल (जहाँ आमाहरूको सक्रिय सहभागिता रहन्छ, जुन महिला, युवती वा तेस्रो लिंगी महिलाले मात्र नेतृत्व गरेको हुनुपर्छ) लाई सहयोग गरिन्छ । मामा मुभमेन्टको प्रमुख उद्देश्य हरेक क्षेत्रको मूलधारबाट पाखा लगाइएका तथा समाजबाट बहिष्करणमा परेका त्यस्ता आमाहरू जो हिंसा प्रभावित छन्, उनीहरूको हक–हित, अधिकार र सशक्तीकरणका लागि लड्नु तथा प्रभावकारी परिणाम प्रस्तुत गर्नु हो ।

संसारभरका साधारण तथा तेस्रो लिंगी महिला अनि किशोरीहरूका लागि लामो समयदेखि अत्यन्तै प्रभावकारी साबित यो अभियान कुनै ठूलो दातृनिकायबाट चल्दैन । व्यक्तिगतलगायत लोक कल्याणकारी संघ–संस्था, सहकारी र थोरै सरकारी सहयोगबाट चलिरहेको यो अभियानले करोडौं महिलालाई सशक्त बनाइरहेको छ । नगद तथा प्राविधिकलगायत अन्य सहयोग उपलब्ध गराउने यो अभियानले विश्वभरका अपमानित महिलाहरूलाई नयाँ जीवन प्रदान गर्दै आएको छ ।

कसरी दिइन्छ ग्रान्ट्स ?

आफूसँग कुनै सिर्जनशील क्षमता र आइडिया छ भने नेपाली महिलाले पनि यो ग्रान्ट्स दाबी गर्न सक्छन् । कानुनद्वारा विभेदमा परेका, अन्याय खेपेर बसेका, सामाजिक बहिष्करणमा परेकालगायत अन्य यस्तै चुनौतीभित्र रुमल्लिएका महिलाहरूका लागि काम गर्ने कुनै सिर्जनशील आइडिया छ र त्यसले ती महिलाको जीवनमा मात्र होइन समाज, राष्ट्र र विश्व नै परिवर्तन गर्ने परिणाम ल्याउन सक्छ भन्ने सुनिश्चितता छ भने मामा क्यास स्पिक आउटअन्तर्गत यसका अभियन्ताले जोकसैलाई विश्वास गर्छन् र परिणाममुखी कामका लागि रकम उपलब्ध गराउँछन् ।

अर्को महत्वपूर्ण कुरा उनीहरू उक्त कामलाई अझ फराकिलो दायरामा लान चाहन्छन् ताकि उक्त क्रियटिभ आइडिया संसारभर उदाहरणीय बन्न सकोस् ।

मामा मुभमेन्टले विश्वव्यापी रूपमै महिला र तिनका समूहलाई सशक्त एवं सम्पन्न बनाउन विभिन्न किसिमका तालिम दिने, सहयोगी संघसंस्था तथा सरकारसँग समन्वय गराइदिने दीर्घकालीन कार्यनीति तय गर्न सुझाव प्रदान गर्ने आदि काम गर्दै आएको छ । संसारको जुनसुकै कुनामा काम गरे पनि यसका अभियन्ताहरू सँगै उभिएर काम गर्ने ढाडस प्रदान गरिरहन्छन् ।

उनीहरू मुख्यत: विशेषज्ञ र नेतृत्व तयार पार्नमा केन्द्रित रहन्छन् जसले विश्वपरिवेशमै परिवर्तन ल्याउन सकून् । आफूहरूले प्रदान गर्नेे हरेक सहयोग खेर जान नदिन अभियन्ताहरू हरक्षण चनाखो त रहन्छन् साथै अनुगमन, मूल्यांकन तथा परिणामको लेखाजोखामा पनि निकै सक्रिय देखिन्छन् । यसका अतिरिक्त अभियान मानव अधिकार र त्यससँग सम्बन्धित विभिन्न क्रियाकलापमा पनि उत्तिकै चनाखो देखिन्छ ।

मध्यस्थकर्ता, सल्लाहकार तथा दिशानिर्देशकको भूमिका निर्वाह गरिरहेको यो अभियानले विश्वभरका करोडौं आमालगायतका महिलालाई पुनर्जीवन दिई आत्मनिर्भर बनाएको छ । पछिल्लो समयमा रेड अम्ब्रेला फन्ड र मेसो अमेरिकन इनिसियटिभ अफ वुमन ह्युमन राइट्स डिफेन्डरमा केन्द्रित मामा मुभमेन्टले अब एसियाली मुलुकमा केन्द्रित हुने उद्देश्य लिएको बताइन्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्