लैंगिक अधिकारका क्षेत्रमा चाँदनी जोशी

नारी संवाददाता

भाद्र १५, २०७४चाँदनी जोशी

लैंगिक अधिकार तथा नीति विशेषज्ञ

 

संसारभरका महिलाका लागि ५० वर्ष (लैंगिक क्षेत्रमा) काम गरेको अनुभव छ चाँदनी जोशीसँग । लैंगिक विषयमा नीतिनिर्माण तहमै मुद्दा उठान गर्ने कार्यमा प्रखर साबित हुँदै आएकी जोशीले नेपालका अति दुर्गम क्षेत्रका अत्यन्तै विपन्न महिलासँग होस् वा अफ्रिकन मुलुक बुरुन्डीका पिछडिएका महिलासँग, समान रूपमा तिनका लागि आफ्नो समय, परिश्रम एवं सिर्जनशीलता लगानी गरेकी छिन् ।

चाँदनी अहिले नेपालमा भूकम्पपछि पुनर्निर्माण र पुनर्संरचना प्रक्रियालाई कसरी महिलामैत्री बनाउने भन्ने विषयमा केन्द्रित वुमन फ्रेन्डली डिजास्टर म्यानेजमेन्ट कोर गु्रपकी अध्यक्षका रूपमा कार्यरत छिन् । उक्त गु्रपअन्तर्गत विभिन्न ८ वटा संस्था छन् । जोशीकै अगुवाइमा भूकम्पको २० दिनभित्रै हरेक मन्त्रालयलाई वुमन चार्टड अफ डिमान्ड (मागपत्र) बुझाइएको थियो ।

त्यसपछि १४ वटा प्रभावित जिल्लाका महिलाहरूलाई एकैस्थानमा ल्याएर राष्ट्रिय सम्मेलन सम्पन्न भयो । जसलाई दक्षिण एसियाका ८ वटै मुलुकले सर्वोत्कृष्ट प्रयोग र उदाहरण (बेस्ट प्राक्टिस एन्ड एक्ज्याम्पल) भन्दै नजिकबाट चासो राखे । यसमै केन्द्रित रही संचालित सार्क मिटिङमा पनि तिनै प्रभावित महिलाहरू सहभागी भए । इस्तानबुल, जेनेभा मात्र होइन अमेरिकासम्म यो प्राक्टिस अब्बल साबित भयो । नेपाल सरकारले यो कोर गु्रपले दिएको इन्डिकेटरलाई मूल्यांकनमा राखेको छ । नेपाल सरकारको एनआरए (नेसनल रिह्याबिलिटेसन अथोरिटी) कमिटीमा यही गु्रपबाट भवानी राणा र शर्मिला कार्कीलाई ल्याइएको छ । चाँदनी यो कुरालाई आफ्नो मेहनतको उपलब्धि मान्छिन् । श्रीलंकाको सुनामी, पाकिस्तानको भूकम्प, गुजराँतको बाढी एवं भूकम्पपछि आफूले गरेको काम तथा अनुभवलाई मिसाएर चाँदनीले पुनर्निर्माण एवं पुनस्र्थापनाका लागि लैंगिक समावेशिताको मुद्दा उठाएकी हुन् । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयअन्तर्गत सल्लाह, सुझाव र प्रतिक्रिया प्रदान गर्ने थिंक ट्यांकको अध्यक्षता पनि जोशीले नै गरिरहेकी छिन् । पछिल्लो समयमा महिला मन्त्रालयले निर्माण गरिरहेको लैंगिक समानता नीतिभित्र जोशीले करिब ४ दशकअघि ५ जिल्लाबाट सुरु गरेको महिलाका लागि पेवा बढाउने कार्यक्रम, लैंगिक उत्तरदायी बजेटलगायतका कुरा परेका छन् ।

सन् १९६५ देखि १९७४ सम्म पद्मकन्या क्याम्पसमा अंग्रेजी विषयकी प्राध्यापक जोशी त्यसपछि स्थानीय विकास मन्त्रालयको तालिम सामग्री उत्पादन केन्द्रमा प्रमुखका रूपमा केही समय बिताएपछि सोही केन्द्रअन्तर्गत पेवा बढाउने कार्यक्रम लिएर मुलुकका ग्रामीण भेगहरूमा पुगिन् । ५ वटा जिल्लाबाट सुरु गरेको उक्त कार्यक्रमलाई ४९ जिल्लासम्म पुर्‍याउन सफल भइन् । अहिले सरकारद्वारा सञ्चालित उक्त कार्यक्रम मुलुकभरका ७५ वटै जिल्लामा सञ्चालित छन् । चाँदनी सन् १९९० मा संयुक्त राष्ट्रसंघीय महिला विकास कोष (युनिफेम) को क्षेत्रीय निर्देशक नियुक्त भइन् । त्यतिबेला उनी दक्षिण एसियाका ९ वटा राष्ट्रमा चलायमान भैरहन्थिन् । हरेक मुलुकका राष्ट्रिय नीतिमा महिला तथा लैंगिक मुद्दालाई समावेश गर्न सक्नु नै आफ्नो सफलता भएको बताउने जोशीले दस–बीस जनालाई परिवर्तन गर्ने होइन कि समग्र महिलाको विकास एवं सशक्तीकरण हुने गरी राष्ट्रिय–अन्तर्राष्ट्रिय नेतृत्व तहमा काम गरिरहिन् ।

बेइजिङ कन्फरेन्सको बत्ती निभ्न नदिन उनी हरेक २–२ वर्षमा क्षेत्रीय कन्फरेन्स आयोजित गर्थिन् । जनगणनामा महिलाको योगदानलाई कसरी मूल्यांकन गर्ने, पञ्चवर्षीय योजनालाई कसरी महिलामैत्री बनाउने, बजेटलाई कसरी लैंगिक उत्तरदायी बनाउने भन्ने मुद्दामा जोशीले निर्वाह गरेको भूमिका तथा त्यसको परिणाम उल्लेखनीय छ । जोशी भन्छिन्–एपीजे अब्दुल कलाम, जर्ज डब्ल्यु बुसलगायतका संसार हाँक्ने क्षमता राख्ने हस्तीहरूसँग महिलाका हकहित एवं अधिकारका लागि नेगोसियट गर्न पाएँ । मैले नै हो सन् १९९८ मै जेन्डर बेस्ड भाइलेन्सको मुद्दाअघि सारेको । त्यसपछि हामीले नेपालमा विद्यमान महिला भेदभावसम्बन्धी १ सय ५९ वटा कानुनसम्बन्धी अध्ययन गरी सोहीअनुरूप संशोधनका लागि वकालत गर्‍यौं । सिडको स्याडो रिपोर्ट पनि हाम्रै पहलमा तयार भयो । संसारका ५३ वटा मुलुकमा महिलाका पक्षमा आवाज बुलन्द गरिसकेकी जोशी हाल छोरा–बुहारी तथा नातिका साथ माली गाउँमा बस्छिन् । उनको परिवारमा छोरीका दुई छोरा र ज्वाइँ तथा छोराका १ छोरा र श्रीमती गरी ८ जना छन् ।

प्रस्तुति : लक्ष्मी भण्डारी थापा

तस्बिर  : श्रुति श्रेष्ठ

तस्बिर सौजन्य : प्रणय/सृष्टि जोशी

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्