वृद्धावस्था आजको चुनौती

रचना मास्के

भाद्र ९, २०७४

 

६० प्रतिशत रोग वृद्धावस्थामै लाग्छ । सरकारले सार्वजनिक सेवा विशेषगरी यातायात, सञ्चार र स्वास्थ्यमा ज्येष्ठ नागरिकहरूलाई विशेष सुविधा दिने योजना बनाए पनि हालसम्म नेपालमा कुनै पनि अस्पतालमा वृद्धवृद्धाहरूका लागि छुट्टै वार्डको व्यवस्था गरिएको पाइँदैन ।  

संसार विचित्रको छ । संसारमा कुनै पनि वस्तु स्थायी छैन । जुन जन्मन्छ त्यो मर्छ । संसारको हरेक चीज पुरानो भएपछि नष्ट भएर जान्छ । मानिस पनि जन्मन्छ, हुर्कन्छ, वृद्ध हुन्छ र अन्त्यमा उसको मृत्यु हुन्छ । मानिस किन बूढो हुन्छ भन्ने विषयमा विश्वमा थुप्रै अनुसन्धान भएका छन् । वैज्ञानिकहरूले यस विषयमा अनेकन खोज–अनुसन्धान गरे पनि दार्शनिकहरूले यसको अनेकन व्याख्या गरे पनि वृद्धावस्थाको रहस्य भने अझसम्म खुल्न सकेको छैन ।

अहिले औषधि विज्ञानमा भएको प्रगतिका साथसाथै प्रकृतिलाई नै चुनौती दिँदै मानिसहरूको आयु लम्बिँदै गएको अवस्था छ । त्यसले गर्दा पनि वर्तमानमा विश्वको एक तिहाइ जनसंख्या वृद्धावस्थामा रहेको विभिन्न तथ्याङ्कले देखाउँछन् । विश्वमा जस्तै नेपालमा पनि २०५३/५४ सालमा लिइएको तथ्याङ्कअनुसार नेपाली महिला तथा पुरुषहरूको औसत आयु ५६ दशमलव १ वर्षबाट बढेर ६० वर्ष पुगेको छ अर्थात् नेपालमा पनि वृद्धवृद्धाहरूको जनसंख्या बढ्दो क्रममा छ ।

विभिन्न देशमा वृद्ध कसलाई भन्ने भिन्दाभिन्दै अवधारणा पाइन्छन् तर उमेरको हिसाबले हेर्दा ६० वर्षभन्दा माथिलाई वृद्धावस्था मानिन्छ । वृद्धावस्थालाई साधारण तरिकाले परिभाषित गर्दा यो जीवन चक्रको अन्तिम अवस्था हो । मानिस जन्मिएपछि उमेरको वृद्धि बिस्तारसँगै शरीरका विभिन्न प्रणाली र तिनीहरूको कार्यक्षमतामा परिपक्वता आउँछ भने ३० भन्दा माथि पुग्न थालेपछि नै बिस्तारै शारीरिक बनावटका साथै कार्य क्षमतामा पनि ह्रास आउन थाल्छ । शारीरिक क्षमतामा कमी हुँदै जाने, शारीरिक असन्तुलन बढ्दै जाने, शरीरलाई क्षति पुर्‍याउने तत्वहरू शरीरमै बढेर शरीरको कार्य प्रणालीमा अवरोध उत्पन्न हुने र त्यस्ता कारण वा अवस्थाहरूले गर्दा विभिन्न प्राणघातक रोग निम्तिने हुन्छ । फलस्वरूप मृत्यु नै वृद्धावस्थाको विकल्प हुनपुग्छ ।

ज्येष्ठ नागरिक भनेका देशका विभूति र हरेक घरका गहना भए पनि ज्येष्ठ नागरिकको स्वास्थ्य, रेखदेख, सुरक्षा एवं पुनस्र्थापनाका लागि उपयोगी कार्यक्रमको कमी, आर्थिक अवस्था, सरकारी तथा गैरसरकारी क्षेत्रबाट सञ्चालित कार्यक्रममा पनि समन्वयको कमी, समुदायमा सकारात्मक भावनाको अपेक्षित विकास नहुनु, युवाहरूमा वृद्धवृद्धाप्रति सकारात्मक सोचको अभाव एवं पाश्चात्य संस्कृतिको प्रभावका कारण अझै हाम्रो समाजमा वृद्धवृद्धाहरूको अधिकार संरक्षण गर्न सकिएको छैन । धनी देशहरूमा स्वास्थ्य बिमा, वृद्धवृद्धाहरूका लागि विशेष खालका अस्पताल तथा सामाजिक संरक्षणजस्ता सुविधाका कारण जीवनरक्षा सुनिश्चित छ तर हाम्रो देशमा वृद्धवृद्धाहरूको जीवन कष्टकर छ । नेपाल सरकारले विगतका केही योजनामार्फत वृद्धवृद्धाको सर्वाङ्गीण विकासका लागि केही कदम चाल्दै उनीहरूको आर्थिक तथा सामाजिक स्थितिमा केही परिवर्तन ल्याउने उद्देश्य लिएको छ । सरकारले अन्तर्राष्ट्रिय समुदायमा गरेका प्रतिबद्धताअनुरूप वृद्धाहरूलाई वृद्ध भत्ता दिनुका साथै मृगौला, मुटु तथा क्यान्सर रोगीहरूलाई आर्थिक रूपमा केही सहयोग पुर्‍याउँदै आए पनि पर्याप्त भने छैन । नेपालमा हालसम्म बनेका ज्येष्ठ नागरिकसम्बन्धी विभिन्न नीति, योजना, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय घोषणा, प्रतिबद्धताहरू तथा ज्येष्ठ नागरिकका पक्षमा कानुनले प्रत्याभूत गरेका विषयलाई समेत पूर्णरूपमा कार्यान्वयन तथा अनुगमन गर्न सकिएको देखिँदैन ।

आजको समाजमा वृद्धहरूका लागि कुनै स्थान नै दिइएको पाइँदैन, नेपालमा भएका कुनै वृद्धाश्रमलाई नै लिऊँ त्यहाँ रहेका वृद्धवृद्धाहरूको अवस्था दयनीय छ, ती वृद्धवृद्धाहरूले उमेरमा आफ्नो जीवनको अमूल्य समय, रगत एवं पसिना यो समाज तथा घरपरिवारलाई दिएकै हो । सकुन्जेल अरूका लागि पसिना बगाएर नसक्ने अवस्थामा समाज तथा घरपरिवारबाट अपहेलित भएर तिरस्कृत जीवन बिताउनुपर्ने यो कस्तो बाध्यता वा विडम्बना हो ? ती वृद्धवृद्धाहरूको अरूसरह बाँच्न पाउने अघिकार कहाँ छ ? उनीहरूको अधिकारका लागि कसले लड्ने ?

६० प्रतिशत रोगा वृद्धावस्थामै लाग्छ । सरकारले सार्वजनिक सेवा विशेषगरी यातायात, सञ्चार र स्वास्थ्यमा ज्येष्ठ नागरिकहरूलाई विशेष सुविधा दिने योजना बनाए पनि हालसम्म नेपालमा कुनै पनि अस्पतालमा वृद्धवृद्धाहरूका लागि छुट्टै वार्डको व्यवस्था गरिएको पाइँदैन । हामीले देखेका छौं अस्पतालहरूमा अन्य उमेरका वयस्कहरू सँगै वृद्धहरूलाई पनि भर्ना गरिन्छ र अरूसरह उपचार गरिन्छ तर वृद्धावस्थामा पुगेपछि शरीरका विभिन्न प्रणालीको कार्यक्षमतामा पनि ह्रास आउनुका साथै शरीरमा प्रयोग गरिएको औषधि निश्चित समयपछि जुन शरीरबाट बाहिर निस्कनुपर्ने हो त्यो पनि राम्रोसँग शरीरबाट निस्कन नसक्ने अवस्था हुन्छ । त्यसले गर्दा एउटा वयस्कलाई दिने औषधिको मात्रा वृद्धवृद्धाहरूका लागि प्राणघातक हुनसक्छ तसर्थ बालबालिकालाई जस्तै वृद्धवृद्धाहरूलाई पनि विशेष प्रकारको स्याहार–सुसार एवं उपचार पद्धति आवश्यक पर्छ । वृद्धवृद्धाहरूका लागि तत्काल नयाँ अस्पताल निर्माण गर्न नसकिए पनि हाल भएका अस्पतालहरूमै छुट्टै वार्ड निर्माण गरेर उचित सेवा प्रदान गर्न सकिन्छ ।

ज्येष्ठ नागरिकसँग सम्बन्धित अन्तरपुस्ता सौहार्द्रता कायम गर्न विद्यालय स्तरीय पाठ्यक्रममा विशेष कोर्स समावेश गर्ने र चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने सरकारको नीतिअनुरूप विभिन्न तहमा केही कार्यक्रम समावेश गरिएका छन् । यद्यपि वृद्धवृद्धाहरूको सेवाका लागि उच्च जनशक्ति उत्पादन गर्न पनि सरकारले ठोस शैक्षिक कार्यक्रम तर्जुमा गर्नुपर्छ । हामी सबैलाई थाहा छ, एकदिन सबैले बूढो हुनुपर्छ । त्यस्तो अवस्थामा सबैले विभिन्न कठिनाइ पनि भोग्नुपर्छ । त्यसैले पनि वृद्धावस्थाको योजनाका सम्बन्धमा सबैले समयमै ध्यान पुर्‍याउनु आवश्यक छ ।

विकसित राष्ट्रहरूमा हेर्ने हो भने वृद्धवृद्धाहरूका लागि सरकारी तहबाट नै विभिन्न योजनाका साथै विभिन्न सुविधाको व्यवस्था गरिएको हुन्छ । वृद्धवृद्धाका लागि छुट्टै वृद्ध अस्पताल, वृद्ध भत्ता, स्वास्थ्य बिमा, स्तर र ओहदाअनुसारको गास–बासको व्यवस्था, अवकाशपछि क्षमताअनुसारको कामको व्यवस्था, वृद्धवृद्धाहरूको मनोरञ्जनका लागि विभिन्न वृद्ध क्लब तथा सजिलै पढ्न सकिने ठूलो अक्षरमा लेखिएका अखबारको व्यवस्था, सुलभ तरिकाको पब्लिक यातायातको व्यवस्था आदि उपलब्ध गराइएको पाइन्छ । हाम्रो देशमा भने वृद्धहरूका लागि कुनै पनि राष्ट्रिय योजनामा यस्ता कार्यक्रम यथेष्ट रूपमा समावेश गरिएका छैनन् । सरकारले हालै दिने गरेको वृद्ध भत्ता पनि निकै कम र सबै ठाउँमा उपलब्ध नभएजस्तो देखिन्छ । ज्येष्ठ नागरिकका आवश्यकताअनुरूप वृद्धाश्रम, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र तथा क्लबहरूको सञ्चालन पनि चुनौतीकै रूपमा खडा छ ।

हाम्रो जस्तो विकासोन्मुख देश जहाँ साधारण गर्भावस्थामा समेत उचित स्याहार नपाएर वा अज्ञानताका कारणले आमा एवं शिशु मृत्युको मुखमा पुगिरहेका छन् भने वृद्धवृद्धाहरूलाई कसले हेर्ने ? झाडापखाला लाग्दा पनि साधारण उपचार नपाएर हजारौं बालबालिका मृत्युको मुखमा पुगिरहेका बेला वृद्धवृद्धाहरू त पछि पर्ने नै भए । यद्यपि सधैं यस्तै अवस्था कायम रहनु अवश्य पनि समय सान्दर्भिक हुँदैन । सरकारले ज्येष्ठ नागरिकहरूको सम्मानपूर्वक जीवन यापन गर्न पाउने मौलिक अधिकार सुनिश्चित गनुपर्ने अवस्था सिर्जना भैसकेको छ । वृद्धवृद्धाहरूका लागि उचित दूरगामी योजना बनाउन नसकेपछि ज्येष्ठ नागरिकहरूको अवस्थाले देशमा महामारीको रूप नलेला भन्न सकिँदैन ।

                      (मास्केले वृद्ध स्याहारमा स्नातकोत्तर गरेकी छिन् ।)

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्