तीज, दर र स्वास्थ

नारी संवाददाता

भाद्र ६, २०७४

भारती अधिकारी, फुड टेक्नोलोजिस्ट

 

तीज र दर

हिन्दू महिलाहरूको महान् चाड तीज मनाउने शैली पनि पहिलेको तुलनामा धेरै परिवर्तन हुँदै आएको छ । तीज आउनु महिना दिनअघिदेखि दर खान पार्टी प्यालेस तथा रेस्टुराँ धाउने जमात बाक्लै पाइन्छ । दरको बहानामा प्रोटिनयुक्त खानेकुरा बढी खाने चलन पनि छ ।

तीज भन्नेबित्तिकै व्रतको कुरा आइहाल्छ । व्रत बस्दा मानव शरीरलाई फाइदा–बेफाइदा दुवै हुन्छ । नेपाली महिलाहरू व्रत बस्दा वैज्ञानिकभन्दा धार्मिक पक्षलाई प्राथमिकता दिन्छन् । परिणामस्वरूप शारीरिक कठिनाइ तथा अल्पकालीन एवं दीर्घकालीन रोग निम्तिरहेको हुन्छ ।

पेटमा निरन्तर हाइड्रोक्लोरिक एसिड  बन्ने प्रक्रिया चलिरहेको हुन्छ जसलाई सन्तुलित राख्न समय–समयमा पानी तथा अन्य खाद्यपदार्थ सेवन गर्नुपर्ने हुन्छ । व्रत बस्दा पनि शरीरमा इन्जाइम, हार्मोन, तरल पदार्थ बन्ने प्रक्रिया आदि सक्रिय नै हुन्छन् । लामो समयसम्म भोकै बस्दा टाउको दुख्ने, रिंगटा लाग्ने, कमजोरी महसुस हुनेजस्ता समस्या उत्पन्न हुनसक्छन् । लामो व्रतका कारण दीर्घकालीन रूपमा ग्यास्ट्राइटिस एवं अल्सरको सिकार हुने सम्भावना हुन्छ ।  सही तरिकाले छोटो समयका लागि व्रत वस्दा भने शरीरबाट विभिन्न टक्सिन बाहिर निस्कन्छ भने क्यालोरी इन्टेक पनि अन्य दिनको तुलनामा कम हुन्छ ।

व्रत वस्ने प्रक्रिया पनि फरक–फरक हुन्छ । कोही पानी पनि नखाने, कोही फलफूल तथा तरकारी र कोही केही मात्रामा अन्न ग्रहण गर्ने विभिन्न खालका व्रतालु हुन्छन् । केही नखानुभन्दा पानी वा थोरै मात्रामा फलफूल खानु स्वास्थ्यका हिसाबले राम्रो मानिन्छ ।

तीजको व्रत बस्ने अघिल्लो दिन दर खाने चलन छ । दर भन्नाले अन्न, फलफूल, तरकारी तथा सम्पूर्ण खाद्यपदार्थ मानिन्छ । समय परिवर्तनसँगै दर खाने चलनमा पनि परिवर्तन आएको छ । विशेषत: सहरका महिलाहरूले एक महिनाअघिदेखि नै दर खान थाल्छन् । यसमा नियमित रूपले मासुजन्य चिल्ला खानेकुरा तथा पेयपदार्थ (वाइन, बियर आदि) का साथै अन्य धेरै परिकार अधिक मात्रामा खाने चलन छ जसले गर्दा स्वास्थ्यमा हानि पुग्नसक्छ ।

हरेकले आफ्नो आकार, उमेर, लिङ्ग, कार्यशैलीअनुसार खानेकुरा खानुपर्छ । अत्यधिक मात्रामा खानामा प्रयोग भएको क्यालोरी शरीरमा भण्डारण हुन्छ । फलस्वरूप असजिलो महसुस हुने, अपच हुने तथा दीर्घकालीन रूपमा रक्तचाप एवं मधुमेहजस्ता रोग लाग्ने सम्भावना बढ्छ तसर्थ व्रत बस्दा पनि भिन्न उमेर समूह, शारीरिक अवस्था आदिमा ध्यान पुर्‍याउनु आवश्यक हुन्छ ।

 

रोग र व्रत

मधुमेह :

मधुमेहका बिरामीका लागि व्रत जोखिमपूर्ण हुनसक्छ । इन्सुलिन लिइरहेका मधुमेहका बिरामीले व्रत बस्नु हुँदैन । व्रत बस्दा शरीरमा ग्लुकोजको मात्रा घटेर असजिलो हुनसक्छ । व्रत बस्दा गुलिया तथा चिल्ला खानेकुरा कम सेवन गरी कफिन नभएका पेय पदार्थ सेवन गर्नु उचित हुन्छ ।

 

मुटु रोगी :

मुटुका बिरामीलाई व्रतले नकारात्मक असर पार्दैन तर मुटुको अवस्था सन्तुलित हुनुका साथै कुनै किसिमको पीडा र श्वासप्रश्वासमा कठिनाइ नभएको हुनुपर्छ । यस्ता बिरामीले धूमपान तथा मद्यपान गर्नुहुँदैन भने तनाव नलिई धार्मिक एवं पवित्र कुरामा केन्द्रित रहनुपर्छ । चिल्लो वा नुनिलो खानेकुरा नखाई पेयपदार्थ सेवन गर्नुपर्छ । खानेकुरा थोरै मात्रामा खानुपर्छ । यसले हार्मोन र मेटाबोलिक परिवर्तनमा सहयोग पुर्‍याई राम्रो कोलस्ट्रोल बढाउनुका साथै नराम्रो कोलस्ट्रोल घटाउँछ । यसबाट तौल पनि कम हुन्छ ।

 

मिर्गौला रोगी :

मिर्गौलाका बिरामीले व्रत बस्नुअघि चिकित्सक तथा डाइटिसियनको सल्लाह लिनुपर्छ । ट्रान्सप्लान्ट तथा डायलोसिसको चरणमा पुगेकाहरूले व्रत बस्नु हुँदैन । मिर्गौला स्वस्थ राख्न सोडियम, पोटासियम र फस्फोरसजस्ता खनिज पदार्थको महत्वपूर्ण भूमिका हुन्छ । नुनमा प्रशस्त मात्रामा सोडियम पाइन्छ । गोलभेंडा, आलु, हरियो सागपात, रामतोरिया आदिमा पोटासियम प्राप्त गर्न सकिन्छ । त्यसैगरी केरा, मौसम, जुनार, आरू एवं नास्पाती आदिमा पनि पोटासियम हुन्छ । बदाम, दूधजन्य पदार्थ, गेडागुडी, कार्बाेनेटेड ड्रिङ्समा फस्फोरसको मात्रा बढी हुन्छ । तरकारी, फलफूल तथा पानी मिर्गाैला रोगको अवस्था हेरी विशेषज्ञसँगको सल्लाहमा सन्तुलित मात्रामा खानुपर्छ । यस्ता बिरामीले गुलियो तथा चिल्लो पदार्थलाई आफ्नो खानामा कमै समावेश गर्नुपर्छ ।

थाइराइड :

अहिले धेरै मानिसलाई थाइराइड हुने गरेको छ । थाइराइडका बिरामीले व्रत बस्दा दिनभरमा कम्तीमा ८ गिलास अथवा २ दशमलव ५ लिटर पानी पिउनुपर्छ । दरको दिन फाइबर भएको तरकारी, फलफूल, होलग्रेन आदि खानुपर्छ । सफ्ट ड्रिङ्स, चिया, कफीजस्ता गुलियो पदार्थ भने सेवन गर्नुहँुदैन ।

उच्च रक्तचाप : उच्च रक्तचाप भएका व्रतालुले विशेषत: दर खाँदा चिल्लोपदार्थ सेवन गर्नुहुँदैन । पानी प्रशस्त मात्रामा पिउनुपर्छ । रक्तचापको मात्रा कम भएकाले व्रतका दिन समय–समयमा ग्लुकोज पानी सेवन गरिरहनुपर्छ । यसो नगर्दा रिंगटा लाग्ने, बेहोस भएर अस्पतालको सहारा लिनुपर्ने हुनसक्छ । वृद्धा, गर्भवती तथा सुत्केरी महिलाले भने व्रत बस्नु उचित हुँदैन ।  

व्रतसम्बन्धी यथार्थ

–छोटो समयका लागि व्रत बस्नु राम्रो हो तर लामो समयसम्म व्रत बस्नु स्वास्थ्यका दृष्टिले हानिकारक हुन्छ । लामो समयमम्म भोकै बस्दा पोषण, खनिज पदार्थ तथा क्यालोरीको अभावका कारण शारीरिक प्रक्रियामा बाधा उत्पन्न हुन्छ । परिणामस्वरूप संक्रमण तथा विभिन्न रोगको सिकार हुने सम्भावना बढ्छ ।  

–तरल पदार्थ खासगरी पानी हाम्रो शरीरमा नभई नहुने तत्व हो । यसले शक्ति प्रदान गर्नुका साथै टक्सिन निकाल्छ । पानीले हाम्रो शारीरिक तापक्रमलाई सन्तुलनमा राख्नुका साथै अन्य महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । त्यसैले व्रत वस्दा कागती पानी, नरिवल पानी, मोहीे सेवन गर्नु पनि लाभदायक हुन्छ ।

–व्रत बस्दा क्याफिनजन्य पदार्थ चिया, कफी तथा नरम तरल पदार्थ (सफट ड्रिङ्स) सेवन गर्नुहुँदैन ।

–फलफूल, गाजर एवं काँक्रा आदि खान सकिन्छ । टुसा उम्रिएका गेडागुडीमा भिटामिन सी तथा प्रोटिन हुने भएकाले व्रतका बेला उपयुक्त मानिन्छ ।

–व्रत वसेका दिन कम्तीमा डेढदेखि २ लिटर पानी पिउनुपर्छ । कच्चा, फ्रेस र स्वस्थ फलफूल सेवन गर्नुपर्छ । यसले हाम्रो शरीरलाई ऊर्जा प्रदान गर्नुका साथै भित्री शरीर पनि सफा राख्छ । यसले क्लिन्जिङको काम गर्छ ।

–बिहान जुनार, मौसम, सुन्तला आदि फलफूल खानु स्वास्थ्यका दृष्टिले उपयुक्त हो ।

–चेरी, अंगुर, आरू, मौसम, सुन्तला, जुनार आरूबखडा, स्याउ, स्ट्रबेरी, नासपाती आदि खानु शारीरिक एवं धार्मिक हिसाबले लाभप्रद हुन्छ । फलफूल सेवन गर्दा एक दिनमा १ किलो फलफूल व्रतको दिन ३ देखि ५ भाग लगाई खानुपर्छ । यसमा आफ्नो रोग विशेषलाई समेत ध्यानमा राख्नुपर्छ ।

–हाम्रो शरीरमा शारीरिक प्रक्रियाहरू चलिरहेका हुन्छन् । विभिन्न अङ्गहरूले जुस तथा इन्जाइमहरू उत्पादन गरिरहेका हुन्छन् । तसर्थ व्रतका बेला पनि समय–समयमा फलफूल तथा माथि बताइएका पेयपदार्थहरू दुई/दुई घन्टाको फरकमा खाइरहनुपर्छ । यसो गर्दा शरीरमा थकान हुँदैन भने चाडपर्वको वास्तविक मज्जा पनि लिन सकिन्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्