गर्मीमा बालबालिकाको रेखदेख

डा. अरुणकुमार सिंह

श्रावण २५, २०७४

 

गर्मीमा धेरैजसो बालबालिका झाडापखालाको सिकार हुन्छन् । गर्मी भाइरस तथा ब्याक्टेरियाका कारण हुने र सर्ने खालका रोगको मौसम हो । गर्मीमा खाना, कीटाणु, पानीका कारण झाडापखाला, हैजा, भाइरल फिभर, फुड प्वाइजनिङ, डेंगु, भाइरल हेपाटाइटिस, इन्फ्लुएन्जाजस्ता रोग फैलन सक्छन् । त्यसबाहेक आउँ, रगतमासी, हेपाटाइटिस, टाइफाइडको प्रमुख मौसम पनि गर्मी नै हो ।

यतिबेला बालबालिकाको उचित ख्याल नगरे रोगले दु:ख दिन सक्छ । बदलिँदो मौसमसँगै झाडापखाला लागेर जलवियोजन भयो भने र समयमै उपचार भएन भने बालबालिकाको मृत्युसमेत हुनसक्छ । बारम्बार पखाला लाग्दा बालबालिकाको शरीरमा आवश्यक पर्ने पानीको मात्रा कम हुन्छ । बालबालिका बिरामी पर्ने कारण यही हो भन्ने छैन । यसका धेरै कारण हुन्छन् ।

बालबालिकालाई झाडापखाला लाग्नुमा भाइरल, ब्याक्टेरियल, परोटोज आदि कारण हुन्छन् । बालबालिकामा रोगसँग लड्न सक्ने क्षमता कम हुने भएकाले यसको संक्रमण बढी देखिन्छ । प्रदूषित वातावरण, फोहोर पानी, सागसब्जी एवं फलफूल पखालेको पानीका कारण अहिले रोटा भाइरसको संक्रमण बढेको छ । यो भाइरस झिंगामार्फत पनि सर्न सक्छ । रोटा दिसा–पिसाबसँगै अन्य फोहोरमा रहने भाइरस हो । ५ वर्षसम्मका बालबालिकाले जथाभावी हिँडडुल गर्ने र जे पायो त्यही मुखमा हाल्ने हुँदा उनीहरूमा यो भाइरसको संक्रमण छिटो हुन्छ ।

सामान्यत: एक वर्षमुनिका बालबालिका बढी बिरामी हुन्छन् । गर्मीमा मात्र होइन जुनसुकै मौसममा पनि यो उमेरका बालबालिका बढी बिरामी हुन्छन् । पाँच वर्षसम्मका बालबालिका पनि बिरामी पर्छन् । फोहोर छोएर हात नधोई खाना खाँदा पनि कीटाणु पेटमा जान्छ । फोहोर धेरै छ भने झिंगामार्फत पनि यो भाइरस सर्नसक्छ ।

मौसम बदलिँदा पाचनशक्तिमा गडबडी, बेमौसमी खानेकुरा खाए, आहार–विहार, धेरै नुनिलो, पिरो तथा मसालेदार खाना धेरै खाए, पच्न नसक्ने खाने कुरा खाए, तारेको, भुटेको, धेरै चिल्लो खाने कुरा खाए, खाइसकेको खाना पचिनसक्दै फेरि खाना खाए समस्या देखा पर्छ । यसका साथै पेटमा जुका पर्नु, भय, शोक, दु:ख, मानसिक तनाव, आतंकको प्रभाव, राति अबेरसम्म बस्नुजस्ता कारणले पनि स्वास्थ्य समस्या सिर्जना हुनसक्छ ।

कुपोषणको समस्या भएका बालबालिकालाई जलवियोजन हुन्छ । त्यस्तो अवस्थामा समयमै उपचार नभए उनीहरूको मृत्युसम्म हुनसक्छ । बारम्बार पखाला लाग्दा बालबालिकाको शरीरमा आवश्यक पर्ने पानीको मात्रा घट्छ । लगातारको पानीसहितको दिसा र बान्ताले गर्दा जलवियोजन हुन्छ । जलवियोजन हुँदा धेरै तिर्खा लाग्ने, छटपटी हुने, आँखा गढेको देखिने तथा पेटको छाला तानेर हेर्दा हत्तपत्त नफर्कने हुन्छ । कडा जलवियोजन भए शिशुले झोलपदार्थ पिउन सक्दैनन् भने खानेकुरा पनि खान सक्दैनन् । साना बालबालिकाले आमाको दूध पनि तान्न सक्दैनन् । बालबालिका बेहोस हुन सक्छन् । त्यसैले समस्या सुरु हुनासाथ समयमै ध्यान पुर्‍याउनु आवश्यक छ ।

झाडापखालाका लक्षण

पिसाब कम हुनु चिडचिडापन बढ्नु र कमजोर हुनु पखाला बढी भए शरीरको पानी सकिएर ज्यान जाने खतरा हुनु, ज्वरो देखा पर्नु, ब्लडप्रेसर कम हुनु आन्द्राको संक्रमण वा त्यसबाट उत्पन्न विषाक्त पदार्थ रगतमा मिसिए बढी ज्वरो आउँछ, रगतमासी पर्छ र खतरनाक रोग सेप्टिसिमिया समेत हुनसक्छ ।

सावधानी तथा उपचार

६ महिनामाथिका बालबालिका छन् भने जीवनजलका साथै आमाको दूध, दालको रस, गेडागुडी तथा तरकारीको रस, ताजा फलफूलको रस एवं केरा ख्वाउनुपर्छ । झाडापखाला लागेका बेला थोरै मात्रामा जाउलोसँग दही वा मोही पनि ख्वाउन सकिन्छ । झाडापखाला लागेका बेला जंक फुड ख्वाउनु हुँदैन । झोल खानेकुरा ख्वाउनुपर्छ भन्दैमा फ्रुटी, कोक, ग्लुकोजजस्ता खानेकुरा ख्वाउनु हुँदैन भने एन्टिबायोटिक पनि दिनु हुँदैन ।

झाडापखालामा कडा जलवियोजन भएको अवस्थामा डाक्टरले आइवी फ्लुयड्स दिन्छन् । यसले शरीरको पानी कम हुन दिँदैन । डिहाइड्रेसनले गर्दा केही खान–पिउन नसके बालबालिकालाई आइवी फ्लुयड्स चढाइन्छ जसमा औषधि तथा इलेक्ट्रोलाइट्स हुन्छ । डायरियामा भायरल संक्रमण समाप्त गर्न परोबायोटिक्स दिइन्छ । ब्याक्टेरियल संक्रमणका लागि एन्टिबायोटिक दिइन्छ । इकोलाई संक्रमण डायरियाका रोगीलाई एन्टिबायोटिक दिइन्छ ।

ध्यान दिनुपर्ने कुरा

झिंगा बसेको, बासी, नछोपेको खाने–पिउने चीज नखाने, नख्वाउने तथा हात धोएर मात्र खाने–ख्वाउने । बालबालिकालाई सफा राख्नुपर्छ । घरको वातावरण सफा हुनुपर्छ । पानी उमालेर मात्र पिउनुपर्छ ।

फलफूल राम्रोसँग पखालेर खानुपर्छ । बासी, तारे–भुटेको, पिरो, मसालेदार खानेकुरा तथा गहुँबाट बनेका खाद्यपदार्थ नखाने । रोटा भाइरसविरूद्धको भ्याक्सिन लगाउनुपर्छ । अगाडिदेखि नै काटेर राखिएको प्रदूषित सलाद तथा फ्रिजमा राखिएका खानेकुरा बाहिर निकालेर तुरुन्तै नखाने । अमिलो, आलु, भान्टा कोबी, अचार आदि नखाने ।

झाडापखालामा घरेलु उपचार

आमाको दूध खाने बालबालिका भए साबिकभन्दा बढी दूध ख्वाउनुपर्छ । बालबालिका ६ महिनाभन्दा कम उमेरका भए ५–६ पटक आमाको दूध र नपुग भए गाईभैंसी वा बट्टाको दूधमा आधा पानी मिसाएर ख्वाउनुपर्छ । बालबालिका ६ महिनाभन्दा बढी उमेरका भए वा ठोस आहार खाने भए बिरामीलाई प्रशस्त मात्रामा दालको झोल, तरकारी (मसला कम भएको) गेडागुडीको झोल, केरा, माछामासु, फलफूलको रस, फिका चिया, भातको माड, अन्न, पातलो लिटो तथा सादा पानी आदि झोल खानेकुरा प्रशस्त मात्रामा दिनुपर्छ । कतिपय समुदायमा झाडापखाला लाग्दा पानी पिउन नदिने अत्यन्त गलत चलन छ जसले गर्दा खेर गएको पानी आपूर्ति नभई जलवियोजन हुन्छ ।

झाडापखालाबाट खेर गएको लवण, पोषक तत्त्वहरू तथा पानी क्षतिपूर्ति गर्न पुनर्जलीय झोल बनाएर ख्वाउनुपर्छ । शरीरबाट जुन अनुपातमा नुन र पानी खेर गएको छ सोही अनुपातमा पुनर्जलीय झोल ख्वाउने प्रक्रियालाई पुनर्जलीय उपचार भनिन्छ । पुनर्जलीय झोल बनाउन सर्वप्रथम साबुनपानीले राम्रोसाग हात धोई सफा गरिएको ६ चिया गिलास वा १ लिटरको भााडा, चम्चा, पानी राख्ने भााडा र छोप्ने बिर्को वा ढक्कन तथा जीवनजलको पुरिया तयार पार्नुपर्छ । त्यसपछि ६ चिया गिलास वा १ लिटर शुद्ध र सफा पानी एउटा सफा भाँडोमा राखी त्यसमा १ पुरिया जीवनजल राखेर सफा चम्चाले चलाएर पुनर्जलीय झोल तयार पार्नुपर्छ ।

बालबालिकाहरू झाडापखालाबाट ग्रसित भए तत्काल डाक्टरकहाँ लानुपर्छ्र । साधारण झाडापखाला त जीवनजल पिउन दिँदा पनि ठीक हुन्छ । धेरै ज्वरो आए, दिसामा रगत देखिए, दिसाको जाँचमा पस सेल्स वा रक्त जाँचमा ह्वाइट ब्लडको मात्रा धेरै भए उपचारमा जिन्क तथा प्रोबायोटिक्सको प्रयोगले झाडापखालाको तीव्रतामा कमी आउँछ ।

- डा. अरुणकुमार सिंह,

बालरोग विशेषज्ञ, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्